३ भदौ, काठमाडौं । ललितपुरमा ३१ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार देशभर ५५ जनामा संक्रमण पुष्टि हुँदा सबैभन्दा बढी ललितपुरमा फेला परेको हो ।
यस्तै कैलालीमा ८, प्युठान र काठमाडौंमा ४ जनामा संक्रमण पुष्टि भएको छ । इडीसीडीका अधिकारीका अनुसार हैजा भित्रभित्रै फैलिरहेको छ । पछिल्ला दिनमा बढ्दै गएका हैजा संक्रमित विभिन्न ठाउँमा देखिनुले भित्रभित्रै संक्रमण फैलिरहेको पुष्टि हुन्छ ।
संक्रमितले प्रयोग गरेका धारा र इनारको पानी, ट्यांकरको पानी लगायतमा हैजाका जीवाणु देखिरहेका छन् । पानी नै हैजा सार्ने प्रमुख माध्यम बनेको छ ।
हैजा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन सामान्यतया झाडापखालाजस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुने बताउँछन् ।
हैजा फैलन नदिन खोपको तयारीसँगै जनचेतनाको पाटो बढाउनुपर्ने विज्ञहरूको सुझाव छ । वर्षायाममा धेरै पानी पर्छ । पानीले थुप्रिएको फोहोर कुहिन्छ र फोहोरबाट निस्कने रस वर्षाको पानीले बगाएर लग्छ । दिसाका जिवाणु इनार वा पानीको मुहानमा मिसिँदा हैजा संक्रमण गराउँछ ।
उक्त जीवाणुको संक्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन् । जनस्वास्थ्यविज्ञका अनुसार हैजाको पहिलो स्रोत फोहोर वा तलाउ हुन् । ‘फोहोर पानी वा तलाउमा हैजाको जीवाणु रहिरन्छ । वर्षाको समयमा धेरै पानी पर्दा खानेपानीमा पुग्छ । खानेपानीको माध्यमबाट मानिसमा हैजा फैलिरहेको छ,’ डा. पुन भन्छन् ।
झाडापखालाको कारणमध्ये हैजाको संक्रमण सबैभन्दा गम्भीर हो । हैजाले छोटो समयमा नै जटिलता ल्याउन सक्छ । सरुवा रोग विशेषज्ञ डा. पुनका अनुसार १० संक्रमितमध्ये एक जनामा हैजाले जटिल अवस्था निम्त्याउँछ ।
२०६६ सालमा जाजरकोटमा फैलिएको हैजाबाट ३५० जनाको ज्यान गएको थियो । ६० हजारभन्दा बढीलाई उपचार गराउनु परेको थियो । त्यससमयमा सुर्खेत, दैलेख, रुकुम, रोल्पा लगायतका सात जिल्लामा हैजा देखा परेको थियो ।
सन् २००९ मा जाजरकोट लगायतका सीमावती जिल्लामा फैलिएको हैजाले महामारी निम्ताएको थिया जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन् । उनका अनुसार त्यसबेला आठ जिल्लाका सयभन्दा बढी गाविसमा एकैपटक हैजा फैलिएको थियो ।
काठमाडौं उपत्यकामा भने सन् २०१५ र २०१६ यता हैजाका बिरामी फाटफुट देखिएका छन् । तर काठमाडौं उपत्यका जहिले पनि जोखिममा रहने जनस्वास्थ्यविद् बताउँछन् ।
काठमाडौंमा उपत्यकामा पिउने पानीलाई सुरक्षित बनाउने संयन्त्र राम्रोसँग विकास हुन नहुँदा पनि हैजा फैलिने गरेको डा. मरासिनी बताउँछन् । ‘काठमाडौंमा ढल र खानेपानी पाइप एकैठाउँमा छ,’ डा. मरासिनीले भने, ‘उपत्यकामा पिउने पानीलाई सुरक्षित बनाउन नसकिएको कारण हैजा फैलिने ठूलो जोखिम छ ।’
हैजाबाट बच्न विशेषगरी पिउने पानी तथा बजारमा राखिएका खानेकुरामा ध्यान पुर्याउनुपर्ने डा. पुन बताउँछन् । ‘ठाउँ–ठाँउमा हैजाका बिरामी देखिएको हुँदा धारा वा जारको पानी जुन भएपनि राम्ररी उमालेर पिउनुपर्छ,’ डा. पुन भन्छन्, ‘सिधै पानी पिउनु हुँदैन । ७० डिग्रीसम्म पानी ततायो भने पनि जीवाणु मर्छ ।’
झिँगामार्फत पनि हैजाको संक्रमण सार्न सक्ने भएकाले खानेकुरालाई राम्ररी छोपेर राख्न उनी सुझाव दिन्छन् । केही मानिसमा हैजाको लक्षण नदेखिए पनि संक्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ । ती व्यक्तिले सरसफाइमा ध्यान नदिए अन्य व्यक्तिमा सजिलै सर्छ ।
जनस्वास्थ्यविद्का अनुसार हैजा नियन्त्रणमा सबैभन्दा महत्वपूर्ण कुरा निगरानी नै हो । केस छिटोभन्दा छिटो पत्ता लगाएर उपचार गर्नुपर्छ । हैजा नियन्त्रणमा समुदायलाई परिचालन गर्नुपर्छ । स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउनुपर्छ ।
हैजा लागेमा तारन्तार सेतो पानी र चामलका दाना आकारका म्युकस दिसाको माध्यमबाट जान्छ । अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका माशंपेशी बाँउडिने, वान्ता हुने, थकाइ महसुस हुने आदि लक्षण देखिन्छन् ।
गम्भीर असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुनसक्ने विज्ञ बताउँछन् । यस्तै आँखा गाडिनु, मुख, जिब्रो, घाँटी र छाला सुख्खा भए कडा जलविजोजनको लक्षण हुन्छ । यस्तै पिसाब पहेँलो हुनु, पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनु पनि कडा जलवियोजनको संकेत हो ।
हैजाबाट बच्न शौचालयमा मात्रै दिशा पिसाब गर्ने, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्ने, दिसा र पिसाबपछि राम्रोसँग मिचिमिची साबुन पानीले हात धुने, खाना बनाउनु अघि साबुन पानीले हात धुने, पानी सधैं उमालेर खाने, काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खानुपर्ने चिकित्सकको सुझाव छ ।
प्रतिक्रिया 4