शरीरमा थाइरोइड हर्मोन उत्पादन गर्न आयोडिन आवश्यक हुन्छ । तर थोरै मात्रामा । सामान्यतया एक व्यक्तिको लागि प्रतिदिन १५० माइक्रोग्राम आयोडिन पर्याप्त हुन्छ । मेटाबोलिजम र थाइरोइड ग्रन्थीको स्वस्थ कार्यका लागि आयोडिनको सही मात्रा आवश्यक हुन्छ ।
समुन्द्रबाट प्राप्त हुने प्राकृतिक खाद्य पदार्थ सेलफिस, फिस, कर्डफिस आदि तथा समुन्द्रमा पाइने वनस्पति तथा तरकारीजन्य हरियो खाद्य पदार्थमा सबैभन्दा बढी आयोडिन पाइन्छ । तर नेपालमा समुन्द्र नभएकाले आयोडिन प्राप्त गर्न नुनको सेवन गर्नुपर्ने हुन्छ ।
२०७९ सालमा नेपाली वैज्ञानिकहरूले गरेको अध्ययनमा नेपालीले खाइरहेको नुनमा विश्व स्वास्थ सङ्गठनले सिफारिस गरेको मात्राभन्दा बढी आयोडिन पाइएको थियो । काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सका निर्देशक वरिष्ठ वैज्ञानिक डा. वसन्त गिरीको टोलीले अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानको बारेमा गरिएको लेख अमेरिकाको द न्युयोर्क एकेडेमी अफ साइन्सको जर्नल एनल्समा प्रकाशित छ ।
डा. गिरीका अनुसार नेपालका सात जिल्लाका भान्साबाट दुई हजार ११७ नुनका नमुना संकलन गरेर आयोडिनको मात्रा विश्लेषण गरिएको थियो । उक्त अनुसन्धान अनुसार ९८ प्रतिशत घरमा आयोडिनयुक्त नुन प्रयोग गरिएको पाइएको थियो । ती नमुनामध्ये करिब एक प्रतिशतमा आवश्यक मात्राभन्दा कम आयोडिन, १३ प्रतिशतमा नमुनामा पर्याप्त आयोडिन र करिब ८४ प्रतिशत नुनका नमुनामा अत्यधिक आयोडिन पाइएको डा. गिरी बताउँछन् ।
डा. गिरी भन्छन्, ‘विश्व स्वास्थ्य सङ्गठनले भान्सामा हुने नुनमा करिब १५ पीपीएम आयोडिन पर्याप्त हुने जनाएको छ । अत्यधिक आयोडिन सेवन गर्नाले मानव स्वास्थ्यलाई हानि गर्ने विभिन्न अध्ययनले देखाएको छ ।’
अध्ययनले नेपालीहरूले आवश्यकताभन्दा धेरै गुणा आयोडिन सेवन गरिरहेको भेटिएकाले सम्बन्धित निकायले यसलाई गम्भीरतापूर्वक लिन जरुरी छ । अब नुनमा मिसाउने आयोडिनको मात्रालाई पुनरावलोकन गर्नुपर्ने डा. गिरी बताउँछन् ।
आयोडिनको मात्रा बढी हुँदा विभिन्न स्वास्थ्य समस्या
शरीरमा आयोडिनको मात्रा आवश्यक भन्दा कम वा बढी भएमा स्वास्थ्यमा असर पुर्याउने चिकित्सकहरूको भनाइ छ ।
आयोडिनको मात्रा बढी हुँदा शरीरमा थाइरोइडको स्तर बढाउने ‘हाइपो थाइरोइडिजम’ जस्ता समस्या देखा पर्ने कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट डा. सुकान्ती शाह बताउँछिन् ।
शरीरमा आयोडिनको मात्रा बढी भएर थाइराइडको स्तर बढेसँगै उच्च रक्तचापको समस्या निम्तिने जोखिम समेत बढ्ने मुटुरोग विशेषज्ञ डा. रवि शाही बताउँछन् ।
एक अध्ययनअनुसार शरीरमा आयोडिनको मात्रा बढी हुँदा महिलामा महिनावारीका बेला समस्या हुनसक्छ । अनुसन्धानको नतिजाअनुसार शरीरमा आयोडिनको मात्रा बढी भएमा महिनावारीमा अनियमितता हुन सक्छ ।
आयोडिनको मात्रा कम गर्न नुनको खपतमा ध्यान दिन जरुरी
परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाकी जनस्वास्थ्य अधिकृत कल्पना पण्डित भन्छिन्, ‘नेपालीहरूले दैनिक ९ ग्राम नुन सेवन गरिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक वयस्क व्यक्तिलाई दैनिक ५ ग्राम भन्दा कम नुन भए पुग्छ । अहिले हामी झन्डै आवश्यकता भन्दा डबल नुनको प्रयोग गरिरहेका छौं । नुनको बढी प्रयोगले उच्च रक्तचाप जस्ता नसर्ने रोगको जोखिम बढाउँछ ।’
एक वयस्क व्यक्तिले दैनिक रूपमा करिब १५० माइक्रो ग्राम आयोडिन खानु उपयुक्त हुन्छ । नेपालमा खानुपर्ने भन्दा झण्डै दोब्बर नुन प्रतिव्यक्ति खपत भइरहेको छ, यस्तोमा आयोडिन पनि बढी खपत हुने नै भयो । आयोडिनको मात्रा कम गर्न नुनको खपत कम गर्नुपर्ने पण्डित सुझाउँछिन् ।
‘नुन पाँच ग्राम नै खाने तर आयोडिनयुक्त नुन नै खाने गरियो भने आयोडिनको मात्रा कम वा बढी हुँदा निम्तिन सक्ने स्वास्थ्य समस्याको जोखिम कम हुन्छ,’ उनी भन्छिन् ।
आयोडिन सजिलैसँग उडेर जाने भएकाले प्याकिङ गर्दा, ढुवानी गर्दा, स्टोर गरेर खुद्रा व्यापारीसम्म पुर्याउँदा ३० पीपीएम हुने र घरको भान्सासम्म पुग्दा र पकाउँदा १५ पीपीएमसम्म पुग्ने अनुमान गरेर सरकारले त्यहीअनुसार मापदण्ड बनाएको हो । तर पछिल्लो समय नुनको खपत नै धेरै हुने र नुनमा आयोडिनको मात्रा पनि केही बढी पाइएकाले मापदण्ड पुनरावलोकन र यसको कडिकडाउमा जोड दिनुपर्ने पण्डित बताउँछिन् ।
नुनमा आयोडिनको मात्रा न्यूनतम यति हुनुपर्छ भनेर सरकारले एउटा मापदण्ड तोकेको छ । मापदण्ड नियमन गर्ने काम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हो । तर पछिल्लो केही अध्ययनले नुनमा आयोडिनको मात्रा बढी भएको देखाएसँगै नुनमा आयोडिनको अधिकतम मात्रा पनि कति हुनुपर्छ भनेर तोक्ने भनेर छलफल भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण श्रेष्ठ बताउँछन् ।
२०७७ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न रिपोर्टका आधारमा नुनमा आयोडिन मिसाउने विषयमा पुनरावलोकन गर्नुपर्ने बताएको थियो । तर आयोडिनको मात्रा कम र बढीमा कति हुनुपर्छ भन्ने कुरा अहिलेसम्म छलफल मात्र भइरहेको तर कार्यान्वयन हुन भने बाँकी रहेको श्रेष्ठ बताउँछन् ।
प्रतिक्रिया 4