+

आँखाको कस्तो समस्यामा शल्यक्रिया गर्न सकिन्छ, कति लाग्छ खर्च ?

२०८० चैत  २८ गते १२:३२ २०८० चैत २८ गते १२:३२
आँखाको कस्तो समस्यामा शल्यक्रिया गर्न सकिन्छ, कति लाग्छ खर्च ?

कतिपयमा जन्मजात अन्धोपनको समस्या हुन्छ भने कतिपयमा उमेर बढ्दै जाँदा न्यून दृष्टिको समस्या देखा पर्छ ।

विश्वमै अन्धोपनको मुख्य कारण मोतीबिन्दु हो । आँखाको प्रकाश धमिलो हुँदै गएर दृष्टि गुम्ने रोगलाई मोतीबिन्दु भनिन्छ । नेपालमा पनि अन्धोपन तथा न्यून दृष्टि गराउने आँखाको समस्यामध्ये मोतीबिन्दु प्रमुख कारण हो ।

आँखामा एउटा प्राकृतिक पारदर्शी लेन्स हुन्छ । त्यो लेन्समा सेतो दाग बढ्दै आयो वा बाक्लो हुँदै गयो भने आँखाको पारदर्शितामा धमिलोपन आउँछ । यसकारण हेर्ने क्षमतामा कमी आउनुलाई मोतीबिन्दु भनिन्छ ।

उमेर बढेसँगै शरीरका हरेक कोष परिवर्तन हुन्छन् । त्यसरी नै आँखामा भएको पारदर्शी लेन्स पनि परिवर्तन हुन्छ । विशेषगरी ५० वर्षको उमेरपछि मोतीबिन्दुको समस्या बढी देखिन्छ । जसलाई उमेरअनुसारको मोतीबिन्दु भनिन्छ ।

मोतीबिन्दु भएमा आँखा हेर्न गाह्रो हुने र धमिलो हुने जस्ता समस्या हुन्छ । साथै बिस्तारै आँखाको दृष्टि कम हुँदै गएर पूरै दृष्टि नै गुम्ने भय पनि हुन्छ ।

मोतीबिन्दु भएपछि यसको उपचार भनेको शल्यक्रिया हो । यसको शल्यक्रिया गर्दा पुरानो लेन्स निकालेर कृत्रिम लेन्स राखिन्छ । आँखामा रहेको लेन्सलाई ढाक्ने झिल्लीलाई सानो प्वाल पारेर निकालिन्छ र कृत्रिम लेन्स राखिन्छ । यो शल्यक्रिया सामान्य रूपमा गरिएको सर्जिकल प्रक्रियामध्ये एक हो र सबैभन्दा सफल प्रक्रियामध्ये एक हो ।

शल्यक्रियाको लागि नेपाल तथा भारतमा बनेको लेन्स प्रयोग गर्ने हो भने न्यूनतम खर्च सातदेखि १५ हजार  लाग्छ । आफ्नो रुचिअनुसार अमेरिका, जर्मनी लगायतका देशमा बनेको लेन्स राखेको खण्डमा लेन्सको मूल्य महँगो पर्न सक्छ ।

अन्धोपन निम्तिन सक्ने अन्य कारण र उपचार

जलबिन्दु ‘ग्लुकोमा’

आँखाभित्रको चाप बढेर नसा सुक्दै गएको खण्डमा आँखाले देख्न सक्ने दृष्टि क्षेत्र कम हुँदै गएर बिस्तारै कम देख्दै जाने अवस्था नै जलबिन्दु हो । यस रोगको कारण विभिन्न हुनसक्छन् ।

आँखाको अघिल्लो भागमा एक प्रकारको तरल पदार्थ (एक्युस ह्युमर) उत्पन्न हुन्छ । यदि यसको उत्पादन या प्रवाहमा अवरोध आयो भने आँखाको गेडीभित्र थुनिन्छ र आँखामा दबाब बढ्न थाल्छ । यो दबाबले आँखाबाट मस्तिष्कमा संकेत पठाउने नसालाई नष्ट गर्छ । यो नसा संवेदनशील भएकाले अलिकति दबाब पर्दा पनि यसले काम गर्न छोड्छ । जसले गर्दा दृष्टि कमजोर हुँदै जान्छ । समयमै उपचार भएन भने सधैंका लागि दृष्टि गुम्न पनि सक्छ । जलबिन्दुको उपचार शल्यक्रिया, लेजर ट्रिटमेन्ट र औषधिमार्फत हुन्छ । शल्यक्रिया गर्न १० हजारदेखि ३० हजारसम्म खर्च लाग्न सक्छ ।

डाइबेटिक रेटिनोप्याथी

मधुमेहका कारण बिरामीहरूका ‘आँखाको पर्दा (रेटिना)’ मा हुने असरलाई डाइबेटिक रेटिनोप्याथी भनिन्छ ।  मधुमेहका कारण शरीरको नसामा असर देखिन्छ । यसले आँखाको पर्दाको रक्तनलीमा क्षति पुर्‍याउँछ । आँखाको भित्री भागको पर्दामा रक्तस्राव हुने, आँखाको पर्दा सुन्निने र समयमा उपचार नभए आँखामा अत्याधिक रक्तस्राव हुने र आँखाको पर्दा खुम्चिन थाल्ने लक्षण देखिन्छ । मधुमेहका कारण आँखामा हुने यी असरलाई नै डाइबेटिक रेटिनोप्याथी भनिन्छ ।

डाइबेटिक रेटिनोप्याथी दुई चरणको हुन्छ । सुरुवाती चरणलाई ‘नन प्रोलिफेरेटिव डायबेटिक रेटिनोप्याथी’ र दोस्रो चरणलाई ‘प्रोलिफेरेटिव डायबेटिक रेटिनोप्याथी’ भनिन्छ ।

‘नन प्रोलिफेरेटिव रेटिनोप्याथी’ चरणमा मधुमेह नियन्त्रण गरेर, आँखाको नियमित चेकजाँच गरेर उपचार गर्न सकिन्छ । ‘प्रोलिफेरेटिव डायबेटिक रेटिनोप्याथीको उपचार भने लेजर पद्धतिबाट तथा आँखाको पर्दा सुन्निन कम गर्ने सुई लगाएर गरिन्छ । यी प्रक्रियाको क्रममा कहिलेकाहीं आँखाको पर्दामा रक्तस्राव भएर शल्यक्रिया नै गर्नुपर्ने पनि हुनसक्छ ।

यसको उपचार लामो समय हुने भएकाले खर्चिलो हुन्छ । एकचोटि जाँच गरेर पर्दाको अवस्था कस्तो छ भनेर हेर्न दुईदेखि पाँच हजार खर्च लाग्छ । यदि शल्यक्रिया गर्नुपर्‍यो वा सुन्निन कम गर्ने सुई लगाउनुपरे २५ हजार देखि एक लाख रुपैयाँसम्म खर्च लाग्छ ।

म्याकुलर डिजेनरेसन

म्याकुलर डिजेनरेसन ‘आँखाको पर्दा’ रेटिनासँग सम्बन्धित रोग हो । यो आँखाको रोग तब हुन्छ, जब म्याकुलामा परिवर्तन हुन थाल्छ । म्याकुला रेटिनाको सानो (विशेष) भाग हो र यो आँखाको भित्री तहमा हुन्छ । सामान्यतया उमेर बढ्दै गएसँगै म्याकुलर डिजेनेरेसन (खिइँदै जाने प्रक्रिया) हुन्छ । जसकारण बिरामीले दृष्टि नै गुमाउन सक्छ ।

यसको उपचार पनि लामो समयसम्म हुने भएकोले खर्चिलो हुन्छ । एक चोटि जाँच गरेर पर्दाको अवस्था कस्तो छ भनेर हेर्न दुईदेखि पाँच हजार खर्च लाग्छ । सुन्निन कम गर्ने सुई लगाउन परे १० हजादेखि ७० हजार रुपैयाँसम्म खर्च लाग्छ ।

आँखाको पर्दा च्यातिने समस्या

आँखाको पर्दा च्यातिनु गम्भीर समस्या हो । आँखाको पर्दा च्यातिंदा रेटिना आँखाको पछाडिको तहबाट अलग हुन्छ । जसकारण रेटिनामा रक्तसञ्चार कम हुन थाल्छ । यदि रेटिना लामो समयसम्म अलग रह्यो भने व्यक्तिले स्थायी रूपमा आफ्नो दृष्टि गुमाउन सक्छ । यो समस्यामा रोगको जटिलताअनुसार उपचार गरिन्छ ।

यस्तो भए धेरैजसो अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । पर्दा च्यातिएको छ तर थोरै मात्र उक्किएको छ भने लेजर थेरापीको माध्यमबाट उपचार गर्न सकिन्छ । पर्दाको माथिल्लो भाग खुम्चिएको र च्यातिएको भाग ठूलो छैन भने विशेष खालको ग्यास राखेर लेजर थेरापीबाट उपचार गर्न सकिन्छ । यसको लागि २५ देखी ७५ हजार रुपैयाँसम्म खर्च लाग्छ ।

दृष्टिदोष

दृष्टिदोष सामान्यतया आँखाको समस्या हो । आँखाले कुनै पनि वस्तुलाई राम्ररी ठम्याउन नसक्नु नै दृष्टिदोष हो । दृष्टिदोष भएका व्यक्तिहरूले चस्माको प्रयोग गरिरहेका छन् भने चस्मा हटाउन पनि शल्यक्रिया गरिन्छ ।

यो सर्जरीले आँखामा प्लस माइनस पावर भएका व्यक्तिलाई पावर मिलाएर चस्मा लगाउन नपर्ने बनाइन्छ । आँखा सुक्खा छ, आँखामा घाउ अथवा संक्रमण भएको छ, मोतीबिन्दु भएको छ भने यो शल्यक्रिया गर्न मिल्दैन । यो सर्जरी गर्न एक लाख रुपैयाँ हाराहारीमा खर्च लाग्छ ।

*यसअघि प्रकाशित विवरणमा साह दृष्टि विशेषज्ञ हुनुपर्नेमा नेत्र चिकित्सक उल्लेख हुन गएकाले सच्चाइएको छ ।

आँखाको उपचार आँखाको दृष्टि डा. दीपककुमार साह मोतीबिन्दु
दीपककुमार साह
लेखक
दीपककुमार साह
वरिष्ठ दृष्टि विशेषज्ञ

साह दृष्टि विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय