+
+

कफी र कन्टिनेन्टल : क्याफे कुचिनाको स्वाद

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १४:४१

काठमाडौं । त्यसबेला रमेश श्रेष्ठ अस्ट्रेलियामा बस्थे । बिदाको बखत नेपाल आउजाउ भइरहन्थ्यो । नेपाल आउनु, कफीको स्वाद नचाख्नु । यस्तो त हुने कुरै भएन ।

किनभने एक त उनी कफीप्रेमी । त्यसमाथि बरिस्ता । अर्को चाहिं, नेपालको माटोमा कफी फल्छ । आफ्नै हावापानीको कफी कस्तो होला ? उत्सुकता जाग्ने नै भयो ।

जसै कफीको चुस्की लिए, मन अमिलो भयो । त्यसले असली कफीको तिर्सना मेट्न सकेन । रमेशलाई लाग्यो, आफ्नो सीप र दक्षताको उपयोग गर्दै नेपालमै किन कफी पसल नखोल्ने ?

श्रम भिसामा कुवेत पुगेका बेला उनले कफीबारे जान्ने, बुझ्ने मौका पाएका थिए । किनभने त्यहाँ उनी बरिस्ताको काम गर्थे । त्यो पनि कफीका लागि विश्व प्रतिष्ठित स्टारबक्समा । भनिहालौं, स्टारबक्स विश्वकै सबैभन्दा ठूलो कफीहाउस कम्पनी हो ।

कुवेतमा रहँदा उनले जागिर मात्र खाएनन्, कफीको वृत्तान्त बुझ्ने मौका पाए । त्यहाँबाट फर्केपछि उनी फेरि अस्ट्रेलिया उडे, डिपेन्डेट भिसामा ।

अस्ट्रेलिया बसाइमा पनि उनले रेस्टुरेन्ट, क्याफेमा बरिस्ताकै काम गरे । अस्ट्रेलियामा छँदा उनी बेलामौकामा नेपाल आउँथे । नेपालका कफी सपहरु चहार्थे । फरक–फरक स्वादका कफी चाख्थे । उनलाई लाग्थ्यो, जसरी नेपालमा कफी कल्चर बढ्दैछ, त्यसअनुरुप कफीको असली स्वाद हत्तपत्त भेटिंदैन । यही खिन्नता र रिक्तताले उनमा एउटा जुक्ति फुर्‍यो, नेपालमै कफी पसल चलाउने ।

अन्ततः कफीको असली स्वाद पस्किने ध्येयले दरबारमार्गमा कफी पसल स्थापना गरियो । यो सन् २०१४ ताकाको कुरा हो । यसका लागि करिब दुई करोड रुपैयाँ लगानी भयो ।

यो कफी पसलमा उनले आफ्नो सीप र दक्षता भरपुर प्रयोग गरे । ग्राहक बढ्न थाले । अब रमेशलाई कफीको ह्याङओभरले अरु गाँज्न थाल्यो । उनले अस्ट्रेलियाको बसाइ टुंग्याए । नेपाल फर्किए । र, कुमारी पाटीमा अर्को कफी पसल सुरु गरे । कफी कल्चर जुन रफ्तारमा बढ्दै थियो, त्यसले उनलाई थप हौसाएको थियो ।

तर त्यहीबेला कोरोना महाव्याधि सुरु भयो । सर्वत्र सन्त्रास र सन्नाटा छायो । उद्योगधन्दा, व्यापार व्यवसाय ठप्प भयो । यसबाट उनी पनि अछुतो रहेनन् । कफी पसल बन्द भयो ।

उनको कफी पसलका केही नियमित ग्राहक थिए । कोरोना सन्त्रास मत्थर हुँदै गएपछि उनै ग्राहकहरुले भने, ‘पहिलेको झैं स्वादिलो कफी पसल खोल्नुपर्‍यो ।’ यसमा उनीहरु पनि साझेदार बन्ने भए । अन्ततः पुल्चोकमा खुल्यो, क्याफे एन्ड कुचिना ।

यसमा रमेश श्रेष्ठसहित शिव केसी, सुदन सिलवाल, किशोर हमाल सम्मिलित छन् । पुल्चोकबाट झम्सिखेलतर्फ लाग्दा थोरै अगाडि बढेपछि भेटिन्छ यो क्याफे । कफी पारखीहरुलाई यसले एकै झट्कामा आकर्षित गर्छ । किनभने यहाँ कफीको खास स्वाद भेटिन्छ ।

अब एकछिन कफीतर्फ लागौं ।

कफी विश्वभर रुचाइने स्वादिलो पेय । नेपालमा भने कफी कल्चर सुरु भएको धेरै बितेको छैन । जबकि यहीको माटोमा कफी खेती वि. सं. १९९५ बाटै सुरु भएको उल्लेख छ । अहिले मध्यपहाडका २३ जिल्लामा व्यावसायिक रुपमै कफी खेती गरिन्छ ।

गाउँघरमा कफी खेती विस्तार भएसँगै सहरमा कफी कल्चर पनि मौलाउँदो छ । कफीमा करिअर खोज्नेदेखि स्वाद खोज्नेसम्म बढ्दो छ । ‘नेपालको सन्दर्भमा यो लक्जरियस डिंक हो,’ रमेश भन्छन्, ‘हामीकहाँ कफीको छुटै विशिष्टता छ ।’

विदेश खासगरी युरोप-अमेरिकामा कफी नियमित पेयको रुपमा लिइन्छ । ‘त्यहाँ दिनको सुरुवात कफीबाट गरिन्छ,’ रमेश सुनाउँछन्, ‘कफी पिएपछि शरीरमा फूर्ति आउँछ भन्ने मान्यता छ ।’ कफीमा क्याफिन नामक तत्व हुन्छ, जसले स्नायु प्रणालीमा प्रभाव पार्छ र आनन्द अनुभूत गराउँछ ।

बीबीसीको एक रिपोर्टअनुसार कफीको क्याफिन पाचन तन्त्र हुँदै रगतमा मिसिन्छ । यसको प्रभाव स्नायु प्रणालीसम्म पर्छ । क्याफिनको प्रभाव मनोदशा सुधार्न, थकान काम गर्न र शारीरिक गतिविधिमा फूर्ति ल्याउनमा पर्छ ।

कफीको बखानपछि फर्कौं क्याफे कुचिनामा । कफीको असली स्वाद चाख्नका लागि तपाईं यो सही रोजाइ हुनसक्छ । यहाँ कफीका साथै कन्टिनेन्टल तथा इटालियन परिकारको स्वाद पनि लिन सकिन्छ ।

तपाईं शान्त वातावरणमा आफैंसँग मग्न भएर कफी पिउनुहुन्छ वा एक्लोपनबाट छुटकारा लिनका लागि ? दुवै विकल्प यहाँ खुला छ । साथीभाइ वा परिवारसँग जमघट गरेर कफी र कन्टिनेन्टल परिकारको स्वाद लिन सक्नुहुन्छ । साथै सबैबाट क्षणभरका लागि विच्छेद भएर पनि । यहाँ एकसाथ ५० जनाले खान पिउन सक्छन् ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?