
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीमा १० जना डीआईजीको रिक्त पद एक महिनादेखि खाली छ।
- बढुवा सिफारिस समितिले ६ डीआईजीलाई बढुवा गर्न सिफारिस गरेपछि पनि प्रक्रिया अघि बढेन।
- प्रहरीमा प्रतिस्पर्धा र विवादका कारण बढुवा प्रक्रिया ढिलो भएको हो।
४ जेठ, काठमाडौं । नेपाल प्रहरीमा १० जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) रिक्त भएको १ महिना बितिसक्दा पनि बढुवा हुन सकेको छैन । लामो समयसम्म डीआईजी बढुवा नगर्दा डीआईजीको दरबन्दी भएका ठाउँमा एसएसपी, एसपीले कमान्ड गर्नुपर्ने अवस्था आएको छ ।
बढुवा सिफारिस समितिले ६ डीआईजीलाई ४ वैशाखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरेसँगै डीआईजीको रिक्त संख्या १० पुगेको थियो । यसअघि ४ चैतबाट ४ डीआईजी खाली थिए । चैतदेखि रिक्त हुन सुरु भएको डीआईजी संख्या १० पुगेको महिना दिन बित्दा समेत बढुवा हुन सकेको छैन ।
बढुवा सिफारिस समितिको बैठक समेत अहिलेसम्म बस्न सकेको छैन । बढुवाका लागि राष्ट्रिय अनुसन्धान विभाग (राअवि)मा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएर आएका अधिकृतहरू र प्रहरीमै भर्ना भएका टोलीबीच प्रतिस्पर्धा छ । यी दुई टोलीबीच संगठनमा यसअघिदेखि नै अस्वस्थ प्रतिस्पर्धा हुँदै आएको छ । एकले अर्को टोलीलाई अनेक आरोप-प्रत्यारोप समेत लगाउने गरेका छन् ।
यही दुई टोलीको रस्साकस्सी हुँदा डीआईजी बढुवा निकै पेचिलो बनेको छ । जसका कारण एक महिना बित्दा पनि बढुवा हुने छाँटकाँट देखिँदैन ।
बढुवाको पहिलो नम्बरमा एसएसपी ओमबहादुर राना छन् । हाल उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा कार्यरत छन् ।
उनीसहित राअविमा भर्ना भएर प्रहरीमा आएका १० जना डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् । रानासहित माधवप्रसाद श्रेष्ठ, सुरेन्द्रबहादुर गुरुङ, दिलिप सिंह देउवा ५ पुस २०५३ मा राअविमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएर आएका थिए ।
बढुवाकै प्रतिस्पर्धामा रहेका राअविबाट आएका टोलीहरूमा दीपेन्द्र घर्ती क्षेत्री, दीपककुमार बस्नेत, विनोद घिमिरे, जयराज सापकोटा, सञ्जिव शर्मा दास र शारदाप्रसाद चौधरी छन् । क्षेत्री ७ जेठ २०५५ मा र बाँकी २०५४ मा राअविमा भर्ना भएर पछि प्रहरीमा स्थानान्तरण भएकाहरू हुन् ।
राअविबाट आएकाहरू पटकपटक विभिन्न विवादमा पर्दै आएको भन्दै प्रहरीमै भर्ना भएकाहरू उनीहरूलाई उछिनेर बढुवा हुने दाउमा छन् ।
यता राअविबाट आएको टोली भने आफूहरू सिनियर रहेको बताउँदै जसरी पनि बढुवा हुनुपर्ने लाइनमा छन् । यसअघिको बढुवामा समेत आफूहरू सिनियर हुँदाहुँदै छुटाइएको उनीहरूको भनाइ छ ।
राअविको टोलीका साथै प्रहरीमै भर्नाका दुई ब्याचका टोलीहरू प्रतिस्पर्धामा छन् । जसमा १८ चैत २०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएका एसएसपी दीपक रेग्मी र सुदर्शन कोइराला पनि बढुवाको लाइनमा छन् । उनीहरू क्रमश: एसएसपीको बरियतामा चौथो र सातौं नम्बरमा छन् ।
यो बाहेक ३ असार २०५६ प्रहरी निरीक्षकमा भर्ना भएकाहरू पनि बढुवाको प्रतिस्पर्धामा छन् । यो ब्याचका १५ जना डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।
जसमा क्रमश: जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत विश्व अधिकारी, अपराध अनुसन्धान विभागमा कार्यरत सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत शेखर खनाल, अबि नारायण काफ्ले, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दीप शमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्लीमगर, तारादेवी थापा, प्रज्वल महर्जन छन् ।
एक महिनासम्म बढुवा प्रक्रिया अघि नबढेकोबारे प्रहरी प्रधान कार्यालयको मानव स्रोत तथा प्रशासन विभागले भने अब १० जेठपछि मात्रै बढुवाको प्रक्रिया अघि बढ्ने सम्भावना रहेको बताएको छ । १० जेठमा एआईजी लालमणि आचार्य ५६ वर्षे उमेर हदका कारण अनिवार्य अकावशमा जाँदैछन् । उनी अवकाशमा गएपछि उक्त ठाउँमा एक डीआईजीलाई एआईजीमा बढुवा गर्ने र त्यसपछि रिक्त हुने ११ डीआईजीमा एकै पटक बढुवा सिफारिस गर्ने तयारी भएको बताइएको छ ।
यो प्रक्रियाअनुसार बढुवा हुने हो भने अझै करिब १५ दिनसम्म डीआईजीको दरबन्दी रिक्त हुने निश्चित जस्तै देखिन्छ ।
साढे २ महिना बित्दा पनि गृहले पठाएन कर्णालीमा डीआईजी
डीआईजी बढुवा नहुँदाको असर प्रदेशदेखि डीआईजीले कमान्ड गर्ने कार्यालयहरूमा समेत देखिएको छ । साढे महिना बित्दा पनि कर्णाली प्रदेशले डीआईजी पाउन सकेको छैन ।
प्रहरी नियमावलीअनुसार डीआईजी सरुवाको सम्पूर्ण अधिकार गृहमन्त्रीलाई हुन्छ । तर गृहमन्त्री रमेश लेखकले भने डीआईजी खाली भएको दुई महिना बित्दा पनि कर्णालीमा डीआईजी पठाएका छैनन् ।
यसअघि मन्त्री लेखकले २१ वैशाखमा ७ जना डीआईजीको सरुवा गरेका थिए । तर त्यतिबेला पनि कर्णालीमा भने कसैलाई पनि पठाइएन । कर्णाली प्रदेशका डीआईजी जनक भट्टराई २२ फागुनमा एआईजीमा बढुवा भएका थिए । एआईजी भएपछि प्रदेश समन्यव विभागमा पदस्थापन भएका उनको ४ चैतमा अवकाश समेत भएको थियो ।
तर, उनी बढुवा भएसँगै रिक्त रहेको कर्णाली प्रदेशको डीआईजी अहिले पनि रिक्त छ । उनको बढुवासँगै विगत साढे दुई महिनादेखि कर्णाली प्रदेशको कमान्ड एसएसपी शिवकुमार श्रेष्ठले गरिरहेका छन् ।
प्रतिक्रिया 4