एक महिनायता नियमितजसो हैजा संक्रमणको खबर छाइरहेका छन् । यस अवधिमा देशभर ३६ जनामा हैजाको संक्रमण पुष्टि भएको छ, जसमध्ये सबैभन्दा बढी ललितपुरमा २६ सङ्क्रमित पाइएको छ । हैजाबाट एक जनाको मृत्यु समेत भइसकेको छ ।
सात पटक महामारी ल्याइसकेको हैजा
करिब २०० वर्ष पहिले नै पत्ता लागेको हैजा एक पुरानो संक्रामक रोग हो । अहिलेसम्म विश्वव्यापी रूपमा सात पटक यसले महामारी ल्याइसकेको छ ।
नेपालको सन्दर्भमा वृहत स्तरमा भने सन् २००९ मा जाजरकोट जिल्लामा देखिएको थियो । जहाँ करिब ३० हजार जनामा हैजा देखिएको थियो । जसमध्ये ५०० जनाले ज्यान गुमाए । त्यसपछि रौतहट जिल्लामा सन् २०१४ मा ६०० जनाभन्दा बढी हैजाका बिरामी थिए ।
मानिसलाई मृत्युकै मुखमा पुर्याउन सक्ने के हो हैजा ?
हैजा पानीजन्य एक संक्रामक पखाला गराउने रोग हो । जसलाई चिकित्सकीय भाषामा ‘कोलेरा’ भनिन्छ । वर्षात् र गर्मीयाममा ‘भिब्रियो कोलेरा’ नामको जीवाणु सक्रिय हुन्छ । ती जीवाणु दूषित पानी र खानेकुरालाई माध्यम बनाई मानिसमा सर्ने गर्छ ।
यसले उपचार समयमै गरे निको हुन्छ । तर उपचार नगरिएको खण्डमा मृत्युको मुखमा समेत पुर्याउन सक्छ ।
किन लाग्छ हैजा ?
वर्षायाममा पानीको बहाव बढ्छ । भरिभराउ हुने नदीनालामा अव्यवस्थित ढलहरू मिसिएको हुन्छ । जसकारण मानिसको बढी घनत्व भएको ठाउँमा छिटो ‘भिब्रियो कोलेरा’ नामको जीवाणु सक्रिय भई फैलिन्छ ।
दूषित पानी र दूषित बासी, सडेगलेका खानेकुरा, जीवाणु रहेको पानीमा फलेको तरकारी राम्रोसँग नपखाल्ने वा दूषित पानीमै पखाल्ने, पानी नउमाली पिउँदा कैयौं जीवाणु आन्द्राको कोषले अवशोषित गर्छ । जीवाणुले कोषमा विषाक्त पदार्थ छाड्ने र आन्द्रामा भएका अन्य तत्व पनि निकालिदिन्छ ।
जसकारण पाचन पक्रियाको सन्तुलत बिगारेर पखाला लगाउँछ । बान्ता र पखालाको माध्यमबाट शरीरबाट अत्यधिक पानीको मात्रा बाहिरिन्छ ।
सो पखालासँगै शरीरबाट अत्यधिक मात्रामा नुन, लवणदेखि तरल पदार्थ शरीरले सोस्न नसकी बाहिर पठाउँछ । जसकारण शरीरमा ऊर्जा हुँदैन ।
कसरी थाहा हुन्छ ?
हैजाको लक्षण केही व्यक्तिमा मध्यम, केहीमा अति गम्भीर हुनसक्छ । गम्भीर लक्षण देखिएको व्यक्तिको उपचारमा ढिलाइ भएमा मृत्यु समेत हुनसक्छ ।
जीवाणु शरीरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा लक्षण देखिन्छ । केहीमा गम्भीर अवस्था पनि उत्पन्न गराउँछ ।
चौलानी जस्तो निरन्तर पातलो दिसा हुने, पटक-पटक बान्ता हुने, इलेक्ट्रोलाइटको असन्तुलन हुने, छालाको लचकतामा कमी आउने, आँखाहरु गाडिने, मांसपेशी दुख्न थाल्ने र शरीर कमजोर हुने यसको प्रमुख लक्षण हुन् ।
त्यस्तै, रक्तचाप स्वाट्ट घट्ने, मुटुको चाल तीव्र हुने र अत्यधिक डिहाइड्रेसन (जलवियोजन) पनि गराई मृत्यु समेत हुनसक्छ ।
कति बेला अस्पताल जाने ?
लक्षण सामान्य छ भने पखाला लागेको केही समयमा उमालेर चिस्याएको पानीमा जीवनजल मिलाएर खाँदा यसको लक्षण कम हुँदै गएको छ भने अस्पताल गइहाल्नुपर्ने अवस्था नहुन सक्छ । घरमा नै यथेष्ट जीवनजल पानी खाने र सुपाच्य खानेकुरा खाँदा बिस्तारै बिस्तारै ठीक हुँदै जान्छ ।
जीवनजल खाएर पनि भएन, पखाला लाग्न थालेको २४ घण्टासम्म पनि कुनै सुधार आएन भने गम्भीर अवस्थाको रूपमा लिन सकिन्छ । यस्तो लक्षण देखिएमा अस्पताल जानुपर्छ ।
परीक्षण तथा उपचार
प्रभावित व्यक्तिको दिसाको परीक्षण गरेर हैजाको पहिचान गर्न सकिन्छ । पखाला लाग्न थालेपछि छिट्टै जीवनजल खाएर आराम गरिरहँदा शरीर हाइड्रेट भइराख्छ । जसकारण अवस्थामा सुधार हुँदै आउँछ ।
तर पखाला लाग्यो र जीवनजलदेखि अन्य खानेकुरा पनि नखाई बसेमा अवस्था गम्भीर हुनसक्छ । गम्भीर खालका बिरामीको शरीरमा पानीको मात्रा निकै कम हुने हुँदा नसाको माध्यमबाट पानी दिनुपर्छ ।
त्यस्तै, कतिपय अवस्थामा जीवाणुलाई नष्ट गर्न एन्टिबायोटिक औषधि पनि चलाउनुपर्ने हुनसक्छ । एन्टिबायोटिक औषधिले यसको लक्षण कम गर्ने भए पनि चिकित्सकको सल्लाहमा मात्रै खानुपर्छ । किनकि केही एन्टिबायोटिक औषधिमा अहिले रेसिस्टेन्स (प्रतिरोध) विकास भएको छ ।
अर्थात्, एन्टिबायोटिक विरुद्ध जीवाणुले प्रतिरोध विकास गरेमा उक्त औषधिले काम नगर्ने अवस्था सिर्जना हुन्छ । त्यसैले अनुभवी चिकित्सकको सल्लाहविना एन्टिबायोटिक खाँदा उल्टो असर गर्न सक्छ ।
जटिलता
निरन्तर अत्यधिक दिसा लागेको र नरोकिएको खण्डमा शरीरबाट अत्यधिक मात्रामा तरल पदार्थ निख्रिएर बेहोस हुने अवस्था ‘हाइपो भोल्युमिक सक’ हुनसक्छ । यसरी हैजाका जटिलताका कारण मृत्यु पनि हुनसक्छ ।
कोषहरूमा जब रगत जान्छ, तब अक्सिजन र पोषण पनि पुग्छ । तर लगातार हैजा भएमा शरीरमा रहेको १५ प्रतिशत नुन र पानी जस्ता तरल पदार्थ दिसा तथा बान्ताको माध्यमबाट बाहिरिएर शरीरमा पानीको मात्रा घटेपछि मुटुले सक्रिय रूपमा रगत पम्प गर्न सक्दैन । कोषहरूमा रक्तसञ्चार हुन पाउँदैन । रगत नपुग्दा अक्सिजन र पोषणको कमी हुन्छ । शरीरलाई चलायमान राख्ने प्रमुख अंगले काम गर्न सक्दैन । रक्तसञ्चार मुटुले गर्न नसकेको खण्डमा पर्याप्त मात्रामा टाउकोमा रगत नपुग्दा मस्तिष्कको तन्तुहरु मर्ने, मिर्गौला क्षति गराई मृत्यु समेत हुनसक्छ । यही गम्भीर असरलाई ‘हाइपो भोल्युमिक सक’ भनिन्छ ।
हैजामुक्त गराउने समाधान छैन ?
हैजामुक्त गराउने उद्देश्यले हैजाविरुद्ध खोप नबनेको होइन, तर सेन्ट्रल फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसको सिफारिस गर्दैन ।
किनकि यो खोप प्राप्त गर्नेलाई केही महिनासम्म मात्रै सुरक्षा दिन्छ । त्यसैले यो संक्रमण हरेक वर्ष नै आउने हुँदा यसबाट बच्न सतर्कता नै अपनाउनुपर्छ ।
सरकारको भूमिका
हरेक वर्ष फैलिने यो जोखिमलाई सदाका लागि हटाउन सकिंदैन । तर पटक-पटक दूषित पानीकै कारणले यस्तो महामारी फैलिरहने भएकाले सरकारले यसको पूर्व तयारीका लागि ठोस कदम चाल्नुपर्ने देखिन्छ ।
मृत्युकै जोखिम नियन्त्रणका लागि जोखिमपूर्ण मानिएको स्थानमा सरकारले जनचेतना फैलाउने, खुल्ला दिसापिसाबमुक्त अभियानलाई सशक्त बनाउने र विकट क्षेत्र जहाँ औषधि अभाव छ, त्यहाँ गर्मीयाम लागेसँगै हैजाको औषधि र जीवनजलहरु बेलाबेलामा पठाइरहनुपर्ने देखिन्छ ।
त्यसबाहेक प्रत्येक घरमा सफा पिउने पानीको व्यवस्था पनि गर्नुपर्ने देखिन्छ । सरकारले जारका पानीहरु कतिको शुद्ध र स्वस्थकर छन् भनेर गुण्स्तर मापन गर्ने र गुण्स्तरीय नतिजा नआए कारवाहीको दायरामा ल्याउनुपर्छ । साथै, ढलको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिन्छ ।
के गर्ने ?
– पानी मुहानको होस् वा जारको पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने, सागसब्जी राम्रोसँग सफा पानीले पखालेर सफा भाँडामा पकाउने ।
– कामकाज, खेलकुद, बाहिरबाट आउँदा, दिसापिसाब गरेपछि राम्रोसँग साबुनपानीले हातखुट्टा धुने ।
– सडेगलेका बासी खानेकुरा नखाने, शरीरलाई हाइड्रेट राख्ने र शौचालयको सरसफाइमा ध्यान दिने ।
प्रतिक्रिया 4