+

गृहिणीलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

२०८१ वैशाख  ५ गते १९:१५ २०८१ वैशाख ५ गते १९:१५
गृहिणीलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

गृहिणीले श्रीमान्, छोराछोरी र परिवारका अन्य सबै सदस्यको ख्याल राखिरहेका हुन्छ । खानपान, सन्तानको पढाइ, वृद्धवृद्धाको औषधिदेखि हरेक कुरामा उनीहरुले ध्यान दिन्छन् ।

सबैको ख्याल राख्ने गृहिणीलाई आफ्नै स्वास्थ्यबारे भने कम हेक्का हुनसक्छ । यस्तोमा उनीहरुलाई विभिन्न रोगको जोखिम हुन्छ ।

हड्डी खिइने समस्या

गृहिणीलाई शरीरमा क्याल्सियमको कमीले हड्डी खिइने समस्या हुनसक्छ । क्याल्सियमले शरीरको स्नायु प्रणालीमार्फत मांसपेशी र कोषहरू सक्रिय र बलियो बनाउन मद्दत गर्छ । क्याल्सियमयुक्त खानेकुराको कमीले गृहिणीलाई यसको कमी हुन पुग्छ ।

रजोनिवृत्ति हुने उमेर अर्थात् ४५ देखि ५० वर्षसम्मका धेरै महिलामा क्याल्सियमको कमी हुन्छ । यो उमेरमा फिमेल हार्मोन एस्ट्रोजनको स्तर घट्न थाल्ने भएकाले महिनावारी रोकिएपछि हड्डी खिइँदै जान्छ । हड्डीको गुणस्तर कम हुने र हड्डी खिइने समस्यालाई ‘ओस्टोयोपोरोसिस’ भनिन्छ । घुँडा, ढाड र घाँटीका हड्डीहरू खिइनुका साथै शरीर दुख्ने, थकान महसुस हुने, मुटुको धड्कनको गति बढ्ने, महिनावारीमा धेरै पीडा हुने, कपाल झर्ने जस्ता समस्या हुन्छन् ।

मोटोपन

गृहिणी महिलामा मोटोपनको समस्या पनि निकै देखिन्छ । शारीरिक व्यायामको कमी, तनाव, असन्तुलित खानपान लगायतका कारणले उनीहरुमा मोटोपन बढ्छ । दिनभरि भोकै बस्नै अनि बिहान बेलुका चाहिं एकैपटक टन्न खाने बानी र क्यालोरीयुक्त खानपान मोटोपनको कारण हो ।

खानपानसँगै शारीरिक व्यायामको कमीले गृहिणीमा मोटोपनको समस्या देखिन्छ । हिजोआज प्रविधिका कारण स्वीच थिच्ने बित्तिकै काम हुने भएकाले पनि गृहिणीमा मोटोपनको समस्या बढी देखिन्छ ।

मधुमेह

मधुमेह गृहिणीलाई हुनसक्ने अर्को रोग हो । किनभने शरीरमा क्याल्सियमको कमी हुँदा सक्रिय रुपमा सबै अंगले राम्रोसँग काम गर्न सक्दैन । शरीरमा रहेको पेन्क्रियाज नामक ग्रन्थीले इन्सुलिन बनाउन छाडेपछि मधुमेहको समस्या हुन्छ । इन्सुलिनले रगतमा ग्लुकोजलाई नियन्त्रण गर्ने मद्दत गर्छ ।

उच्च रक्तचाप

उमेर बढ्दै गएपछि प्राकृतिक रुपमै पनि महिलालाई उच्च रक्तचापको समस्या हुन्छ । यसबाहेक मोटोपन र अत्याधिक तनावका कारण गृहिणीमा उच्च रक्तचापको जोखिम बढी हुन्छ ।

डिप्रेसनको जोखिम

गृहिणीमा हरेक दिन पूरै समय काम गर्नुपर्ने, शारीरिक व्यायामको कमी र असन्तुलित खानपान, शरीरमा पानीको कमी लगायतका कारणले उदासी अर्थात् डिप्रेसनको समस्या समेत हुनसक्छ । अफिसमा काम गर्नेलाई शनिबार एक दिन भएपनि बिदा हुन्छ तर गृहिणीलाई बिरामी हुँदा पनि कामबाट छुट्टी हुँदैन । जसकारण जीवनसँग वाक्कदिक्क हुने, एक्लोपन महसुस गर्ने र जीवनप्रति उत्साह कम भई डिप्रेसनले सताउन सक्छ ।

दम

सहरी क्षेत्रमा भान्छाको बनावट परिवर्तन भएपनि ग्रामीण भेगमा अहिले पनि दाउरा, छ्वाली बालेर खाना पकाइन्छ । यसबाट निस्किने धुवाँले गृहिणीलाई दम वा श्वासप्रश्वाससम्बन्धी रोगले सताउँछ । आगोको धुँवामा बस्ने गृहिणीलाई क्रोनिक ब्रोन्काइटिस रोगको जोखिम उच्च हुन्छ ।

गृहिणी डा. अमर प्रजापति महिला स्वास्थ्य
डा. अमर प्रजापति
लेखक
डा. अमर प्रजापति
जनरल फिजिसियन 

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १५४१६ एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन) हाल भक्तपुरस्थित ख्वप अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय