६ चैत, काठमाडौं । धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि विदेशी गोलकिपर अनुबन्ध गरेको छ । धनगढीले स्पेनिस गोलकिपर वालिद बिरोउलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको बुधबार विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
धनगढीले दुई नेपाली गोलकिपर टिममा अनुबन्ध गरिसकेको अवसथ्मा विदेशी गोलकिपर पनि अनुबन्ध गरेको हो । यसअघि अक्सनबाट उमेर समूहको राष्ट्रिय टिमबाट खेलिसकेका जियारथ शेखलाई अनुबन्ध गरेको धनगढीले सी क्याटेगोरीको ड्राफ्टमा अर्का गोलकिपर सन्तोष महतलाई लिएको थियो ।
स्पेनी गोलकिपर वालिदले गत सिजन फिलिपिनो लिगको उपाधि जितेका थिए । उनले फिलिपिनो लिगमा सर्वाधिक क्लिनसिट राख्दै काया एफसीलाई उपाधि दिलाउन मदत गरेका थिए । वालिदले जिब्राल्टरको पहिलो श्रेणी, आइसल्याण्ड र मोरक्कोको दोस्रो श्रेणीको लिग समेत खेलिसकेका छन् ।
धनगढीले चौथो विदेशी खेलाडीको रुपमा वालिदलाई भित्र्याएको हो । यसअघि धनगढीले मोरोक्कोका मिडफिल्डर मोहम्मद एल जाउआनी, नाइजेरियन स्टार अफिज ओलोवाले र लेबनानी स्टार फरवार्ड अहमद हिजाजीलाई क्लबमा अनुबन्ध गरिसकेको छ । ओलोवाले र हिजाजीले दोस्रो सिजन पनि धनगढीबाटै खेलेका थिए ।
धनगढीले तेस्रो सिजनको लागि मार्की प्लेअर र प्रशिक्षक पनि परिवर्तन गरेको छ । क्रितिशरत्न छुन्जुलाई मार्की प्लेयर चयन गरेको धनगढीमा देवेन्द्र तामाङ, जर्जप्रिन्स कार्की, पासाङ लामा, विवेक पौडेल, जियारथ शेख, रन्दीप पौडेल, रामचन्द्र वाजी, प्रशान्त लक्षम, रोहन खड्की, अमृत श्रेष्ठ, हरिष राज भट्ट, सन्तोष महत र अशोक खवास छन् ।
यस्तै धनगढीले स्पेनका जुआन म्यानुएल मार्टिनेज साइजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ । युईएफए प्रो लाइसेन्स भएका प्रशिक्षक म्यानुएलले स्पेन, पानामा, थाइल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा समेत प्रशिक्षण गराईसकेका छन् ।
नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी धनगढी एफसीका ब्रान्ड एम्बेसडर रहेका छन् ।
 
                    










 २०८१ चैत  ६ गते २१:२९
                        २०८१ चैत  ६ गते २१:२९                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4