+
+
ब्लग :

अमेरिकामा देखिएका यी झिनामसिना कुरा

नेपालमा काष्ठमण्डप बन्दै गर्दा अमेरिका भन्ने राज्य नै थिएन । काठमाडौंमा धरहरा बन्दै गर्दा यहाँका ट्वीन टावर ठडिएकै थिएनन् । खासमा अमेरिकामा विकासले आकाश छुन थालेको दुईवटा विश्वयुद्ध पश्चात्को अवस्थामा हो ।

रामकृष्ण शर्मा रामकृष्ण शर्मा
२०८० चैत ५ गते ७:११

मेरो गृह जिल्ला दाङबाट वैध–अवैध बाटोबाट अमेरिका प्रवेश गरिरहेका छन् । अवैध वा वैध, दुवै बाटो हुँदै आउने ती व्यक्तिका आफन्तले फेसबुकमा पोष्ट गर्छन्– ‘सपनाको देश अमेरिका पुगेकोमा बधाई’ । म यो खुसी साट्ने बधाईको स्टाटससँगै अर्को वाक्य पनि खोजिरहेको हुन्छु तर कसैले अर्को वाक्य लेख्दैन । के लेखिनुुपर्थ्यो ? म अन्तिममा खुलाउने छु ।

विश्वकै पहिलो अर्थतन्त्र, सबै क्षेत्रमा उच्चतम विकास, बलियो मुद्रा र लोभलाग्दो जीवनशैली भएको देश भनेर बुझिएको हुनाले अमेरिका सपना हो । त्यसैले होला चाहे अध्ययन होस् वा कामका नाममा, चाहे भ्रमणको सिलसिला वा अन्य कुनै तरिका वा बाटो, अमेरिका प्रवेश गर्न खोज्नेहरूको संख्या बढ्दो छ । सबैको आकर्षणको केन्द्र बनेको अमेरिका प्रवेश गर्ने वित्तिकै बधाईको ओइरो आउनु अस्वाभाविक पनि होइन तर यहाँ आएका व्यक्तिहरूले के सिकिरहेका छन् वा आफ्नो पिंढीलाई के सिकाउन जरूरी छ भन्ने विषयमा आवश्यक बहस भइरहेको छैन ।

हुनत हरेक नेपालीको अमेरिका मोह द्रव्यसँग जोडिएको छ । सकेसम्म टन्न पैसा कमाउने, घर–गाडी किन्ने, नेपालमा घर–घडेरी जोड्ने मात्रैको आकांक्षाले पछ्याउँदा अमेरिका आउने हरेक नेपाली यहाँको संस्कार, संस्कृति, प्रवृत्ति वा मनोवृत्ति र विकास मोडेल सिक्ने भन्दा बढी मुद्रा संकलनमा केन्द्रित छन् । यहाँ आउने नागरिकका आफन्त पनि उसले के सिकिरहेको छ ? उसले अध्ययन अनुसन्धानमा के प्रगति गरिरहेको छ ? अमेरिकाको काम गर्ने शैली, अमेरिकी सोच, प्रवृत्ति कति सिक्यो ? भन्नेतिर भन्दा कति सम्पत्ति जोड्न सक्यो भन्नेतर्फ हिसाब गरिरहेका छन् ।

अमेरिका आएर कमाउनेहरूको वाह्वाही र नकमाउनेहरूलाई सामाजिक सञ्जालमै गिज्याउने प्रवृत्ति बढ्दो छ । अमेरिकी अर्थतन्त्रमा देखिएको समस्या, घट्दो रोजगारी दरका बीच नेपाली समाजको मनोवृत्तिले यो पुस्तालाई ठूलो दबाबमा पारिरहेको छ र यसको परिणाम आत्महत्या जस्ता घटनाहरू बढ्दो छ । अमेरिकाबाट फर्किएर स्वदेशमै केही गरौं भन्नेलाई त समाजले स्वीकारेकै छैन ।

विदेशमा केही गर्न नसकेर फर्किएको, केही नफल्ने ठाउँमा के फलाउन खोजेको होला ? जस्ता आत्महेय र लघुताभासपूर्ण लाञ्छनाले फर्किएका व्यक्ति त दुःखी छन् नै, सिंगो परिवार नै तनावमा छ । विदेशी माटोबाट कर्म गर्ने संस्कार र प्रवृत्ति एवं विकासको मोडेल सिकेर फर्किएकाहरूलाई गरिएको दुरुत्साहनले सिंगो समाज नै दूषित हुँदै गइरहेको छ । तत्कालका लागि समस्या नदेखिए पनि भविष्यमा यो मनोसामाजिक प्रवृत्तिले विकराल अवस्था ल्याउनेछ ।

अमेरिकासँग जोडेर नेपालमा विकसित मनोसामाजिक पक्षलाई एकछिन थाती राख्दै आखिर अमेरिका आउने नेपालीले के सिक्न सक्छ ? के सिकेर फर्कन सक्छ ? नयाँ पुस्तालाई अमेरिकी अनुभव कसरी सिकाउन सक्छ ? वा नेपालमा रहने परिवार, आफन्त र सिंगो समाजले अमेरिका आएको व्यक्तिबाट के अपेक्षा गर्ने भन्ने विषयमा म केन्द्रित हुनेछु ।

सुरुमा चर्चा गरौं, अमेरिकी विकासको संक्षिप्त इतिहासबाट । धेरै मानिसले ध्यान दिने पक्ष के हो भने, अमेरिका धनी राष्ट्र हो र यहाँको मुद्रा बलियो छ । तर बाँकी पक्षहरूमा मानिसहरू खासै ध्यान दिंदैनन् । जरूर हो, अमेरिका विश्वकै नम्बर १ बलियो अर्थतन्त्र र २१ ट्रिलियन डलर कुल गार्हस्थ्य उत्पादन भएको देश हो । तर यो देश विश्वका सबैभन्दा बढी शक्तिशाली र प्रसिद्ध कम्पनी भएको मुलुक, विश्वमा सबैभन्दा धेरै आम्दानीका स्रोत भएको मुलुक, उत्पादन, शिक्षा, विज्ञान प्रविधि, नवीन सोच र अध्ययन अनुसन्धानमा विश्वकै अब्बल मुलुक पनि हो ।

सबैभन्दा उत्कृष्ट विश्वविद्यालयहरू भएको मुलुक, दुनियाँमा सबैभन्दा बढी प्रभाव पार्न सक्ने सिनेमा बनाउने मुलुक, विश्वमा सबैभन्दा बढी पटक नोबेल पुरस्कार जितेको देश, अहिलेसम्म सबैभन्दा बढी ओलम्पिक मेडल जितेको मुलुक, मेडिकल क्षेत्रमा अत्यधिक र प्रभावकारी अनुसन्धान गर्ने मुलुक, रोबर्ट प्रयोग, नागरिक उड्डयन, आर्टिफिसियल इन्टेलिजेन्सको उपयोग गर्नेमा पनि उत्कृष्ट मुलुक हो ।

विदेशी नागरिकलाई नेपालका कुनै पनि निकायको पदमा स्वीकार्नै नसक्ने नेपाली समाज विदेशबाट फर्किएको नेपालीलाई समेत पचाउन गाह्रो मान्छ । तर अमेरिकाको नीति सुरुवातदेखि नै अन्तर्राष्ट्रिय दक्ष व्यक्तिहरूलाई मलजल गर्ने र बढावा दिने खालको छ ।

सबैभन्दा शक्तिशाली सैन्य शक्ति र आणविक क्षमता भएको देश त हुँदै हो तर कल्याणकारी कामको लागि विश्वमा सबैभन्दा बढी लगानी गर्ने मुलुक पनि हो । सँगै गाईपालन, चिज उत्पादन लगायत कृषिसँग सम्बन्धित क्षेत्रमा पनि अमेरिका अब्बल राष्ट्र हो । यी सबै कुरा रातारात सम्भव भएका भने होइनन् ।

अमेरिका धनी हुन थालेको धेरै भएको छैन । १०० वर्षअघिको इतिहास हेर्ने हो भने अमेरिका विश्वका अन्य मुलुकभन्दा धेरै पछि थियो । परापूर्वकालको कुरा गर्ने हो भने, नेपालमा काष्ठमण्डप बन्दै गर्दा अमेरिका भन्ने राज्य नै थिएन । काठमाडौंमा धरहरा बन्दै गर्दा यहाँका ट्वीन टावर ठडिएकै थिएनन् । खासमा अमेरिकामा विकासले आकाश छुन थालेको दुईवटा विश्वयुद्ध पश्चात्को अवस्थामा हो । बाँकी देशहरू युद्धमा सामेल भइरहँदा युद्धमा प्रत्यक्ष संलग्न नभई विश्वलाई हतियार बेचेर अर्थतन्त्र कायापलट गरेको मुलुक हो, अमेरिका ।

दोस्रो विश्वयुद्धको समाप्तिसँगै आर्थिक र सामाजिक अवस्था जर्जर भएका युरोपेली राष्ट्रहरूले आफ्नो मुलुकको अर्थतन्त्र उकास्न सुन बेचेर अमेरिकी डलर किने, अमेरिकी डलरको दर अनुसार आफ्नो मुद्राको विनिमय दर तोके । त्यसपछि मात्रै हो डलरको अन्तर्राष्ट्रिय ‘भाउ’ बढेको । अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघको स्थापना भएसँगै अमेरिकाको अन्तर्राष्ट्रिय प्रभाव विस्तार सुरु भयो ।

अन्तर्राष्ट्रिय व्यापार संगठन स्थापना गरेर अमेरिकाले आन्तरिक राष्ट्रवादलाई भन्दा बढी विश्वव्यापीकरणलाई जोड दियो र फलतः विश्वलाई आफ्नो प्रभावमा पार्यो । विश्व परिस्थितिलाई आफ्नो पक्षमा पार्दै अर्थतन्त्र बलियो बनाउने क्रममा आन्तरिक विकासको लागि अमेरिकाले सडक सञ्जाल निर्माणलाई पहिलो प्राथमिकता दिएको देखिन्छ ।

त्यसपछि अन्य पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र प्रविधिमा चरणबद्ध योजना बनाएर लगानी गर्यो जसले गर्दा अमेरिकाले सबै पक्षमा एकैपटक विकास गर्न सक्यो । यसमा अमेरिकी नागरिकले देखाएको धैर्य र राज्यलाई गरेको सहयोग, समाजलाई हेर्ने सकारात्मक दृष्टिकोण, दायित्वबोध र जिम्मेवारीबोध तथा नेतृत्व र व्यवस्थाप्रतिको विश्वास ठूलो आधार थियो ।

यहाँका जनतामा आएको जागरणले राष्ट्र निर्माणमा ठूलो मद्दत पुगेको छ । विदेशी नागरिकलाई नेपालका कुनै पनि निकायको पदमा स्वीकार्नै नसक्ने नेपाली समाज विदेशबाट फर्किएको नेपालीलाई समेत पचाउन गाह्रो मान्छ । तर अमेरिकाको नीति सुरुवातदेखि नै अन्तर्राष्ट्रिय दक्ष व्यक्तिहरूलाई मलजल गर्ने र बढावा दिने खालको छ ।

अल्बर्ट आइन्सटाइन जर्मन नागरिक थिए, अमेरिकामा आएर विज्ञानमा चमत्कार गरिदिए । एलन मस्क दक्षिण अफ्रिकाका हुन्, जसले अमेरिका आएर धमाका मच्चाइरहेका छन् । अमेरिकी नागरिकको संस्कार पनि नवीन सोच र दक्षतालाई स्थान दिने खालको छ । विदेशीहरू यहाँ ओइरिएका छन्, तर पनि यहाँको राष्ट्रवाद कहिल्यै कमजोर भएको छैन ।

अब अमेरिकामा देखिने झिनामसिना तर महत्वपूर्ण कुरातर्फ लागौं जुन अमेरिकी नागरिकहरूले अहिले होइन, अमेरिकाको निर्माण सुरु भएदेखि नै लागू गर्दै आइरहेका छन् ।

१. कामलाई हेर्ने दृष्टिकोण

अमेरिका विकासका दृष्टिले जति माथि छ, कर्मलाई हेर्ने दृष्टिकोणका हिसाबले पनि माथि नै छ । अमेरिकामा दुईवटा भनाइ गहकिला छन् । पहिलो– काम सानो ठूलो भन्ने हुँदैन । दुई– यदि तपाईं सानो कामको लागि आफूलाई ठूलो ठान्नुहुुन्छ भने ठूलो कामको लागि तपाईं असाध्यै सानो हुनुहुन्छ । अर्थात् सानो काम गर्न तपाईं हिच्किचाउनुहुन्छ भने ठूलो काम तपाईंको दक्षताभित्र पर्दैन ।

यी दुई दृष्टिकोण अमेरिकी नागरिकको गीता वचन हुन् । समाजले सानो काम गर्ने र ठूला काम गर्नेलाई हेर्ने नजरमा विभेद गरेको छैन । एउटा परिवारभित्र पनि कोही उच्च पदमा र अर्को न्यूनतम पद वा काममा रहेछ भने पनि विभेद नगर्ने संस्कारको विकास भएको छ । कुनै एउटा कार्यालयमा प्रबन्धक वा अधिकृत पदमा कार्यरत व्यक्तिले कुचो लगाउँदै गरेको वा सिसा पुछ्दै गरेको पनि देख्न सकिन्छ ।

हाकिम भनेको कुर्सीमा बस्ने होइन भन्ने मानसिकताको विकास भएको देखिन्छ । सरसफाइ कर्मचारीले सफा गर्दागर्दै पनि आफ्नो कक्षमा कतै सफा गर्नुपर्ने अवस्था देखियो भने उच्च तहका अधिकृतहरू पनि आफैं सफा गर्न तम्सिन्छन् तर सफाइ कर्मचारीलाई हप्काउने वा दुर्वचन लगाउँदैनन् । आफूभन्दा जुनियरलाई काम सिकाउनु पर्दा निर्देशनात्मक शैलीमा नभई मैले भए यसरी गर्ने थिएँ, तपाईंले कसरी गर्नुहुन्छ भनेर सहज बनाइदिने र अनुभवविहीनलाई सद्भावपूर्ण तरिकाले काम सिकाउने संस्कार छ ।

कार्यक्षेत्रमा गफ चुटेर बस्ने वा कुरा काटेर बस्ने संस्कारको अभाव छ । कर्मलाई पूजा गर्ने उदाहरण यहाँ देख्न पाइन्छ । नेपालमा विद्यमान मानसिकता तपाईं हामीले देखे–भोगेकै छौं । आफ्नो काम आफैं गर्नुपर्छ भन्दै कोही आयो भने त्यो व्यक्ति मजाकको पात्र बन्छ, मिम बन्छन्, हास्यपात्र बनाएर उल्लु बनाइन्छ, जसले काम गर्न खोजेको व्यक्ति पनि हतोत्साही हुन्छ । हाम्रो मानसिक दरिद्रता धेरै घटनाहरूमा प्रदर्शन भइसकेको छ ।

२. कहिलेसम्म काम गर्ने ?

नेपालको एउटा सामान्य परिवारमा एकजनाले कमाइ गरिरहेको हुन्छ, अनि ६ जनासम्मको परिवार उसमै आश्रित हुन्छन् । काम गर्ने उमेर समूहका कर्मठ व्यक्तिहरू पनि फुर्सदमै दिन कटाउँछन् । गाउँमा अहिले पनि युवाहरू तास वा क्यारामबोर्ड खेलेर बस्ने तर उमेर ढल्किंदै गरेका बुबा–आमाले सकी–नसकी काम गरिरहेको हामी देख्छौं । अझ ती युवाहरू नै सरकारले काम गर्ने वातावरण बनाइदिएन भन्दै धारेहात लगाइरहेका हुन्छन् ।

नेपालमा ६० वर्ष नाघेका मानिसहरू काम गरेको प्रतिशत त नगन्य नै छ । यसले काम गर्ने व्यक्तिलाई अतिरिक्त भार त परिरहेको हुन्छ नै आर्थिक हिसाबले पनि परिवार कमजोर भइरहेको हुुन्छ । तर अमेरिकामा कम्तीमा २० वर्ष पुगेका युवाहरू कामको लागि मानसिक रूपमा तयार भइसकेका हुँदा रहेछन् भने ७० वर्ष कटेका व्यक्तिहरू पनि काममै भेटिन्छन् । ६५ वर्ष कटेका धेरै व्यक्तिहरू त यस पंक्तिकारका सहकर्मी छन् ।

खोजेको समयमा काम नपाउने युवाहरू राज्यलाई दोष दिंदैनन् बरु विकल्पहरू खोजिरहेका हुन्छन्, आफ्नो दक्षता विकासमा जोड दिइरहेका हुन्छन् । स्वास्थ्यले साथ दिएसम्म सबैले काम गर्ने भन्ने मनोविज्ञान छ यहाँ भने रिटायर्ड लाइफमा पनि स्वस्थ रहिरहन र नियमित आम्दानीको लागि पार्ट टाइम काम गर्नुपर्छ भन्ने मान्यता छ । सबैले कमाउने भएपछि परिवार आर्थिक हिसाबले मजबुत हुन्छ नै । आर्थिक हिसाबले मजबुत परिवारमा कलह पनि विरलै हुन्छ ।

३. बच्चैदेखि सिकाइन्छ यी कुरा

अमेरिकामा मानवअधिकारको उच्च सम्मान हुन्छ । वैयक्तिक स्वतन्त्रताको प्रचुर उपयोग गर्न पाइने जमिन हो यो । आफ्नो अधिकार प्रयोग गर्नका लागि कसैको निगाह कुरिरहन पर्दैन । यहाँको अदालतले पनि सार्वजनिक निकाय भन्दा व्यक्तिका कुरालाई बढी प्राथमिकता दिन्छ, त्यसैले व्यक्तिका मुद्दामा छिटो फैसला सुनाइदिन्छ । तर नेपालमा ठिक उल्टो पाइन्छ ।

बाटोमा हिंडिरहेको बटुवाले पहिलो प्राथमिकता पाउँछ, टाढाबाट हुत्तिंदै आएको गाडी पनि सडक काट्न खोजेको व्यक्ति देखेपछि रोकिन्छ अनि बाटो काट्न इशारा गर्छ । लेन अनुशासन कडाइका साथ लागू गरिरहेको देखिन्छ । तसर्थ गाडी देखेर नागरिक तर्सनुपर्दैन । वृद्धवृद्धालाई गरिने सम्मान र बच्चाहरूप्रति देखाइने माया र सद्भाव साँच्चिकै लोभलाग्दो छ ।

अपरिचित व्यक्ति भेटे पनि हाई हेलो गर्दै मुस्कुराउँदै हिंडेको देखिन्छ । बाटोमा कुकुर डुलाइरहेका व्यक्तिलाई शिष्टाचार जनाइसकेपछि मानिसहरू उसको कुकुरको बारेमा पनि छलफल गर्छन् र मान्छेलाई जत्तिकै माया देखाउँछन् । घरका कुनै पनि काममा पुरुष र महिलाको लागि छुट्याइएको भन्ने हुँदैन ।

जो फुर्सदमा छ उसले घरका काम गरिरहेका हुन्छन् । सबैले सबै काम गर्न तयार भइरहेका हुन्छन् । घरका वृद्ध व्यक्तिहरूलाई चर्को स्वर र बच्चाहरूलाई पिट्ने काम विरलै हुन्छ । हरेक व्यक्ति चाहे त्यो सबल होस् या दुुर्बल, गरिब होस् या धनी, उच्चपदमा पुगेको होस् वा निम्न तहमा, सबैको आत्मसम्मान र प्रतिष्ठा हुन्छ भन्ने कुरा यहाँका नागरिकलाई राम्रोसँग बोध भएको भेटिन्छ ।

यो पंक्तिकार केही समयअघि एउटा अमेरिकी परिवारसँग झण्डै २४ घण्टा सँगै बस्ने अवसर जुरेको थियो । सो परिवारमा एउटा सानो बालक पनि थियो । यी सबै विषय उसकी हजुरआमाले उसलाई सिकाइरहेकी थिइन् । बच्चा बेलादेखि नै मानवअधिकार, कामप्रतिको दृष्टिकोण, घर व्यवहार र सडक व्यवहार, अन्य व्यक्तिलाई गरिने आदर सम्मान र मायाका विषय सिकाइँदो रहेछ । यसले बालबालिकाहरूको सामाजिक दृष्टि निर्माणमा ठूलो मद्दत पुग्छ ।

४. घर सजावट र वातावरण सरसफाइ

अमेरिकी नागरिकहरूले गर्ने एउटा अर्को अनुसरणीय सानो काम छ, त्यो हो सरसफाइ र घर सजावट । नेपालमा कुनै पनि व्यक्तिको घरको आँगन, वरिपरिको वातावरण वा उसको छानोबाट सजिलै थाहा पाउन सकिन्छ, सो परिवार कति धनी वा गरिब हो । तर लाखौं नागरिक गरिब रहेको अमेरिकामा त्यो अनुमान लगाउन गाह्रो छ । किनकि सामान्य भन्दा सामान्य गाउँमा बस्ने गरिब परिवारले पनि घर सजावट र वातावरण सरसफाइमा ध्यान दिएको हुन्छ, घरलाई धनीको जस्तै आकर्षक बनाएको हुन्छ ।

घरमा उपलब्ध थोरै सामान र धेरै सस्तो सामानबाट पनि घरको आकर्षक सजावट गर्न सकिन्छ वा घरलाई घर जस्तो बनाउन सकिन्छ भन्ने उदाहरण यहाँ भेटिन्छ । घरको प्रवेश क्षेत्र वा मूल ढोकाको क्षेत्र सफा र चिटिक्क पारिएको हुन्छ । यो काम गर्नका लागि जाँगर मात्र चाहिने हो, पैसा खर्च हुँदैन । त्यसैले होला जतिसुकै गरिब अमेरिकी नागरिकले पनि घरको आँगन र वरिपरिको रूख–बिरुवा, दुबो र अन्य वस्तुहरूको स्याहार गरेको हुन्छ ।

घरको फोहोर सडकमा जम्मा गरिंदैन बरु स्थानीय तहले तोके अनुसारका गल्ने/नगल्ने डस्टबिन वा तोकिएको स्थानमा मात्रै फाल्ने गरिन्छ । गाडीबाट चकलेटका खोल वा कुनै कागज फाल्ने, चुरोटका ठुटा मिल्काउने, प्याच्च थुकिदिने चलन त यहाँ थाहै छैन । आत्मानुशासन पालनाको उच्चतम रूप देख्न सकिन्छ ।

केही समय अघि हामी घुुमफिर गर्दै केही गाउँसम्म पुुगेका थियौं । कुनै पनि घरको अगाडि झाँगिएको दुबो, थुुप्रिएको फोहोर, खाल्डाखुल्डी, जमेको पानी, यत्रतत्र फालिएका पुराना लुगा र सरसामान मैले कतै देख्न पाइनँ । लाग्यो, यति काम गर्न धनी भइराख्नुपर्दैन । स्थानीय समुदायमा देखिने केही समस्या यहाँका स्थानीय तहहरूले तत्कालै सुुल्झाउन प्रयत्न गर्छन् । उनीहरू यति शीघ्र र प्रभावकारी छन् कि नागरिकको गुनासो आउने ठाउँ नै बाँकी रहन्न । प्रविधिको उच्चतम प्रयोग र सार्वजनिक निकायहरूबीच प्रभावकारी समन्वय हुने भएकोले सडक, ढल मर्मत जस्ता सानातिना काम केही घन्टामै सम्पन्न हुँदोरहेछ ।

अमेरिका आउने हरेक नेपालीले केही न केही पक्कै सिक्छ । सिकेका कुरा आफ्नो र परिवारको जीवनमा मात्रै लागू गर्ने हो भने पनि नेपालमा पछिल्लो समय मौलाएको मनोसामाजिक समस्या र नैराश्यता कम गर्न सकिन्छ ।

५. यो पो हो कि मानवता र धर्म ?

धनी मानिसहरूको कमी छैन नेपालमा । व्यापार व्यवसायबाट मनग्य आम्दानी गरेका, सरकारी उच्च ओहोदामा बसेर अथाह कमाएका, राजनीतिमा लागेर अकुत जम्मा गरेका, मिहिनेतबाट अथाह जोडेका मानिसहरूको संख्या सानो होला तर अपर्याप्त छैन । तर जोडेको धनबाट केही प्रतिशत समाजसेवामा लगाउने विरलै देखिन्छ ।

पुण्य कमाउने भनेको मन्दिर बनाइदिने वा यज्ञ, पुराण चल्दा जग्गा वा पैसा दान दिने भन्ने मात्रै सम्झिइन्छ । यदि कसैले ठूलै समाजसेवा गरिरहेको छ भने शंका गर्नुपर्ने ठाउँ भेटिन्छ, प्रमाण नै फेला पर्छन् (केही अपवादबाहेक) । गाउँका गरिबहरू ठग्न पाए धनीमानी र जमिनदारहरू आफूलाई शक्तिशाली र प्रभावकारी सम्झन्छन् । मिटरव्याजको जालोमा गरिबहरूलाई फसाउन पाए आफूलाई नायक सम्झन्छन् ।

सरकारी काम भन्दा बढी अरू नै धन्दा चलाउन पाए कर्मचारीहरू आफूलाई स्मार्ट सम्झन्छन् । धनीमानीहरू मन्दिरभित्र छिरेर हजारौं रुपैयाँ चढाउन तयार हुन्छन् तर बाहिर बसेको माग्ने मानिसहरूलाई ५ रुपैयाँ दिन तयार हुँदैनन् । मानव सेवाका लागि खुलेका संस्थाहरू वैदेशिक परियोजना वा अन्य कुनै धन्दा चलाए मात्रै टिक्न सक्छन् । नेपाली धनाढ्यहरूले यस्तो ठाउँमा खर्च नै गर्दैनन् । तर अमेरिकी नागरिकहरूको मन पनि ठूलो छ ।

गरिब राष्ट्रहरूमा अर्बौंका प्रोजेक्ट चल्नका लागि महँगो कर त तिरिरहेका छन् नै, मानव कल्याणका लागि अमेरिकामै पनि लगानी गरिरहेका छन् । यहाँका अधिकांश विश्वविद्यालयका भवनहरू व्यक्तिगत दान वा सहयोगमा निर्माण भएका छन् जहाँ दाताको नाम ठूलो अक्षरमा कुँदिएको हुन्छ । ठिक्क पैसा हुनेहरू शहरमा स्थापना गरिएका सहयोग कक्षहरूमा लगानी गर्छन्, खाना नपाउनेहरूको लागि खानाको प्रबन्ध गरिदिन्छन्, आफूले प्रयोग गर्दै आइरहेको सामान (पुनः प्रयोग गर्न मिल्ने) फोहोरमा मिल्काउनुको साटो सफा बनाएर सडक छेउ वा तोकिएको स्थानमा लगेर छोडिदिन्छन् ताकि किन्न नसक्नेहरूले प्रयोग गर्न सकून् ।

चर्च वा अन्य धार्मिक संघ–संस्थालाई पनि दान गर्छन् तर त्योभन्दा बढी मानव सेवाको लागि खर्च गर्न तम्सन्छन् । व्यापारिक समूहहरू उपभोक्ताले सामान मन नपराएको खण्डमा प्रयोग भइसकेका सामान पनि फिर्ता गर्न राजी हुन्छन् । त्यस्ता फिर्ता गरिएका कतिपय सामग्रीहरू दानको रूपमा प्रयोगमा ल्याउँछन् । हिन्दु धर्ममा व्यापक प्रयोग हुने शब्दांश ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अमेरिकीहरूले बढ्ता लागू गरिरहेका छन् । अरूलाई सहयोग गर्न तम्सिने उनीहरू आफ्नो गल्ती नभए पनि माफी मागिहाल्छन् । सामान्य भन्दा सामान्य सहयोगमा धन्यवाद दिन कञ्जुस्याइँ गर्दैनन् ।

कोही व्यक्ति घर छेउको सडक वा कार्यालय छेउछाउ उभिएर बसेको छ भने अप्ठ्यारो परेको छ कि ? केही सहयोग गर्न सक्छु कि भनेर सोधिहाल्छन् । निचोडमा भन्ने हो भने मानव सेवा नै सर्वश्रेष्ठ धर्म हो भन्ने बुझाइ छ उनीहरूको ।

माथि उल्लिखित पाँच विषयहरू म बसिरहेको र पुगेको ठाउँका उदाहरण मात्रै हुन् । अमेरिका नेपालभन्दा बीसौं गुणा ठूलो छ, अन्य स्थानविशेष उदाहरण अथाह हुनसक्छन् । समग्रमा भन्ने हो भने अमेरिकी संस्कार र प्रवृत्ति उच्चतम प्रकृतिको छ । जसले अमेरिकाको विकासमा बलियो आधार खडा गरेको छ । अमेरिका आउने हरेक नेपालीले केही न केही पक्कै सिक्छ । सिकेका कुरा आफ्नो र परिवारको जीवनमा मात्रै लागू गर्ने हो भने पनि नेपालमा पछिल्लो समय मौलाएको मनोसामाजिक समस्या र नैराश्यता कम गर्न सकिन्छ ।

अझ अमेरिकाबाट फर्किएर जानेहरूले ती कुरा फराकिलो रूपमा लागू गर्न सक्छन् । जसले नेपाली समाजलाई उन्नत बनाउन योगदान गर्न सक्छ । त्यसैले अमेरिका प्रवेश गरेका व्यक्तिहरूलाई अब शुभकामना र बधाई दिने स्टाटसमा, ‘त्यहाँको संस्कार, प्रचलन तथा प्रवृत्ति सिक्ने र सिकाउने हुनु’ भन्ने वाक्य थप्नुपर्छ होला !

(शर्मा पीएचडीका लागि अमेरिकामा अध्ययनरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?