+

नेपालमा किन सजिलै उपलब्ध छैन बोनम्यारो ट्रान्सप्लान्ट सेवा ? (भिडियो)

२०८१ असार  २६ गते १२:५३ २०८१ असार २६ गते १२:५३
Shares
नेपालमा किन सजिलै उपलब्ध छैन बोनम्यारो ट्रान्सप्लान्ट सेवा ? (भिडियो)

हड्डीभित्र हुने बोनम्यारोमा रातो रक्तकोष (आरबीसी), सेतो रक्तकोष (डब्लुबीसी) र प्लेटलेट्स बन्ने गर्छ । रातो रक्तकोषले हेमोग्लोबिन र श्वासप्रश्वासमा मद्दत गर्छ भने सेतो रक्तकोष अर्थात् डब्लुबीसीले रोग प्रतिरोधात्मक क्षमतामा काम गर्छ ।

तर विभिन्न रक्तजन्य रोगहरूले बोनम्यारोको नियमित काममा अवरोध गरिदिन्छ । बोनम्यारोमा बन्नुपर्ने आरबीसी, डब्लुबीसी र प्लेटलेट्स बन्न पाउँदैन । यस्तो अवस्थामा मानव शरीर सञ्चालनका लागि अत्यावश्यक रगत बन्न पाउँदैन । यस्तो अवस्थामा बोनम्यारो प्रत्यारोपण गर्न समेत मिल्छ । यस्ता समस्या हुनेहरूलाई बोनम्यारो प्रत्यारोपण गरेर स्वस्थ बनाउन सकिन्छ ।

बोनम्यारो ट्रान्सप्लान्ट भन्नाले शरीरमा भएको अस्वस्थ बोनम्यारोलाई नष्ट गरेर अर्को स्वस्थ बोनम्यारो राख्ने प्रक्रिया भन्ने बुझिन्छ । खासगरी बोनम्यारो प्रत्यारोपण क्यान्सर रोग र अन्य रगतरोगमा गरिन्छ  ।

एप्लास्टिक एनिमिया, थालेसेमिया, सिकल सेल एनिमिया तथा ल्युकेमिया, मल्टिपल माइलोमा जस्ता रोगमा बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने हुन्छ ।

रक्त क्यान्सरका बिरामी, जो किमोथेरापीबाट निको हुँदैनन् वा क्यान्सर बल्झिएको छ र उपचार गरिरहँदा पनि शरीरमा क्यान्सरका कोषिकाहरु कम नभएमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ । साथै थालासेमिया वंशाणुगत रोग लागेमा, वंशाणुगतकै कारण बोनम्यारो फेल भएको अवस्थामा पनि बोनम्यारो प्रत्यारोपण गर्नुको विकल्प हुँदैन । बोनम्यारो ट्रान्सप्लान्ट रगतरोग र रक्त क्यान्सरको एक मात्र पूर्ण उपचार हो ।

कसरी हुन्छ बोनम्यारो ट्रान्सप्लान्ट ?

रगतरोग विशेषज्ञहरूको टिमले दिने विशिष्ट प्रकारको सेवा हो बोनम्यारो ट्रान्सप्लान्ट । नेपालमा अहिले सिभिल अस्पतालमा मात्र यो सेवा उपलब्ध छ ।

बोनम्यारो प्रत्यारोपण विभिन्न तरिकाबाट गर्न सकिन्छ । पहिलो व्यक्ति स्वयंको शरीरको अन्य भागको कोषिका प्रयोग गरेर गर्न सकिन्छ । जसलाई अटोलोगस रगत ट्रान्स फ्युजन भनिन्छ । यदि यो सम्भव नभएमा परिवारको सदस्यबाट स्टेमसेल लिइन्छ । जस्तै दाजुभाइ, दिदीबहिनीबाट लिने गरिन्छ र बिरामीलाई दिने गरिन्छ ।

अर्को अम्बिलिकल कर्ट अर्थात् नाभी । बच्चाहरू जन्मिने बित्तिकै उसको नाभीबाट जुन अम्बिलिकल कर्ट हुन्छ, त्यसलाई जोगाएर राख्न सकिन्छ । यदि त्यो जोगाएर राखेको छ भने त्यसमा एचएलए मिलाउन सकिन्छ । यसबाट पनि भएन वा स्टेमसेल चिन्दै नचिनेको मान्छेहरूको पनि प्रयोग गरिन्छ ।

नेपालमा सजिलै उपलब्ध छैन बोनम्यारो ट्रान्सप्लान्ट सेवा

बोनम्यारो ट्रान्सप्लान्ट सेवा एउटा अस्पतालमा मात्र पाइने भएकाले बिरामीले सजिलै यो सेवा दिन पाएका छैनन् । देशमा भएका ठूला सरकारी अस्पताल, मेडिकल कलेज र ट्रान्सप्लान्ट सेन्टरमा यो सेवा उपलब्ध छैन । तर यस्ता अस्पतालमा यो सेवा उपलब्ध हुने हो भने रगतरोग र क्यान्सरका बिरामीहरूको उपचारमा सजिलो हुन्छ ।

नेपालमा रगतरोग तथा बोनम्यारो ट्रान्सप्लान्टको विशेषज्ञ एकदमै कम छन् । अस्पतालहरूको स्रोत साधन कम भएकाले पनि बोनम्यारो ट्रान्सप्लान्ट जस्तो अति विशिष्ट सेवा दिन सकिरहेको छैन ।

कति लाग्छ खर्च ?

बोनम्यारो ट्रान्सप्लान्ट अलि महंगो उपचार हो । लामो समय अस्पताल बसेर उपचार गर्नुपर्ने, महंगो औषधि प्रयोग गर्नुपर्ने हुँदा यसको सेवाको शुल्क अलि धेरै लाग्ने हो । क्यान्सरको उपचारको लागि अहिलेसम्म सरकारले जम्मा एक लाख मात्र सहयोग गर्छ । रक्त क्यान्सरका बिरामीहरूको क्यान्सरको उपचार गर्न नै चार-पाँच लाख खर्च भइसकेको हुन्छ । यस्तोमा बोनम्यारो ट्रान्सप्लान्ट नै गर्नुपर्ने अवस्थामा त झन् धेरै खर्च हुन्छ ।

नेपालमा बोनम्यारो ट्रान्सप्लान्ट गर्न लगभग १० देखि २० लाख रुपैयाँ लाग्छ । भारतमा भने ४० देखि ५० लाख खर्च हुन्छ । त्यसैले यो सेवालाई नेपालमा सकेसम्म छिटो विस्तार गर्न जरुरी छ ।

नेपालमा सर्वसुलभ बनाउन के गर्ने ?

नेपालमा बोनम्यारो ट्रान्सप्लान्ट सेवालाई विस्तार गर्न सबैभन्दा पहिले र अस्पतालमा पर्याप्त मात्रामा स्रोत साधन हुन जरुरी छ । अस्पतालमा रगत ट्रान्सफ्युजन र ब्लड बैंकको सुविधा हुनुपर्छ । किनकि यो सेवाका लागि धेरै मात्रामा रगतको आवश्यकता पर्छ ।

बोनम्यारो ट्रान्सप्लान्टको विशेषज्ञ नेपालमा निकै कम भएकाले यस विषयमा अध्ययन-अध्यापनको जरुरी छ । नेपालमा यस विषयमा जति पनि विशेषज्ञ छन् उनीहरुलाई संगठित गरेर सेवा विस्तार गर्न सकिन्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

डा. अजयकुमार झा बोनम्यारो ट्रान्सप्लान्ट
डा. अजयकुमार झा
लेखक
डा. अजयकुमार झा
रगत तथा क्यान्सर रोग विशेषज्ञ

डा. झा काठमाडौं बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस र एमडीका साथै रगत तथा क्यान्सरमा भारतको चण्डीगढबाट डीएम गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३०२१ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नाकले कसरी वायु शुद्धीकरण गर्छ ?

नाकले कसरी वायु शुद्धीकरण गर्छ ?

सेतो कोटको ‘मौन विद्रोह’

सेतो कोटको ‘मौन विद्रोह’

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?