पछिल्लो दोस्रो जवान पुस्ता जेन-जी अहिले धेरै क्षेत्रको जिम्मेवारी सिक्ने र लिने क्रममा छ । अमेरिकन अनुसन्धान संस्था ‘पेउ रिसर्च सेन्टर’का माइकेल डिमोकले एउटा लेखमा राजनैतिक, आर्थिक र सामाजिक क्षेत्रको आधारहरू प्रस्तुत गर्दै सन् १९९७ देखि २०१२ सम्म जन्म लिएका मानिसहरूको समूहलाई जेन-जी भनेका छन् । यसलाई आधार मान्दा यो पुस्ताको उपल्लो उमेर २७ वर्ष पुगिसकेको छ ।
सूचनाप्रविधिको युग हुँदै कृत्रिम बौद्धिकतासम्मको अनुभव गरिसकेको यो पुस्तामा प्रविधिमैत्री, रमाइलो गर्न मन पराउने, अस्थिर रहने जस्ता गुणहरू हुने अध्ययनहरूले बताएका छन् । विश्वको जनसंख्याको करिब २५ प्रतिशत हिस्सा ओगटेको यो पुस्ताका केही अहिले विद्यालय तथा कलेजमा अध्ययनरत छन् भने केहीले आफ्नो क्षेत्र रोजेर क्षेत्रगत जिम्मेवारी लिन सुरु गरिसकेका छन् । अध्ययनहरूले आगामी वर्षसम्ममा विश्वको कार्यक्षेत्रको २७ प्रतिशत हिस्सा जेन-जीले लिने बताइरहँदा, अब यो पुस्ता क्षेत्रगत जिम्मेवारी लिन तयार भइरहेको पुष्टि हुन्छ ।
पछिल्लो समय व्यापक प्रयोग तथा प्रसार भएको सूचना-प्रविधिको विकाससँगै हुर्किएको यो पुस्ताले विकसित स्वास्थ्य सेवा, यातायात सेवा, विज्ञानका नवीन खोज र कृत्रिम बौद्धिकताको लागि अघिल्ला पुस्तालाई धन्यवाद दिंदै त्यसको थप विकास तथा विस्तारमा सघाउन सुरु गरिसकेको छ भने सूचनाप्रविधिलाई आफ्नो जीवनको एक हिस्सा पनि बनाएको छ ।
तर, योसँगै समाजमा बढिरहेको आर्थिक ध्रुवीकरण, पछिल्लो समय बढिरहेका महामारी र जलवायु परिवर्तनका असरहरू भने यो पुस्ताको उमेरसँगै बढ्दै गहिरहेका छन् । आफूले सक्रिय जीवन बिताउने, कर्मक्षेत्र रोज्ने र भावी पुस्ता हुर्काउने निर्णय गर्ने वेला भएको यो पुस्तासँगै एउटा पेचिलो प्रश्न बहसमा आएको छ, यो पुस्ताको उत्तरार्धतिर पृथ्वी बस्न योग्य रहन्छ ?
पछिल्लो समय बढिरहेको विश्वको तापक्रम, पग्लिरहेको बरफ, बढिरहेको समुद्री तह, निरन्तर बढ्दो प्राकृतिक प्रकोपहरू, विभिन्न प्रदूषणहरू र अन्तरदेशीय द्वन्द्व तथा ध्रुवीकरण जस्ता कारणले गर्दा पृथ्वीको भविष्य माथि प्रश्न उठ्न सुरु भइसकेको छ । अझ डरलाग्दो त एक्काइसौं शताब्दीको अन्त्यसम्ममा पृथ्वी बस्नयोग्य नहुने वैज्ञानिक आधारहरू सतहमा आएका छन् ।
अमेरिकी पत्रकार डेभिड वालेस-वेल्सले सन् २०१९ मा प्रकाशित गरेको ‘द अनइनह्याविटेवल अर्थ’ भन्ने पुस्तकमा विश्वको कार्बन उत्सर्जन यही अवस्थामा रहिरहे अबको पुस्ताले बस्नयोग्य ठाउँ एकदमै सीमित रहने तथ्य अघि सारेका छन् । सन् २१०० सम्म विश्वको तापमानको सबैभन्दा अनुकूल (२ प्रतिशतको वृद्धि) र सबैभन्दा प्रतिकूल (८ प्रतिशतको वृद्धि) वृद्धिलाई आधार मानेर लेखिएकोले धेरैले अति निराशावादी पुस्तकको संज्ञा दिएतापनि उनले प्रस्तुत गरेका पुराना तथ्यहरूले अत्यधिक कार्बन उत्सर्जन र यसका सहायक कारणले गर्दा बढेको विश्वको तापमानसँगै आउने संकटहरू धेरै हदसम्म स्वाभाविक र सत्य छन् भन्ने देखाएको छ ।
एउटा अन्तर्वार्तामा उही लेखकले अबको पुस्ताले आफ्नो जीवनको आधा समय प्रकोपको उद्धार गर्न बिताउनुपर्ने बताएका छन् । यस्ता वास्तविक तथ्य सहितका संकटका प्रक्षेपण जेन-जीको जीवनकालकै लागि सबैभन्दा ठूलो चुनौतीहरू हुनेछन् ।
हुनत पछिल्लो समय विकसित भैरहेको र विकसित हुन्छ भनेर प्रक्षेपण गरिएका प्रविधिहरूले मानिसलाई संकटमा सघाउने र विश्व ध्वस्त नहुने भनेर व्याख्या गरिरहेको एउटा तप्का पनि छन् । स्कटिस तथ्याङ्कशास्त्री हन्ना रिचिले जलवायु परिवर्तनको असरलाई त्रासदीपूर्ण रूपमा मात्रै व्याख्या गरिएको भन्दै ‘नट द इन्ड अफ दि वल्र्ड’ भन्ने पुस्तक प्रकाशन गरिन् । जसमा उनले हामी केही पछाडि फर्किने हो भने पृथ्वी बचाउन सकिने आधारहरू प्रस्तुत गरेकी छन् ।
प्रविधि र मानवताको सहायतामा विश्वलाई बचाउन सकिन्छ भन्ने अध्ययनहरू पनि हामीमाझ छन् । तर, यी दुवै मतभेदको एउटा सार के हो भने पृथ्वी गहिरो संकटमा जाँदैछ र यो संकट मानिसहरूको कारण नै निम्तिंदैछ । अबको पुस्तालाई त्यो संकटसँग जुध्न तयार गर्नु र संकट टार्न अथक् प्रयास गर्नुको अघिल्ला पुस्तासँग विकल्प देखिंदैन ।
जेन-जी, सूचना र प्रविधिको बीचमा हुर्केको तीक्ष्ण विवेक भएको पुस्ता भनेर व्याख्या गरिए पनि त्यो सबैका लागि सत्य छैन । पछिल्लो समय आन्तरिक र बाह्य युद्धमा होमिएका राष्ट्र सिरिया, लिविया, यमन, सुडान, इथियोपिया, हाइटी, म्यानमार, रूस, युक्रेन, प्यालेस्टाइन, अफगानिस्तान जस्ता देशका आर्थिक विकास नभएका भनिएका मुलुकका र विकासोन्मुख भनिएका मुलुकका जेन-जीहरू आफ्ना आधारभूत आवश्यकता पूर्ति गर्नका लागि युद्धमा होमिन, शरणार्थी बन्न या बसाइँ सर्न बाध्य छन् । भोलि जलवायुसँगै बढ्ने संकटहरूले सबैभन्दा धेरै प्रताडित हुने समुदाय तथा देशहरू पनि यिनै हुन् ।
आफू तथा भविष्यका सन्ततिको अस्तित्वका लागि बलियो आधारभूत शिक्षा र सीप आवश्यक पर्ने यो पुस्ता शरणार्थी बन्नु या बसाइँ सर्नु झनै दुःखद् छ । विश्वव्यापीकरण र सूचनाप्रविधिको कारणले बढेको उपभोक्तावादमा रमाइरहेका युद्ध नभएको विकासशील भनिएको तथा अविकसित भनिएका मुलुकका जेन-जीहरूमा बढिरहेको विकसित भनिएका देशहरूको जस्तो जीवनशैलीको इच्छाले पनि हाम्रा संकटहरूलाई थप बढाएको छ ।
अन्य विकासशील भनिएका देशहरू जस्तै नेपालका जेन-जीहरू पनि अहिले दैनिक जीवनशैलीको संक्रमणकालबाट गुज्रिरहेका छन् । त्यसैले नेपालमा आन्तरिक तथा बाह्य बसाइँसराइ तीव्र छ । लेखकसँगै लमजुङ क्याम्पसबाट सन् २०२० मा अध्ययन सम्पन्न गरेका करिब ६५ प्रतिशत कृषि स्नातक अहिले विदेशिइसकेका छन् भने नेपालमा बसेर आकर्षक जागिर गरिरहेकाहरू पनि जाने तरखर गर्दैछन् ।
सन् २०२३ मा मात्रै १ लाख ११ हजार ८०० विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र लिएको तथ्याङ्क सार्वजनिक भएको छ । नेपालमा प्राथमिक उत्पादनका क्षेत्रहरू जस्तै कृषि, पशुपालन, वन जस्ता प्राविधिक विषय पढेका युवाहरूको विदेशिने क्रम अन्य क्षेत्रको भन्दा उच्च छ । पछिल्लो समय बढेको जलवायु परिवर्तनको संकटसँग जुध्ने प्रविधिहरूको अनुसन्धान तथा प्रसार गर्ने यो जनशक्तिलाई हाम्रो जस्तो देशहरूले भविष्यको लागि आफ्नो भूगोलको जिम्मेवारी लिने वातावरण बनाउन सकेको छैन ।
पर्यावरणको बारेमा धेरै कलम चलाउने लेखक जीवन क्षेत्रीको अघिल्लो वर्ष एउटा पुस्तक प्रकाशनमा आयो ‘नुन तेल-विगततिर पदयात्रा’ । उक्त पुस्तकमा लेखकले पछिल्ला बसाइँसराइहरूले मानिसलाई प्रकृतिबाट टाढा पुर्याइरहेको भाव व्यक्त गरेका छन् । हाम्रो सामाजिक मनोविज्ञान र विकासको दृष्टिकोण प्रकृतिबाट टाढिइरहेको कुरातिर लेखकले बारम्बार इंगित गरेका छन् ।
लेखकले गण्डक क्षेत्रको चर्चा गरेतापनि यो हाम्रो जस्तो देशहरूको प्रतिनिधि अवस्था हो । अहिले हाम्रो जस्ता देशहरूका जेन-जीहरू देशको बिगँ्रदो राजनैतिक वातावरण, बिग्रँदो आर्थिक अवस्था, गुणस्तरीय शिक्षाको कमि जस्ता कारणहरू देखाएर देशले आफूहरूलाई नअटाएको बताउँदै विदेशिइरहेका छन् । जसले गर्दा उनीहरूसँग नेपालको भूगोल, प्राकृतिक स्रोत व्यवस्थापन, उत्पादनको सामान्य ज्ञानको समेत कमि छ ।
योसँगै पुराना पुस्तासँगको प्रकृति र पर्यावरण संरक्षण तथा पर्यावरणमैत्री उत्पादन प्रणालीको ज्ञानलाई हाम्रो शैक्षिक प्रणालीले बेकामे, परम्परागत, निर्वाहमुखी जस्ता नाम दिएको छ । जसका कारण न त पुराना पुस्तालाई यस्तो शिक्षा नयाँ पुस्तालाई आवश्यक छ भन्ने महसुस भएको छ न नयाँ पुस्तालाई यस्तो शिक्षा तथा सीप लिने रहर, चाख या फुर्सद नै छ ।
वास्तवमा, हाम्रो पुस्तालाई हस्तान्तरण हुने पृथ्वी चुनौतीले घेरिएको छ । खनिज इन्धनको अत्यधिक दोहन भएको छ । जैविक विविधताको ह्रास हुने दर प्राकृतिक दर भन्दा एक हजार गुणाले बढेको छ । हरेक वर्ष तापक्रमहरूले रेकर्ड तोडेका छन् । प्रत्येक वर्ष ७५० अर्ब टन हिउँ पग्लिरहेको छ र यो दर बढ्दो छ । समुद्री सतहहरू बढिरहेका छन् । जंगलमा आगो लाग्ने क्रम बढिरहेको छ ।
अत्यधिक पानी पर्ने र खडेरी हुने क्रम बढ्दो छ । पानीका स्रोतहरूमा रसायन र विषादीको मिसावट अत्यधिक छ । आर्थिक ध्रुवीकरण बढिरहेको छ भने गरिबी र खान नपाउने जनसंख्या पनि उल्लेखनीय छ । स्रोतहरूमा असमान पहुँच र विस्तारवादी चिन्तनले विश्वलाई खण्डीकृत बनाइरहेको छ ।
योभन्दा डरलाग्दो संकट हामीले खाने खाद्यान्न र त्यो उत्पादन हुने माटोमा देखिएको छ । युनेस्कोले प्रेस विज्ञप्ति निकाल्दै अहिलेसम्म ७५ प्रतिशत जमिन मरुभूमिकरण भइसकेको र यही क्रम जारी रहे सन् २०५० सम्म पृथ्वीको ९० प्रतिशत जमिन खेती गर्न अयोग्य हुने बताएको छ । माटोको निर्जीवीकरण र उत्पादकत्व ह्रासका डरलाग्दा तथ्यांक सार्वजनिक भइरहेका छन् ।
कृषि जैविक विविधताको व्यापक ह्रास भएको छ । ७० प्रतिशत मानिसको खाना र ५० प्रतिशत जमिन धान, गहुँ र मकैले ओगटेको छ । जमिनमा बढिरहेको अम्लीयपन, प्राङ्गारिक पदार्थको कमि, सूक्ष्म जीवाणुहरूको ह्रास जस्ता कारणले केही समयपछि जलवायु परिवर्तनले बढाएका प्रकोपसँगै विकसित, विकासशील र अविकसित भनिएका देशहरूमा साझा र ठूलो समस्याको रूपमा खाद्य संकट देखापर्नेछ । नयाँ पुस्तासँग देशको बेथिति, राजनैतिक अवस्था, आर्थिक अवस्था, अस्तव्यस्त जीवनशैलीबाट भाग्ने बाटोहरू टन्नै भए पनि स्वस्थ खानेकुराको विश्वव्यापी अभावबाट भाग्ने विकल्प देखिंदैन ।
दोस्रो नयाँ पुस्ता अर्थात् जेन-जी अहिले विचार, विकास, आवश्यकता र गतिविधि चारै क्षेत्रको संक्रमणकालमा गुज्रिरहेको छ । पृथ्वी बचाउन प्रविधि र प्रकृति दुवै बुझ्नुपर्नेछ, ऊ प्रविधिको मात्रै उपभोग गर्न हतारिएको छ । भोलि बाँच्नका लागि परम्परागत भनिएका ज्ञानहरूको आवश्यक पर्नेछ तर ऊ नवआधुनिकता खोज्न दौडिएको दौडिएकै छ ।
यो पुस्तालाई आर्थिक ध्रुवीकरण घटाउनुपर्ने बाध्यता छ तर ऊ उपभोक्तावादमा रमाइरहेको छ । वास्तवमा यो पुस्ताको गतिशीलता र प्रकृतिको स्थायित्व दुई विपरीत धु्रवमा देखिन्छन् । यो पुस्तालाई संकटको बीचमा पृथ्वीको जिम्मेवारी लिनुको विकल्प छैन ।
आफ्नो र आउँदो पुस्ताको लागि उसले विकासका तमाम परिभाषाबाट माथि उठेर प्रकृतिमा भैरहेको दोहन रोक्नको लागि सामूहिक आवाज उठाउनुपर्नेछ, दिगो भविष्यको लागि सामूहिक लडाईं लड्नुपर्नेछ । आफ्नो भविष्यका लागि प्रकृतिलाई बचाउनुपर्नेछ र भोलि आउने संकटसँग जुध्न आफूलाई र आफ्नो पुस्तालाई तयार गर्नुपर्नेछ । बढिरहेको विश्वव्यापीकरणलाई एकतामा ढालेर संयुक्त रूपमा पृथ्वी बचाउन नलागे डेभिड वालेस वेल्सले भने जस्तो प्रकोपको उद्धारमा जीवन बित्ने निश्चितप्रायः छ ।
(लेखक पर्यावरणीय कृषिको अनुसन्धानकर्ता हुन् ।)
प्रतिक्रिया 4