१ माघ, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि झापा एफसीले प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । झापा एफसीले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व अन्तरिम प्रशिक्षक प्रवेश कटुवाललाई नयाँ प्रशिक्षककझ रुपमा चयन गरेको हो । झापा एफसीले मंगलबार सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएको छ ।
कटुवालले भिनसेन्जो अल्बर्टो एनेस आउनुपूर्व नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।
उनले नेपालको घरेलु लिग सहीद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबलाई लगातार दुईपटक लिगको उपाधि जिताएका छन् । त्यसैगरी उनले लिगको उत्कृष्ट प्रशिक्षकको अवार्ड समेत जितेका थिए । झापाले स्थानिय प्रशिक्षक कटुवाल नै प्रशिक्षक बनाएर एनएसएलको नयाँ सिजनका लागि दुई महिना अघि देखि नै तयारी थालेको संकेत दिइसकेको छ ।
अघिल्लो सिजनको एनएसएलमा झापा एफसीले स्पानिस प्रशिक्षक ओरियल मोहेदानो सेगुरालाई अनुबन्ध गरेको थियो । तर झापा एफसी लिग चरणबाट अगाडि बढ्न सकेको थिएन ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले एनएसएलको तेस्रो संस्करण चैत १६ गतेदेखि गर्ने घोषणा गरिसकेको छ । एनएसएलको पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले प्रतिस्पर्धा गरेका थिए । तेस्रो सिजनमा कति टोली सहभागि हुने भन्ने टुङ्गो लागेको छैन । पहिलो सिजनमा काठमाडौं रेजर्स एफसी र दोस्रो सिजनमा ललितपुर सिटी एफसी च्याम्पियन बनेको थियो ।
प्रतिक्रिया 4