के कम्मरको दुखाइ कम्मरमा मात्र सीमित नरहेर पुट्ठा, तिघ्रा हुँदै खुट्टासम्म पुग्छ ? कहिले पोलेको त कहिले सियोले घोचेको जस्तो अनुभव हुन्छ ?
यदि यस्तै दुखाइ छ भने सायटिकाको समस्या पनि हुनसक्छ ।
पहिले ५० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिमा यो रोग देखिन्थ्यो भने हाल युवाहरुमा पनि सो समस्या देखिन थालेको छ । पछिल्लो तथ्यांकअनुसार १० जनामा एक जनालाई यो समस्या देखिन्छ ।
सायटिका कस्तो समस्या ?
खासमा सायटिका एक प्रकारको स्नायु हो, जो मेरुदण्डको हड्डीदेखि लिएर कम्मर हुँदै खुट्टा र पैतालासम्म पुग्ने सबैभन्दा लामो र मोटो स्नायु हो । यसले दुई किसिमले शरीरमा काम गर्छ ।
एउटा भनेको मोटर फंक्सनको काम गर्छ । मोटर फंक्सनले खुट्टा, कम्मर र तिघ्राको भाग चलायमान राख्ने, आरामदायी अवस्थामा राख्ने काम गर्छ ।
अर्को, भनेको सेन्सरी फंक्सन, जसले स्पर्श, दुखाइ, कम्पन जस्तो अनुभव गराउँछ । र, यो स्नायुमा कुनै कारणले दबाब वा चोटपटक लागेमा दुखाइ हुनसक्छ । जसलाई सायटिका भन्छौं ।
सायटिकाको समस्या किन हुन्छ ?
तल्लोपट्टिको ढाडदेखिबाट यो स्नायु खुट्टासम्म पुगेको सो नसाको बाटोमा थोरै दबाब, नसा प्रवाह हुने भाग साँघुरिएको, त्यसमा जोडिएको हड्डी खिइएको, कुनै कुराले छोएर मात्र पनि अवरोध गरिरहेको छ भने यसले सेन्सरी कार्यमा अवरोध गर्छ । जसकारण दुखाइको अनुभव हुन्छ ।
त्यस्तै, मेरुदण्डका हड्डीबीचको ग्याप कम भएर नसालाई थिचियो भने मोटर फंक्सनमा पनि अवरोध हुन्छ । जसकारण खुट्टा चलाउन नसक्ने हुनसक्छ ।
यो बाहेक मोटोपन, बढ्दो उमेर, शारीरिक निष्क्रिय, गर्भावस्था, क्याल्सियम, भिटामिन डीको अभाव पनि यसको जोखिम कारकमा पर्छन् ।
कस्तो हुन्छ दुखाइ ?
सुरुमा सायटिकाको दुखाइ सामान्य हुने र समयक्रमसँगै दुखाइ बढेर कष्टदायी समेत हुनसक्छ । यसको दुखाइ तल्लो ढाडबाट सुरु भएर नितम्बको एकपट्टि बायाँ वा दायाँ भागदेखि खुट्टा र पैतालासम्म पुग्न सक्छ । कहिलेकाहीं तिघ्राको पछाडिको भागमा त कहिलेकाहीं यसको दुखाइ खुट्टा पूरा भागमा पुग्न सक्छ । यो दुखाइ कहिलेकाहीं यति कष्टकर हुन्छ कि बस्न, उठ्न र उभिन समेत कठिन हुनसक्छ ।
सायटिकाको लक्षण
दुखाइ : यो समस्या भएमा दवाबका कारण हुन्छ । दुखाइ बढेर प्रभावित भागसम्म फैलिन्छ । कतिले त बिजुलीले झट्का हानेको दुखाइ वा पोलेको अनुभव हुने समेत बताउँछन् । कतिपयमा भने खोक्दा, हाच्छ्यूँ गर्दा, झुक्दा वा उत्तानो सुत्दा पनि दुखाइ हुनसक्छ ।
सुईले घोचे जस्तो हुनु : यो अनुभव उपरखुट्टी लगाएर बसेको समयमा हुनसक्छ ।
खुट्टा लाटो हुनु : कहिलेकाहीं खुट्टा लाटो वा प्रभावित भागमा छोएको अनुभव नै नहुन सक्छ । किनकि तल्लो ढाड र खुट्टाबाट मतिष्कमा पुग्ने संकेतमा अवरोध आउँछ ।
मांसपेशी कमजोर हुनु : यो सबैभन्दा गम्भीर लक्षण हो । लामो समयसम्म यसको दुखाइ भइरहेमा मांसपेशीलाई चलाउने संकेत मस्तिष्कसम्म पुग्न कठिन हुन्छ र बिस्तारै मांसपेशी कमजोर हुँदै जान्छ ।
चिकित्सकलाई कहिले देखाउने ?
मध्यम खालको सायटिका सामान्यतया आफैं पनि निको हुनसक्छ । यद्यपि, यदि दुखाइ गम्भीर भई एक हप्ता भन्दा बढी रहन्छ भने चिकित्सकलाई देखाउनुपर्छ ।
कसरी पहिचान हुन्छ ? के छ उपचार ?
– यो समस्याको पहिचान सिटीस्क्यान, एक्स-रे र एमआरआई परीक्षणबाट हुनसक्छ ।
सायटिकाको उपचार के कारणले समस्या भएको हो त्यसैअनुसार गरिन्छ । यदि गर्भावस्था र मोटोपनको कारणले हो र लक्षण त्यति गम्भीर नभएको खण्डमा फिजियोथेरापी, मध्यम खालको कसरत, दुखाइ भएको भागमा आइस वा हट ब्यागले दैनिक २० मिनेट जति पटक-पटक सेक्दा ठीक हुनसक्छ ।
भिटामिन र क्याल्सियमको कमीले हो भने सप्लिमेन्ट र नदुख्ने औषधिबाट निको पार्न सकिन्छ । तर यो औषधि खानुअघि चिकित्सकको परामर्श र सिफारिस अनिवार्य हुनुपर्छ ।
त्यस्तै, हड्डी खिइएको कारणले हो भने लामो समयसम्म फिजियोथेरापी र चिकित्सकको निर्देशनमा नदुख्ने औषधि खाएर निको हुनसक्छ ।
नसा च्यापिएमा भने त्यसको गम्भीरता हेरेर कतिपय अवस्थामा शल्यक्रिया आवश्यकता पर्न सक्छ । शल्यक्रियाबाट नसालाई दबाब दिइरहेको सानो भागलाई हटाइन्छ ।
के यसको रोकथाम सम्भव छ ?
– धुम्रपान तथा सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने ।
– तौललाई सन्तुलनमा राख्ने ।
– दैनिक व्यायाम गर्ने ।
– पौष्टिक आहार उमेर अनुसार खाने ।
– चोटपटक लाग्नबाट सकेसम्म बच्ने ।
– लामो समयसम्म कडा खालका दुखाइ निवारक औषधि नखाने ।
प्रतिक्रिया 4