+

च्याम्पियन्स ट्रफी : इङ्लिसको शतकमा अस्ट्रेलियाको कीर्तिमानी जित

२०८१ फागुन  १० गते २३:३६ २०८१ फागुन १० गते २३:३६
च्याम्पियन्स ट्रफी : इङ्लिसको शतकमा अस्ट्रेलियाको कीर्तिमानी जित

१० फागुन, काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलियाले कीर्तिमानी जित हासिल गर्दै शानदार सुरुवात गरेको छ । शनिबार भएको समूह बी अन्तर्गतको खेलमा इंग्ल्याण्डलाई हराउँदै अस्ट्रेलियाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

अस्ट्रेलियाले इंग्ल्याण्डलाई ५ विकेटले हराएको हो । इंग्ल्याण्डले दिएको ३५२ रनको विशाल लक्ष्य अस्ट्रेलियाले ४७.३ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । योसँगै अस्ट्रेलियाले आईसीसी प्रतियोगिताकै इतिहासमा सबैभन्दा धेरै रनको टार्गेट सफल रूपमा चेज गरेर कीर्तिमान पनि बनायो ।

जोश इङ्लिसले अविजित शतकीय पारी खेले । उनी ८६ बलमा ८ चौका र ६ छक्कासहित १२० रनमा अविजित रहे । त्यस्तै एलेक्स क्यारीले ६९ तथा म्याथ्यु शर्टले ६३ रन बनाए । ग्लेन म्याक्सवेल ३२ रनमा अविजित रहे ।

इंग्ल्याण्डका मार्क वूड, जोफ्रा आर्चर, ब्रायडन कार्स, आदिल राशिद र लियाम लिभिङस्टोनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर ३५१ रन बनाएको थियो । बेन डकेटले १६५ रनको शानदार पारी खेलेका थिए । जो रुटले ६८ रन बनाए ।

अस्ट्रेलियाका बेन ड्‍वारशुइसले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट हात पारे । एडम जाम्पा र मार्नस लबुशानले २-२ विकेट लिँदा ग्लेन म्याक्सवेलले १ विकेट लिए ।

यो कुनैपनि आईसीसी प्रतियोगितामा सफल रूपमा गरिएको उच्च स्कोरको रन चेज हो । अस्ट्रेलियाले ३५२ रनको लक्ष्य पूरा गर्दै कीर्तिमान कायम गरेको हो ।

योसँगै अस्ट्रेलियाले २ अंक हासिल गरेको छ । समूह बी मा समान २ अंक भएको दक्षिण अफ्रिका नेट रनरेटका आधारमा अगाडि छ ।

आईसीसी च्याम्पियन्स ट्रफी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय