+
+
किअर स्टार्मर :

पहिला जनता, अनि पार्टी भन्ने बेलायती नयाँ प्रधानमन्त्री

किअर स्टार्मर पूर्व लेबर प्रधानमन्त्रीहरू म्याकडोनाल्ड, एटली, ब्लेयर र गोर्डन ब्राउनझैं उच्च प्रतिभाशाली र लोकप्रिय भने मानिंदैनन् । तर, उनी एक शालीन, भद्र, धैर्यशील, विनयशील र अध्ययनशील मानिस भने हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १५:०३

२३ असार, काठमाडाैं ।  बेलायतका नयाँ प्रधानमन्त्री किअर स्टार्मरका पिता रोड्ने स्टार्मर कतिसम्मका कट्टर लेबर समर्थक थिए भन्ने कुरा उनले छोराको नाम ‘किअर’ राखेबाटै प्रष्ट हुन्छ ।

‘किअर’ लेबर पार्टीका संस्थापक नेता किअर हार्डीको नामबाट लिइएको थियो । हार्डी लेबर पार्टीका संस्थापक तथा संसदीय दलका पहिलो नेता थिए ।

ट्रेड युनियन आन्दोलन, लेबर पार्टीको संस्थापना र विस्तारको संघर्षमै उनको जीवन बित्यो । तर, ठीक उनकै नाम सापटी लिइएका स्टार्मर देशको सातौं लेबर प्रधानमन्त्री भएका छन् ।

लेबर पार्टीको स्थापना भएको १२४ वर्ष भयो । यति लामो अवधिमा यो पार्टीले देशलाई भरखरै सातौं मात्र प्रधानमन्त्री दिएको छ ।

पहिलो लेबर प्रधानमन्त्री राम्से म्याकडोनाल्ड थिए । उनी ठीक १०० वर्ष अघि सन् १९२४ मा बेलायतको प्रधानमन्त्री भएका थिए । म्याकडोनाल्डको कार्यकाल दुईपटक गरी करिब ७ वर्षको रह्यो ।

म्याकडोनाल्डको कार्यकाल अन्त्य भएको १६ वर्षपछि, दोस्रो विश्वयुद्ध अन्त्यपछिको पहिलो आम निर्वाचनमा लेबर पार्टी दोस्रो प्रधानमन्त्री बनाउन सफल भएको थियो । उनी थिए क्लेमेन्ट एटली ।

म्याकडोनाल्ड र एटली दुवै बेलायती इतिहासका प्रभावशाली प्रधानमन्त्री थिए । एटलीले दोस्रो विश्वयुद्धका नायक प्रधानमन्त्री चर्चिललाई एक कार्यकाल रोकेका थिए ।

तेस्रो र चौथो लेबर प्रधानमन्त्री हारोल्ड विल्सन र जेम्स कालागहन भने खासै प्रभावशाली थिएनन् । उनीहरूको कार्यकाल पनि छोटै रह्यो ।

सन् १९८० को दशकतिर कन्जर्भेटिभ पार्टीमा ‘आइरन लेडी’ मानिएकी मार्गरेट थ्याचरको उदयले लेबर पार्टीलाई लामो समय सत्ताबाहिर धकेलेको थियो ।

लेबर पार्टीका सर्वाधिक लोकप्रिय र प्रभावशाली प्रधानमन्त्री टोनी ब्लेयरको उदय हुँदा पार्टी निरन्तर सत्ताबाहिर भएको १८ वर्ष भइसकेको थियो ।

ब्लेयर १० वर्ष निरन्तर सत्तामा रहे । उनले ‘न्यू लेबर’ को अवधारणा अघि सारे । गोर्डन ब्राउनजस्तो प्रभावशाली उत्तराधिकार दिए ।

लेबर पार्टी फेरि सत्तामा नरहेको फेरि १४ वर्ष भइसकेको थियो । आफ्नो समयका लेबर नेता मेघनाथ देसाईका अनुसार स्टार्मर टोनी ब्लेयर जत्तिको लोकप्रिय, प्रभावशाली र प्रतिभाशाली हैनन् । तर, लेबर पार्टीले इतिहासकै दोस्रो ठूलो जित स्टार्मरको पालामा निकालेको छ ।

स्टार्मरको राजनीतिक मौलिकता र अडानको प्रष्टता त्यतिखेर प्रखर भयो, जब पूर्व लेबर नेता जेरेमी कोर्बिनसँग उनको मतभेद सुरु भयो । यो वैचारिक बिमति यति तीव्र भयो कि स्टार्मरले आफ्नै पूर्वनेता कोर्बिनलाई पार्टीबाट निष्काशनको निर्णय गरे ।

लेबरले पार्टी स्थापनापछिको पहिलो चुनावमा जम्मा २ सीट जितेको थियो । क्लेमेन्ट एटलीको कार्यकालमा ३९३ सम्म पुगेको थियो । सन् १९९७ मा टोनी ब्लेयरको उदय हुँदा लेबर पार्टीेले ४१८ सीट हासिल गरेको थियो ।

स्टार्मरको परिवार खान्दानी लेबर समर्थक मात्र हैन, उनको परिवार ‘श्रमिक वर्ग’ पनि हो । किअरका पिता रोड्ने स्टार्मर औजार कारखानाका कालिगढ हुन् भने आमा जोसेफिन वाबर नर्स । किअर रोड्ने र जोसेफिनका ४ सन्तानमध्ये दोस्रा हुन् ।

किअर स्टार्मर सन् १९६२ का लन्डनमा जन्मेका थिए । उनका मातापिता दुवै अहिले छँदैछन् । आमा जोसेफिनलाई शरीर राम्ररी नचल्ने र झमझमाउने दीर्घ रोग छ । आमाको स्वास्थ्य पीडा उनको जीवनको सबैभन्दा ठूलो त्रासदी थियो ।

विद्यालयमा हुँदै उनी १६ वर्षको उमेरमा लेबर पार्टीको युवा संगठन ‘योङ्ग लेबर सोसलिष्ट लिग’ को सदस्य भइसकेका थिए । वाद्यवादनमा उनलाई खुबै रुचि थियो । उनी बाँसुरी, पियानो र भायोलिन बजाउँथे । उनी स्कुल टिमका फुटबल खेलाडी पनि थिए ।

लिड्स विश्वविद्यालयमा स्टार्मरले कानुनमा ग्य्राजुयेसन गरे । त्यो अवधिमा उनी संगठनको वैचारक मुखपत्र ‘सोसलिष्ट अल्टरनेटिभ’ का सम्पादक समेत थिए ।

पोष्ट–ग्र्याजुयसन भने उनले लन्डन आएर गरे– अक्सफोर्डबाट । उनी विश्वविद्यालय अध्ययन गर्ने परिवारकै पहिलो सदस्य थिए ।

लन्डनमा विद्यार्थी हुँदा उनको डेरा एक वेश्यालयको माथिल्लो तलामा रहेको एक सानो कोठा थियो । उनले आर्थिक संकटका बीच अध्ययनलाई जारी राखेका थिए ।

स्टार्मरको एक अन्तर्वार्ताका अनुसार उनका पिता रोड्नेको रिसाहा र झगडालु स्वभाव थियो । आमा जोसेफिन भने भावुक र संवेदनशील प्रकृतिकी । उनी पिताभन्दा बढी आमाको स्वभाव र चरित्रबाट प्रभावित भए ।

अध्ययनपछि उनी कानुनको अभ्यासमा लागे– ब्यारेस्टर बने । यो करिअर उनका लागि निक्कै सुखद रह्यो । उनले विशेषतः अन्यायमा परेका सर्वसाधारणका मुद्दा लड्न थाले । मानव अधिकार, सार्वजनिक महत्वका मुद्दा र क्रिमिनल डिफेन्समा उनको विशेष ख्याति निर्माण भयो ।

यसवापत् उनले ‘सर’ को उपाधिसमेत पाए ।

एक मुद्दाको प्रमाण कागजात खोज्ने क्रममा स्टार्मरको हुनेवाला पत्नी भिक्टोरिया अलेक्जेन्डरसँग भेट भएको थियो । पहिलो भेटमा उनीहरू बीच सानोतिनो झगडाजस्तो भयो । पछि उनीहरूले एकअर्कालाई राम्ररी बुुझे । यो सन् २००२ को कुरा थियो । सन् २००४ पछि उनीहरू निरन्तर प्रेम सम्बन्धमा रहे । सन् २००७ मा उनीहरूको बिहे भयो । अहिले उनीहरूका दुई सन्तान छन् ।

लेबर पार्टीसँग उनको सम्बन्ध पारिवारिक भए पनि उनी खुलेर सन् २०१५ बाट मात्र राजनीतिमा आए । तत्कालीन लेबर नेता जरेमी कोर्बिनसँग उनको सम्बन्ध राम्रो थियो । सन् २०१५ को उपनिर्वाचनमा उनले पहिलोपटक सांसदको टिकट पाए र जिते पनि ।

सोही निर्वाचन क्षेत्रबाट स्टार्मरले जितेको यसपटक समेत गरी ४ पटक भयो । त्यसयताका सबै आम निर्वाचनमा उनी निर्वाचित भएका छन् ।

सन् २०२० मा स्टार्मर लेबर पार्टीको नेता निर्वाचित भए । उनले पार्टीभित्रको यो निर्वाचनमा ५६.२ प्रतिशत अर्थात् २ लाख ७५ हजार ७८० मत प्राप्त गरेका थिए ।

उनी पार्टी नेता निर्वाचित भएपछिको सन् २०२१ को एक उननिर्वाचनमा पार्टी उम्मेदवारको हार हुँदा उनमा ‘राजीनामा दिने’ सम्मको सोच आएको थियो तर, त्यसो गरेनन् ।

स्टार्मरको राजनीतिक मौलिकता र अडानको प्रष्टता त्यतिखेर प्रखर भयो, जब पूर्व लेबर नेता जेरेमी कोर्बिनसँग उनको मतभेद सुरु भयो ।

कोर्बिन ‘वामपन्थी’ झुकाव राख्थे भने स्टार्मर लेबर पार्टीको छवि ‘मध्यमार्गी’ बनाउन चाहन्थे । कोर्बिनमा क्लेमेन्ट एटलीकालीन लेबर पार्टीको झल्को आउँथ्यो । स्टार्मर लेबरलाई टोनी ब्लेयरकालीन ‘स्वाद’ मा आकारित गर्न चाहन्थे ।

यो वैचारिक बिमति यति तीव्र भयो कि स्टार्मरले आफ्नै पूर्वनेता कोर्बिनलाई पार्टीबाट निष्काशनको निर्णय गरे ।

भर्खरै सम्पन्न निर्वाचनमा जेरेमी कोर्बिन आफ्नो निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बने र सांसद निर्वाचित भए । लेबर पार्टीको उम्मेदवार त्यहाँ दोस्रो स्थानमा सीमित भए ।

कोर्बिन र स्टार्मरबीचको राजनीतिक झगडाको मुख्य कारण इजरायल, यहुदी र नश्लवादलाई हेर्ने दृष्टिकोणको भिन्नता थियो । इजरायल विरोधी कोर्बिन प्यालेस्टाइनलाई समर्थन गर्थे । फलतः लेबर पार्टी यहुदी र इजरायलप्रति सहानुभूति राख्ने मतदाताबाट टाढिदै गएको थियो ।

सन् २०१९ को आम निर्वाचनमा लेबर पार्टीको हारका मुख्य कारणमध्ये एक पार्टी नेता कोर्बिनको यहुदी विरोधी छवि र नश्लवादी बयानबाजी हो भन्ने स्टार्मरको ठहर थियो । अन्यथा सन् २०१९ को चुनावमै लेबर पार्टी सत्तामा फर्किन सक्थ्यो भन्ने स्टार्मरको निष्कर्ष थियो ।

किअर स्टार्मरले जारी इजरायल–हमास युद्धमा नयाँ अडान लिए । उनले हमासको अन्त्य नहुन्जेल इजरायलसँग युद्ध गर्ने अधिकार भएको तर अन्ततः इजरायल–प्यालेस्टाइन दुई राज्य समाधानमा पुग्न पर्ने धारणा राखे ।

स्टार्मरको यो नयाँ मध्यमार्गी अडानले यहुदी मतदातालाई पुनः लेबर पार्टीप्रति आकर्षित गर्‍यो ।

स्टार्मरको नेतृत्वमा लेबर पार्टीले शानदार जीत हासिल गर्नुको दोस्रो कारण भने प्रतिस्पर्धी कन्जर्भेटिभ पार्टीभित्रको किचलो, नेतृत्व संकट र बढ्दो आर्थिक मन्दीलाई मानिएको छ ।

सन् २०१९ को आम निर्वाचनमा बोरिस जोन्सन कन्जर्भेटिभ पार्टीका लागि एक ‘स्टार नेता’ थिए । तर, कोभिडकालीन संकट र पार्टीभित्रको बढ्दो असन्तुष्टिको कारण उनले बीचमै सत्ता छोड्नुपर्‍यो । जोन्सनले नेतृत्व छोडेपछि निर्वाचित भएकी कन्जर्भेटिभ नेता लिज ट्रसले पनि नेतृव क्षमता देखाइनन् ।

उनले आफैं ५०औं प्रधानमन्त्री पद त्याग गरिदिएकी थिइन् ।

यी संयोगले बेलायतमा भारतीय मूलका हिन्दु ऋषि सुनकलाई प्रधानमन्त्री बन्ने अवसर त दियो तर उनी बलियो कन्जर्भेटिभ पार्टीका लागि सर्वसम्मत र बलियो नेता भने हुन सकेनन् । सुनक कार्यकालमा कन्जर्भेटिभ पार्टीको स्थिति बिग्रँदै गएको संकेत निर्वाचन अघि नै आइसकेका थिए ।

मेघनाथ देसाईका शब्दमा– ‘ऋषि सुनक एक टेक्नोक्र्याट थिए, संयोगले प्रधानमन्त्री बने पनि उनी राजनीतिज्ञ थिएनन्, तसर्थ उनले राजनीति भने बुझेनन् ।’

किअर स्टार्मर पूर्व लेबर प्रधानमन्त्रीहरू म्याकडोनाल्ड, एटली, ब्लेयर र गोर्डन ब्राउनझैं उच्च प्रतिभाशाली र लोकप्रिय भने मानिंदैनन् । तर, उनी एक शालीन, भद्र, धैर्यशील, विनयशील र अध्ययनशील मानिस भने हुन् ।

प्रधानमन्त्री नियुक्ति भएपछिको पहिलो भाषणमा स्टार्मरले ‘जनतामा फैलिंदै गएको राजनीतिप्रतिको निरासालाई तोड्ने र राज्य–नागरिक सम्बन्धलाई नयाँ प्रकारले पुनर्निर्माण’ गर्ने बताएका छन् । उनले भनेका छन् कि उनको सरकार सञ्चालनको मूल नीति ‘पिपुल फर्स्ट, पार्टी सेकेन्ड हुनेछ ।’ अर्थात् जनता पहिले, अनि दल ।

बेलायत अब हिजोको जस्तो साम्राज्य रहेन । अतिवादी राष्ट्रवादी आन्दोलनको जोरले बेलायतलाई युरोपेली संघबाट पनि बाहिर निकाल्यो ।

बेलायत अहिले एक प्रकारले ‘एक्लो र निरीह देश’ जस्तो हुँदै गएको छ । यो देशमाथि आप्रवासी र शरणार्थी समस्याको दबाब उत्तिकै छ ।

संकुचन हुँदै गएको अन्तर्राष्ट्रिय सम्बन्ध सँगसँगै बेलायतको अर्थतन्त्र पनि संकुचन हुँदैछ । यी चुनौतीहरू नयाँ प्रधानमन्त्रीका रूपमा लेबर नेता किअर स्टार्मरले कसरी सामना गर्ने हुन्, त्यो भने प्रतीक्षाकै विषय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?