+
+
Shares
रिपोर्ट :

नेपाली दम्पती कुन महिनामा बढी सन्तान जन्माउँछन् ?

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८१ भदौ १२ गते ८:३८

१२ भदौ, काठमाडौं । नेपालमा सर्वाधिक प्रसूति गराउने स्वास्थ्य संस्था हो, थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल । तथ्यांकले देखाउँछ, यहाँ वार्षिक २५ हजार हाराहारी प्रसूति गराइन्छ ।

यही तथ्यांकलाई आधार मानेर हामीले ५ वर्ष यताको जन्मदर र जन्म महिनाको अनुपात हेर्‍यौं । यसबाट के देखियो भने नेपाली दम्पतीले साउन, भदौ र असोज महिनामा बढी सन्तान जन्माएका छन् ।

प्रसूति गृहको तथ्यांकले यी तीन महिनामा २२०० देखि २३०० को हाराहारीमा सन्तान जन्मिएको देखाउँछ । तर फागुन, चैत, वैशाख लगायत महिनामा सो संख्या घटेर १५०० देखि १६०० मा आइपुग्छ ।

हामीले आव २०७६-७७ देखि २०८०-८१ सम्म पाँच बर्षको तथ्यांक केलाएका थियौं । पाँच बर्षको अवधिमा जन्म संख्या र महिनाको अनुपात लगभग मिल्दो देखियो । जस्तो आव २०७६-७७ को साउन महिनामा २२ सय ७३ जनाको प्रसूति गराइएको छ भने आव २०८०-८१ को सोही महिना २१ सय ४१ जनाको प्रसूति गराइएको छ ।

जबकि आव २०७६-७७ को चैत महिनामा त्यो संख्या घटेर १६ सय ५९ मा पुगेको छ । यस्तै २०८०-८१ को चैतमा पनि १५ सय १७ जनाको प्रसूति गराइएको देखिन्छ । अरु आर्थिक बर्षहरुको अनुपात करिब यस्तै छ ।

निश्चित महिनामा बढी सन्तान जन्मनु संयोग मात्र हो वा मनोसामाजिक कारण पनि ? यो प्रश्नको जवाफ खोज्न गर्भाधानको महिनातर्फ फर्कनुपर्ने हुन्छ । र, त्यसका लागि गर्भाधान चक्र बुझ्नुपर्ने हुन्छ । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीका अनुसार महिलाको गर्भाशयमा महिनामा एकपटक डिम्ब उत्पादन हुन्छ ।

महिनावारी भएको दिनबाट गन्ती सुरु गर्दा १४ दिनमा डिम्ब उत्पादन हुन्छ । यसरी उत्पादन भएको डिम्ब ४८ घण्टासम्म बाँच्छ । त्यस्तै, पुरुषको शुक्रकीट भने ७२ घण्टासम्म जीवित रहन्छ । यस अवधिमा पुरुषको शुक्रकीट महिलाको डिम्बमा निषेचन भएपछि गर्भ रहन्छ । यसरी गर्भ रहेको ९ महिनापछि बच्चा जन्मन्छ ।

अब सर्वाधिक बच्चा जन्मने महिनालाई आधार मानेर हेर्दा कात्तिक, मंसिर र पुस महिनामा दम्पतीले गर्भाधान गरेको पाइन्छ । यिनै महिनामा नै किन बढी गर्भाधान भएका होलान् त ? यसको पछाडि संयोग भन्दा बढी मनोविज्ञान र सामाजिक कारण रहेको विज्ञहरूको तर्क छ ।

विवाहलगत्तै गर्भाधान

मंसीर महिनामा कतिपय विवाह बन्धनमा बाँधिन्छन् । त्यसमध्ये कतिले विवाहलगत्तै सन्तानको योजना बनाउँछन् । डा. सुवेदीका अनुसार कात्तिक महिनाको मध्यतिर महिनावारी भएका महिलाको मंसिर महिनाको सुरुवातमा विवाह हुँदा यौनसम्पर्कपछि बच्चा बस्ने सम्भावना अत्यधिक हुन्छ ।

यस्तै कतिपयले सन्तानको योजना बनाएका हुँदैनन्, तर अप्रत्यासित गर्भ रहन पुग्छ । ढिलो उमेरमा विवाह गरेका दम्पतीले अनिच्छित भए पनि गर्भ फाल्न चाहँदैनन् । यसरी योजनाबद्ध वा संयोगवश गर्भाधान भएका दम्पतीहरूले साउन, भदौ महिनामा बच्चा जन्माउने गरेका छन् ।

चाडपर्व र फुर्सद

असोज, कात्तिक महिनामा नेपालीहरूले मुख्य चाडपर्व मनाउँछन् । चाडपर्वमा पारिवारिक जमघट हुने नै भयो । वैदेशिक रोजगारमा गएका कति युवा घर फर्कन्छन् ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी वैदेशिक रोजगारमा गएका युवायुवती लामो समयपछि भेटघाट हुँदा यौन रुचि बढ्छ र शारीरिक सम्बन्ध हुन्छ ।

‘थोरै समयको छुट्टी लिएका कारण पनि सकेसम्म त्यसै समयमा गर्भाधारण होस् भन्ने दम्पतीको चाहना हुन्छ’ डा. अधिकारीले थपे, ‘दशैं तिहार, (असोज, कात्तिक) मा गर्भाधारण हुँदा साउन, भदौतिर बढी बच्चा जन्मिने आकलन गर्न सकिन्छ ।’

धार्मिक आस्था

कतिपय धार्मिक आस्थाको कारण दम्पतीले साउन र भदौ महिनामा बच्चा जन्माउने योजना बनाउँछन् । ज्योतिष शास्त्रअनुसार साउन, भदौ, असोजमा जन्मिएका बच्चा शक्तिशाली, तेजिलो र बुद्धिमानी हुन्छन् भन्ने मान्यताले पनि यिनै महिनामा लक्षित गरेर गर्भधारण गर्ने गरेका चिकित्सकको तर्क छ ।

वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. सुनिलमणि पोखरेल भन्छन्, ‘धार्मिक आस्थाले गर्दा पनि कति महिलाहरू भदौ–असोजमा बच्चा जन्माउन चाहेको सुनाउने गर्छन् ।’

यस्तै वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल पनि धार्मिक मूल्य–मान्यताले प्रभाव पारेको स्वीकार गर्छन् । ‘कतिपय दम्पती चाडपर्वलाई लक्षित पारेर गर्भधारण गर्ने गरेका छन्’ डा. रिजाल भन्छन्, ‘साउन, भदौमा बढी बच्चा जन्मिनुमा मंसिरमा विवाह, दशैं तिहारमा वैदेशिक रोजगारमा गएका मानिस घर फर्किनु पनि मुख्य कारकतत्व हो ।’ डा. रिजालको अनुभवमा साउन, भदौतिर अन्य समयको भन्दा शल्यक्रिया हुने दर पनि बढ्दो छ ।

जाडोयाम

भुक्तभोगीका अनुसार गर्मीको तुलनामा जाडोयाममा दम्पतीबीच बढी सहवास हुन्छ । एक त जाडो महिनामा रात लामो हुन्छ भने अर्को चाहिं जाडोको कारण दम्पतीहरू एकआपसमा बढी निकट हुन पुग्छन् । शारीरिक सम्बन्धका लागि यो एक अनुकूल याम मानिन्छ ।

डा. पोखरेल पुस, माघको समयमा बढी गर्भाधारण हुने बताउँछन् । ‘शरीरलाई न्यायो बनाउनका लागि पनि दम्पती टाँसिएर सुत्ने गर्छन् । विपरित लिंगी सँगै सुतेपछि यौन चाहना पनि बढ्ने नै भयो’ डा. पोखरेल भन्छन्, ‘जाडो मौसममा चाहेर वा नचाहेर गर्भ समेत रहने गर्छ ।’

वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. गणेश दंगाल पनि जाडो महिनामा मानिस धेरै समय घरमै बस्ने र घर बाहिरको काम धेरै नगर्ने हुँदा बढी सहवास हुने र त्यसले गर्भधारण हुने सम्भावना बढी हुने बताउँछन् ।

उल्लिखित तर्कहरू एक आकलन मात्र हो । गर्भाधारणका लागि कुन समय उपयुक्त हुने भन्ने कुनै वैज्ञानिक कारण छैन । गर्मीयाममा शरीर आलस्य हुने र यौनमा सक्रिय हुन अल्छी मान्ने गरेको बताइन्छ । यस्तै वर्षायाममा खेतीपाती र अन्य कामधन्दाले गर्दा बढी व्यस्त र थकित हुने गर्छन् । गर्मी वा वर्षायामको तुलनामा जाडोयाम फुर्सदिलो मानिन्छ ।

बालरोग विशेषज्ञ डा. कल्पना सुवेदीका अनुसार अस्पतालमा शिशु भर्ना हुने समय पनि साउन, भदौमा अत्यधिक हुन्छ । ‘डेलिभरी धेरै हुनेभएकाले पनि होला, त्यस समयमा धेरै शिशुमा समस्या आइरहेको हुन्छ’ डा. सुवेदीले भनिन्, ‘त्यसबेलामा आमालाई संक्रमण तथा समय नपुगी जन्मिएका बच्चाहरू हुने गर्छन् ।’

डा. सुवेदीका अनुसार गर्मी मौसममा ब्याक्टेरिया उत्पन्न हुने गर्छन् । जसका कारण आमालाई संक्रमण भई डेलिभरी समय नै नपुगेको अवस्थामा शिशु जमिन्छन् । समय नपुगी जन्मिएका शिशुलाई छिट्टै संक्रमण भएर भर्ना बढी हुने डा. सुवेदी बताउँछिन् । यस्तै स्त्री रोग विशेषज्ञ डा. दंगाल पछिल्लो समय ढिलो विवाहलाई एक कारकका रूपमा औंल्याउँछन् ।

‘ढिलो विवाह गरेका दम्पती छिट्टै बच्चा जन्माउने योजनामा हुन्छन् । असोज वा मंसिरमा विवाह गरिने र जाडो महिनामा बढी यौनसम्पर्क हुने जस्ता कारकतत्वले गर्दा पनि साउन, भदौ, असोजमा बढी सन्तान जन्मिएको अनुमान लगाउन सकिन्छ’, डा. दंगालले थपे ।

महिलाको डिम्ब निस्कने समय हर्मोन परिवर्तनले महिलालाई यौनको इच्छा बढाउने गर्छ । महिनाभरिको अन्य समयभन्दा महिनावारी हुनुभन्दा केही दिन अगाडि रिसाउने, स–साना कुरामा पनि झगडा गर्ने हुन्छन् । जुन हर्मोनको कारणले हुने हुन्छ ।

तर डिम्ब निस्किएपछि वा निस्कने समयमा जुन खालको हर्मोन आउँछ, त्यसले महिलालाई उमंगित बनाउँछ । यसको सोझो असर उनीहरूको यौन रुचिमा पनि पर्न जान्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?