+

‘जंक फुड’ विष नै हो

२०८१ साउन  ७ गते १४:११ २०८१ साउन ७ गते १४:११

‘जंक फुड’ भन्ने कुरा सत्य नभए के बालबालिकालाई जन्मिने वित्तिकै बिस्कुट चटाउन मिल्छ ? आमाको दूध शिशुको लागि सर्वोत्तम भोजन हो भन्ने कुरा अब बेठिक भन्दिने ? असल र खराब भोजन भन्ने हुँदैन भन्ने तर्क गर्ने हो भने सर्वोत्तम भोजन पनि हुँदैन भन्न सकिन्छ नि !

‘जंक फुड’ विष नै हो

अनलाइनखबरमा प्रतीक जोशीजीको खानालाई ‘जंक’ भन्नु ठीक हो त ? भन्ने लेख पढेपछि केही नलेखी रहन सकिनँ । ‘जंक फुड’ भनेको के हो भनेर कसैले पनि गुगल गरेर हेर्‍यो भने थाहा हुन्छ । यस्तै ‘पत्रु खाना वा जंक फुडको कुनै कानुनी परिभाषा छैन’ भन्ने जोशीजीको भनाइ पनि मलाई उचित लागेन ।

जंक फुड भनेको त्यस्तो भोजन हो, जसमा धेरै चिनी, नुन, क्यालोरी हुन्छ, (विशेषगरी स्वाद बढाउन) तर यसमा शरीरलाई चाहिने पौष्टिक तत्व कि त हुँदैन कि अति न्यून हुन्छ । अर्को भाषामा यसलाई अति नै प्रशोधित गरिएको भोजन, (अल्ट्रा प्रोसेस फुड) पनि भनिन्छ ।

रबर्ट लस्टिग एक अमेरिकन बाल रोग विज्ञ हुन् । उनले २०औं वर्षसम्म अमेरिकन बालबालिकाको मोटोपन, मधुमेह, उच्च रत्तचापको उपचार गरेपछि बुझे कि– यसरी रोगको उपचार गरेर मात्र हुँदैन । यसलाई रोकथाम गर्नतर्फ लाग्नुपर्छ । त्यो भनेको उपयुक्त भोजन थियो ।

यसपछि उनी ‘जंक फुड’ बनाउने कम्पनी विरुद्ध लड्न कानुन विधा समेत पढेर वकिल भए । रबर्ट लस्टिगले अनेक किताबहरूमा कसरी अमेरिकाका जनताको ‘जंक फुड’ खाने बानीले अनेक समस्या सिर्जना हुन गएको छ भनेर विस्तृत वर्णन गरेका छन् ।

डा. रोबर्ट लस्टिग भनेर कसैले युट्युब खोलेर हेरेमा थाहा हुन्छ– कसरी उनी चिनी, नुन, रेसादार तत्व नभएका अनेक रसायनले भरिएका खाना विरुद्ध अर्थात् ‘पत्रु खाना’ विरुद्ध जनचेतना जगाइरहेछन् । त्यसैले यदि अमेरिका, यूरोप, भारतमा ‘जंक फुड’ भन्ने शब्द प्रयोग गर्न मिल्छ भने नेपालमा किन नमिल्ने होला ?

यस्तै ‘खानालाई असल र खराब भनेर छुट्याउनु सही हो त ?’ भन्ने लेखकको प्रश्नमा म भन्छु भोजनलाई असल खराब भनेको हो । बासी, कीरा परेको, कुहिएको अनेक रसायनले भरिपूर्ण भएको धेरै नुन र चिनी हालेको खानालाई के ‘खराब’ खाना भन्न सकिन्न र ? अंग्रेजी वा हिन्दीमा पनि यो शब्द प्रयोग गरिन्छ ।

हो, मानिसको जीवनशैली काम, ठाउँ अनुसार खानाको प्रकृति फरक हुन सक्छ । ‘उच्च क्यालोरीयुक्त खाद्य पदार्थ खेलाडीको लागि उपयुक्त हुन सक्छ’ भनेर लेखक भन्छन् । यो हो, तर त्यो स्वस्थकर क्यालोरी भएको भोजन हुनुपर्छ । धेरै ‘अस्वस्थकर बोसो, धेरै चिनी र नुन भएको क्यालोरी युक्त’, ‘मैदाजन्य वस्तु’ ले बनेका खानाले खेलाडीलाई फाइदा गर्दैन ।

‘खेलाडीहरूलाई ‘संयमित रूपमा पत्रु खाना प्रयोग गर्दा हुन्छ’ भन्नु ‘संयमित रूपमा बालबालिकालाई चुरोट, जाँड, रक्सी दिए पनि हुन्छ’ भनेको जस्तै हो । मलाई लाग्यो, अहिले अभिभावकले त्यही गरिरहेछन् ।

केही पोषणविद् नभएर पनि आफूलाई पोषणविद् भन्ने र खाद्य पदार्थको सम्बन्धमा धेरथोर सतही ज्ञान भएका व्यक्तिहरूले प्रयोग गर्ने शब्द हो ‘पत्रु खाना’ भनेर लेखकको लेखबाट मलाई के अनुभव भयो भने हजारौं वर्षदेखि हाम्रा पुर्खाहरूले भोजन बारे ज्ञान हासिल गरेर दैनिक जीवनमा प्रयोग गरेका छन् । उनीहरूको ज्ञानको केही महत्व रहेनछ त ?

हाम्रा पुर्खाहरूले ऋतु अनुसारको स्वस्थ भोजन गर्दा मन र मस्तिष्क दुवै स्वस्थ रहन्छ भनेर यसबारे अनेक सांस्कृतिक चलन चलाए । त्यसैले हामी अक्षय तृतीयमा सातु र सर्बत, असार १५ मा दही–चिउरा, माघ एक गते खिचडी, घिउ र चाकु खान्छौं ।

हाम्रा पुर्खाहरूले भनेकै थिए- ‘जै खाए अन्न, बैंस भए मन’ ‘पेट सफा तो हर रोग दफा !’ स्वस्थकर भोजनको बारेमा यस्ता हजारौं उखान, भनाइ, हाम्रो दैनिक जीवनमा प्रयोग गर्छौं । पत्रु खाना अर्थात् ‘जंक फुड’ भन्ने कुरा सत्य नभए के बालबालिकालाई जन्मिने वित्तिकै बिस्कुट चटाउन मिल्छ ? आमाको दूध शिशुको लागि सर्वोत्तम भोजन हो भन्ने कुरा अब बेठिक भन्दिने ? किनभने असल र खराब भोजन भन्ने हुँदैन भन्ने तर्क राख्ने हो भने सर्वोत्तम भोजन पनि हुँदैन भन्न सकिन्छ नि !

हो, ‘जंक फुड’ लाई नकारात्मक दृष्टिले नै हेर्ने हो । कुनै पनि हालतमा ‘पत्रु खाना’ ले शरीरलाई फाइदा गर्न सक्छ भन्ने विचार नै गर्न सकिंदैन । ‘पत्रु खाना’ भन्ने शब्दबाट नै बुझिन्छ ‘खराब खाना’ । अमेरिकामा पनि यस्ता पत्रु खाना बनाउने कम्पनीहरूको विरुद्धमा आवाज उठी नै रहेका छन् ।

अमेरिकामा उपलब्ध डाटा र त्यहाँका पत्रकारहरूले धेरै अध्ययन गरेर लेखेका किताबहरूमा कसरी ‘जंक फुड’ ले अमेरिकी जनताको स्वास्थ्य खराब गरेको छ भनेर गरिएका अध्ययनबारे केही लेख्छु । यी किताबहरूको बारेमा वेबसाइटमा हेर्न सकिन्छ । युट्युबमा पनि सुन्न सकिन्छ ।

जोशीजीको ‘खाना केवल खाना हो, खानाको कुनै नैतिक मूल्य हँुदैन’ भन्ने वाक्य नै गलत छ । खाना केवल भोजन माात्र होइन, यो संस्कृति, धर्म, जीवनशैलीसँग पनि जोडिएको हुन्छ । मान्छे जन्मनु भन्दा अघि आमाको पेटमा पनि भ्रूणलाई स्वस्थकर खानाको जरूरत हुन्छ ।

आमाले खराब,अस्वस्थकर खाना खाइन् र आमालाई कुपोषण र रक्तअल्पता भयो भने शिशु पनि कमजोर जन्मन्छ । त्यसैले त गर्भवतीले स्वस्थकर खाना खानुपर्छ भनिन्छ । भोजनको नैतिक मूल्य पनि छ । अन्नप्राशन पछि शिशुलाई स्वस्थकर लिटो, जाउलो दिइन्छ । उसलाई ‘चाउचाउ र आलु चिप्स’ दिए पनि हुन्छ किनभने यसमा क्यालोरी हुन्छ भनेर कसैले भन्ला र ?

खानाको छनोटले तपाईंलाई  राम्रो वा नराम्रो व्यक्ति बनाउँदैन भनेर लेखकले लेख्दा म भन्छु राम्रो नराम्रो बनाउँदैन, त्यो होला तर खानाको छनोटले तपाईंको स्वास्थ्य राम्रो रहने वा नसर्ने रोगको (उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मोटोपन सँगै आउने अनेक समस्या) साथै बिर्सने रोग हुने कि नहुने भन्ने कुरालाई पनि यकिन गर्न सक्छ ।

बर्गर, पिज्जा र फापर र कोदोको रोटीलाई एउटै वर्गमा राख्न सकिन्छ भनेर जोशीजी जस्तो प्रबुद्ध पोषणविद्ले कसरी भन्नुभयो छक्क लाग्छ । कोदोको रोटी, दही–चिउरा, उसिनेको आलु, चना र खिचडी खानु र चाउचाउ चिप्स खानु एकै हो त ?

मेरो सबभन्दा बढी विमति त ‘कुपोषित बच्चालाई चाउचाउ र बिस्कुट दिंदा उनीहरूलाई क्यालोरी पुग्छ’ भन्नु त एकदमै गलत, अस्वाभाविक कुरा हो । यस्तो कुराको के बाल रोग विज्ञ र जनस्वास्थ्य विज्ञले समर्थन गर्लान् ?

नेपालीहरूको अज्ञानताले गर्दा नै कति गरीबहरूले ‘पत्रु खाना’ बालबालिकालाई दिएर, उनीहरू कुपोषणको शिकार भएको कुरा लेखकले किन विचार नगरेको होला ! यो विषयमा म लेखक र यस्तै विचार राख्ने व्यक्तिहरूसँग जनसमक्ष छलफल गर्न चाहन्छु । जोशीजी तयार हुनुहुन्छ होला !

शरीरमा हुने अनेक रोगको मूल कारण अस्वस्थकर पेट, जंक फुड र अस्वस्थकर भोजन हो भन्ने तथ्यलाई प्रतिवाद गर्दै डा. लस्टिङले आफ्नो किताब ‘मेटाबोलिकल’ मा कसरी भोजन बनाउने कम्पनी, औषधि कम्पनी र पत्रु खानाले हामीलाई स्वस्थ रहनबाट वञ्चित गर्दछन् भनेर उल्लेख गरेका छन् ।

अनेक वैज्ञानिक अनुसन्धानलाई सहज अंग्र्रेजी भाषामा लेखिएको यो किताब पढेपछि मैले यसमा लेखेका तथ्य जनसमुदायमा अगाडि ल्याउन उचित ठानें ।

हुनत यसमा लेखिएका कतिपय तथ्यका बारेमा जनस्वास्थ्य विज्ञहरूले पहिलेदेखि नै भन्दै आएका छन् तर यो किताबमा डा. लस्टिङले आफ्नो अनुभवको माध्यमबाट बडो रोचक तरिकाले लेखेका छन् । उनी आफैं बालरोग र मधुमेह विज्ञ हुन् । उनी भन्छन्, ‘दीर्घ रोगहरू हुँदा दिइने औषधिले रोग ठिक पार्दैन, लक्षण मात्रै ठिक पार्दछ ।’

‘दीर्घ रोगलाई औषधिले होइन भोजनबाट ठिक पार्नुपर्छ ।’

‘पत्रु खाना खाने बानी ‘कुलत हो’ रक्सी जस्तै ।’

‘पत्रु खाना बनाउने कम्पनी, ठूला औषधि कम्पनी र जनस्वास्थ्यको बेवास्ता गर्ने सरकारहरू एकै थलोमा छन् ।’

अमेरिकाको पृष्ठभूमिलाई ध्यानमा राखेर लेखिएको यो किताब अहिलेको नेपाल, भारत जस्ता देशका लगि अति नै महत्वपूर्ण छ । ४०० पेज भन्दा बढीको यो किताब एक स्रोत पुस्तक हो । एकैचोटिमा पढ्न सकिन्न, यसलाई समय समयमा पढिराख्नुपर्छ ।

किताब पढ्दै गर्दा, यसमा लेखिएका कुराहरू हामीहरूसँग कति मिल्दो रहेछन् भन्ने अनुभव हुन्छ । ‘यदि हामीले भोजनको शैली बदलेनौं भने अस्पताल, औजार र औषधिको जति विकास होस्, स्वास्थ्यका यतिविधि रोगहरू कम हुने छैनन्’, किताबमा धेरै ठाउँमा भनिएको छ ।

डा. लस्टिङ लेख्छन्, ‘अमेरिकामा ठूला–ठूला पसलहरूमा पाइने भोजन मध्ये ६२ प्रतिशत पत्रु खाना हुन्छन् । तिनमा अनेकथरी रंग मिसिएका हुन्छन् र यस्ता खानाबाट हामी विस्तारै विषपान गर्दैछौं । यस्ता भोजनले नसर्ने रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, कलेजोमा बोसो जम्ने समस्या, क्यान्सर, बिर्सने रोग आदि हुन्छ । यस्ता समस्याको समाधान गर्न समुदाय र व्यक्तिले सकेसम्म प्राकृतिक तरिकाले बनाएको भोजन नै खानु एक उपाय हो । यसले हाम्रो रोगसँग लड्ने शक्ति बढाएर कोभिड जस्ता महामारीसँग लड्न मद्दत पुर्‍याउनेछ ।’ उनले आफ्नो किताबमा लेखेका छन्– ‘पोषणको बारे डाक्टर र अन्य स्वास्थ्यकर्मीहरू बोल्दैनन् ।’

डा. लस्टिङले पहिले विज्ञानको अध्ययन गरे, स्नातक भए । अनि डाक्टरीको पढाइ गरे । उनी बाल रोग विज्ञ बने । त्यसपछि उनले अमेरिकाको बच्चाहरूको मोटोपनको समस्यामा काम गरे । हर्मोन विज्ञ भएर बालबालिकाको समस्या समाधान गर्ने क्रममा उनलाई अनुभव भयो–  ‘यस्ता धेरै समस्या छन् जो औषधि मात्रैले समाधान दिन नसक्दा रहेछन् । कलेजमा पढेको ज्ञानले मात्रै बच्चाहरूको मोटोपन, थाइराइडको समस्या हल गर्न नसकिने रहेछ ।’ अनि उनले नयाँ तरिकाले उपचार शुरू गरे ।

काम गर्ने दौरानमा उनले अनुभव गरे– कसरी चिनी, अन्य गुलिया पदार्थ, जंक फुडले कलेजोमा समस्या पार्छ, यसले क्यान्सर र बिर्सने रोगको सम्भावना बढ्छ । उनको यो आफ्नो अनुभव मात्र नभएर वास्तविक अनुसन्धानमा आधारित थियो । त्यसैले उनले स्पष्ट रूपमा भने ‘यस्तो किसिमको भोजन गर्नुपर्छ जसले कलेजोलाई स्वस्थ राख्छ, पेटलाई आराम पुर्‍याउँछ । यस्तो भोजन गर्दा नै वास्तविक भोजन गरेको ठहरिन्छ ।’

विभिन्न थरीका जंक फुड र भोजन बनाउने कारखानाका मालिकहरूले कसरी व्यापारिक भोजन अस्वस्थकर हुन्छ भन्ने कुरा लुकाउँछन् । ‘प्राकृतिक रूपमा हरेक खाना स्वस्थकर हुन्छन् । त्यही भोजनलाई अनेक माध्यमबाट सस्तो रेसादार तत्व (बाहिरी बोक्रा) निकालेर लामो समयसम्म सुरक्षित रहोस् भनेर अनेक रसायन मिसाएर कारखानाबाट पत्रु खाना निकालिन्छ । यस्तो प्रकारले बनाएको भोजन खाएपछि हाम्रो कलेजो अस्वस्थ हुन्छ । रेसादार तत्व नभएपछि पेट खराब भएर संक्रमण हुने सम्भावना हुन्छ । (पेज ८)

यो किताब लेख्दा उनले एक हजार ५४ वटा स्रोतहरू उल्लेख गरेका छन्, ती सबै स्रोतहरू किताबमा उल्लेख गर्दा किताबको आकार मोटो भएर बढी मूल्य पर्ने भएकोले उनको वेबसाइटमा ती सबै स्रोत थपिएका छन् ।

‘अमेरिकामा उत्तम डाक्टर, अनेक अस्पताल, शल्यक्रियाको लागि आधुनिक प्रयोगशाला, आदि भएर पनि के अमेरिकन जनता स्वस्थ छन् ?’ भन्ने प्रश्न गर्दै यो किताबमा लेखिएको छ– ‘अमेरिकी जनता स्वस्थ छैनन् । वास्तवमा अति विकसित अरू देशहरूमध्ये अमेरिकाको स्वास्थ्य अवस्थामा मधुमेहको समस्या यहाँ अरू देशमा भन्दा बढी छ । त्यस्तै बिर्सने रोग, क्यान्सर र मुटुको रोग हुने देशमध्ये पहिलो ५ मा अमेरिका पर्छ । यो सबको कारण भोजन र जीवनशैली हो ।’

आफ्नो किताबको एक ठाउँमा उनले लेखेका छन्- ‘कोभिडको महामारीको बेला डा. फाउचीले धेरै राम्रो काम गरे । तर उनीसँग एउटा कुरामा म रिसाएको छु । उनले कोभिडको संक्रमणसँग लड्न भोजनको के महत्व छ भनेर कहिल्यै पनि बोलेनन् । यदि उनले यो बारे बोलिदिएको भए समुदायमा निकै सकारात्मक प्रभाव पर्नेथियो होला ।’

आहार तथा पोषण खानेकुरा जंक फुड डा. अरुणा उप्रेती
लेखक
डा. अरुणा उप्रेती
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

धूम्रपान तथा सुर्तीजन्य पदार्थले प्रजनन् स्वास्थ्यमा कसरी असर पार्छ ?

धूम्रपान तथा सुर्तीजन्य पदार्थले प्रजनन् स्वास्थ्यमा कसरी असर पार्छ ?

‘सपना नदेखेको धेरै रात भयो’

‘सपना नदेखेको धेरै रात भयो’

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने