+

आँखाको कस्तो समस्यामा शल्यक्रिया गर्न सकिन्छ, कति लाग्छ खर्च ?

२०८० चैत  २८ गते १२:३२ २०८० चैत २८ गते १२:३२
Shares
आँखाको कस्तो समस्यामा शल्यक्रिया गर्न सकिन्छ, कति लाग्छ खर्च ?

कतिपयमा जन्मजात अन्धोपनको समस्या हुन्छ भने कतिपयमा उमेर बढ्दै जाँदा न्यून दृष्टिको समस्या देखा पर्छ ।

विश्वमै अन्धोपनको मुख्य कारण मोतीबिन्दु हो । आँखाको प्रकाश धमिलो हुँदै गएर दृष्टि गुम्ने रोगलाई मोतीबिन्दु भनिन्छ । नेपालमा पनि अन्धोपन तथा न्यून दृष्टि गराउने आँखाको समस्यामध्ये मोतीबिन्दु प्रमुख कारण हो ।

आँखामा एउटा प्राकृतिक पारदर्शी लेन्स हुन्छ । त्यो लेन्समा सेतो दाग बढ्दै आयो वा बाक्लो हुँदै गयो भने आँखाको पारदर्शितामा धमिलोपन आउँछ । यसकारण हेर्ने क्षमतामा कमी आउनुलाई मोतीबिन्दु भनिन्छ ।

उमेर बढेसँगै शरीरका हरेक कोष परिवर्तन हुन्छन् । त्यसरी नै आँखामा भएको पारदर्शी लेन्स पनि परिवर्तन हुन्छ । विशेषगरी ५० वर्षको उमेरपछि मोतीबिन्दुको समस्या बढी देखिन्छ । जसलाई उमेरअनुसारको मोतीबिन्दु भनिन्छ ।

मोतीबिन्दु भएमा आँखा हेर्न गाह्रो हुने र धमिलो हुने जस्ता समस्या हुन्छ । साथै बिस्तारै आँखाको दृष्टि कम हुँदै गएर पूरै दृष्टि नै गुम्ने भय पनि हुन्छ ।

मोतीबिन्दु भएपछि यसको उपचार भनेको शल्यक्रिया हो । यसको शल्यक्रिया गर्दा पुरानो लेन्स निकालेर कृत्रिम लेन्स राखिन्छ । आँखामा रहेको लेन्सलाई ढाक्ने झिल्लीलाई सानो प्वाल पारेर निकालिन्छ र कृत्रिम लेन्स राखिन्छ । यो शल्यक्रिया सामान्य रूपमा गरिएको सर्जिकल प्रक्रियामध्ये एक हो र सबैभन्दा सफल प्रक्रियामध्ये एक हो ।

शल्यक्रियाको लागि नेपाल तथा भारतमा बनेको लेन्स प्रयोग गर्ने हो भने न्यूनतम खर्च सातदेखि १५ हजार  लाग्छ । आफ्नो रुचिअनुसार अमेरिका, जर्मनी लगायतका देशमा बनेको लेन्स राखेको खण्डमा लेन्सको मूल्य महँगो पर्न सक्छ ।

अन्धोपन निम्तिन सक्ने अन्य कारण र उपचार

जलबिन्दु ‘ग्लुकोमा’

आँखाभित्रको चाप बढेर नसा सुक्दै गएको खण्डमा आँखाले देख्न सक्ने दृष्टि क्षेत्र कम हुँदै गएर बिस्तारै कम देख्दै जाने अवस्था नै जलबिन्दु हो । यस रोगको कारण विभिन्न हुनसक्छन् ।

आँखाको अघिल्लो भागमा एक प्रकारको तरल पदार्थ (एक्युस ह्युमर) उत्पन्न हुन्छ । यदि यसको उत्पादन या प्रवाहमा अवरोध आयो भने आँखाको गेडीभित्र थुनिन्छ र आँखामा दबाब बढ्न थाल्छ । यो दबाबले आँखाबाट मस्तिष्कमा संकेत पठाउने नसालाई नष्ट गर्छ । यो नसा संवेदनशील भएकाले अलिकति दबाब पर्दा पनि यसले काम गर्न छोड्छ । जसले गर्दा दृष्टि कमजोर हुँदै जान्छ । समयमै उपचार भएन भने सधैंका लागि दृष्टि गुम्न पनि सक्छ । जलबिन्दुको उपचार शल्यक्रिया, लेजर ट्रिटमेन्ट र औषधिमार्फत हुन्छ । शल्यक्रिया गर्न १० हजारदेखि ३० हजारसम्म खर्च लाग्न सक्छ ।

डाइबेटिक रेटिनोप्याथी

मधुमेहका कारण बिरामीहरूका ‘आँखाको पर्दा (रेटिना)’ मा हुने असरलाई डाइबेटिक रेटिनोप्याथी भनिन्छ ।  मधुमेहका कारण शरीरको नसामा असर देखिन्छ । यसले आँखाको पर्दाको रक्तनलीमा क्षति पुर्‍याउँछ । आँखाको भित्री भागको पर्दामा रक्तस्राव हुने, आँखाको पर्दा सुन्निने र समयमा उपचार नभए आँखामा अत्याधिक रक्तस्राव हुने र आँखाको पर्दा खुम्चिन थाल्ने लक्षण देखिन्छ । मधुमेहका कारण आँखामा हुने यी असरलाई नै डाइबेटिक रेटिनोप्याथी भनिन्छ ।

डाइबेटिक रेटिनोप्याथी दुई चरणको हुन्छ । सुरुवाती चरणलाई ‘नन प्रोलिफेरेटिव डायबेटिक रेटिनोप्याथी’ र दोस्रो चरणलाई ‘प्रोलिफेरेटिव डायबेटिक रेटिनोप्याथी’ भनिन्छ ।

‘नन प्रोलिफेरेटिव रेटिनोप्याथी’ चरणमा मधुमेह नियन्त्रण गरेर, आँखाको नियमित चेकजाँच गरेर उपचार गर्न सकिन्छ । ‘प्रोलिफेरेटिव डायबेटिक रेटिनोप्याथीको उपचार भने लेजर पद्धतिबाट तथा आँखाको पर्दा सुन्निन कम गर्ने सुई लगाएर गरिन्छ । यी प्रक्रियाको क्रममा कहिलेकाहीं आँखाको पर्दामा रक्तस्राव भएर शल्यक्रिया नै गर्नुपर्ने पनि हुनसक्छ ।

यसको उपचार लामो समय हुने भएकाले खर्चिलो हुन्छ । एकचोटि जाँच गरेर पर्दाको अवस्था कस्तो छ भनेर हेर्न दुईदेखि पाँच हजार खर्च लाग्छ । यदि शल्यक्रिया गर्नुपर्‍यो वा सुन्निन कम गर्ने सुई लगाउनुपरे २५ हजार देखि एक लाख रुपैयाँसम्म खर्च लाग्छ ।

म्याकुलर डिजेनरेसन

म्याकुलर डिजेनरेसन ‘आँखाको पर्दा’ रेटिनासँग सम्बन्धित रोग हो । यो आँखाको रोग तब हुन्छ, जब म्याकुलामा परिवर्तन हुन थाल्छ । म्याकुला रेटिनाको सानो (विशेष) भाग हो र यो आँखाको भित्री तहमा हुन्छ । सामान्यतया उमेर बढ्दै गएसँगै म्याकुलर डिजेनेरेसन (खिइँदै जाने प्रक्रिया) हुन्छ । जसकारण बिरामीले दृष्टि नै गुमाउन सक्छ ।

यसको उपचार पनि लामो समयसम्म हुने भएकोले खर्चिलो हुन्छ । एक चोटि जाँच गरेर पर्दाको अवस्था कस्तो छ भनेर हेर्न दुईदेखि पाँच हजार खर्च लाग्छ । सुन्निन कम गर्ने सुई लगाउन परे १० हजादेखि ७० हजार रुपैयाँसम्म खर्च लाग्छ ।

आँखाको पर्दा च्यातिने समस्या

आँखाको पर्दा च्यातिनु गम्भीर समस्या हो । आँखाको पर्दा च्यातिंदा रेटिना आँखाको पछाडिको तहबाट अलग हुन्छ । जसकारण रेटिनामा रक्तसञ्चार कम हुन थाल्छ । यदि रेटिना लामो समयसम्म अलग रह्यो भने व्यक्तिले स्थायी रूपमा आफ्नो दृष्टि गुमाउन सक्छ । यो समस्यामा रोगको जटिलताअनुसार उपचार गरिन्छ ।

यस्तो भए धेरैजसो अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । पर्दा च्यातिएको छ तर थोरै मात्र उक्किएको छ भने लेजर थेरापीको माध्यमबाट उपचार गर्न सकिन्छ । पर्दाको माथिल्लो भाग खुम्चिएको र च्यातिएको भाग ठूलो छैन भने विशेष खालको ग्यास राखेर लेजर थेरापीबाट उपचार गर्न सकिन्छ । यसको लागि २५ देखी ७५ हजार रुपैयाँसम्म खर्च लाग्छ ।

दृष्टिदोष

दृष्टिदोष सामान्यतया आँखाको समस्या हो । आँखाले कुनै पनि वस्तुलाई राम्ररी ठम्याउन नसक्नु नै दृष्टिदोष हो । दृष्टिदोष भएका व्यक्तिहरूले चस्माको प्रयोग गरिरहेका छन् भने चस्मा हटाउन पनि शल्यक्रिया गरिन्छ ।

यो सर्जरीले आँखामा प्लस माइनस पावर भएका व्यक्तिलाई पावर मिलाएर चस्मा लगाउन नपर्ने बनाइन्छ । आँखा सुक्खा छ, आँखामा घाउ अथवा संक्रमण भएको छ, मोतीबिन्दु भएको छ भने यो शल्यक्रिया गर्न मिल्दैन । यो सर्जरी गर्न एक लाख रुपैयाँ हाराहारीमा खर्च लाग्छ ।

*यसअघि प्रकाशित विवरणमा साह दृष्टि विशेषज्ञ हुनुपर्नेमा नेत्र चिकित्सक उल्लेख हुन गएकाले सच्चाइएको छ ।

आँखाको उपचार आँखाको दृष्टि डा. दीपककुमार साह मोतीबिन्दु
दीपककुमार साह
लेखक
दीपककुमार साह
वरिष्ठ दृष्टि विशेषज्ञ

साह दृष्टि विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया