+
+
Shares

धमाधम भन्सारमा किन ईभी थुपार्दैछन् व्यापारी ?

भन्सार कार्यालयहरूका अनुसार अहिले जसरी ईभी आइरहेको छ, त्यसरी नै आइरहने हो भने गाडी राख्न नयाँ ठाउँ खोज्नुपर्छ । रसुवा, तातोपानी र भैरहवा नाकामा पछिल्लो समय ईभी आयात अत्यधिक बढेको छ ।

अमृत चिमरिया अमृत चिमरिया
२०८२ जेठ ४ गते २१:१०
चोभार सुक्खा बन्दरगाहामा राखिएको चीनबाट आयातित ईभी ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा, तातोपानी र भैरहवा नाकामा पछिल्लो समय विद्युत् सवारीसाधन (ईभी) को आयात अत्यधिक बढेको छ, जसका कारण भन्सार कार्यालयहरू भरिभराउ भएका छन्।
  • भन्सार कार्यालयहरूका अनुसार अहिले गाडी राख्ने ठाउँ छैन र व्यवसायीहरूले नयाँ ठाउँ खोज्नुपर्ने अवस्था आएको छ, किनभने ईभीको आयात ह्वात्तै बढिरहेको छ।
  • अटोमोबाइल व्यवसायीहरूको अनुसार चीनमा ईभीको मूल्य घट्दै गएको र भन्सार कर बढ्ने हल्लाले गर्दा पनि आयात बढेको हो, साथै सरकारको उच्चस्तरीय सुझावले पनि आयात थप दबाबमा ल्याएको छ।

४ जेठ, काठमाडौं । अहिले रसुवागढी भन्सार कार्यालयमा गाडी राख्ने ठाउँ छैन । केही समययता ह्वात्तै बढेको विद्युतीय सवारीसाधन (ईभी) आयात संख्याले भन्सार कार्यालय भरिभराउ छ ।

यस्तै सिन्धुपाल्चोक तातोपानी (लार्चा) भन्सारमा चीनबाट आयातित गाडी राख्ने ठाउँ छैन । गाडी भित्रिएपछि भन्सार कार्यालयले आयातकर्तालाई भन्सार पास गरेर लैजान भनिरहेको छ ।

भन्सार कार्यालयहरूका अनुसार अहिले जसरी ईभी आइरहेको छ, त्यसरी नै आइरहने हो भने गाडी राख्न नयाँ ठाउँ खोज्नुपर्छ । रसुवा, तातोपानी र भैरहवा नाकामा पछिल्लो समय ईभी आयात अत्यधिक बढेको छ ।

‘नयाँ ब्रान्डदेखि पुराना र चलेका ब्रान्डसम्मका गाडी आएर थुप्रिएका छन् । फागुनदेखि नै गाडी ह्वात्तै बढेको हो । ईभी मंसिरदेखि माघसम्म ठिकै थियो, फागुनमा अलि थपियो, चैतबाट २ गुणा बढेको छ,’ एक भन्सार अधिकृत भन्छन् ।

सुक्खा बन्दरगाह व्यवस्थापन गरिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भन्सार बढ्ने हल्लाले ईभी आयात थुप्रिएको बताउँछन् । ‘फागुनयता ईभी आयात ह्वात्तै बढेको छ । धेरै गाडी अहिले पनि आउँदैछन्,’ गजुरेल भन्छन् ।

गजुरेलका अनुसार चोभार सुक्खा बन्दरगाहमा मात्रै शुक्रबारसम्म ९ सय ५० युनिट ईभी थन्किएको छ ।

‘अहिले भन्सार कार्यालयहरू ईभीले भरिभराउ छ । व्यवसायीले धमाधम गाडी भित्र्याउँदा राख्ने ठाउँ नै अभाव हुन थालिसक्यो,’ उनले भने ।

भन्सार कार्यालयहरूका अनुसार अहिले जसरी गाडी भित्रिरहेको छ, फागुनसम्म यस्तो थिएन । पछिल्लो समय ह्वात्तै बढेको छ । कतिपय गाडी आयात मात्रै भएका छन् तर भन्सार समेत क्लियर भएको छैन । भन्सारमा ल्याएर थुप्राउने काम भएको छ ।

गजुरेलले चोभार बाहेक रसुवा र तातोपानी नाकामा मात्रै १ हजारभन्दा बढी ईभी थुप्रिएको बताए । ‘नेपालमा आयात हुने ईभी धेरै चीनबाट छ, त्यही अनुसार अहिले व्यापारीले अत्यधिक ईभी आयात गरेसँगै भन्सार पूरै भरिएको छ,’ गजुरलेले भने ।

भन्सार कार्यालयहरूका अनुसार अहिले जसरी गाडी भित्रिरहेको छ, फागुनसम्म यस्तो थिएन । पछिल्लो समय ह्वात्तै बढेको छ । कतिपय गाडी आयात मात्रै भएका छन् तर भन्सार समेत क्लियर भएको छैन । भन्सारमा ल्याएर थुप्राउने काम भएको छ ।

कतिपय व्यवसायीले भन्सार पास गरेर सिधै उपत्यका बाहिरको शोरुममा समेत लैजाने गरेका छन् । ‘यहाँबाट अहिलेकै करको दरमा स्टोर गरेर राख्ने र बजेट भाषण हुने बित्तिकै नयाँ दरमा बेच्न व्यापारीले खोजेको देखिन्छ,’ एक भन्सारका अधिकारीले भने ।

व्यवसायीले फाइदा लिन खोज्दा गाडी आयात बढ्यो

अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका एक पदाधिकारीका अनुसार अहिले गाडी आयात हुनुको कारण भन्सार बढ्ने हल्लामात्र नभई चीनमा ईभीको भाउ घट्नु पनि हो ।

‘नेपालमा भन्सार बढ्ने हल्ला छ भने अर्कातिर चीनमा ईभीको भाउ घटिरहेको छ,’ ती पदाधिकारीले भने, ‘चीनमा उत्पादक कम्पनीहरू बढेको छ, चर्को प्रतिस्पर्धा छ । ब्याट्री, प्रविधि पनि आधुनिक भइरहेको छ, त्यसले गर्दा थोरै भए पनि गाडीको भाउ घटेको छ । यही बेला भन्सार बढ्ने हल्ला पनि छ । त्यसले गर्दा ईभी आयात बढेको हो ।’

नेपालमा बिक्री गरिरहेका कम्पनीले अहिले बुकिङ लिन मानिरहेका छैनन् । गाडी शोरुममा भए पनि अहिले गाडी छैन भन्दै खासै बिक्री गरिरहेका छैनन् । केहीले पहिले बुकिङ भएको गाडी बेचिरहे पनि नयाँ बुकिङ लिन नमानेको उपभोक्ता बताउँछन् ।

‘तपाईंले खोजेको गाडी अहिले छैन, केही समयमा आउँछ बरु अग्रिम बुकिङ गरौं भनिरहेका छन्, तर अहिलेकै रेटमा आउँछ कि आउँदैन भन्ने फिक्स्ड गरेका छैनन् । यो सबै भन्सार कर बढ्यो भने नयाँ मूल्यमा धेरै मार्जिन खाएर बेच्न पाइन्छ भन्ने हो,’ एक उपभोक्ता भन्छन् ।

खनाल आयोगको प्रतिवेदनले देखाएको त्रास

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई दिएको सुझावले पनि नेपाली ईभी आयातकर्तालाई तत्काल ईभी आयात थप दबाब परेको देखिन्छ ।

पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा बनेको समितिले दिएको सुझाव अनुसार विद्युतीय सवारी र पेट्रोलियम पदार्थबाट चल्ने इन्जिन भएको सवारीको भन्सार कर बराबर गर्ने प्रस्ताव छ । यस्तै पेट्रोलियम पदार्थबाट चल्ने इन्जिन भएको सवारीमा हरित कर लगाउन प्रस्ताव भएको छ ।

‘विद्युतीय सवारीसाधन पैठारीको प्रयोगबाट समग्र अर्थतन्त्रमा प्राप्त हुने लाभ, अन्तर्राष्ट्रिय अभ्यास, छिमेकी मुलुकले अवलम्बन गरेको नीतिको अध्ययन विश्लेषण गरी विद्युतीय सवारीसाधन र गैरविद्युतीय सावरी साधनको दरमा रहेको अत्यधिक फरकलाई समायोजन गर्दे जाने र सबै सवारीसाधनमा आधारभूत भन्सार दर एउटै राखी कार्बन उत्सर्जन गर्ने सवारीसाधनमा हरित कर थप लगाउने जस्ता विकल्पमा अध्ययन गरी निष्कर्षमा पुग्ने,’ आयोगको सुझाव छ ।

नेपालमा गाडी आयातर्कताहरू उक्त आयोगको सुझाव अनुसार सरकारले ईभीको भन्सार कर केही न केही बढाउन सक्ने शंकाले अहिले धमाधम गाडी आयात गरिरहेको बताउँछन् ।

लेखक
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?