+

बाढीपहिरोपछि फैलिन सक्छ पानीजन्य रोग

२०८१ असोज  १७ गते ११:३९ २०८१ असोज १७ गते ११:३९
बाढीपहिरोपछि फैलिन सक्छ पानीजन्य रोग

प्राकृतिक विपद्का बेला महामारीजन्य रोग निम्तिन सक्छ । त्यसमा पनि संक्रामक रोगको जोखिम बढ्छ । बाढी र पहिरोले संक्रमण बनाउन सक्ने फोहोर बगाएर ल्याउने र ठाउँठाउँमा पानी जम्ने हुनाले डेंगु, मलेरिया जस्ता रोगको जोखिम बढ्न सक्छ ।

त्यसैले बाढीपहिरोपछि बढ्ने रोगको जोखिमबारेमा सचेत भएर सावधानी अपनाएर आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न सकिन्छ ।

दूषित पानी

दूषित पानीले हैजा, झाडापखाला, टाइफाइड जस्ता रोग फैलाउन सक्छन् ।

अपनाउनुपर्ने सावधानी

– पिउने पानी उमाल्नुहोस् वा पानी शुद्धीकरणका लागि क्लोरिन ट्याब्लेट वा फिल्टरको प्रयोग गर्ने ।

– असुरक्षित, अज्ञात वा बाढी प्रभावित पानीको स्रोतबाट पानी नपिउने ।

– पिउने पानीको कन्टेनरलाई सफा राख्ने, सकेसम्म ढकनीले ढाकेर राख्ने ।

– व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, खाना खानुअघि वा शौचालय प्रयोग गरेपछि साबुन पानीले राम्ररी हात धुने ।

फोहोरको ओभरफ्लो

बाढीपछि फैलिएको फोहोर र ओभरफ्लोले विभिन्न संक्रामक रोग फैलाउन सक्छ, साथै कीरा, माकुरा र फट्याङ्ग्रा लगायत कीटहरुको पनि वृद्धि हुन्छ ।

सावधानी 

– फोहोरलाई राम्रोसँग बन्द प्लास्टिकको थैलो वा कन्टेनरमा राखेर नजिकको सुरक्षित स्थानमा फ्याँक्ने ।

– फोहोर व्यवस्थापन गर्दा सधैं पन्जा लगाउने र व्यवस्थापनपछि साबुनले हात राम्ररी धुने ।

– आफ्नो वरिपरिका सार्वजनिक स्थानहरू सफा राख्ने र सामुदायिक सरसफाइ अभियानमा सहभागी हुने ।

ढलको समस्या

जमेको पानी लामखुट्टेको प्रजनन् स्थल बन्न सक्छ, जसले मलेरिया, डेंगु, चिकनगुनिया र जापानीज इन्सेफ्लाइटिस जस्ता रोग फैलाउँछ ।

सावधानी

– घर वरिपरि, छत र बगैंचामा जमेको पानीलाई हटाउने, पानी जमे नजमेको नियमित जाँच गर्ने ।

– लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएका कपडा लगाउने, घर बाहिर निस्कँदा लामखुट्टे भगाउने मल्हम (रिपेलेन्ट्स) प्रयोग गर्ने ।

– आफ्नो घरका झ्यालढोकामा जालीको प्रयोग गर्ने, साथै सुत्ने बेला झुलको प्रयोग गर्ने ।

– गम्भीर समस्या भएमा स्वास्थ्य सेवा प्रदायकलाई जानकारी गराउने ।

खाद्य सुरक्षा 

बाढीले खाद्य पदार्थ दूषित हुनसक्छ, जसले झाडापखाला, फुड पोइजनिङ र पेटसम्बन्धी अन्य संक्रमण निम्त्याउन सक्छ ।

सावधानी  

– बिजुली नहुँदा फ्रिजको खाना चार घण्टाभन्दा बढी राख्नु हुँदैन । फ्रिजको खाना निकालेर खानु भन्दा पहिले गन्हाएको छ कि छैन चेक गर्ने ।

– दूषित वा खराब भएको खाना नखाने ।

– डिब्बा बन्द खाना, ड्राई फुड्स वा खराब नहुने खानेकुरालाई प्राथमिकता दिने ।

– कुनै पनि खाद्यवस्तु पकाउनुअघि राम्रोसँग धोएर पकाउने ।

मरेका जनावर

मरेका जनावरहरू बाढीपछिको समयमा ब्याक्टेरिया र भाइरस फैलाउन जिम्मेवार हुन सक्छन् । जसले मानिसमा गम्भीर रोग निम्त्याउन सक्छ ।

सावधानी  

– मरेका जनावरहरूलाई सिधै नछुने ।

–  व्यवस्थापनका लागि स्थानीय निकाय वा पशु सेवा विभागलाई सम्पर्क गर्ने ।

– मरेका जनावरसँग सम्पर्क भएमा, सुरक्षात्मक उपकरण (पन्जा, मास्क) प्रयोग गर्ने र साबुनले राम्ररी हात धुने ।

वायु प्रदूषण

बाढीपछिको समयमा निर्माणका काम वा सरसफाइका कारण वायु प्रदूषण हुनसक्छ, जसले श्वासप्रश्वासको समस्या, एलर्जी र दमको खतरा बढाउँछ ।

सावधानी 

– बाहिर जानु पर्दा मास्क लगाउने

– घरभित्रका ढोका र झ्याल बन्द गरेर धुलो छिर्न नदिने

– नियमित रूपमा सरसफाइ गर्दै घरभित्रको धुलो हटाउने

– अत्यधिक धुलो भएको क्षेत्रमा लामो समयसम्म बस्नबाट जोगिने

मानसिक स्वास्थ्य

बाढीपहिरोपछिको समय शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यका लागि पनि चुनौतीपूर्ण हुनसक्छ । यसबाट मानिसमा तनाव, चिन्ता र निराशा आउन सक्छ ।

सावधानी  

– आफ्नो अनुभव र भावना परिवार वा साथीहरूसँग बाँड्ने

– मानसिक स्वास्थ्य सेवा प्रदायकसँग परामर्श लिने

– ध्यान, योग वा शारीरिक व्यायाम गर्ने

विषालु जीवजन्तुबाट सुरक्षा

बाढीपछि विषालु सर्प वा अन्य जीवजन्तु पनि सुरक्षित स्थान खोज्दै घरमा पस्न सक्छन् । ती जनावरले पनि हानि पुर्‍याउन सक्छन्, त्यसैले सचेत हुनुपर्छ ।

सावधानी 

– बाढी प्रभावित क्षेत्रहरूको अनुगमन गर्ने र सतर्क रहने

– सर्प वा विषालु जीवजन्तु देखिएमा नजिक नजाने, तुरुन्तै स्थानीय निकाय वा पशु सेवा विभागलाई सम्पर्क गर्ने

– सुत्दा खुट्टा र शरीर पूर्ण रूपमा ढाक्ने कपडा लगाउने

सुरक्षित रहने अतिरिक्त उपाय 

– बाढीपछि टिटानसको जोखिम हुनसक्छ । त्यसैले यदि कुनै चोट लागेको छ भने स्वास्थ्य संस्था गई टिटानसको खोप लगाउने

– आवश्यक औषधिको उपलब्धताका लागि फार्मेसीसँग सम्पर्क राख्ने र आपूर्तिको बन्दोबस्त गर्ने

– सरसफाइ गर्दा मात्र होइन, बचाउ कार्यमा संलग्न हुँदा पनि सुरक्षात्मक नियम पालना गर्ने ।

डा. बाबुराम पाण्डे पानीजन्य रोग बाढीपहिरो

धेरै कमेन्ट गरिएका

डा. बाबुराम पाण्डे
लेखक
डा. बाबुराम पाण्डे
बालरोग विशेषज्ञ

डा. पाण्डे हाल राप्ती एकेडेमी अफ हेल्थ साइन्सेसमा कार्यरत छन् । बालरोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२७७९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बाढीपहिरोपछि फैलिन सक्छ पानीजन्य रोग

बाढीपहिरोपछि फैलिन सक्छ पानीजन्य रोग

तनावले पनि निम्त्याउँछ मुटुमा जोखिम ?

तनावले पनि निम्त्याउँछ मुटुमा जोखिम ?

कस्तो अवस्थामा खतरनाक हुनसक्छ एन्टिबायोटिक ?

कस्तो अवस्थामा खतरनाक हुनसक्छ एन्टिबायोटिक ?

मुख स्वास्थ्य र आयुबीच कस्तो सम्बन्ध छ ?

मुख स्वास्थ्य र आयुबीच कस्तो सम्बन्ध छ ?

गर्भवतीले यात्रा गर्दा के जोखिम हुनसक्छ ?

गर्भवतीले यात्रा गर्दा के जोखिम हुनसक्छ ?

स्तनमा आउने ‘फाइब्रोसिस्टिक सिस्ट’ क्यान्सर हुँदैन

स्तनमा आउने ‘फाइब्रोसिस्टिक सिस्ट’ क्यान्सर हुँदैन