News Summary
Generated by OK AI. Editorially reviewed.- मौसमको खराबी र हावाहुरीका कारण देशका विभिन्न ठाउँहरूमा चट्याङ र वर्षा भइरहेको छ।
- काभ्रेको मण्डनदेउपुरमा चट्याङले रुखमा आगो लागेको थियो जुन करिब ३ घण्टा लगाएर नियन्त्रणमा ल्याइएको थियो।
- कुनै मानवीय क्षति नभए पनि, यस घटनाले प्राकृतिक प्रकोपको जोखिम र चुनौतीहरू देखाएको छ।
३ जेठ, काठमाडौं । केही दिनयता मौसम खराब छ । केही ठाउँमा हावाहुरी चलेको छ । देशका विभिन्न ठाउँमा चट्याङसहित वर्षा भइरहेको छ ।
यही जेठ १ गते बिहीबार, काभ्रेको मण्डनदेउपुर नगरपालिका-१० बाँसटौवामा चट्याङ पर्यो । वडाध्यक्ष कुमार तामाङका अनुसार उक्त चट्याङ ठूलो कटहरको रुखमा परेको थियो । रुख पूरै सुकेको थिएन तर पातहरू थिएनन् ।
चट्याङ बिहीबार एक गते राति १२ बजेतिर परेको हो । चट्याङ परेलगत्तै रुख दनदनी बल्न थाल्यो । ‘चट्याङ परेपछि रुख बलिरहेको थियो, पड्किंदै बलेको थियो’, वडाध्यक्ष तामाङले भने, ‘सुरुमा त हामी आफैंले निभाउन खोज्यौं तर सकेनौं ।’
पानी परिरहेकै बेला रुखमा दन्किरहेको आगो निभाउन नसकेपछि स्थानीयवासीले उपमेयर विष्णुमणि नेपाललाई खबर गरे । उनीमार्फल सशस्त्रको टोलीलाई खबर गरियो ।
बिहीबार रातिदेखि आगो लागे पनि सशस्त्रलाई शुक्रबार दिउँसो २ बजेपछि मात्रै खबर पुगेको थियो । ‘चट्याङ परेर रुखमा आगो लागेको रैछ । हामीलाई ढिलो खबर भयो । २ बजेर ३६ मिनेट जाँदा फोन आएको थियो’, सशस्त्रका १५ नम्बर गणका एसपी प्रेमप्रसाद प्रसाईंले भने ।
चट्याङ लागेर लामो समयदेखि आगो लागेको र जोखिम भएको जानकारी पाएपछि तुरुन्तै आवश्यक सामग्रीसहित टोली घटनास्थल पठाएको एसपी प्रसाईंको भनाइ छ ।
तर, टुप्पादेखि बलिरहेको रुखको आगो कसरी निभाउने भन्ने अन्योल भयो । रुख काटेर ढाल्न पनि समय लाग्ने भयो । आगोका झिल्काहरू उडेर घर भेटाउने सम्भावना उस्तै थियो ।
बलिरहेको रुखमा चढेर निभाउँदा पनि सशस्त्रकै टोलीलाई जोखिम थियो । केही समय अन्योल भएपछि डोरीको सहायताले रुखका हाँगा काटेर आगो नियन्त्रणमा लिइएको एसपी प्रसाईंले बताए ।
‘केही समय त कसरी निभाउने, के गर्ने भन्ने भयो’, उनले भने, ‘दमकल पनि लिइयो तर जाने ठाउँ नहुँदा समस्या भयो ।’
एसपी प्रसाईंका अनुसार आगो निभाउन साढे २ देखि करिब ३ घण्टाको समय लागेको थियो । बिहीबार रातिदेखि लागेको आगो शुक्रबार साँझ मात्रै निभाइएको थियो ।
एसपी प्रसाईंले आफ्नो करिअरमै यस्तो अनौठो घटना पहिलोपटक देखेको बताए । ‘अनौठो घटना, पहिलोपटक देखियो’, उनले भने, ‘नयाँ सिक्ने अवसर पनि भयो ।’
घटनापछि रुखमा यसरी किन आगो लाग्यो भनेर बुझेको एसपी प्रसाईंले सुनाए । विज्ञहरुले दूध आउने रुखहरूमा चट्याङ पर्दा यस्तो हुने बताएको उनको भनाइ छ ।
२ दिनसम्म आगो बलिरहे पनि कुनै मानवीय र अन्य थप क्षति भने हुन नपाएको मेयर टोकबहादुर वाइबाले बताए ।
सशस्त्रको टोलीले यसरी निभाएको थियो आगो –
भिडियो/तस्वीरहरू : सशस्त्रको १५ नम्बर गण, पाँचखाल ।
प्रतिक्रिया 4