+
+

बालेनको नयाँ काम : काठमाडौंका टोलको रैथाने नाम

पाँचवटा वडाका २ सय ५८ टोलको नाम फेरिँदै

महानगरको सम्पदा तथा पर्यटन विभागका निमित्त प्रमुख कुमारी राईका अनुसार स्थलगत अवलोकन र अन्तर्वार्ता तथा अनुसन्धाताबाट प्राप्त सूचना र जानकारीका आधारमा नामहरूको वास्तविकता पहिचान गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १९:५३

२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय ठाउँहरूको प्राचीन नाम परिवर्तन गरेर चलनचल्तीमा ल्याउने प्रक्रिया थालेको छ ।

प्रक्रिया थालनीमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल, वही, धारा, सत्तल, पाटीहरूको अध्ययनबाट प्राचीन नाम खोज्ने, संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग नाम पुष्टि गर्ने चरण पूरा गरेको छ ।

पाँचवटा वडाका २ सय ५८ नाम अभिलेख

महानगरले पाँचवटा वडाबाट रैथाने नाम राख्न सुरु गरेको छ । वडा नम्बर ५ हाँडीगाउँ (प्राचीन नाम नरः), वडा नम्बर ६ बौद्ध (प्राचीन नाम खस्योरः/खास्ती), वडा नम्बर ७ चाबहिल (प्राचीन नाम चावहीः), वडा नम्बर १८ नरदेवी (प्राचीन नाम ङेतः) वडा नम्बर २४ मखन (प्राचीन नाम मखं) भित्रका विभिन्न ठाउँको नाम खोजी भइसकेको महानगरले जनाएको छ ।

खोज कार्यबाट नरः (हाँडीगाउँ) मा ५२ वटा, खस्योर÷खास्ती (बौद्ध) मा ५० वटा, चाबहीः (चावहिल) मा ७१ वटा, ङेत (नरदेवी) मा ३६ वटा र मखं (मखन) मा ४९ वटा नाम अभिलेखन गरिएको छ । यी नाम अब प्रचलनमा ल्याइने महानगरको भनाइ छ ।

‘सांस्कृतिक सहरको नाम मेटिने गरी ठाउँको नयाँ नामकरण भएपछि नामबाट झल्किने सहरको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचान मेटिँदै गयो,’ ठाउँको पुरानो नाम खोज्नुपर्ने कारणबारे सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगत भन्छन्, ‘काठमाडौँको पहिचान जोगाउन कार्यक्रम अगाडि बढाइएको हो ।’

उनले प्रचलनमा ल्याउन लागिएका नाम र अहिले प्रचलनमा रहेका नामबीच भिन्नता हुने भए पनि प्राचीन नामलाई नै ग्रहण गर्नुपर्ने बताए ।

‘प्राचीन नामले सांस्कृतिक सहरको मर्म ग्रहण गर्छन् । पहिचान संरक्षण हुन्छ,’ उनले भने, ‘काठमाडौंको गरिमा यसैमा छ ।’

कसरी खोजियो नाम ?

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्र (सीआईयूडी) सँगको सहकार्यका विभिन्न स्थानका प्राचीन नाम अध्ययन गरेको थियो ।

अध्ययनमा संकलन भएको प्रारम्भिक सूचनालाई लिखित अभिलेख, शिलालेख, सरकारी कागजात (जग्गा नामसारी वा पास गर्दा वा चारकिल्ला प्रमाणित गर्दाको नाम), संस्कृतिविद्, इतिहासविद्, पुरातत्वविद्, स्थानीय पाका मानिस, जनप्रतिनिधिहरूसँग सोधेर प्रशोधन गरेको जनाएको छ ।

अध्ययन क्रममा ६० वर्ष उमेर समूहभन्दा माथिका पाका व्यक्तिलाई महानगरको टोली रैथाने ठाउँबारे सोधको थियो । ‘स्थलगत अवलोकन र अन्तरवार्ताका तथा अनुसन्धाताबाट प्राप्त सूचना र जानकारीका आधारमा नामहरूको वास्तविकता पहिचान गरेको हौं,’ महानगरको सम्पदा तथा पर्यटन विभागका निमित्त प्रमुख कुमारी राईले भनिन् ।

सीआईयूडीले तीन ढाँचामा प्रतिवेदन बुझाएको छ । पहिलो प्रतिवेदन, दोस्रो तालिका र तेस्रो जीआईएस (जिओग्राफिक इन्फर्मेसन सिस्टम) मा आधारित नक्साका रूपमा थिए ।

७० वर्ष माथिकाले मात्रै उच्चारण गर्छन् मौलिक नाम

रैथाने ठाउँहरूको मौलिक नाम ७० वर्ष उमेर माथिकाले मात्र उच्चारण गर्ने गरेको पाइएको सीआईयूडीले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

‘तल्लो उमेर समूहका मानिस अहिलेको नाम उच्चारण गर्छन्,’ सीआईयूडीका कार्यक्रम प्रबन्धक यशमान बज्राचार्य भन्छन्, ‘१८ नम्बर वडाको नरदेवीका रूपमा प्रयोग गरिने नामलाई रैथाने मूलबासीहरू अहिले पनि ङेतत्वाः भन्छन् । यो स्थानको मौलिक नाम भने ङ्ततोल हो । यो शब्द व्युत्पत्ति भएर ङ्त भयो ।’

बज्राचार्यका अनुसार रैथाने बासिन्दाले आफ्नो कला, संस्कृति र इतिहास झल्किने गरी आफूले बसोबास गरेको ठाउँलाई चिनाउने नाम राखेका हुन् ।

नाम अपभ्रंश भएर हुने क्रमले मौलिक नामको स्वरूप परिवर्तन भएको भाषाविद् शरदवीर कसाः बताउँछ्न । ‘५ नम्बर वडाको अहिले कोटाल टोलको नाम क्वेत्वाल हो । यसबाट क्वेतोल भयो । त्यसपछि कोटोल, कोटाल हुँदै कोटाल टोल भयो ।’

उनका अनुसार केही नाम नेपालीकरण र अंग्रेजीकरण पनि भएका छन् । छुमाः गणेद्यः, मुसे गणेश भयो । मागः, मालीगाउँ भयो, तिसापुखू, गहना पोखरी भयो । भ्याय्चाद्यः – भेडासीं भयो । न्हु सतक – न्यु रोड भयो ।

नामलाई पुनरुत्थान गरेर लिपिमा राखिने

विभिन्न कारण अर्कै स्वरूपमा पुगेका नामलाई पुनरुत्थान गर्दा रञ्जना लिपि, देवनागरी लिपि र अंग्रेजी भाषाको ‘नाम पाटी’ (नेम प्लेट) राखिने महानगरले जनाएको छ ।

‘नेवार समुदायका महिलाले प्रयोग गर्ने परम्परागत पोसाक हाकुपटासीमा भएको रातो र कालो रङको पृष्ठभूमिमा नेम प्लेट राखिनेछन्,’ नाम अनुसन्धानकर्ता आर्किटेक्ट अस्मिता श्रेष्ठ भन्छिन्, ‘ढुङ्गेधारा, सत्तलको नाममा यही रङ संकेतलाई फरक देखिने बनाउने प्रस्ताव गरिएको छ ।’

श्रेष्ठका अनुसार नेम प्लेटमा क्यूआर कोड हुनेछ । कोड स्क्यान गरेपछि रैथाने (मूलबासी) ले प्रयोग गरेको नाम, नाम रहन गएको धार्मिक, सांस्कृतिक, भाषिक तथा ऐतिहासिक कारण, नामको व्युत्पत्ति, नामको अर्थ, मौलिक नाम, विभिन्न समयमा प्रयोग भएका पर्यायवाची शब्द, नामसँग सम्बन्धित ऐतिहासिक कालखण्ड, नामसँग सम्बन्धित जनश्रुति र किंवदन्ती, आगन्तुक व्यक्तिले उच्चारण गर्ने नामका विषयमा जानकारी प्राप्त हुनेछ ।

विभागका निमित्त प्रमुख राईका अनुसार पहिलो चरणमा हुने कार्यक्रम कार्यान्वयनपछि थप पाँचवटा वडामा नाम पुनरुत्थानको काम सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?