२३ मंसिर, काठमाडौं । क्रिकेट खेलमा हुनुपर्ने ड्रामा, इमोसन, माहोल सबै भएको खेल । थ्रीलिङ खेल, अन्तिम बलमा विकेट अनी १ रनको रोमाञ्चक जित ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार बिहान भएको जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीचको खेलमा हुनुपर्ने यी सबै खालको मसला थियो ।
हर्श थाकरले अन्तिम बलमा विकेट लिएपछि जनकपुर बोल्ट्सले एनपीएलकै सनसनीपूर्ण खेलमा लुम्बिनी लायन्समाथि आइतबार १ रनको रोमाञ्चक जित हात पार्यो ।
लुम्बिनीलाई जितका लागि अन्तिम ओभरमा ९ रन आवश्यक थियो । हातमा ४ विकेट बाँकी थियो ।
क्रिजमा सन्दिप जोरा र साद विन जफर थिए । जोराले अघिल्लो ओभरको अन्तिम दुई बलमा किशोर महतोलाई चौका र छक्का हानेर टिमलाई जिततर्फ अग्रसर गराएका थिए ।
तर उनै जोराले अन्तिम ओभरको अन्तिम बलमा आउट हुँदा लुम्बिनी पहिलो जितबाट बन्चित भयो । हर्शले अन्तिम ओभरमा ८ रन डिफेण्ड गर्दै जनकपुरको अपराजित यात्रा कायम राखे ।
लगातार चार खेलमा चार जित हात पारेको जनकपुर ८ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । यो जितले जनकपुरको प्लेअफ यात्रा समेत सहज बनेको छ ।
हर्शको सानदार बलिङ
हर्श थाकरले ५ विकेट लिएपछि १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा लुम्बिनीलाई जितका लागि २ रन आवश्यक थियो । ठूलो सट हान्ने क्रममा जोरा किशोर महतोबाट क्याच आउट भए ।
सुरुवाती दुई ओभरमा १३ रन खर्चेर १ विकेट लिएका हर्शले १८औं र २०औं ओभरमा २-२ विकेट लिएका थिए । उनले १८औं ओभरमा टम मुर्स र विवेक यादवलाई आउट गर्दै खेल रोमाञ्चक स्थितिमा पुर्याएका थिए । अन्तिम ओभरको पहिलो बलमा साद विन जफरलाई आउट गरेका हर्शले इनिङ्सको अन्तिम बलमा पनि विकेट लिए ।
लगातार चार जितपछि जनकपुरका मार्की खेलाडी तथा ओपनर आसिफ शेखले अन्तिम ५ ओभरमा बलिङ राम्रो गरेकोले जित सम्भव भएको बताए । ‘हामीलाई मर्निङ अवस्थामा डिफेन्ड हुन्छ जस्तो लागेको थियो । यो विकेटमा रन बन्न गाह्रो हुन्छ भन्ने थाहा थियो,’ आसिफले पोष्ट म्याच प्रेस कन्फ्रेन्समा भने, ‘अन्तिम ५ ओभरमा बलिङ राम्रो भयो । त्यसकारण जित्न सक्यौं ।’
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । टम मुर्सले ३१ र अर्जुन साउदले २० रन जोडे । सन्दिप जोराले ८ बलमा १६ रन बनाएपनि जित दिलाउन सकेनन् ।
प्लेइङ ११ मा फर्किएका आशुतोष घिरैयाले अर्जुन साउदसँग ओपनिङ गरेका थिए । तर टिमको स्कोर २२ रन हुँदा आशुतोषलाई ललित राजवंशीले बोल्ड गरे ।
दोस्रो विकेटक लागि रोहित पौडेल र अर्जुन साउदले ४२ रनको साझेदारी गरे । त्यसपछि रोहितले तेस्रो विकेटका लागि टम मुर्ससँग ४१ रनको साझेदारी गरे ।
जनकपुरको जितमा नाकय बनेका हर्श थाकरले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए । उनले ४ ओभरमा २३ रन खर्चिए ।
यो सँगै हर्श थाकर एनपीएलमा ५ विकेट लिने तेस्रो बलर बनेका छन् । यसअघि चितवन राइनोजका सोहल तनविर र सुदूरपश्चिम रोएल्सका नरेन साउदले एकै खेलमा ५ विकेट लिएका थिए ।
हर्शले इनिङ्सको अन्तिम बलमा विकेट लिँदै ५ विकेट पूरा गर्दै आफ्नो टिमलाई रोमाञ्चक जित दिलाए । ललित राजवंशी, शेर मल्ल र किशोर महतोले १-१ विकेट लिए ।
ललितले ४ ओभरमा १३ रन मात्र खर्चिए ।
पहिलो इनिङ्सका नायक अभिशेष
पहिलो इनिङ्समा जनकपुरले ब्याटिङमा राम्रो सुरुवात गरेपनि लुम्बिनी लायन्सका युवा स्पीनर अभिशेष गौतमले सनसनीपूर्ण बलिङ गर्दै ३ विकेट लिएर सबैको ध्यान खिचेका थिए ।
एनपीएलमा डेब्यु गरेका अभिशेष गौतमको ३ विकेट प्रेरित लुम्बिनीले प्रतियोगितामै आफ्नो उत्कृष्ट बलिङ प्रदर्शन गर्दै अपराजित टोली जनकपुरलाई दबाबमा राखेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित ८ विकेट गुमाएर १३६ रन बनाएको थियो ।
जनकपुरले राम्रो सुरुवात गरेपनि मिडल ओभरमा अभिशेषले उत्कृष्ट बलिङ गर्दा लगातार विकेट गुमाएको थियो । कुनै समय ९५/१ को स्थितीमा रहेको जनकपुरले त्यसपछि ४१ रन थप्दा ७ विकेट गुमाएको थियो ।
पहिलो विकेटका लागि अनिल शाह र आसिफ शेखले ४८ रनको साझेदारी गरेको जनकपुरले पावर प्लेमा ५६-१ को अवस्थामा थियो ।
तर १२औं ओभरमा सन्दिप जोराले सेट ब्याटर अनिल शाहलाई आउट गरेपछि लुम्बिनीले बलिङमा कमब्याक गरेको थियो ।
त्यसपछि १३औं ओभरमा अभिशेषले जनकपुकरा तीन विदेशी खेलाडी लाहिरु मिलान्था, हर्श थाकर र जिम्मी नीशमलाई आउट गरे ।
जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाए । लाहिरु मिलान्थाले २४ र आसिफ शेखले १६ रन जोडे । शुभ कंसाकारले अविजित २२ रन बनाए ।
बलिङमा लुम्बिनीका लागि युवा स्पीनर अभिशेष गौतमले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान रोहित पौडेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । साद विन जफरले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । सन्दिप जोराले २ ओभरमा १३ रन खर्चेर १ विकेट लिए ।
डेब्यू खेलमै ३ विकेट लिएका लुम्बिनीका अभिशेष गौतमले कप्तान रोहित पौडेल र टम मुर्स आउट भएपछि गाह्रो भएको बताए ।
‘एकदम नजिक पुगेर हार्दा नराम्रो नै लागिरहेको छ ।’ उनले सबैले आफूलाई मोटिभेट गरेको बताए । ‘मलाई राम्रो बलिङ गरिरहेका छौ भन्दै मोटिभेट गरिरहनुभएको थियो । नीशमको विकेट सबैभन्दा विशेष रह्यो ।’
अभिषेषले एकै ओभरमा ३ विकेट लिँदै जनकपुरलाई पुरै दबाबमा राखेका छन् । जनकपुरका लयमा रहेका तीन विदेशी खेलाडी मिलान्था, हर्श थाकर र नीशमलाई उनले एकै ओभरमा आउट गर्दै ड्रिम डेब्यु गरेका छन् ।
स्पीनर जमेको खेल
जनकपुर र लुम्बिनीको खेलमा स्पीनर रहे । स्पीनरको जादु चलेको खेल भन्दा फरक पर्दैन । पहिलो इनिङ्समा लुम्बिनीले लिएको ९ मध्ये ८ विकेट स्पीनरले लिए भने एक रनआउट थियो ।
जसमा लुम्बिनीले १३ ओभर स्पीनरबाट बलिङ गराएको थियो । त्यसमा अभिशेषले ३ तथा कप्तान रोहित र साद विनले समान २ विकेट लिए । सन्दिप जोराले १ विकेट लिए ।
यी चार जनाले १३ ओभरमा ६६ रन खर्चेका थिए ।
यस्तै दोस्रो इनिङ्समा पनि जनकपुरका स्पीनर नै हावी भए । जनकपुरले २०मध्ये १६ ओभर स्पीनरबाट गराएको थियो । लुम्बिको ८ मध्ये ७ विकेट जनकपुरको स्पीनरले लिएका थिए । जसमा राइटआर्म अफब्रेक हर्श थाकरले ५ विकेट लिए ।
यस्तै ललित राजवंशीले किफायती बलिङ गर्दै ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । अर्का स्पीनर शेर मल्लले १ विकेट लिए । उनले ४ ओभरमा ३३ रन खर्चिए ।
यस बाहेक अर्का स्पीनर मोहम्मद मोहसिनले विकेट लिन नसकेपनि ४ ओभरमा १८ रन मात्र खर्चिए । जनकपुरका चार स्पीनर मिलेर १६ ओभर बलिङ गर्दा ८७ रन मात्र दिएको थियो ।
प्रतिक्रिया 4