+

‘जन्मिएको पाँच दिनपछि मात्र आफ्नो बच्चा हेर्न र स्पर्श गर्न पाएँ’

२०८१ जेठ  १० गते ८:११ २०८१ जेठ १० गते ८:११
‘जन्मिएको पाँच दिनपछि मात्र आफ्नो बच्चा हेर्न र स्पर्श गर्न पाएँ’

आफू गर्भवती भएको थाहा पाउँदा म छायांकनमा व्यस्त थिएँ । फिल्मको काम सुरु भइसकेको थियो र बीचमा छाड्ने अवस्था थिएन । त्यसैले मैले विश्राम लिइनँ । गर्भमा बच्चा हुर्कंदै थियो । म छायांकनकै दौडधूपमा थिएँ ।

गर्भवस्था पक्कै पनि सजिलो हुँदैन । यतिबेला शारीरिक र भावनात्मक रुपले कति शिथिल भइन्छ भन्ने कुरा भोग्नेहरुलाई मात्र थाहा हुन्छ । बान्ता आउने, खाना मन नलाग्ने वा दिक्क लाग्ने भइरन्छ । मलाई त अझ गाह्रो थियो । गर्भ पाँच महिनाको हुँदासम्म म अविश्राम काममा थिएँ ।

मलाई थाहा छ, त्यस क्षणमा पर्याप्त आराम चाहिन्छ । तनलाई र मनलाई पनि । गर्भ रहेदेखि नै खानपानमा ध्यान दिनुपर्ने हुन्छ, शारीरिक तन्दुरुस्तीमा ध्यान दिनुपर्ने हुन्छ । तर मेरो भागमा त्यस्तो सुविधा परेन ।

सुटिङमा आफूले चाहेजस्तो सबै कुरा व्यवस्था गर्न सम्भव हुँदैन । आफूले खोजेजस्तो स्वाद पाइँदैन, आफूले रोजेजस्तो सहजता पाइँदैन ।

मलाई धेरैजसो बान्ता हुन्थ्यो । त्यसैले खानेकुरा खान पनि मन लाग्दैनथ्यो । फलफूलको जुस, नरिवल पानीकै भरमा पाँच महिनासम्म काटियो ।

मन बहलाउन भजन सुनें

गर्भावस्थामा आमाको मनस्थितिले गर्भको शिशुलाई सोझो प्रभाव पार्ने रहेछ । आमाले के सोच्छन्, कसरी सोच्छन्, उनको भावना कस्तो छ, मनस्थिति कस्तो छ ? सोही अनुरुप शिशुको मानसिक विकासमा पनि प्रभाव पार्छ । त्यसैले त्यस क्षणमा शान्त, सकारात्मक, खुसी रहनुपर्छ भनिन्छ ।

कामको धपेडीबीच पनि मैले सकेसम्म आफूलाई शान्त राख्ने यत्न गरें । बिहान भजन सुन्ने, ओम जप गर्ने काम नियमित थियो ।

हुन त मलाई आफू सकारात्मक छु भन्ने लाग्छ । त्यसैले सकारात्मक भाव ल्याउनका लागि मैले अतिरिक्त केही गर्नुपर्छ जस्तो लागेन । अनावश्यक सोचाइबाट टाढा रहन्थें । आफूलाई व्यस्त राख्न केही न केही गर्थें । जस्तो गीत सुन्ने, भजन सुन्ने, मनप्रिय साथीहरुसँग समय बितायो, खान मन लागेको कुरा खायो, फिल्म हेर्‍यो ।

चिकित्सकले भने शल्यक्रिया गर्नुपर्ने हुनसक्छ’

कुनै पनि महिलाले जतिसुकै पीडा खेपेर भएपनि आमा बन्नुको अनुभव सँगाल्न चाहन्छन् जस्तो लाग्छ मलाई । म पनि प्रसूति पीडाको अनुभव गर्न चाहन्थें । नर्मल डेलिभरी (सामान्य प्रसूति)कै लागि मानसिक तयारी पनि गरेकी थिएँ ।

तर चिकित्सकले भने- ‘शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।’

यस्तो किन पनि भयो भने गर्भावस्थामै धेरै समस्या आइलाग्यो । पटक-पटक अस्पताल जानुपर्ने, जाँच गराउनुपर्ने भयो । दुई-तीन पटक त अस्पतालमा भर्ना भएर बस्नुपर्‍यो । बच्चा जन्माउनुअघि नै म धेरै थाकिसकेकी थिएँ ।

प्रसूतिको मिति वैशाखको थियो । तर हामीले निर्धारित समय पर्खन पाएनौं । विभिन्न किसिमको जटिलताले गर्दा समयअघि नै बच्चा जन्माउनुपर्ने चिकित्सकको सुझाव सुनेर हामी झस्कियौं ।

आमाबुवालाई आफ्नो बच्चा जन्मिने जुन खुसी हुन्छ, उति नै भय पनि हुने रहेछ । के मेरो बच्चा सही वा सग्लो होला ? उसको स्वास्थ्य ठीक होला ? यस्ता अनेक कुराले मनलाई पिरोल्ने रहेछ । निर्धारित समयअघि नै बच्चा जन्माउनुपर्ने कुराले हामीमा अरु चिन्ता थपिदियो ।

आफ्नो बच्चा देख्न र छुन नपाउँदा

असह्य दुखाइ भएपछि मलाई ग्रान्डी सिटी अस्पताल, जमलमा भर्ना गरियो । डा. विना बस्नेतको सल्लाह अनुसार शल्यक्रियाबाट बच्चा जन्माउने प्रक्रिया अगाडि बढ्यो ।

आफ्नो बच्चा देख्न पाइनँ

आमा, यो शब्द मात्र होइन रहेछ अनुभूति पनि रहेछ । आमा हुनुको अनुभूति शब्दमा बयान गरेर साध्य हुँदैन । यो महसुस वा अनुभूत गर्ने कुरा हो ।

मान्छे मात्र होइन, पशुप्राणीले समेत आफ्ना बच्चालाई कति स्नेहले हुर्काउँछन् । कति प्रगाढ ममता र स्पर्शले हुर्काउँछन् । कति दिनदेखि भोको एउटा पशुले कुनै खानेकुरा पाउनासाथ बच्चालाई खुवाउँछन् । आफूले जतिसुकै खतरा मोलेर पनि आफ्नो बच्चाको रक्षा गर्छन् । आमा के हो ? यस्तै उदाहरणहरुले पनि देखाउँछ ।

जतिबेला मेरो गर्भमा हुर्केको बच्चाले जन्म लिंदै थियो, त्यसबेला मैले आफैंलाई भुलेकी थिएँ । मेरो सम्पूर्ण स्नेह आफ्नो बच्चामाथि पोखिएको थियो । म आतुर थिएँ, त्यो शिशुलाई स्पर्श गर्न । हृदयभरिको माया दिन ।

तर सबै कुरा आफ्नो वशमा नहुने रहेछ ।

जब जन्मनासाथ बच्चालाई एनआईसीयूमा राखियो

शिशु कम तौलको थियो । त्यसैले उनलाई जन्मनासाथ एनआईसीयूमा राखियो । मैले उनलाई सुमसुम्याउन पाइनँ । एकदमै रुन मन लाग्यो । त्यसबेला यसैपनि मन कमजोर हुने रहेछ । त्यसमाथि आफ्नो बच्चालाई एक पटक पनि स्पर्श गर्न नपाई अलग राख्नुपर्दा मेरो त मुटु नै चुँडिए जस्तो भो ।

जब गर्भबाट शिशु बाहिर आउँछन्, उनको अंगहरुले बाहिरी वातावरणसँग स्वत:स्फूर्त समायोजन गर्नुपर्ने हुन्छ । तर कतिपय अवस्थामा यस्तो नहुन सक्छ । कतिपय जटिलतामा बच्चालाई विशेष हेरविचार गर्न एनआईसीयूमा राखिन्छ ।

मैले त दुःख पाएँ, त्यो अबोध बच्चाले पनि आफ्नी आमालाई छुन पाएन । आफ्नो आमाको स्पर्श र न्यानो पाएनन् । मलाई आफ्नो होइन बच्चाको दुःखले बढी पिरोल्यो । जन्माउनासाथ आफ्नो शिशु जब अलग राख्नुपर्ने हुन्छ, तब एउटी आमालाई कति पीडाबोध हुन्छ ?

अनि धीत मर्नेगरी बच्चालाई हेरें

पाँच दिनपछि मात्र मैले आफ्नो बच्चालाई धीत मर्नेगरी छुन पाएँ, मनलाग्दी हेर्न पाएँ ।

सुत्केरीमा प्राय: हामी अरुलाई ठिकठाक देख्छौं । तर त्यो स्थिति त्यति सहज नहुने रहेछ । हामीकहाँ एकजना सुत्केरी भएमा अरु सिकाउने धेरै हुन्छन् । कोही यसो गर्नु भन्छन्, कोही यसो नगर्नु भन्छन् । कोही यस्तो खानु भन्छन्, कोही यस्तो नखानु भन्छन् । मान्छेहरुको अर्तीले पनि दिक्क लाग्ने रहेछ त्यो बेला ।

शल्यक्रियाबाट बच्चा जन्माएकोले एकातिर घाउ ओभाएको थिएन । त्यहाँ दुख्थ्यो । अर्कोतिर खानामा अरुचि थियो । तनाव, दुखाइ, धपेडीले गर्दा मुड स्विङ हुन्थ्यो । सुत्केरी अवस्थामा मैले सामान्य शाकाहारी खानेकुरा नै खाएँ । फलफूलमा बढी जोड दिएँ । अरु खानेकुरा खासै खाइएन ।

आफू तगडा नभएपछि बच्चालाई सोही अनुसार स्याहारसुसार गर्न पनि गाह्रो हुने । सुरुसुरुमा बच्चालाई स्तनपान गराउनै सकिएन । फर्मुला मिल्क दिनुपर्ने भयो । पछि शरीर तगडा हुँदै गएपछि चाहिं स्तनपान गराएँ ।

स्तनपान गराउँदा वा शिशुलाई स्पर्श गर्दा शरीरमा अक्सिटोसिन हार्मोन रिलिज हुन्छ भनिन्छ । यो हार्मोनकै कारण आमा र बच्चाबीचको प्रेम बढी प्रगाढ हुँदो रहेछ । अक्सिटोसिनलाई लभ हार्मोन भन्ने गरिएको छ ।

आमा भई एकचोटि सहेर हेर

वास्तवमा एउटी आमाले आफ्नो शिशुलाई अँगाल्दा, चुम्बन गर्दा, छातीमा राख्दा, काखमा खेलाउँदा जुन आनन्द अनुभूत हुन्छ, त्यसलाई सायदै व्याख्या गर्न सकिएला । आफ्नो मुटुको टुक्रालाई छातीमा राख्दा भावना यसरी पग्लिने रहेछ, आँखाबाट यसै आँसु झर्छ । रुन मन लाग्ने, हाँस्न मन लाग्ने, माया पनि लाग्ने । त्यो मिश्रित अनुभूति ?

आमा भएर बोकीहेर सन्तानका पीरहरु

आमा भएर बाँडीहेर सन्तानका खुसीहरु

आमालाई त्यसै धर्ती भनेको होइन रहेछ भन्ने महसुस भयो मलाई । जब म आमा भएँ त्यसबेला मैले आफ्नी आमालाई धेरै सम्झिएँ । हुन त अरुबेला पनि सम्झना हुन्छ । आफू आमा भइसकेपछिको अनुभूति भने फरक हुँदो रहेछ ।

कति दुःख, कति पीडा भोगेर आफ्नो सन्तानका लागि बाँचेकी हुन्छिन् आमा । बच्चा रुँदा आमालाई दुख्ने रहेछ । बच्चा हाँस्दा आमाको मन खुसी हुने रहेछ । आफैंलाई बिर्सिएर आफ्नो बच्चालाई माया दिने रहेछ । बच्चाका लागि सबैथोक त्याग्न सक्ने रहेछन् । सबैथोक सहन सक्ने रहेछन् ।

(कुराकानीमा आधारित)

दीपिका प्रसाईं मातृत्व अनुभव
लेखक
दीपिका प्रसाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय