
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट तर्जुमा निजी तथा वैकल्पिक लगानी स्रोत खोज्नुपर्ने बताएका छन्।
- अधिकारकहरूले पूर्वाधार विकासका लागि ठूलो लगानी आवश्यक भएकाले स्रोत परिचालन र वित्तीय व्यवस्थापनमा सुधार आवश्यक रहेको बताए।
- पूर्वअर्थमन्त्रीहरूले आन्तरिक वित्तीय स्रोतको अभाव र स्रोतको समुचित प्रयोगको आवश्यकता औंल्याए।
५ जेठ, काठमाडौं । नेपालका लागि पूर्वाधारमा ठूलो लगानी आवश्यक पर्ने भएका कारण अब निजी तथा वैकल्पिक लगानीका स्रोत खोज्नुपर्ने सरोकारवालाले बताएका छन् ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सिलसिलामा आयोजना गरेको नीति संवादमा सहभागीले यस्तो बताएका हुन् ।
सिंहदरबारस्थित आयोगमा सम्पन्न छलफलमा सहभागी पूर्व अर्थमन्त्री, योजना आयोगका पूर्वउपाध्यक्ष तथा पूर्वसदस्यले छलफल गरे ।
कार्यक्रममा आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले योजना आयोगले पछिल्लो समय गरेका नवीनतम तथा सिर्जनशील कार्य तथा समसामयिक नीति सवालबारे विषयमा जानकारी गराएका थिए । उनले बजेटरी प्रणाली मार्फत सोह्रौं योजना, दिगो विकास लक्ष्य र सहज स्तरोन्नतिका रणनीति कार्यान्वयनमा जोड दिए ।
यसका लागि आयोगले १६औं योजनाको तर्जुमा र कार्यान्वयनमा सहजीकरण, तहगत समन्वय तथा वित्तीय संघीयता, बजेटरी प्रक्रिया, आयोजना बैंक, सार्वजनिक लगानी र स्रोत परिचालन क्षेत्रमा सूक्ष्मस्तरमा सुधारका कार्य गरिरहेको जानकारी दिए ।
आयोगले गरेको राष्ट्रिय गौरवका आयोजना तथा सडक पूर्वधार, सहरी विकास, स्थानीय पूर्वाधार, खानेपानी, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या क्षेत्रका क्रमागत कार्यक्रम तथा आयोजना अध्ययन, विश्लेषण तथा पुनः प्राथमिकीकरणबारे जानकारी गराए ।
उपाध्यक्ष अधिकारीले छोटो समयभित्र सम्पन्न गर्न सकिने तर स्रोतको कमी रहेको अवस्थामा यस्ता आयोजना निर्माण गर्न सार्वजनिक वित्तीय व्यवस्थापनका लागि अल्पकालीन उपायबारे जानकारी गराए ।
कार्यक्रममा प्रधामन्त्रीका विकास सल्लाहकार तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक वित्त परिचालन सम्भावना भए तापनि विभिन्न संयन्त्रको कमी रहेको बताए ।
उनले पूर्वाधार निर्माणमा ठूलो परिमाणमा लगानीको आवश्यकता पर्ने र यसको लागि आन्तरिक तथा अन्य लगानीलाई पूर्वाधार निर्माणमा परिचालन गर्नुपर्नेमा जोड दिए ।
उनले सन्तुलित विकासका लागि स्थानीय तहलाई केन्द्रमा राखी स्रोत बाँडफाँट तथा विकास गर्नुपर्ने र त्यस अनुसार उपयुक्त तथ्यांक प्रयोग गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा आयोगका पूर्वउपाध्यक्ष तथा पूर्वसदस्यहरूले सार्वजनिक विकास वित्तको उपलब्धता साँघुरो हुँदै गइरहेको अवस्थामा खर्च कटौती गर्दै वित्तीय आकार सिर्जना, कर प्रशासनमा सुधार र राजस्व परिचालन, सार्वजनिक ऋणको ब्याज लगायत भार न्यूनीकरण र सार्वभौम ग्यारेन्टी तथा सार्वभौम कोषको व्यवस्थालाई जोड दिनुपर्ने धारणा राखे ।
प्रतिक्रिया 4