+
+

विश्वमञ्चमा नरेन्द्र मोदी पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १८ गते १९:११

१८ वैशाख, काठमाडौं । ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक भएको छ । किताबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ देखि २०२४ सम्म विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेको सम्बोधनको संकलन समावेश गरिएको छ ।

भुपेन्द्रबहादुर क्षेत्रीको संकलन रहेको पुस्तक सागर चन्दले नेपाली भाषामा अनुवाद गरेका हुन् ।

विश्व मञ्चमा भारत नयाँ तवरले अघि बढिरहेको र त्यसको नेतृत्व मोदीले गरिरहेकाले विश्व मञ्चमा भारतको उपस्थितिबारे जानकारी गराउने उद्देश्यले दशक यताका उनका २९ भाषण नेपालीमा अनुवाद गरिएको चन्दले बताए ।

‘विश्व मञ्चमा भारत नयाँ ढंगले अघि बढिरहेको छ । अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतले आफूलाई सशक्त रूपमा अघि सारिरहेको परिवेशमा त्यसको नेतृत्व गर्ने नरेन्द्र मोदीको विश्वप्रतिको दृष्टिकोण बुझ्न पुस्तकले सघाउँछ,’ चन्दले भने ।

सन् १९९० को दशकको सुरुवातमा ग्लोबलाइजेशनको यात्रामा निस्केको भारत आज विश्वका विभिन्न मञ्चमा शक्तिशाली रूपमा देखापरेको छ ।

जनवरी २०२४ मा प्रकाशित वर्ल्ड इकोनोमिक फोरमको एक रिपोर्टका अनुसार सन् २०२३ मा भारतले विश्व विकासमा १६ प्रतिशत योगदान दिएको थियो । २०२२–२०२३ मा ७.२ प्रतिशतको आर्थिक वृद्धि गरेर भारत जी २० देशहरूमा लगातार दोस्रो स्थानमा रह्यो ।

पूर्वाधार, इन्टरनेटको पहुँच, र पश्चिमासँग भारतको सम्बन्धले गर्दा सन् २०२३ मा विश्व मञ्चमा ठूलो रूपमा भारत पुगेको छ । विश्वव्यापी रूपमा सूचना, कनेक्टिभिटी र समृद्धिमा बढ्दो पहुँचले भारतलाई विश्व मञ्चमा बलियो बनाएको छ ।

सार्क बैठकसहित प्रधानमन्त्री नरेन्द्र मोदी चार पटक नेपाल भ्रमणमा आएका छन् । पहिलो पटक सन् २०१४ को अगष्ट, दोस्रो २०१४ को सार्क बैठक, तेस्रो २०१८ को मे महिनामा र चौथो २०२२ को मे महिनामा ।

नेपालको जनकपुर, लुम्बिनीदेखि मुक्तिनाथसम्म पुगेका मोदीले सन् २०१४ यता विभिन्न देशमा एक सयभन्दा बढी यात्रा गरेका छन् । यी सबै यात्रा र सम्बोधनमध्ये महत्वपूर्ण ठानिएका सम्बोधन संकलन गरेर नेपालीमा अनुवाद गरेर पुस्तकमा समेटिएको छ ।

नेपाल र भारतको प्रागऐतिहासिक कालदेखि सम्बन्ध जोडिएको बताउँदै संकलक क्षेत्रीले भने, ‘छिमेकी पहिलोको नीति लिएको भारत विश्वका विभिन्न मञ्चमा कसरी प्रस्तुत भइरहेको छ भनेर आम नेपालीलाई समेत थाहा होस् भन्ने उद्देश्यले नरेन्द्र मोदीका भाषण नेपालीमा अनुवाद गरिएको हो ।’

इन्डिगो इंकले बजारमा ल्याएको पुस्तकको मूल्य ५४९ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?