+

पिसाबमा रगत आउँछ, कारण के हुनसक्छ ?

२०८० चैत  १ गते ११:४९ २०८० चैत १ गते ११:४९
Shares
पिसाबमा रगत आउँछ, कारण के हुनसक्छ ?

कहिलेकाहीं पिसाबमा रगत देखिन्छ । जसलाई मेडिकल भाषामा हेमाच्युरिया भनिन्छ । यो दुई प्रकारको हुन्छ, ग्रस हेमाच्युरिया अर्थात् आँखाले देखिने र म्याइक्रोस्कोपिक हेमाच्युरिया अर्थात् आँखाले नदेखिने ।

ग्रस हेमाच्युरियामा बिरामी आफैंले पिसाबमा रगत देख्छ । म्याइक्रोस्कोपिक हेमाच्युरियामा नाङ्गो आँखाले पिसाबमा रगत देख्न सकिंदैन, तर पिसाब जाँच गर्दा रगतको कणिका भेट्टिन्छ ।

किन यस्तो हुन्छ ?

पिसाबमा विभिन्न कारणले रगत आउन सक्छ । जसमध्ये मुख्य कारण अत्यधिक परिश्रमयुक्त काम गरेमा (मांशपेशीहरु खर्चिने गरी काम गर्दा), पिसाबमा संक्रमण भएमा, मिर्गौला वा मूत्रनलीमा पत्थरी भएमा, मूत्रथैलीमा मासु पलाएमा पिसाबमा रगत देखिन सक्छ ।

कसरी थाहा पाउने ?

अत्यधिक परिश्रमयुक्त काम गर्ने, जिम गर्ने, गाह्रो कामहरु गर्नेहरुमा पनि पिसाबमा रगत देखिन्छ । गाह्रो काम नगर्दा पिसाबमा रगत नदेखिने हुन्छ । ज्वरो आउने, पिसाब पोल्ने भएमा पिसाबको संक्रमणको कारणले रगत आएको हुनसक्छ ।

कम्मर दुख्ने, तल्लो पेट दुख्ने भएमा मिर्गौला वा मूत्रनलीमा पत्थरी भएर पिसाबमा रगत बगेको बुझ्न सकिन्छ । त्यस्तै पिसाब थैली र पिसाब नलीमा स्टोन भएमा पनि रगत बग्न सक्छ ।

दुखाबिना पिसाबमा रगत

कतिपय अवस्थामा दुखाइ नभईकन पनि पिसाबमा रगत देखिन्छ । यसलाई चिकित्सकीय भाषामा पेनलेस हेमाच्युरिया भनिन्छ । पिसाब थैलीमा मासु पलाएमा, पिसाब नली वा मिर्गौलामा मासु पलाएमा र मिर्गौलाको क्यान्सर भएमा पिसाबमा रगत देखिन सक्छ । कम्मर दुख्ने भएमा, तल्लो पेट छाम्दा मासुको डल्लो भेटिएमा मिर्गौलामा मासु पलाएको हुनसक्छ । यसमा पूरै पिसाबसँगै रगत मिसिएर आएको हुन्छ ।

पुरुषको हकमा

पुरुषको हकमा प्रोस्टेटको समस्या भएमा पनि पिसाबबाट रगन बग्ने गर्छ । प्रोस्टेट ग्रन्थी पुरुषमा मात्रै पाइने एक प्रकारको ग्रन्थी हो । यो पुरुष ग्रन्थी वृद्धि हुँदा प्रोस्टेटको समस्या देखापर्ने गर्छ । प्रोस्टेट धेरै ठूलो भएमा, प्रोस्टेटको संक्रमण भएमा, प्रोस्टेटको क्यान्सर भएमा पनि पिसाबमा रगत आउन सक्छ । यसमा सुरुमा सफा पिसाब आइसकेपछि अन्तिममा रगत देखापर्छ । पिसाब थैलीमा कुनै समस्या हुँदा पनि  अन्तिममा रगत आउँछ ।

केके जाँच गर्नुपर्छ ?

नियमित परीक्षण

सुरुमा नियमित परीक्षणको क्रममा पिसाबमा रातो रक्तकोषिका देखिएको छ कि छैन ? छ भने कति छ ? पिसाबमा ढुंगा देखिएको छ कि छैन भनेर जाँच गरिन्छ । त्यसपछि पिसाबमा ब्याक्टेरिया छ कि छैन थाहा पाउन कल्चर गर्नुपर्छ ।

भिडियो एक्सरे

मूत्रनलीमा ढुंगा छ कि छैन ? पिसाब थैली र मिर्गौलामा मासु पलाएको छ कि छैन ? प्रोस्टेट ग्रन्थी ठूलो भएको छ कि छैन ? प्रोस्टेटले पिसाब थैलीलाई कुनै हानि पुर्‍याएको छ कि छैन भनेर थाहा पाउन भिडियो एक्सरे गरिन्छ । साधारणतया कहाँबाट रगत आइरहेको भन्ने कुरा भिडियो एक्सरेबाट पत्ता लाग्छ ।

यसबाहेक बिरामीको आवश्यकता अनुसार सिटी स्क्यान, सिस्टोस्कोपी (मूत्रनलीदेखि किड्नीसम्म दूरबीन हालेर रोग पत्ता लगाउने प्रविधि) गर्नुपर्ने हुन्छ ।

उपचार

पिसाबमा रगत देखिने समस्याको उपचार नन-सर्जिकल र सर्जिकल दुवै विधिबाट गर्न सकिन्छ । पिसाबमा संक्रमण मात्र छ भने औषधिले निको हुन्छ । तर पत्थरी छ, मासु पलाएको छ भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । कस्तो अवस्थामा छ ? पत्थरको आकार कत्रो छ ? कुन ठाउँमा छ ? त्यहीअनुसार उपचार गरिन्छ ।

पिसाबमा रगत देखिनु कुनै ठूलो रोगको संकेत हो ?

पिसाबमा रगत देखिंदैमा ठूलो रोग हुन्छ भन्ने हुँदैन । जस्तै कहिलेकाहीं महिलामा महिनावारी भएको बेला र पाठेघरबाट रगत बगिरहेको अवस्थामा पनि पिसाबमा रगत आएको हुनसक्छ । त्यसैले आत्तिनुपर्दैन । तर पिसाबमा रगतसँगै रगतको स-साना चोक्टा जाने र अन्य रोगको समस्या छ भने चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ ।

डा. रविनबहादुर बस्नेत पिसाबमा रगत मूत्ररोग
डा. रविनबहादुर बस्नेत
लेखक
डा. रविनबहादुर बस्नेत
प्रमुख कन्सल्टेन्ट युरोसर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४५४८ एमएस, एमसीएच हाल काठमाडौंस्थित वीर अस्पतालमा युरोलोजी विभागीय प्रमुखको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

निद्राले बालबालिकाको उचाइमा पनि  प्रभाव पार्छ, यी दुईबीच के छ सम्बन्ध ?

निद्राले बालबालिकाको उचाइमा पनि  प्रभाव पार्छ, यी दुईबीच के छ सम्बन्ध ?

मासु खान हतार नगर्नुहोस्, मृत्युको कारण बन्न सक्छ

मासु खान हतार नगर्नुहोस्, मृत्युको कारण बन्न सक्छ

डा. दीक्षा जोशी, जसले वीर अस्पतालको मुटु उपचारमा थपिन् नयाँ आयाम

डा. दीक्षा जोशी, जसले वीर अस्पतालको मुटु उपचारमा थपिन् नयाँ आयाम

बच्चाको पढाइ घट्दै छ ? हुन सक्छ दृष्टिसम्बन्धी समस्या

बच्चाको पढाइ घट्दै छ ? हुन सक्छ दृष्टिसम्बन्धी समस्या

जतिबेला पनि निद्रा लाग्छ, के-के कारण हुनसक्छ ?

जतिबेला पनि निद्रा लाग्छ, के-के कारण हुनसक्छ ?

के शिलाजित जसले पनि खान मिल्छ ?

के शिलाजित जसले पनि खान मिल्छ ?