+
+

‘नेपाली फिल्ममा यतिबेला सामुदायिक लगानी जरुरी छ’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १४:३३

काठमाडौं । मुलुकमा पहिलोपटक सामुदायिक लगानीको अवधारणामा बनेको फिल्म हो, ‘गाउँ आएको बाटो’ । तीन करोड रुपैयाँ लगानीमा बनेको फिल्ममा विश्वभर छरिएका राई समुदायको लगानी छ । घरेलु फिल्ममा केही निर्माताले आफ्नै बलबुतामा लगानी गरिरहेको र कर्पोरेट लगानीको आवश्यकताबारे बहस भइरहँदा यतिबेला ‘कम्युनिटी फन्डिङ’ शब्दावली चर्चामा छ ।

यो सोसल–ड्रामा फिल्मको निर्मातामा आमोद राई छन् । यो उनको डेब्यु फिल्म हो । हङकङमा रहेर अमेरिकाको साउर्दन युटाहा विश्वविद्यालयको प्राज्ञिक सल्लाहकारको रुपमा सात वर्षदेखि कार्यरत उनी घरेलु फिल्ममा ‘कम्युनिटी फन्डिङ’ आवश्यक देख्छन् । यस्तो शैलीको लगानीमा जोखिम कम हुने र समुदायको अपनत्व पनि स्थापित हुने उनको तर्क छ । यसै सन्दर्भमा निर्माता राईसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानीको सम्पादित अंश :

गाउँ आएको बाटो’मा लगानी गर्ने अवधारणाको विकास कसरी भयो ?

हङकङ बसाइमा म विशेषगरी अल्पसंख्यक समुदायको एड्भोकेट भएर काम गरिराख्या थिएँ । अधिकार मात्र नभएर समानुपातिक र समावेशीमूलक ढंगले कसरी बसोबास गर्ने, सांस्कृतिक विविधताको प्रवर्द्धन कसरी गर्ने भन्ने कुरामा म केन्द्रित भएर लागेको थिएँ । राजनीतिक मुद्दा र नीति आफ्नो ठाउँमा छ, त्यो भन्दा पनि कला, संगीत, संस्कृतिको माध्यमबाट चाँडो समुदायमा जोडिने सम्भावना देखें मैले ।

हङकङ बसाइमा मैले अरु समुदायको फिल्म, संगीत, साहित्य एकदमै गुणस्तरको हुने र त्यसलाई अर्को समुदायले पनि अपनत्व गर्न सक्ने देखें । कसरी हामीले यस्तो गर्न सकिन्छ भन्ने लागेको थियो । हामीले हाम्रो कथा कहिले अर्को समुदायलाई सुनाउन सकिन्छ भन्ने लागेको थियो । सो क्रममा निर्देशक नवीन सुब्बासँग भेट भयो र उहाँले स्क्रिप्ट सुनाउनुभयो । म पनि राई भएको र राई समुदायको कथा पनि भएकाले अन्तर्राष्ट्रिय बजारमा कसरी लैजान सकिन्छ भन्ने सोचले म यसमा संलग्न भएँ ।

गाउँ आएको बाटो’मा लगानी गर्ने अवधारणाको विकास कसरी भयो ?

काम गर्दा अधिकार मात्र नभएर समानुपातिक र समावेशीमूलक ढंगले कसरी बसोबास गर्ने, सांस्कृतिक विविधताको प्रवर्द्धन कसरी गर्ने भन्ने कुरामा म केन्द्रित भएर लागेको थिएँ । राजनीतिक मुद्दा र नीति आफ्नो ठाउँमा छ, त्यो भन्दा पनि कला, संगीत, संस्कृतिको माध्यमबाट चाँडो समुदायमा जोडिने सम्भावना देखें मैले ।

निर्माताको रुपमा तपाईंले ‘गाउँ आएको बाटो’मार्फत दर्शकलाई के भन्न खोज्नुभएको हो ?

हामीले विश्वभर जुन विकासको शैली देखिरहेका छौं । जस्तै– दोस्रो विश्वयुद्धपछि बनेका विकासे संस्थाहरु राष्ट्रसंघ, विश्वबैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता एजेन्सीको नीति र कार्यान्वयन भएको ५० वर्ष भइसक्यो । तथ्यांक हेर्ने हो भने यसले गरिब र धनीबीचको खाडल पुर्न सकेको छैन । दूरी बढेको बढ्यै छ । यसको मुख्य समस्या दिगो अर्थतन्त्रको नीति कार्यान्वयन नभएर हो ।

यो चाहिं स्थानीय ज्ञान र आदिवासीमा रहेछ । यो कुरालाई हामीले संस्थागतरुपमा नउठाएको देख्यौं । जुन खालको विकासे नीति छ अहिले, भौतिक र प्रविधिको विकास भइरहेको छ । तर मानवीयता मरिरहेको देखेका छौं । यसकारण, हाम्रो फिल्मको स्क्रिप्ट र कथा लेख्दा विश्वव्यापी यो समस्यालाई सम्बोधन गर्न सकिन्छ कि भनेर लागेर सहभागी भएको हुँ ।

विकासविद् चाहिं विकास गर्दा विनाश पनि हुने बताउँछन् । यो कुरालाई फिल्मले कसरी सम्बोधन गरेको छ ?

हामीले यसबारे प्रश्न उठाएका छौं । विकास गर्दा सबै पोजेटिभ साइड मात्र हुँदैन, नेगेटिभ पनि हुन्छ । यसलाई सन्तुलन मिलाएर लैजानुपर्छ भन्छौं हामी । यसलाई ब्यालेन्स गरेर लैजाँदा लक्षित वर्गको आवश्यकतालाई पनि चासो दिनुपर्ने हुन्छ । विकासको कुरा गर्दा सबैलाई समानुपातिकरुपमा लाभ भइरहेको हुँदैन । केही निश्चित तह र तप्काले मात्र यसको लाभ उठाउँछन् । यसको अर्थ, समग्र विकास नै गलत भन्ने होइन । विकास गर्दा सरोकार समूह र लक्षित वर्गलाई ध्यानमा राखेर गर्दा राम्रो हुन्छ भन्ने हो ।

फिल्ममा सामुदायिक लगानीको अवधारणाको सोच कसरी आयो ?

यस्तो प्रयास विगतमा पनि नवीन सुब्बाले गर्नुभएको थियो । तर यसपटक यसले संस्थागत आकार लिएको छ । यो भनेको कथावस्तु जुन समुदायमा आधारित छ, त्यो समुदायको मान्छेलाई संलग्न गरायो भने त्यो समुदायका मान्छेले पनि यो फिल्मको अपनत्व लिन सक्छन् भन्ने हो । हाम्रो जस्तो समुदाय जहाँ फिल्म, आर्ट, साहित्यको विकास भएको छैन, उनीहरु सहभागी भएको खण्डमा विकास हुँदै जान्छ भन्ने हो ।

जो-जो यो फिल्म बनाउन हामीसँग संलग्न हुनुभयो, उहाँहरुलाई फिल्म र कलाबारे त्यति ज्ञान थिएन । तर उहाँहरु प्रत्यक्ष वा अप्रत्यक्षरुपमा यो कुरामा सचेत भइरहनुभएको छ । यसअघि उहाँहरु यसबारे आत्मविश्वासी हुनुहुन्थेन । तर यो कामहरु देखेर हामीसँग प्रभावित हुनुभयो । उहाँहरुले यतिबेला यो गुणस्तरको फिल्म हुनुपर्ने रहेछ भनेर बुझाइरहनुभएको छ । यसो गर्दा सचेतना र साक्षरताको पनि वृद्धि हुन्छ र ज्ञान पनि प्रसार हुन्छ भनेर कम्युनिटी फन्डिङको अवधारणा अघि सारेका हौं ।

यो शैलीको लगानीमा जोखिम पनि कम हुन्छ । लगानी पनि दिगो अर्थतन्त्र भन्ने आदिवासी सोचबाट आएको छ । जसको लगानी छ, उसको लगानी जोगिनुपर्छ भनेर काम गर्‍यौं । नेपाली फिल्ममा यस्तो शैलीको लगानी यतिबेला जरुरी छ । जस्तै, अमेरिकामा नेपाली फिल्म प्रदर्शनबाट कति पैसा उठाउन सकिन्छ भनेर सोही बराबरको रकम लगानी गर्ने भन्ने अवधारणामा संसारभर राई र गैरराईलाई संलग्न गरायौं ।

के ‘समुदायिक लगानी’को अवधारणा जसरी अहिले नेपाली फिल्ममा लगानी भइरहेको छ, त्यो शैलीको समानान्तर संरचना हो भनेर भन्न खोज्नुभएको हो ?

हाम्रो फिल्म केही अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पनि पुग्यो । त्यो फिल्मको क्रेडिटमा अन्तर्राष्ट्रिय फन्डिङ भनेर पनि भनेका छौं । त्यसपछि ‘कम्युनिटी फन्डिङ’ के हो भनेर चासो भइरहेको छ । समानान्तररुपमा जाला वा नजाला तर यसरी लगानी गर्‍यौं भने चाहिं समुदायलाई पनि संलग्न गराउन सकिन्छ र सचेतना निर्माण गर्न सकिन्छ भन्ने लागेको छ । फिल्मको उद्देश्य पनि समुदायमा पनि प्रभाव परोस् भन्ने हो नि त । फिल्मको फाइदा निर्माता र एक-दुईजनाले मात्र लिने होइन । समाजमा पनि प्रभाव परोस् भन्ने चाहना पनि हो । फेस्टिभल निर्देशकले यसबारे अनुसन्धान पनि गर्नुभएको छ र डेटा पनि माग्नुभएको छ ।

पछिल्लो समय बजारीकरण र वितरण पक्ष कमजोर हुँदा राम्रा फिल्म पनि नलचेको उदाहरण छ । यसलाई कसरी लिनुहुन्छ ?

यो समस्या यथार्थमै छ । दुई दशकदेखि नै यसमा निरन्तर काम भएको भए उहाँले ग्लोबल डिष्ट्रिब्युसन पनि पाउँथ्यौ होला । हाम्रो पहिचान र उपस्थिति विश्व तहमा कमै छ । हामीले फिल्म बनायौं तर सेल्स एजेन्ट र वितरकसँग पुग्ने जनशक्ति नै छैन । हाम्रो अनुभव के रह्यो भने फेस्टिभलले फिल्म माग्या छ तर फिल्म सक्नेतिर लाग्या छौं । हामीसँग नलेज र म्यानपावर दुवै पक्षको ग्याप छ । यदि कुनै वितरकले फिल्म विश्वव्यापी रिलिज गर्छु भनेर माग्दा हामीसँग डिल गर्ने म्यानपावर छैन । यस्तो ज्ञानको कमीले गर्दा पनि विश्व बजारमा पुग्न कठिन भएको छैन ।

हामी निराशावादी हुनुपर्छ भन्ने छैन, आशावादी हुनुपर्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय फेस्टिभल र वितरकमाझ फिल्म पुगिराख्या छ । हामीले दक्षिण कोरियाली, जापानी र चिनियाँ फिल्मको जस्तै ट्रेडमार्क बनाउन सक्यौं भने झन् सजिलो हुन्छ होला । नेपालमा पछिल्लो समय फेस्टिभलको फिल्म सामान्य दर्शकलाई हेर्न र बुझ्न गाह्रो पर्छ भनेर हलमा रिलिज गर्न जुन चुनौतीपूर्ण अवस्था आइरहेको छ, पब्लिकमा फिल्म साक्षरताको ग्याप भएर होलाजस्तो लाग्छ । हामीले यस्ता फिल्म निरन्तर वितरण गरिराख्यौं भने हामीले यी कुराबाट मुक्ति पाउँछौं जस्तो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?