+
+
Shares
विचार :

भारतको ‘अपरेसन सिन्दूर’ र राष्ट्रवादी भ्रमजाल

भारत र पाकिस्तान आणविक शक्तिराष्ट्र हुन्। यी दुई देशबीचको तनावले विश्वलाई नै चिन्तित बनाउँछ।

 सरोज गौतम  सरोज गौतम
२०८२ जेठ ९ गते ९:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालसँग खुला सिमानाका कारण भारत-पाकिस्तान युद्धको प्रभाव देखिन सक्थ्यो।
  • २२ अप्रिल २०२५ मा पहलगाममा भएको आतंकवादी हमलाले भारतले पाकिस्तानमाथि ‘अपरेसन सिन्दूर’ सञ्चालन गर्यो।
  • भारतीय मिडियाले यस युद्धलाई राष्ट्रिय गौरवको रूपमा प्रस्तुत गरे पनि यसको वास्तविकता भिन्न थियो।

केही दिनअघि दक्षिणएशिया युद्धको त्रासमा थियो। आणविक शक्तिसम्पन्न दुई ठूला देश भारत र पाकिस्तान युद्धको सँघारमा थिए। यसले दुवै देशका सरकार मात्र होइन, आम नागरिकदेखि विश्वस्तरमै चिन्ता बढाएको थियो। पछिल्लो वर्ष हमास-इजरायल, रूस-युक्रेन लगायत द्वन्द्वको असरले त्यस्तो चिन्ता बढाउनु स्वाभाविक थियो।

कश्मीर, पहलगामको आतंकवादी हमलाको बदला भन्दै जब भारतले पाकिस्तानमाथि आक्रमण गर्‍यो, भारतीय जनताले सामाजिक सञ्जालमा खुलेर सरकारको समर्थन गरेको देखियो। भारतीय टेलिभिजन र सामाजिक सञ्जालका पोस्टहरू हेर्ने हो भने, भारतले भयानक आक्रमण गरेको र केही मिनेटमै पाकिस्तानलाई सिध्याउन सक्ने जस्ता अभिव्यक्ति छ्यापछ्याप्ती देखिन्थे।

भारतले पाकिस्तान विरुद्धको आक्रमणलाई ‘अपरेसन सिन्दूर’ नाम दियो। लामो समयदेखि सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) को राजनीतिक अभियान हेर्ने हो भने तिनले आम मानिसको भावनालाई छुने खालका देखिन्छन्। यो अपरेसनको नामकरण र आक्रमणपछिको पत्रकार सम्मेलनमा दुई महिला प्रवक्तालाई अगाडि सार्नुले पनि यही कुरा झल्किन्छ।

भारतपाकिस्तान युद्ध र नेपालको सम्बन्ध

भारत-पाकिस्तान युद्धको त्रासदी नेपालसम्म पर्नु स्वाभाविक थियो। भारतसँग नेपालको खुला सिमाना, विगतमा पाकिस्तानसँग सम्बन्धित आतंकवादी समूहले जहाज नै अपहरण गरेको घटनादेखि अन्य विविध कारण यस युद्धका बाछिटा नेपालमा देखिएको थियो। किनभने, कालान्तरमा भारत-पाकिस्तान युद्धको केन्द्रमा नेपाल पर्ने ठूलो सम्भावना थियो।

हाल करिब ३० हजार नेपाली भारतीय सेनामा कार्यरत छन्। उनीहरू नै पाकिस्तान विरुद्धको युद्धको अग्रमोर्चामा हुने थिए। यदि युद्ध लामो समयसम्म चलेको भए, नेपालबाट थप नेपालीलाई सेनामा भर्ती गर्न सकिन्थ्यो।

नेपाल-भारत खुला सिमानाका कारण पनि युद्ध नेपालसँग जोडिन सक्थ्यो। नेपाली भूमिको दुरूपयोग गरेर भारत विरुद्ध आक्रमण हुन र जसले थप विपत्ति निम्त्याउन सक्थ्यो।

भारत-पाकिस्तान युद्धलाई केही हदसम्म हिन्दु-मुस्लिम युद्धको रूपमा पनि हेरिन सक्थ्यो। यसको प्रभाव खाडी मुलुकमा रहेका नेपालीलाई समेत पर्न सक्थ्यो। त्यसले सामुदायिक द्वन्द्वको रूप लिनासाथ हाम्रो तराई क्षेत्रमा अहिले सानो तहमा देखिएको हिन्दु-मुस्लिम स्ट्रेस बढेर जानेसम्मको डर हुन्थ्यो।

नेपाल-भारत खुला सिमानाका कारण पनि यो युद्ध नेपालसँग जोडिन सक्थ्यो। नेपाली भूमिको दुरूपयोग गरेर भारतविरुद्ध आक्रमण हुन सक्थ्यो, जसले थप विपत्ति निम्त्याउन सक्थ्यो।

यो त भयो भारत-पाकिस्तान युद्धले नेपालमा पार्ने प्रभाव। मुख्य कुरा, यो युद्धको सुरुवात कसरी भयो भन्ने सन्दर्भचाहिं निकै लामो र रोचक छ। भारत-पाकिस्तान युद्धको सुरुवात कहाँ, कहिले र कसरी भयो! साँच्चै युद्ध सकियो कि भविष्यमा पनि युद्धको सम्भावना छ ? यस विषयमा केही कुरा गरौं।

बैसारन त्रासदी र भारतपाकिस्तान तनाव

२२ अप्रिल २०२५ अप्रिल साँझ, जम्मु-कश्मीरको पहलगामस्थित बैसारन उपत्यकामा रक्तपात भयो। पर्यटकहरू प्रकृतिमा रमाइरहँदा बन्दुकधारीको आक्रमणले शान्ति भङ्ग भयो र कश्मीरीहरूले ‘स्वर्गको टुक्रा’ भन्ने यो रमणीयस्थल नरकतुल्य बन्यो।

बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाए, जसमा २६ निर्दोषको ज्यान गयो, जसमध्ये अधिकांश हिन्दू पर्यटक थिए। भारतीय गुप्तचर निकायहरूले यो हमलालाई पाकिस्तान समर्थित आतङ्कवादी समूहहरूसँग जोडे। भारतले लस्कर-ए-तोयबा र जैश-ए-मोहम्मद जस्ता समूहको संलग्नता देखायो। आक्रमणकारीले धार्मिक पहिचानलाई आधार बनाएर लक्षित हत्या गरेको प्रारम्भिक अनुसन्धानले पुष्टि गर्‍यो।

यो घटनाले भारतीयहरूमा आक्रोश फैलायो। नागरिक, सत्तापक्ष र विपक्षी सबैले सरकारसँग पाकिस्तान विरुद्ध कडा कारबाही र बदला लिनुपर्ने माग गरे। बैसारनका स्थानीय बासिन्दा, जसले पर्यटकलाई परिवार जस्तै माया गर्थे, शोकमा डुबे। भारत सरकारले ७ मे २०२५ मा ‘अपरेसन सिन्दूर’ मार्फत पाकिस्तानलाई जवाफ दियो।

भारतीय सेना, नौसेना र वायुसेनाको संयुक्त टोलीले पाकिस्तान र पाकिस्तान-अधिकृत कश्मीरमा रहेका ९ आतङ्कवादी शिविरमा कारबाही गरेको बतायो। अत्याधुनिक ड्रोन, स्याटेलाइट-निर्देशित मिसाइल र सटिक हतियार प्रयोग गरिएको थियो। रक्षा मन्त्रालयले यो कारबाही आतङ्कवादी संरचनामा मात्र केन्द्रित रहेको र नागरिक वा पाकिस्तानी सैन्य संरचनालाई लक्षित नगरेको बतायो।

तर, पाकिस्तानले फरक दाबी गर्‍यो। इस्लामावादले हमलामा नागरिक हताहत भएको र भारतले पाकिस्तानको सार्वभौमसत्तामाथि आक्रमण गरेको आरोप लगायो। भारतले सैन्य कारबाहीसँगै कूटनीतिक कदम पनि चाल्यो। पाकिस्तानसँग सम्बन्धित विवादका कारण इन्दुस जल सन्धि (१९६०) निलम्बन गर्‍यो, जसले पाकिस्तानको कृषि र जलस्रोतमा गम्भीर प्रभाव पार्ने सम्भावना थियो।

पञ्जाब र सिन्धका किसानहरू, जो सिन्धुको पानीमा निर्भर थिए, यसको विरोधमा उत्रिए। अटारी-वाघा सीमा बन्द र सार्क भिसा छुट योजना स्थगनले दुई देशबीचको व्यापार, सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्पर्क थप कमजोर बन्यो।

 भारतपाकिस्तान शत्रुताको कथा

भारत-पाकिस्तानको शत्रुता सैन्य झडप वा सीमा विवादमा मात्र सीमित छैन। यो धार्मिक, सांस्कृतिक र राष्ट्रवादी भावनाको गहिरो टकराव हो। यो कथा सन् १९४७ को अगस्टमा ब्रिटिश औपनिवेशिक शासनबाट स्वतन्त्र भएर दुई राष्ट्र जन्मिँदा शुरू भएको हो। यो विभाजन भौगोलिक मात्र थिएन। यसले लाखौंको रक्तपातपूर्ण विस्थापन, धार्मिक हिंसा र पारिवारिक विछोड समेत निम्त्यायो। र, यो घाउ खिल बनेर सधैं रह्यो।

कश्मीर यो विभाजनको जटिल क्षेत्र बन्यो। तत्कालीन हिन्दू शासक महाराजा हरि सिंह र मुस्लिम-बहुल जनसङ्ख्या भएको कश्मीर स्वतन्त्र रहन चाहन्थ्यो। तर पाकिस्तानले कश्मीरलाई आफ्नो हिस्सा बनाउन दबाब दियो। सशस्त्र समूहहरूले कश्मीरमा आक्रमण गरे, जसलाई पाकिस्तानी सेनाले समर्थन गरेको आरोप छ। महाराजाले भारतसँग सैन्य सहायता मागे र भारतले कश्मीरलाई भारतमा विलय गर्ने शर्त राख्यो। सन् १९४७ अक्टोबर २६ मा विलय सन्धि भयो। जसले कश्मीरलाई दुई देशबीचको स्थायी विवादको केन्द्र बनायो।

कश्मीरको सन्दर्भमा दुई पात्रको भूमिका महत्त्वपूर्ण छ। महाराजा हरि सिंह र तत्कालीन नेसनल कन्फ्रेन्सका नेता तथा प्रधानमन्त्री शेख अब्दुल्ला, जो नेसनल कन्फरेन्सका संयोजक थिए। दस्तावेजहरू हेर्दा उनीहरूले कश्मीर स्वतन्त्र रहोस् भन्ने चाहेका थिए। यदि त्यो सम्भव नभए, पाकिस्तानभन्दा भारतसँग जोडिन उनीहरू सहमत देखिन्छन्।

शेख अब्दुल्लाले आफूलाई सेकुलर भन्दै मुस्लिम कन्फरेन्सको नाम परिवर्तन गरेका थिए र नेहरूसँगको निकटताले उनलाई भारततर्फ ढल्काएको थियो। राजा हरि सिंहले चाहिं पाकिस्तानसँग गाभिंदा मुस्लिम बहुल मुलुकलाई गाह्रो हुन्छ भन्ने बुझेका थिए। भारतसँग जोडिन उनलाई रुचि थिएन तर अन्त्यमा पाकिस्तानले काविलाको आडमा कश्मीरमाथि आक्रमण गरेपछि भारतसँग सहयोग माग्नुको विकल्प थिएन। भारतले पनि यसलाई मुकुकमा गाभ्ने सही र उचित समय मानेर सन्धि गराएरै गाभ्यो।

सन् १९४८ मा पहिलो भारत-पाकिस्तान युद्ध भयो। संयुक्त राष्ट्रसङ्घले मध्यस्थता गरेर युद्धविरामको घोषणा गर्‍यो र कश्मीर दुई भागमा विभाजित भयो- भारत नियन्त्रित जम्मु-कश्मीर र पाकिस्तान नियन्त्रित कश्मीर।

राष्ट्रसङ्घले कश्मीरको भविष्य निर्धारण गर्न जनमतसङ्ग्रहको प्रस्ताव राख्यो तर राजनीतिक र भूराजनीतिक कारणले जनमतसङ्ग्रह कार्यान्वयन हुन सकेन। यो प्रस्तावको असफलताले कश्मीरलाई नसुल्झिएको घाउ बनायो।

सन् १९६५ मा दोस्रो भारत-पाकिस्तान युद्ध भयो। जुन कश्मीरको नियन्त्रण रेखामा केन्द्रित थियो। यो युद्ध ताशकन्द सम्झौताले समाप्त भयो तर दुई देशबीचको अविश्वास कायम रह्यो। सन् १९९९ मा कारगिल युद्धले यो शत्रुतालाई थप गहिरो बनायो। यी युद्धले दुई देशबीचको सैन्य तनावलाई मात्र होइन, जनताको मनमा बसेको घृणा र अविश्वासलाई पनि गहिरो बनाएको देखिन्छ।

कश्मीर विवाद धार्मिक र राजनीतिक मुद्दाका कारण जटिल छ। भारतले कश्मीरलाई आफ्नो अभिन्न अङ्ग मान्छ। भारतले सन् २०१९ मा धारा ३७० खारेज गरेर यो अडानलाई थप बलियो बनायो। यो निर्णयले कश्मीरलाई विशेष स्वायत्तता प्रदान गर्ने संवैधानिक प्रावधानलाई समाप्त गर्‍यो र भारतको केन्द्रीय नियन्त्रणलाई बलियो बनायो।

पाकिस्तानले भने कश्मीरलाई मुस्लिम-बहुल क्षेत्रका रूपमा आफ्नो हिस्सा दाबी गर्छ, र कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको वकालत गर्छ। तर पाकिस्तानको यो अडान पनि विवादास्पद छ।

यो शत्रुता केवल कश्मीरमा सीमित छैन। भारत र पाकिस्तानबीच सांस्कृतिक, आर्थिक र कूटनीतिक प्रतिस्पर्धा पनि छ। क्रिकेट मैदानदेखि संयुक्त राष्ट्रसङ्घको मञ्चसम्म, दुई देशहरू एकअर्कालाई कमजोर पार्ने अवसर खोज्छन्।

उदाहरणका लागि, सन् २०१६ मा भारतले इस्लामावादमा हुने सार्क शिखर सम्मेलनलाई बहिष्कार गर्‍यो, जसले क्षेत्रीय सहयोगलाई कमजोर बनायो। त्यस्तै, भारत र पाकिस्तानबीचको व्यापारिक सम्बन्ध पनि न्यून छ। सन् २०१९ मा भारतले पाकिस्तानलाई ‘मोस्ट फेभर्ड नेसन’ को दर्जा खोसिदियो र दुई देशबीचको व्यापार लगभग ठप्प भयो।

अपरेसन सिन्दूर र त्यसपछिको भारत-पाकिस्तान युद्धलाई भारतीय मिडियाले राष्ट्रिय गौरवको प्रतीकका रूपमा लिए। भारतका प्रमुख टेलिभिजनहरूले ‘पाकिस्तानलाई भारतको करारा जवाफ’ र ‘आतङ्कको अन्त्य’, ‘इस्लामावाद कब्जा’, ‘कराची तवाह’ जस्ता भ्रामक तथा सनसनीपूर्ण शीर्षकहरू राखेका थिए।

यो शत्रुताले दक्षिणएशियाको क्षेत्रीय स्थिरतालाई चुनौती दिएको छ। भारत र पाकिस्तान दुवै आणविक शक्तिराष्ट्र हुन्। यी दुई देशबीचको तनावले विश्वलाई नै चिन्तित बनाउँछ। सन् १९९८ मा दुवै देशले आणविक परीक्षण गरेपछि यो तनाव झन् बढाएको छ।

कश्मीरी जनताको कथा यो विवादको सबैभन्दा दु:खद् कथा हो। दशकौंदेखि हिंसा, सैन्यीकरण र राजनीतिक अस्थिरताले कश्मीरीहरूको जीवन कष्टकर बनेको छ। श्रीनगरका सडकहरूमा सैनिक गस्ती, स्कूलहरूमा बन्द र युवाहरूको बेरोजगारीले कश्मीरीहरूको आशालाई कुण्ठित बनाएको छ।

भारतीय मिडियाको भ्रामक खेती

अपरेसन सिन्दूर र त्यसपछिको भारत-पाकिस्तान युद्धलाई भारतीय मिडियाले राष्ट्रिय गौरवको प्रतीकका रूपमा लिए। भारतका प्रमुख टेलिभिजनहरूले ‘पाकिस्तानलाई भारतको करारा जवाफ’ र ‘आतङ्कको अन्त्य’, ‘इस्लामावाद कब्जा’, ‘कराची तवाह’ जस्ता भ्रामक तथा सनसनीपूर्ण शीर्षकहरू राखेका थिए।

टेलिभिजन स्टुडियोहरू रातदिन बहसले तात्यो, जहाँ विश्लेषकहरूले भारतको सैन्य शक्तिको प्रशंसा गरे। सामान्य नागरिकले भारतले पाकिस्तानलाई लगभग परास्त गरेको विश्वास गरे।

यो कथा यथार्थभन्दा फरक थियो। अपरेसन सिन्दूर एक लक्षित सैन्य कारबाही थियो। जसले आतङ्कवादी शिविरहरूलाई ध्वस्त त पार्‍यो तर यो कुनै पूर्ण युद्ध थिएन, जुन कुरा भारतले त्यतिबेला नै स्वीकार गरेको थियो। त्यसपछिको पाकिस्तानको प्रत्याक्रमणले दुवै देशलाई युद्धको भुमरीमा पुर्‍याएको त देखिएको हो।

पाकिस्तानले यो कारबाहीलाई आफ्नो सार्वभौमसत्तामाथिको आक्रमण ठान्दै सयौं ड्रोन र फाइटर विमान मार्फत प्रतिकार गर्‍यो। केही दिन दुई देशबीच पूर्ण युद्धको सम्भावना देखियो। यसले विश्व बजारमा पनि प्रभाव पार्‍यो।

चीन र फ्रान्सका हतियार कम्पनीहरूको सेयरमा उतारचढाव आयो। पाकिस्तानले भारतको राफेल विमान खसालेको दाबी गर्‍यो र त्यसको प्रभाव देखियो, खासमा यी दुई देशको युद्ध भए पनि चीन र पश्चिमी हतियारको परीक्षण युद्ध जस्तो भयो। जसले चीन हतियार निर्माणमा समेत अब्बल छ भन्ने सन्देश विश्वमाझ स्थापित गरेको जानकारहरू बताउँछन्।

ट्रम्पको हस्तक्षेप र युद्धविराम

१० मे, २०२५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम घोषणा आाफ्नै सामाजिक सञ्जाल (ट्रुथ सोसल) मार्फत गरे। जसले दुई आणविक शक्तिसम्पन्न राष्ट्रलाई ठूलो युद्धको संघारबाट रोकेको मान्न सकिन्छ।

७ मेमा ट्रम्पले यो अवस्थालाई लज्जास्पद भन्दै छिट्टै समाधान होस् भन्ने आशा व्यक्त गरेका थिए। तर भारत र पाकिस्तानबीचको सैन्य कारबाही तीव्र भएपछि र आणविक युद्धको खतरा बढेपछि ट्रम्प सक्रिय भए।

उनले विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भान्सलाई मध्यस्थताको जिम्मा दिए। साउदी अरब, इरान, यूएई र बेलायतको सहयोगमा आठ घण्टाको तीव्र कूटनीतिक प्रयासपछि ट्रम्पले ट्रुथ सोसलमा युद्धविरामको घोषणा गरे। भारतीय समयअनुसार साँझ ५ बजे गोलाबारी रोकियो।

ट्रम्पको हस्तक्षेपका पछाडि आणविक युद्धको जोखिम, अमेरिकाको रणनीतिक स्वार्थ र उनको विश्व शान्ति निर्माताको छवि बनाउने चाहना मुख्य कारण थिए। कश्मीर विवाद र आतङ्कवादको आरोप जस्ता मूल समस्याहरू यथावत् रहँदा भारतले इन्दुस जलसन्धि निलम्बनलाई ‘युद्धको कार्य’ भन्दै पाकिस्तानले आलोचना गरेको थियो। ट्रम्पको मध्यस्थताले तत्काल लडाइँ रोके पनि यो अस्थायी हुनसक्ने सङ्केत बाँकी नै छ।

भारतीय मिडियाको यो राष्ट्रवादी उन्माद नयाँ होइन। सन् २०१६ को उरी हमला र २०१९ को पुलवा हमलापछि पनि यस्तै कथाहरू बुनिएका थिए। भारतीय मिडियाले सैन्य कारबाहीलाई अतिशयोक्तिपूर्ण ढङ्गले प्रस्तुत गर्छ तर मानवीय क्षति, कूटनीतिक जटिलता र दीर्घकालीन परिणामलाई बेवास्ता गरेको सहजै देख्न सकिन्छ।

उदाहरणका लागि, अपरेसन सिन्दूरले पाकिस्तान-अधिकृत कश्मीरमा स्थानीय जनजीवनमा पारेको प्रभावबारे भारतीय मिडियाले गम्भीर छलफलको इस्यु नै देखेन। ‘इन्डस जल सन्धि’ निलम्बनले पाकिस्तानको कृषि र जलस्रोतमा पर्न सक्ने असरलाई पनि बेवास्ता गरियो। जुन मानवीयताको हिसाबले गलत हो।

सामाजिक सञ्जालले यो भ्रमलाई थप बल दियो। एक्स, फेसबुक र युट्युबमा अपुष्ट दाबीहरू र भावनात्मक भिडियोहरू भाइरल भए। एक भाइरल भिडियोमा भारतीय ड्रोनले आतङ्कवादी शिविरलाई ध्वस्त पारेको दृश्य देखाइयो तर यो भिडियोको सत्यता पुष्टि गर्न कठिन थियो। अझ, सामाजिक सञ्जालको एल्गोरिदमले विवादास्पद र भावनात्मक सामग्रीलाई प्राथमिकता दिने भएकाले गलत सूचना चाँडै फैलियो। राष्ट्रवादी ह्यासट्यागहरूले सैन्य कारबाहीलाई पूर्ण विजयका रूपमा चित्रण गर्‍यो।

 सन् १९७१ को सन्दर्भ र आजको भूराजनीतिक यथार्थ फरक छ। त्यतिबेला भारतले बङ्गलादेशको स्वतन्त्रता सङ्घर्षको नैतिक र अन्तर्राष्ट्रिय समर्थन पाएको थियो। आज कश्मीर विवादमा दुवै पक्षका जटिल दाबीहरू छन्।

यो मिडियाको एकतर्फी कथाले जनतालाई ‘हामी भर्सेस उनीहरू’ को मानसिकतामा धकेल्छ। यो मानसिकताले सन्तुलित बहसलाई दबाएको र शान्तिपूर्ण समाधानको सम्भावनालाई कमजोर बनाएको छ। भारतीय मिडियाको यो प्रवृत्तिले लोकतान्त्रिक छलफललाई खोक्रो बनाएको छ।

इन्दिरा गान्धीको विरासत र आजको भ्रम

अपरेसन सिन्दूरले भारतीय समाजमा सन् १९७१ को भारत-पाकिस्तान युद्धको नोस्टाल्जियालाई फेरि जीवित बनाएको छ। सन् १९७१ मा भारतले पूर्वी पाकिस्तान (हालको बङ्गलादेश) लाई स्वतन्त्र गराउन निर्णायक भूमिका खेलेको थियो। तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको नेतृत्वमा भारतले सैन्य र कूटनीतिक रूपमा पाकिस्तानलाई परास्त गर्‍यो। यो युद्धले दक्षिणएशियाको नक्सालाई पुनर्लेखन गर्‍यो र बङ्गलादेशको जन्म भयो।

एकातिर, पूर्वी पाकिस्तानमा अवामी लिगलाई सैन्य तालिम दिएर विद्रोहलाई बलियो बनाउने भूमिका खेल्यो। अर्कोतर्फ, पञ्जाब लगायत सीमावर्ती क्षेत्रमा पश्चिम पाकिस्तान (हालको पाकिस्तान) ले आक्रमण गरेपछि दुवै मोर्चामा भारतीय सेनाले अब्बल प्रदर्शन गरेर करिब ९३ हजार पाकिस्तानी सेनालाई पूर्वी पाकिस्तानमा बन्दी बनाए, जसले पाकिस्तानको नक्सा नै बदलिदियो र बंगलादेशको जन्म भयो।

उता, पश्चिमी पाकिस्तानको क्षेत्रतिर भारतले १३ हजार वर्गकिमीभन्दा धेरै जमिन कब्जा गरेको थियो। जसले हालको पाकिस्तानले अर्को वर्ष नै शिमला सन्धि मार्फत बंगलादेशलाई देशको रूपमा मान्यता दिन बाध्य पारेको थियो।

इन्दिरा गान्धीको नेतृत्वलाई ‘आइरन लेडी’ को उपमा दिइयो। उनले संयुक्त राष्ट्रसङ्घ र सोभियत सङ्घको समर्थन प्राप्त गरिन् र पाकिस्तानको सैन्य शक्तिलाई परास्त गरिन्। यो विजयले भारतलाई दक्षिणएशियाको शक्तिशाली राष्ट्रका रूपमा समेत स्थापित गर्‍यो। भारतीयहरूले यो विजयलाई राष्ट्रिय गौरवको प्रतीकका रूपमा हेर्छन्। अपरेसन सिन्दूर जस्ता घटनाले यो नोस्टाल्जियालाई स्मरण गराउँछ।

सन् १९७१ को सन्दर्भ र आजको भूराजनीतिक यथार्थ फरक छ। त्यतिबेला भारतले बङ्गलादेशको स्वतन्त्रता सङ्घर्षको नैतिक र अन्तर्राष्ट्रिय समर्थन पाएको थियो। आज कश्मीर विवादमा दुवै पक्षका जटिल दाबीहरू छन्।

भारतले कश्मीरी जनताको आत्मनिर्णयको मागलाई दबाएको आरोप खेप्छ, जबकि पाकिस्तानले आतङ्कवादी समूहहरूलाई समर्थन गरेको आरोप सामना गर्छ। अन्तर्राष्ट्रिय समुदायले यो विवादमा तटस्थ रहने प्रयास गर्छ र कुनै पनि पक्षलाई स्पष्ट समर्थन दिंदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?