+

पेटको क्यान्सरको उपचार सम्भव छ ?

२०८० फागुन  २८ गते १२:५८ २०८० फागुन २८ गते १२:५८
पेटको क्यान्सरको उपचार सम्भव छ ?

आमाशयको मुख्य काम निलिसकेको खानेकुरालाई भण्डारण गरी आवश्यक तत्व ग्रहण गर्ने हो । सानो आन्द्राले महत्वपूर्ण खानेकुरा पचाएर ठूलो आन्द्रामा दिसा भण्डारणका लागि पठाउने काम गर्छ ।

तर कुनै कारणवश हामीले खाएको खानेकुरा टुक्राउन र पचाउन मद्दत गर्ने आमाशयमा हुने कोष अनियन्त्रित रुपमा बढेर गएमा क्यान्सरको रूप लिन सक्छ । जसलाई पेटको क्यान्सर भनेर बुझिन्छ । यो क्यान्सर आमाशयको माथि, बीच वा तल जुनसुकै भागमा हुनसक्छ । सबैभन्दा बढी माथिल्लो भागमा देखिन्छ ।

वर्ल्ड क्यान्सर रिसर्च सेन्टरका अनुसार विश्वव्यापी रुपमा आमाशयको क्यान्सर पाचौं स्थानमा पर्छ, जसमा पुरुषमा देखिने क्यान्सरमध्ये चौथो स्थान र महिलामा सातौं स्थानमा पर्छ । जसकारण यो क्यान्सर साझा रूपमै देखिने क्यान्सरको रूपमा लिइन्छ ।

किन हुन्छ, पेटको क्यान्सर ?

पेटको क्यान्सर हुनुको शतप्रतिशत यही कारण भन्न मुस्किल छ । तर केही यस्ता कारण छन्, जुन आमाशयको क्यान्सरका लागि जिम्मेवार मानिन्छ ।

सबैभन्दा बढी हेलीकोव्यक्टर पाइलोरी कीटाणुको कारणले यो क्यान्सर हुन्छ । यो कीटाणुले गर्दा आमाशयको कोषमा परिवर्तन ल्याई अल्सर गराउँछ र क्यान्सरको जोखिम बढ्छ ।

त्यस्तै, अत्यधिक नुन भएको खानेकुरा दिनहुँ खानु, प्रशोधित मासु खानु र सागसब्जी अति कम खानु पनि पेट क्यान्सरको जोखिमको कारक हुनसक्छ । धेरै मात्रामा भण्डारण र प्याकेटबन्द खानेकुरा खाने, धुम्रपान र मदिरापान धेरै गर्नेहरुमा पनि पेटको क्यान्सरको जोखिम धेरै हुन्छ ।

लक्षण कहिले र कस्तो देखिन्छ ?

पेटको क्यान्सरको सुरुवाती चरणमा कुनै पनि लक्षण देखिंदैन । बिस्तारै खाएको खाना पेटको माथिल्लो भागमा जान असहज हुन्छ । जसले खानेकुरा अडकिएको जस्तो लाग्न सक्छ ।

खानेकुरा अपच हुनु, पेटमा दुखाइ, थकाइ, खानामा रुचि घट्दै जानु, खाना खाएपछि पेट फुलेको अनुभव हुनु, पेट ढुस्स हुनु, औषधि खाँदा पनि पेट दुख्ने समस्या ठीक नहुनु, भोक कम लाग्नु, पेटमा अत्यधिक दुखाइसँगै पोल्नु र खाएको खाना फर्किएर आउनु, दुर्गन्धित डकार आउनु लगायत लक्षण देखिन्छ ।

पटक-पटक बान्ता आउनु, जाँगर कम हुनु, अल्सर भएमा दिसामा पनि रगत देखिनु, रक्तअल्पता हुनु, पेटमा पानी भरिनु र तौल कम हुनु पनि पेटको क्यान्सरका लक्षण हुन् ।

पहिचान तथा उपचार

लक्षणलाई पहिचान गरेर उपचार त सम्भव हुन्छ । तर लक्षण पहिले नै नदेखिने भएकाले यसको जटिलता बढ्ने जोखिम उत्तिकै रहन्छ । जब क्यान्सर जटिल बन्दै जान्छ तब देखिन थाल्छ ।

यस्तोमा क्यान्सरको शंका भएमा इन्डोस्कोपी गरेर हेरिन्छ । इन्डोस्कोपी र बायोप्सी गरेपछि क्यान्सर भएको नभएको पत्ता लाग्छ । क्यान्सर हो भने सर्जन र क्यान्सररोग विशेषज्ञ (मेडिकल अन्कोलोजिस्ट)को सहकार्यमा उपचार हुन्छ ।

सबैभन्दा पहिला क्यान्सरको प्रकार र अवस्थाअनुसार उपचार योजना बनाइन्छ । सुरुवाती अवस्थामा पत्ता लाग्यो भने पेटको शल्यक्रिया नगरी इन्डोस्कोपिक विधिबाट उपचार गरिन्छ । तर अलि जटिल छ भने ल्याप्रोस्कोपिक सर्जनले पेटको क्यान्सरग्रस्त भागलाई शल्यक्रियाको माध्यमबाट निकाल्छन् । यो प्रक्रियामा इन्डोस्कोप र अन्य उपकरणको मद्दतबाट क्यान्सर कोषलाई पाचनप्रणालीबाट हटाइन्छ ।

यो उपचार गर्दा आमाशयको धेरैजसो भाग फाल्नुपर्छ । र, सानो आन्द्रा ल्याएर बाँकी रहेको आमाशयको भागमा जोडिन्छ । साथै, खानानलीलाई निरन्तरता दिइन्छ । बिरामीको रोगको चरण हेरी किमोथेरापी दिने, र रेडियोथेरापी आवश्यक पर्छ ।

पेटको क्यान्सर निको हुन्छ ?

उपचारपछि यो क्यान्सर लागेमा निको हुन्छ । तर निको हुनका लागि रोगको अवस्था सुरुवाती चरणकै हुनपर्छ । पेट भन्दा बाहिर जस्तै, छाती, कलेजो, फोक्सो र मतिष्क फैलिएको छैन भने यो उपचारपछि रोग निको हुन्छ ।

पहिलो चरणको क्यान्सरको सफल शल्यक्रिया र किमोथेरापी गरेपछि रोग फर्केर आउने सम्भावना कम हुन्छ । तर दोस्रो वा तेस्रो चरणमा छ भने रोग बल्झिने सम्भावना बढी हुन्छ । जटिलखालको अवस्थामा चिकित्सकको उद्देश्य बिरामी बाँच्ने सम्भावना बढी बनाउने भन्ने नै हो । रोग निको पार्न नसके पनि आयु भने बढाउन सकिन्छ ।

जटिलता

क्यान्सरको उपचार नगरी छोडियो भने फोक्सो, हड्डी र अन्य अंगमा फैलिन सक्छ । जसकारण ज्यान नै जाने जोखिम हुन्छ ।

रोकथामका उपाय

-हरेक दिन खानामा विभिन्न फलफूल र सागसब्जी खानुपर्छ ।

-बढी चिल्लो खानेकुरा, जंकफुड र अत्यधिक रातो मासु खानु हुँदैन ।

-अत्यधिक नुन खानुहुँदैन ।

-ढुसी परेको र बासी खाना खानु हुँदैन ।

-धुम्रपान गर्नु हुँदैन । यसले पेटदेखि अन्य स्वास्थ्य समस्या बढाउँछ ।

-परिवारमा कसैलाई पहिला नै क्यान्सर भइसकेको छ भने हरेक सदस्यले पेटको क्यान्सरको परीक्षण चिकित्सकको निर्देशनअनुसार गराउनुपर्छ ।

क्यान्सर डा. विधाननिधि पौडेल पेट तथा कलेजो रोग
डा. विधाननिधि पौडेल
लेखक
डा. विधाननिधि पौडेल
पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १४३६ एमबीबीएस, एमडी रसिया ग्यास्ट्रोएन्टेरोलजी र हेपाटोलोजी (रसिया) साढे तीन दशकको अनुभव, हाल निजामती कर्मचारी अस्पताल काठमाडौंका कार्यकारी निर्देशक तथा वरिष्ठ कन्सल्टेन्ट ग्यास्ट्रोएन्टेरोलोजिस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय