+

केपी सब-भेरियन्टले नेपालमा कस्तो प्रभाव पार्ला ?

२०८१ जेठ  १३ गते १६:३३ २०८१ जेठ १३ गते १६:३३
केपी सब-भेरियन्टले नेपालमा कस्तो प्रभाव पार्ला ?

नेपालमा हालै ओमिक्रोन भेरियन्टको अर्को नयाँ स्वरुप (जेनेटिक म्युटेसन) अर्थात् केपी सब-भेरियन्ट (केपी १, २, ३ र ४ ) देखिएको जानकारी राष्ट्रिय जनस्वास्थ प्रयोगशालाले दिएको छ । विशेषगरी केपी २ सबैभन्दा बढी संक्रमित देखिएको छ । केपी २ र केपी ३ सब-भेरियन्टलाई हालै विश्व स्वास्थ संगठनले ‘भेरियन्ट अन्डर मनिटरिङ’ अर्थात् भीयूएमएसको श्रेणीमा राखेको छ । यसबाट पनि यी सब-भेरियन्टहरु संक्रामक रहेको बुझ्न सकिन्छ ।

अमेरिकाको सीडीसीले हालै प्रकाशित गरेको तथ्यांकअनुसार केपी २ र केपी ३ सब-भेरियन्ट क्रमश: अग्रपंक्तिमा रहेका देखिन्छन् । नेपालमा भने केपी २ र केपी १ क्रमश: बढी संक्रमित देखिन्छ । अप्रिल र मे महिनामा संक्रमित/बिरामीका नमुना परीक्षण गर्दा यी केपी सब-भेरियन्टहरु देखिएको भनिएको छ ।

नेपालमा अप्रिलमा पहिलो पटक ‘पोस्ट पेन्डेमिक कोभिड महामा’को लहर देखिएको थियो । यसरी अचानक कोभिड बिरामीको अस्पताल भर्ना चाप बढ्नु र बिरामीको नमुना पनि सोही समयको हुँदा सो ‘पोस्ट पेन्डेमिक कोभिड महामारी’को लहरको कारण केपी सब-भेरियन्ट भएको हो भन्ने आधार देखिन्छ । ४२ नमुनामध्ये ३१ अर्थात् ७४ प्रतिशतमा केपी सब-भेरियन्टहरु देखियो ।

काठमाडौंमा विशेषगरी मार्च महिनाको अन्त्यबाट कोभिडले तीव्रता लिंदै अप्रिल महिनामा अस्पताल भर्ना हुनेहरुको संख्या ह्वात्तै बढेको थियो । अप्रिल महिनामा मात्रै झण्डै दुई दर्जनभन्दा बढीले अस्पतालमा भर्ना भएर उपचार लिनुपर्ने अवस्था सिर्जना भएको थियो ।

यी भर्ना भएका अधिकांश (अर्थात् ७० प्रतिशत भन्दा बढी) बिरामीहरु ६० वा सो भन्दा बढी उमेरका थि ए। र यीमध्ये धेरै दीर्घरोगी थिए । यसरी सरसर्ती हेर्दा केपी सब-भेरियन्टमा ज्येष्ठ नागरिक र दीर्घरोगीहरुलाई बढी प्रभावित गराउने क्षमता रहेको देखिन्छ । यद्यपि अरु उमेर समूहकाहरु (वा ६० वर्षमुनिका) पूर्ण सुरक्षित हुन्छन् नै भन्ने होइन । यहाँ के स्मरण गर्न उपयुक्त हुन्छ भने ओमिक्रोन भेरियन्टले सुरुवातदेखि नै मुख्यतया ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुमा जटिलता सिर्जना गर्ने (मानवीय क्षति समेत) गरेको हामीसँग अनुभव छ । केपी सब-भेरियन्ट पनि ओमिक्रोन भेरियन्टकै पुस्ता भएकाले पनि वृद्ध उमेरका व्यक्ति र दीर्घरोगीहरु यसको उच्च जोखिममा पर्न सक्छन् ।

हाल केपी सब-भेरियन्टहरु देखिएलगत्तै धेरैको मनमा यसको संक्रामकता र जटिलतालाई लिएर चासो, चिन्ता र जिज्ञासा उत्पन्न भएको देखिन्छ । विगतमा कोभिड लहरहरुका उतारचढाव भोगिसकेकाले पनि हामीमा यस्तो अनिश्चितता देखिनु स्वाभाविक हो । हाल विश्व स्वास्थ संगठनले यी ओमिक्रोनका सब-भेरियन्टलाई (केपी १ र २) ‘भेरियन्ट अन्डर मनिटरिङ’को श्रेणीमा राखे पनि विभिन्न देशमा देखिएको यसको प्रभावलाई मूल्यांकन गर्दा विगतका भेरियन्टहरु जस्तो घातक भने देखिएको छैन । यद्यपि माउ ओमिक्रोन जस्तै संक्रामक अर्थात् तीव्र गतिमा फैलिन सक्ने क्षमता भने देखिन्छ । नेपालमा ‘पोस्ट पेनडेमिक कोभिड महामारी’को लहर मार्च महिनातिर सुरु हुँदा धेरै कोभिड जस्तै लक्षण भएकाहरु समुदायमा प्रशस्तै देखिन्थे । यद्यपि उनीहरु सबै परीक्षण गर्न भने आएनन् । नाकबाट पानी बग्नु, स्वर परिवर्तन हुनु वा भासिनु, खोकी लाग्नु, ज्वरो आउनु, स्वाद/गन्ध थाहा नहुनु, थकित हुनु र कतिपयलाई पातलो दिसा हुनु केपी सब-भेरियन्टका मुख्य र अधिकांशमा (विशेषगरी ६० वर्ष मुनिकामा) देखिने मुख्य लक्षणहरु हुन् ।

समग्रमा भन्नुपर्दा केपी सब-भेरियन्टहरु नेपालमा देखिंदैमा आत्तिहाल्नुपर्ने अवस्था भने देखिंदैन । तर ज्येष्ठ नागरिक र दीर्घरोगीहरुलाई सकस बनाउन सक्ने भएकाले विशेष ख्याल भने गर्नुपर्ने देखिन्छ । उनीहरुसम्म भाइरस पुग्ने मध्यम परिवारका सक्रिय सदस्यहरु नै हुने भएकाले बाहिर र विशेषगरी धेरै मानिस जमघट हुने ठाउँमा जाँदै हुनुहुन्छ भने मास्क लगाउने र घर फर्केपछि राम्ररी साबुनपानीले हात धुनुपर्छ । कोभिड र नन-कोभिडको परामर्श तथा उपचार फरक हुने भएकाले ज्येष्ठ नागरिक तथा दीर्घरोग भएकामा ती लक्षणहरु देखिए अस्पताल गएर स्वास्थ्य परीक्षण गराउनुपर्छ ।

केपी सब-भेरियन्ट कोभिड डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय