+

नयाँ वर्षमा डाक्टरहरूको के छ संकल्प ?  

२०८१ वैशाख  १ गते ७:११ २०८१ वैशाख १ गते ७:११
नयाँ वर्षमा डाक्टरहरूको के छ संकल्प ?  

काठमाडौं । वार्षिक पात्रो फेरिएसँगै हामी जीवनमा केही नयाँपन खोज्न थाल्छौं । विगतमा गरेका कतिपय गल्ती–कमजोरी सच्याउन खोज्छौं । अधुरा रहेका कतिपय योजना–लक्ष्य पूरा गर्न खोज्छौं । अर्थात् ३६५ दिनको एउटा अध्याय पूरा भएसँगै हामी जीवनले पनि काँचुली फेरको महसुस गरिरहेका हुन्छौं ।

यही कारण हामी मनमनै प्रण गरिरहेका हुन्छौं, ‘फलानो वर्षदेखि म यस्तो कुरा त्याग्नेछु । यस्तो कुरा सुधार गर्नेछु । यस्तो कुरा अँगाल्नेछु ।’ अक्सर यसक्रममा आम मान्छेको प्रण शारीरिक स्वास्थ्यसँग जोडिने गर्छ । जस्तो, ‘चुरोट–रक्सी त्याग्नेछु । नियमित व्यायाम गर्नेछु । मनलाई शान्त राख्नेछु । नियमित स्वास्थ्य जाँच गर्नेछु ।’

त्यसो भए चिकित्सक स्वयं चाहिं के कस्ता प्रण गर्दा हुन् ? उनीहरु नयाँ वर्षसँगै के कुरा त्याग्न र के कुरा अँगाल्न चाहन्छन् ?  नयाँ वर्षको सन्दर्भमा हामीले केही चिकित्सकसँग यही जिज्ञासा राखेका थियौं । उनीहरुले गरेको तीन–तीन संकल्प यहाँ प्रस्तुत गरिएको छ ।

प्रा. डा. लोचन कार्की (वरिष्ठ जनरल फिजिसियन)

-हामी चिकित्सकहरु अरुलाई यो खानु, यसरी व्यायाम गर्नु, यसरी स्वास्थ्यको ख्याल राख्नु भन्छौं । तर आफैंलाई भने भुलिरहेका हुन्छौं । त्यसैले यो नयाँ वर्षदेखि म खानपान, व्यायाम, दिनचर्यामा विशेष ध्यान दिनेछु ।

-चिकित्सकहरु कामकाजले गर्दा परिवारलाई समय दिन सकिरहेका हुँदैनन् । यो वर्षदेखि आफ्नो कामसँगै पारिवारिक जीवनलाई समानान्तर ढंगले अगाडि बढाउनेछु ।

-स्वास्थ्य क्षेत्रबारे आफूलाई चाहिने ज्ञान, जानकारी आर्जन गरेको छु । अब भने अन्य विधिगत कानुनबारे जान्नका लागि एलएलबीको अध्ययन गर्नेछु ।

प्रा. डा. राजीव झा (वरिष्ठ न्युरोसर्जन)

-चिकित्सा विज्ञानमा नयाँ नयाँ प्रयोग र अध्ययन भइरहेको हुन्छ । त्यसअनुसार नयाँ नतिजा पनि आइरहेको हुन्छ । सम्भव भएसम्म चिकित्सा विज्ञानको नयाँ उपलब्धिहरुमा अपडेट हुँदै आफूलाई परिस्कृत गर्नेछु ।

-चिकित्सा विज्ञानसम्बन्धी नयाँ खोज, अनुसन्धनात्मक जर्नलहरु बढी भन्दा बढी पढ्नेछु ।

-नितान्त आफ्नो लागि समय दिनेछु । परिवारसँग गुणस्तरीय समय बिताउनेछु ।

डा. शेरबहादुर पुन (सरुवारोग विशेषज्ञ)

-आफ्नो काममा अरु बढी जिम्मेवार हुनेछु र नतिजामुखी काम गर्नेछु ।

-सरुवारोग उपचारका लागि भौतिक पूर्वाधार अझैपनि व्यवस्थित छैन । यसलाई व्यवस्थित गर्न सम्बन्धित निकायमा पहल गर्नेछु ।

-मुलुकको स्वास्थ्य क्षेत्रमा धेरै समस्या र कमजोरी छन् । म आफ्नोतर्फबाट त्यसलाई सुधार्ने प्रयास गर्नेछु ।

डा. प्रसन्ना कार्की (इन्टरभेन्सनल न्युरोसर्जन)

-हामी चिकित्सक स्वयंले आफ्नो स्वास्थ्यबारे सजग हुन बढी जरुरी छ । म स्वस्थ जीवनशैली, खानपान आदिमा ध्यान दिनेछु ।

-स्ट्रोकबारे अझै पनि नेपाली समाजमा पर्याप्त जनचेतना छैन । म सामाजिक सञ्जालमार्फत जनचेतनामूलक भिडियो बनाएर स्ट्रोकबारे बुझाउने प्रयास गर्नेछु ।

-स्ट्रोकबाट पीडितलाई कसरी सहयोग गर्न सकिन्छ ? आफ्नोतर्फबाट ठोस पहल गर्नेछु ।

डा. रुपक विक घिमिरे (छाला तथा यौनरोग विशेषज्ञ)

-कामलाई मात्र नभई आफ्नो निद्रा, व्यायाम, खानपानलाई ध्यान दिनेछु ।

-पेशासँगै सामाजिक कार्य गर्ने योजना छ । २०८१ सालमा आधार मायाको फाउन्डेसन नामक संस्था दर्ता गर्नेछु ।

-जनचेतनामूलक स्वास्थ्यसम्बन्धी पोडकास्ट सञ्चालन गर्ने योजना छ ।

डा. वालकृष्ण साह (प्रसूति तथा स्त्रीरोग विशेषज्ञ)

१.हामीले आफूलाई आन्तरिक रुपमा पनि शुद्धिकरण गर्नुपर्ने रहेछ । त्यसैले यसपालीदेखि म सकेसम्म कम रिसाउने प्रयास गर्छु ।

२. हामीकहाँ बोल्ने बेथिती बढी छ । नेतादेखि रैतीसम्म बोल्ने मात्र छन् । म यसपालीदेखि कम बोल्ने यत्न गर्नेछु ।

३. कामप्रतिको दायित्व छाड्ने छैन । उद्यपि धपेडी भने कम गर्नेछु । आफ्नो स्वस्थ, परिवार र खुसीको लागि पनि समय दिनेछु ।

डा. सुमनराज ताम्राकार (प्रसूति तथा स्त्रीरोग विशेषज्ञ)

-बिरामीलाई अझ प्रभावकारी तरिकाले परामर्श र स्वास्थ्य सेवा दिंदै जानेछु ।

-आफ्नो स्वस्थ्यलाई ध्यानमा राख्दै शारीरिक व्यायामलाई निरन्तरता दिनेछु । सन्तुलिन खानपान गर्नेछु ।

-घुम्नैपर्ने केही नयाँ ठाउँहरुमा समय मिलाएर घुम्न जाने योजना छ ।

डा. अमित झा (बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक)

-काम गर्दा कतिपय गर्नैपर्ने काम छुट्छ, कतिपय नगर्नुपर्ने काम गरिन्छ । अब भने म यसलाई व्यवस्थित गर्न सूची बनाउनेछु र त्यहीअनुसार काम गर्नेछु ।

-आफ्नो कामलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्छ ।

-अल्छीपन त्याग्नेछु ।

डा. रोशन प्रजापति (मेडिकल अन्कोलोजिस्ट)

-कार्यव्यस्ततासँगै आफ्नो स्वास्थ्यका लागि दिनहुँ एक घण्टा छुट्याउनेछु ।

-आफ्ना घनिष्ठ साथीहरु छन्, जो धुम्रपान गर्छन् । उनीहरुलाई त्यसको लतबाट छुटाउने प्रयास गर्नेछु ।

-घरबाहिरको खानामा भन्दा आफ्नै भान्साको खानामा बढी जोड दिनेछु ।

डा. अरुण केसी (नाक, कान तथा घाँटीरोग विशेषज्ञ)

-मेरो कर्म, धर्म भनेकै बिरामीको उपचार हो । उनीहरुको उपचारमा अरु सक्रिय रुपमा खटिनेछु ।

-अरुको स्वास्थ्यको ख्याल गरिरहँदा कहिलेकाहीं आफैंलाई भुलिरहेका हुन्छौं । आफ्नो स्वास्थ्यप्रति पनि सजग हुनेछु । खानपान, सुत्ने–उठ्ने, विश्राम, व्यायाम जस्ता कुरा ध्यान दिनेछु ।

-आफ्नो खुसी र सुखको स्रोत भनेको परिवार हो । परिवारलाई धेरै भन्दा धेरै समय दिनेछु ।

डा. विजय ज्ञवाली (क्लिनिकल मनोविज्ञ)

-बिरामीलाई सुन्ने धैर्यतालाई अझ बढाउने र उनीहरुको जीवनको गुणस्तरलाई ध्यान दिएर उपचार गर्ने ।

-पारिवारिक समय बढाउँदै छोराछोरीसँग अझ बढी राम्रा स्मृतिहरु बढाउने ।

-आफ्नो व्यक्तिगत स्वास्थ्यमा बढी ख्याल दिने । आफूलाई अरु महत्व दिने ।

डा. राजु अधिकारी (जीवनशैली तथा योग प्रशिक्षक)

-स्वस्थ जीवनको लक्ष्यलाई हरेक दिन याद गर्नेछु र आफूलाई अझै स्वस्थ बनाउँदै लैजाने छु ।

-हरेक दिन एक घण्टा समय निकाली मौन बस्नेछु र त्यस समय स्वचिन्तन गर्नेछु ।

-प्रकृति र संस्कृतिलाई कुनै पनि तरिकाले प्रदूषित गर्ने कार्य गर्नेछैन ।

अकु. सुदर्शन बस्नेत

-आफ्नो तौल घटाउनेछु ।

-रारा ताल घुम्नेछु । र, सम्भव भएसम्म यो वर्ष नेपालको सबै जिल्ला टेक्नेछु ।

-चिनी तथा चिनीजन्य खानेकुरालाई पूर्णत: बन्द गर्नेछु ।

डा. मधु पाण्डे (मधुमेह विशेषज्ञ)

-दैनिक एक घण्टा आफ्नो लागि छुट्याउनेछु । नियमित व्यायाम गर्नेछु ।

-खानाको थालीमा सलाद, सागपात, फलफूलको मात्रा बढाउनेछु ।

-अहिले हामी कामको दौडधुपमा पानी पिउन बिर्सन्छौं । त्यही कारण विभिन्न समस्या आउँछ । शरीरलाई आवश्यक पानी पिउनेछु । खानपान र स्वस्थ्यलाई बढी ध्यान दिनेछु ।

डा. श्वेता सिंह (प्रसूति तथा स्त्रीरोग एवं आईभीएफ विशेषज्ञ)

-बिहान उठ्नासाथ योगा र ध्यान गर्नेछु ।

-आफूलाई खुसी र आनन्दित राख्न उपयुक्त विधि खोज्नेछु । मानसिक रुपमा आफूलाई स्वस्थ राख्नमा जोड दिनेछु ।

-आफ्ना बालबच्चाका लागि समय दिनेछु । उनीहरुको स्वास्थ्य र शिक्षालाई अझ राम्रो बनाउन कोसिस गर्नेछु ।

डा. माधव विष्ट (मुटुरोग विशेषज्ञ)

-बिहान ६ बजे उठ्नेछु । किनभने मलाई अहिले बिहान छिट्टै उठ्न गाह्रो हुन्छ ।

-आधा घण्टा दौडिने र व्यायाम गर्नेछु ।

-काममा धेरै व्यस्त भइयो । हप्ताको एक दिन भएपनि बिदा लिएर आफ्नै लागि समय दिनेछु ।

प्रा. डा. सुवास भट्टराई (पेट तथा कलेजोरोग विशेषज्ञ)

-घर बाहिरको खाना सकेसम्म घटाउने छु, आफ्नै भान्साको खानेकुरा खान्छु ।

-योग, ध्यान र व्यायामलाई जीवनको हिस्सा बनाउनेछु ।

-सबैलाई खैनी, चुरोट र रक्सी नखानका लागि जतिसक्दो सुझाव दिनेछु ।

डा. सविना कार्की (छाला तथा सौन्दर्यरोग विशेषज्ञ)

-स्वस्थ जीवनशैली अपनाउनेछु ।

-समय व्यवस्थापन चुस्त र छरितो बनाउने छु ।

-छालाको हेरचाहमा ध्यान दिनेछु र अरुलाई पनि त्यसमा प्रेरित गर्छु ।

डा. परिणिती सिंह (पोषणविद्)

-अहिले खानपानबारे मान्छेमा धेरै भ्रम छ । त्यसैले विभिन्न माध्यामबाट म खानपानसम्बन्धी सही सूचना दिनेछु ।

-मानसिक स्वास्थ्यका लागि नियमित ध्यान अभ्यास गर्नेछु ।

-आफूले आफैंलाई समय दिनेछु ।

डा. राजेन्द्र कोजु (वरिष्ठ मुटुरोग विशेषज्ञ)

-मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्नेछु । विभिन्न माध्यमबाट जनचेतना फैलाउने प्रयास गर्नेछु ।

-बिरामीलाई अझ बढी समय दिनेछु ।

-आफूले आफैंलाई खुसी राख्नका लागि समय दिनेछु ।

डाक्टर नयाँ वर्ष २०८१ संकल्प
लेखक
रेणु त्वानाबासु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय