+

मुटुमा समस्या भएको शंका लागेमा के परीक्षण गर्ने, कति लाग्छ खर्च ?

२०८० चैत  ८ गते ११:५१ २०८० चैत ८ गते ११:५१
मुटुमा समस्या भएको शंका लागेमा के परीक्षण गर्ने, कति लाग्छ खर्च ?

इको, ईसीजी, एन्जियोग्राम, टीएमटी । यस्ता धेरै किसिमको परीक्षण मुटुको परीक्षणको क्रममा तपाईंले सुन्नुभएको हुनसक्छ । मुटुमा केही समस्या भएमा वा शंका भएमा चिकित्सकले विविध परीक्षण गराउन सिफारिस गर्न सक्छन् ।

स्वस्थ व्यक्तिले समस्या नहुँदा पनि समय मिलाएर वर्षमा एकपटक मुटुको परीक्षण गर्दा समस्या देखा परिहालेमा छिट्टै उपचार गरी जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

हल्का काम गर्दा पनि स्याँ-स्याँ भइहाल्ने, बढी थकान अनुभव हुनु, सास लिन समस्या हुनु, मुटुको धड्कन तीव्र हुनु, चक्कर आउनु, छाती दुख्दै बायाँ पाखुरातर्फ सर्दै जानु जस्ता लक्षण देखिएमा तत्काल मुटुको परीक्षण गराउनुपर्छ ।

के कस्ता परीक्षण कुन अवस्थामा गर्ने ?

सीजी

इलेक्ट्रो कार्डियोग्राम (ईसीजी) भनेको मुटुमा हुने विभिन्न गतिविधि र अवस्थालाई विद्युतीय उपकरणको माध्यमबाट ग्राफमा व्यक्त गर्ने परीक्षण हो । यसरी ग्राफमा व्यक्त भएको जानकारीबाट मुटुमा देखिएको समस्याको संकेत प्राप्त हुन्छ । जसबाट मुटुको धड्कनको समस्या, मुटुको कार्यको अवस्था, मुटुको गति लगायत मुटुको विविध विषयमा समष्टिगत जानकारी प्राप्त हुन्छ ।

छाती दुखेर बायाँतर्फ सरेमा वा मुटुको चाल अनियमित भएमा वा अन्य शंका लागेमा नजिकैको अस्पताल वा स्वास्थ केन्द्रमा ईसीजी गराउनुपर्छ । किनकि यो परीक्षणले हृदयघात हुन लागेको अवस्था पनि पत्ता लगाउँछ ।

खर्च

परीक्षण शुल्कको कुरा गर्ने हो भने औसतमा तीनदेखि चार सय रुपैयाँ पर्छ । यद्यपि, अस्पतालअनुसार शुल्कमा केही तलमाथि हुनसक्छ ।

कार्डियाक ईन्जाइम

हदयघात हुँदा मुटुका भागहरु सुन्निएर क्षति पुगेको वा मुटुका मांसपेशीमा असर पुगेको छ कि छैन भनेर थाहा पाउन कार्डियाक ईन्जाइमको परीक्षण गरिन्छ । उक्त परीक्षणमा हदयघात भए नभएको पत्ता लगाइन्छ । जसबाट कति छिटो अन्य उपचार गर्नुपर्ने हुन्छ भनेर पत्ता लाग्छ । यो परीक्षण हृदयघात हुँदा वा यसको आशंका हुँदा गरिन्छ ।

खर्च

यो परीक्षणको लागि खर्च एक हजारदेखि दुई हजार रुपैयाँ जति लाग्छ ।

इको कार्डियोग्राम

ईसीजीमा नतिजा स्पष्ट नदेखिएको खण्डमा इलेक्टो कार्डियोग्राम गरिन्छ । यस परीक्षणमा मुटुको ध्वनि तरंगहरू हेरेर मुटुको कार्यसंरचना जाँच गर्न प्रयोग गरिन्छ । मुटु र मुटुको भल्बमार्फत रगतको प्रवाहको जानकारी यस परीक्षणबाट पाउन सकिन्छ ।

इको कार्डियोग्रामले मुटुको भल्बमा वा मुटुको पम्प गर्ने क्षमतामा कुनै खराबी छ कि छैन भनेर पहिचान गर्छ । जसबाट भल्बहरु सुन्निएको, साँघुरिएको र पम्पको अनियमितता भएको पत्ता लगाई यसको लागि आवश्यक उपचारको संकेत गर्छ । हृदयघातपछि देखिन सक्ने जटिलता पनि यसले देखाउँछ ।

यो वर्षमा एकपटक गर्नुपर्ने सामान्य परीक्षणअन्तर्गत पर्छन् । यस परीक्षणले मुटुमा कुनै समस्या आएको शंका लाग्यो,  हदयघात हुन लाग्यो,  भइसक्यो वा हृदयाघात र भइसकेपछि देखिने जटिलता पत्ता लगाइन्छ ।

खर्च

यो परीक्षणको लागि औषतमा दुई हजार  लाग्न सक्छ ।

कोरोनरी एन्जियोग्राम

हृदयघातको शंका लाग्यो तर ईसीजी र इको कार्डियोग्रामबाट मुटुको अवस्थितिको स्पष्ट नतिजा आएन भने कोरोनरी एन्जियोग्राम गरिन्छ । यसले मुटुको धमनीमा के कस्तो अवरोध आएको छ भन्ने जानकारी दिन्छ ।

अन्य रगत परीक्षण

केही प्रकारका रगत परीक्षण पनि मुटु सम्बन्धी जानकारी दिन्छ । रगत परीक्षणबाट कोलेस्ट्रोल लेभल, सोडियम, पोटासियम लिपिड प्रोफाइल र बल्ड शुगर हेरिन्छ । किनकी यसमा तलमाथि भए पनि मुटु सम्बन्धी समस्या हुन सक्छ ।

खर्च

यी परीक्षणको खर्च एक हजार देखि दुई हजारसम्म पर्न सक्छ।

एम्बुलेटरी बल्ड प्रेसर म्यानेजमेन्ट (एबीपीएम)

कतिपय अवस्थामा रक्तचाप नाप्दा कहिले बढी र कहिले कम देखाउन सक्छ । यस्तो अवस्थामा व्यक्तिलाइे दोधारमा पार्न सक्छ । यसको पहिचान गर्न प्रेसर नाप्ने उपकरण पाखुरामा बाँधेर बिरामीलाई घरमा पठाइन्छ । यसले बिरामीको नियमित हुने क्रियाकलापको डाटा निकाल्छ । जुन हेरेर चिकित्सकलाई समस्या पहिचान गर्न सहज हुन्छ ।

खर्च

यसको मुल्य औसतमा दुई हजार देखि २५ सय पर्नसक्छ ।

होल्टर ईसीजी

जो व्यक्तिलाई मुटुको धड्कन धेरै छिटो वा कम धड्किएको अनुभव हुन्छ । साथै, चक्कर लाग्ने वा इसिजि परीक्षणमा मुटुको धड्कन बढी वा कम वा अनियमित देखाउँछ त्यस्तो अवस्थामा होल्टर, इसिजि गरिन्छ । ईसीजी  मेसिन छातिमा टास्ने र पाखुरामा एक उपकरण जोडेर बिरामीलाई घर पठाइन्छ । यसरी २४ घण्टाको उसको क्रियाकलाप निगरानीमा राखेर मुटुको धड्कनको अवस्था बुझिन्छ ।

खर्च

यसको मुल्य औसतमा दुई हजार देखि २५ सय पर्नसक्छ ।

टीएमटी परीक्षण

ट्रेडमिल टेस्ट (टीएमटी) परीक्षणका लागि ट्रेडमिलमा हिंडाएर ईसीजी गरिन्छ । छातीको दुखाइ भइरहेको छ वा हृदयघातको शंका लाग्यो भने यो परीक्षण गरिन्छ । विशेषगरी मधुमेह र उच्च रक्तचाप भएको बिरामीमा हृदयघातको शंका भएमा यो परीक्षण गरिन्छ ।

यो परीक्षणले व्यक्ति दौडिंदा वा छिटो हिंड्दा मुटुमा के समस्या छ त्यो पत्ता लगाउँछ । मुटुमा आंशिक अवरोध भए, नभएको पत्ता लाग्छ ।

खर्च

यो परीक्षणको लागि औषतमा दुई हजार  लाग्न सक्छ ।

एमआरआई/सीटी स्क्यान

एन्जियोग्राफीले मुटुको धमनी र भल्बमा भएको समस्या राम्रोसँग देख्न सकेन भने एमआरआई गरिन्छ । यसले मुटुको सबै भाग र रक्तसञ्चारलाई स्पष्ट देखाउँछ । र, त्यहाँको समस्या पत्ता लगाउँछ । अन्य परीक्षणले मुटुको समस्या पत्ता नलागेको केसमा मात्र एमआरआई गरिने भएकाले यो परीक्षण सबैलाई आवश्यक पर्दैन ।

त्यस्तै, सीटी स्क्यानले मुटुभित्रको सम्पूर्ण अवस्थालाई अवलोकन गर्छ । यी दुवै परीक्षण गम्भीर खालको अवस्थामा मात्र आवश्यक हुन जान्छ ।

खर्च

एमआरआईको खर्च १० देखि १५ हजार रुपैयाँसम्म लाग्न सक्छ । जुन अस्पताल र मेसिनअनुसार फरक पर्न जान्छ ।

 

ईसीजी डा. कमल लम्साल मुटु परीक्षण
डा. कमल शर्मा लम्साल
लेखक
डा. कमल शर्मा लम्साल
वरिष्ठ मुटुरोग विशेषज्ञ

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल हाल काठमाडौं चावहिलस्थित ओम अस्पतालर र नयाँ बानेश्वरस्थित एभरेष्टअस्पतालमा कार्यरत छन् । उनले इन्टरनल मेडिसिनमा एमडी र कार्डियोलोजीमा फेलोसिप गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३३३८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय