+
+
Shares
ब्लग :

प्रधानमन्त्रीज्यू, जेन-जी पुस्ता जोगाउनुस्

अब भाषणमा होइन व्यवहारमा, भोलि होइन आजै अहिल्यै, अल्छी होइन सद्बुद्धि सहित नयाँ पुस्तालाई यो देशमै भविष्य देखाउन र यो राज्यप्रति विश्वस्त तुल्याउने वातावरण सृजना गर्नुस् !

रञ्जित तामाङ रञ्जित तामाङ
२०८२ जेठ ९ गते १८:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले भर्खरै कक्षा १२ परीक्षा सकेको जेनजी पुस्ताको भविष्य र वर्तमान अवस्थाको तुलना गर्नुभएको छ।
  • उहाँले पुरानो पुस्ताको अनुभव र वर्तमान पुस्ताको प्रवृत्ति र सोचमा भिन्नता उल्लेख गर्नुभएको छ।
  • लेखकले शिक्षा, राजनीति, र देशभक्ति जस्ता विषयमा सुधार र सचेतनाको आवश्यकता औंल्याउनुभएको छ।

भर्खरै कक्षा १२ को परीक्षा सकिएको छ। विद्यार्थीहरू १३/१४ वर्ष लामो स्कूल जीवन पूरा गरेर लामो सुस्केरा छोड्दै छन्। उनीहरूको मनमा विचार आइरहेको छ— ‘उफ्! बल्ल स्कूल जीवन सकियो, अब कलेज जीवन शुरू गर्छु।’

कोही डाक्टर, कोही पाइलट, कोही इन्जिनियर, कोही म्यानेजमेन्ट, कोही कानून, कोही आर्टस्— विभिन्न विषयमा आफ्नो भविष्य खोज्ने यो पुस्ता आज एउटा नयाँ यात्रामा हिंड्न तयार छ।

कोही देशभित्र पढ्ने तर कहाँ कुन विषय पढ्ने द्विविधामा छन्, केही भने विदेश पढ्न जाने तयारीमा छन्। हरेकका बेग्लाबेग्लै सपना छन्, उद्देश्य छ, परिबन्ध पनि होला। रहर, बाध्यता सबैका हुन्छन्।

हुन त अहिले जेनजी (जेनेरेसन जी) पुस्ताको बढी चर्चा छ, जुन पुस्ता दोस्रो विश्वयुद्ध (सन् १९४५) पछिको चौथो (फोर्थ जेनेरेसन) हो। जेड पुस्ता जन्म वर्ष १९९७-२०१२ भित्र जन्मिएका र हालको उमेर १२-२७ वर्ष उमेर समूहको हो। जो भर्खरै कक्षा १२ को परीक्षा दिएको पुस्ता छ, यो चाहिं जेनजीको अन्तिम तहको पुस्ता हो। यसपछि अल्फा पुस्ता अर्थात् सन् २०१३ देखि अहिलेसम्मको पुस्ता आउँदै छ।

रञ्जित तामाङ

म जेन-जी पुस्ताको कुरा गर्दैछु। मैले यही पुस्तालाई आजको पुस्ता भनेको हुँ। जो स्कूल छोड्दै छ, कलेजसँग जीवन जोड्दैछ। हाम्रो पुस्ता ‘जेनेरेसन वाई’ र जेनेरेसन-जेडका सोच, बुझाइ र व्यवहारको भिन्नताको तुलना गर्दैछु।

वास्तवमा, यो पुस्ता बालिग बन्दै गरेको ‘नागरिक’ वा ‘भविष्य’ पुस्ता पनि हो, जो योग्यता साबित गर्न आतुर छ। त्यसका लागि उचित समय र सही अवसर खोजी गर्दैछ।
वर्तमान पुस्ता जेनेरेसन-जेड स्मार्ट मानिन्छ। भनिन्छ कि भविष्यमा अल्फा पुस्ता झनै स्मार्ट भएर आउने छ, सायद सुपर स्मार्ट। तर हाम्रो विगतको (भूत) पुस्ता चाहिं वाई पुस्ता (मिलेनियल्स)। सरदरको पुस्ता।

जेन-जी हामीभन्दा पछिको एक पुस्ता भनिए तापनि एउटै पुस्ताको फरकमा पनि विराट भिन्नताहरू छन्। त्यसपछिको अल्फासँगको भिन्नता त झनै कहाँ हो कहाँ छ। एक पुस्ता फरकले कति धेरै फरक पर्दछ भनेर पनि म तुलनात्मक अनुभव साझा गर्नेछु यो आलेखमा।

हाम्रो पुस्ताले फरक प्रकारको समाजको अनुभव गर्‍यो। आजको जस्तो राजनीतिक परिवर्तन थिएन, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान थिएन। एकाध बाहेक अधिकांशले सार्वजनिक विद्यालय नै पढ्नुपर्ने थियो। स्वास्थ्यको आजको जस्तो सुविधा थिएन। बुवाआमालाई घरका कामहरू सघाउनुपर्ने थियो। अर्मपर्म जानुपर्ने, ऐंचोपैंचो गर्नुपर्ने चलन थियो।
फुर्सद निकालेर खेल खेलिन्थ्यो, गाईवस्तु चराउन गोठाला गइन्थ्यो। विभिन्न धर्म र संस्कृतिका फरक-फरक संस्कार जन्म, विवाह, मृत्यु देखिन्थ्यो। सरकारले बिदा नदिए पनि फरक चाडपर्वहरूको अनुभूत गरिन्थ्यो। खेतीपाती-मेलापात, भाइबहिनीहरूको हेरचाह, घरको काम, बाहिरको काम, सबै सारा गर्थ्यौं।

त्यसबेला सूचनासञ्चार, रहनसहन, गीत–संगीत, भेषभुषा लगायत तमाम कुराहरूमा आजको नयाँ पुस्तासँग तुलना गरेर हेर्दा आकाश जमिनको फरक पाउँछु।एक ढङ्गले भन्ने हो भने हाम्रो जेनेरेसन अथवा वाई जेनेरेसन न्यून प्रविधि (लो-टेक)मा हुर्कियो। तर अहिलेको जेनेरेसन जी भने (हाई-टेक) बढी प्रविधिको प्रयोगसँगै हुर्कियो। त्यसैले हामीले सोच्ने, हामीले बुझ्ने, हामीले गर्ने व्यवहार पनि पुरानो परम्परागत जस्तो देखिने र अहिलेको नयाँ जेनेरेसनको सोच, बुझाइ र व्यवहार हाम्रो लागि अनौठो लाग्नेरहेछ।

विरोधाभास पनि कतिसम्म छ भने हामी हाम्रो अनुभव हाम्रो भोगाइको हिसाबले हेर्दाखेरि अहिलेको पुस्तालाई हामी असाध्यै अव्यावहारिक, असाध्यै कच्चा पुस्ता ठान्छौं। तर अहिलेको जेनेरेसन जेडको ठाउँमा बसेर हेर्दा हामी असाध्यै पुरानो, असाध्यै पुरातन र सन् १९१४ को कथाका पात्र जस्तो हुन्छौं।

हामी त्यतिबेला राजनीतिक अधिकारको बारेमा चासो राख्थ्यौं। समाजका सुखदु:खको बारेमा पीर–व्यथा, अन्याय, अत्याचार, शोषण, उत्पीडन, दमन लगायत बारेमा चासो राख्थ्यौं। अहिलेका पुस्तालाई राजनीतिक चेतनाको कुरा गर्दा पहिलो कुरा त राजनीतिप्रति खास चासो राख्दैन, दोस्रो कुरा जसले राजनीतिप्रति चासो राख्छ, उसले राजनीतिलाई फोहोरी खेल मान्दछ।

राजनीतिक परिवर्तनको कुरा गर्ने हो भने पनि खासगरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका आधार र २०७२ मा निर्मित संविधानमा भएका अधिकारहरू के–कस्ता छन् र के–कसरी प्राप्त भए ? भनेर समेत अहिलेको पुस्ता कमै मात्र जानकार होला कि !

यो पुस्ता राजनीतिबाट निराश छ। त्यो भनेको राजनीतिले नेतृत्व गर्ने शासन प्रणालीप्रति पनि निराशा हो। राजनीतिक नेतृत्वले यो कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ।फरक त यतिसम्म छ कि हाम्रो पुस्तालाई मनपरेको गीत आजको पुस्तालाई कत्ति पनि मन पर्दैन, हामीले लगाउने ड्रेस उनीहरूले भुल्न थाले।

हाम्रो समयमा जो आइडल थियो, त्योसँग उनीहरूको कुनै साइनो सम्बन्ध छैन। अझ, हाम्रो समयमा हामीलाई मनपर्ने हिरो हिरोइन, भिलेन वा फिल्म, कथा, पुस्तक वा नेता-नेतृत्व, पार्टी, विचार उनीहरूलाई मन पर्दैन।

समय पनि होला, आफ्नो समयको हिरो आफ्नै हुन्छ। आफ्नो समयको कथा आफ्नै हुन्छ। आफ्नो समयको पुस्तक र आइडलहरू पनि आफ्नो आफ्नै हुने रहेछ। यो स्वाभाविक हो।

अझ कतिसम्म जेनेरेसन वाई र जेनेरेसन जी बीचमा भिन्नता रहेको छ भने एउटै टेलिभिजन हेर्न पर्‍यो भने हाम्रो च्यानल छनोटहरू पनि फरक–फरक हुन्छ। एउटै गाडीमा यात्रा गर्दाखेरि गीत सुन्नुपर्‍यो भने हाम्रो छनोटहरू आफ्नो आफ्नै हुन्छ। मलाई लाग्छ खानेकुरामा पनि हाम्रा धेरै भिन्नताहरू छन्। हामीलाई लोकल चिजहरू मनपर्छ। हामीले सानोमा खाएका चिजहरू मनपर्छ। तर उनीहरूलाई हामीले खाएको धेरै कुराहरू मन पर्दैन। यसरी यो दुइटा जेनेरेसनको बीचमा धेरै ठूलो भिन्नताहरू छ।

प्रविधिको विकाससँगै समाजको, मानवको चेतनास्तरमा भएको वृद्धि आजको ग्लोबल भिलेजको कारणले हो। नयाँ पुस्ता असाध्यै आधुनिक रूपमा देखापरेको छ। तर मलाई यो पुस्ताको आधुनिकतासँग भन्दा बढी यसले आफ्नो देशको विचार, संस्कृति, रीतिरिवाज, परम्परा र यहाँको मौलिकतालाई भुल्ने हो कि भन्ने कुरामा चिन्ता लागेको छ।

किनकि भर्खरै कक्षा १२ को परीक्षा दिएको मेरो छोरीलाई म सोध्छु। तिमीलाई मनपर्ने गायक को हो ? मन पर्ने गीत ? मनपर्ने कलाकार ? मन पर्ने खेलाडी ? मन पर्ने नेता ? मन पर्ने खाना? मन पर्ने नाना ? यस्तै यस्तै प्रश्नहरू उत्सुकतापूर्वक सोधेको हुन्छु। तर उसको उत्तर अनपेक्षित छ। एकाध बाहेक अहिलेको पुस्ताको रोजाइमा नेपालीपन भेट्न गाह्रो छ। यो नयाँ पुस्ताको प्रवृत्ति हो।

हामीले गम्भीर समीक्षा गर्नुपर्दछ कि हामीले देशको लागि जनशक्ति उत्पादन नगरेर विश्व बजारका लागि जनशक्ति उत्पादन गर्दै गर्दा यसले हाम्रो ब्रेन मात्रै ड्रेन भएको छैन, एउटा ठूलो पूँजी र जनशक्ति बाहिरिरहेको छ।

उत्पादनको कुरा गर्दा, रोजगारी र आत्मनिर्भरताको कुरा गर्दा अहिलेको पुस्ता परम्परागत ढर्रामा छैन। उनीहरू पूर्ण यान्त्रिक उत्पादन प्रणाली चाहन्छ। भर्चुअल र डिजिटल व्यवसायमा आकर्षित छ। जुन आजको देशको अवस्था र राज्यको हैसियत हेर्दा आकाशको फल बराबर लाग्दछ ।

अहिले आउँदै गरेको जेनजी पुस्ता यी तमाम कुराहरूमा स्वदेशी आफ्नो माटो, आफ्नो हावापानी भन्दा बढी विश्व बजारमा आकर्षित भएको देख्दा मलाई चिन्ता लाग्छ कि, अब आउने नयाँ पुस्ता जसलाई हामी अल्फा पुस्ता भन्छौं, त्यसमा यसको असर अझ बढी पर्‍यो भने के होला ?

अतः मलाई लाग्छ हाम्रो शिक्षा प्रणाली देशको हावापानी र माटो सुहाउँदो मौलिक हुन सकेन जसको कारणले स्वदेशी जनशक्ति कम विश्व बजारको जनशक्ति बढी उत्पादन भयो। फेरि पनि हाम्रो शिक्षा बेरोजगार उत्पादनको कारखाना भयो।

शिक्षा फेल भयो भने देश नै फेल हुन्छ, म यस प्रकारको समस्या ग्रामीण र शहर भेगमा अध्ययनरत पुस्ताहरूमध्ये शहरी पुस्ताहरूमा धेरै यस प्रकारको प्रवृत्ति देख्छु र त्यसमा पनि सबैभन्दा धेरै निजी शैक्षिक संस्थाहरूमा अध्ययन गर्ने पुस्ता धेरै प्रभावित पाउँछु। कतै हाम्रो अवस्था पनि त्यस्तै भएको होइन ? गम्भीर रूपले समीक्षा हुन जरूरी छ।

अनि हामीले गम्भीर समीक्षा गर्नुपर्दछ कि हामीले देशको लागि जनशक्ति उत्पादन नगरेर विश्व बजारका लागि जनशक्ति उत्पादन गर्दै गर्दा यसले हाम्रो ब्रेन मात्रै ड्रेन भएको छैन, एउटा ठूलो पूँजी र जनशक्ति बाहिरिरहेको छ।

यसको लागि राज्यले आवश्यक नीति बनाएर शिक्षा ऐन मार्फत सार्वजनिक विद्यालयहरूलाई स्तरोन्नति, पाठ्यक्रमहरूलाई नेपाली मौलिकता अनुरूप व्यवस्थित गर्न सकेनौं भने कालान्तरमा देश युवा पुस्ता विहीन कमजोर र असफल देश बन्ने निश्चित छ। तसर्थ करिब ५ लाखको संख्यामा भएको आजको जेनजीको अन्तिम पुस्तालाई कसरी उत्पादनमा जोड्ने, रोजगारमा जोड्ने र देशमै रहने वातावरण बनाउने भन्ने कुरा राज्यले जिम्मेवार भएर सोच्नुपर्दछ।

जेनजी पुस्तालाई मात्रै हामीले देशमा भविष्य छ भनेर विश्वस्त बनायौं भने त्यसपछाडि आउने नयाँ पुस्तालाई जेनजी पुस्ताले नै अपिल गर्नेछ र उदाहरण पेश गर्नेछ- हामी यही देशमा बसेर आत्मनिर्भर, स्वावलम्बी र स्वाभिमानपूर्वक जीवन निर्वाह गर्न सक्छौं त्यसको उदाहरण जेनजी हो भनेर। त्यो वातावरण राज्यले बनाउनुपर्छ।

यदि त्यसो गर्न सकिएन भने रेमिट्यान्सले मात्रै मुलुक कहिलेसम्म चलाउने ? स्वदेशमा आफन्तहरूमा शोक पर्दाखेरि छोराछोरीहरू विदेशबाट बोलाउनुपर्ने भयावह चित्रण नेपाली समाजमा देखिरहेको छ त्यो अझै बढेर जानेछ।

आजको राजनीतिको नेतृत्व तहमा रहेको पुस्ताले गम्भीरतापूर्वक सोच्नुपर्दछ कि यो युवाहरूमा राजनीतिप्रति भएको चरम निराशालाई कसरी आशामा बदल्ने ? राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टिलाई कसरी सन्तुष्टमा बदल्ने ? हाम्रा युवाहरूलाई विदेशमा होइन स्वदेशमै जीवन खोज्ने कसरी बनाउने ? हाम्रा युवाहरूलाई यही देशमा स्वाभिमानी नेपाली भई बाँचौं भनेर कसरी भन्ने ?

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै, मूल समारोहमा राष्ट्रपति पनि सहभागी  हुने – Online Khabar

कक्षा १२ को परीक्षा पछाडि घरको पारिवारिक र व्यक्तिगत जीवनको सुन्दर सपना पूरा गर्न हर दिन मरुभूमिमा रगत र पसिना बगाउनेहरूलाई एक थोपा रगत र पसिनाले आफ्नै देश बनाउँ भनेर कसरी देशप्रेम जगाउने ?

कहिले इराक, कहिले अफगानिस्तान र कहिले रसिया र युक्रेनको ‘वार जोन’ मा जीवन खोजिरहेको नेपालीहरूलाई त्यो साहस र ऊर्जा देश निर्माणमा लगाउने देशभक्तिको बाटो कसले देखाउने ?

सीता र भृकुटीको हाम्रो देशका छोरीहरू संसारभरि भविष्य खोज्न, अध्ययन गर्न जाने क्रममा बलात्कृत, हत्यारा, आत्महत्या जस्ता नृशंस घटनाका शृङ्खलाहरू रोक्ने र हरेक छोरीलाई यो देशको प्रतिनिधित्व गर्ने गौरवपूर्ण अवसरको ग्यारेन्टी कसले गर्ने ? साहुको ऋण काढेर आफ्नो छोराछोरीको भविष्यको लागि आधा पेट खाएर आफ्नै मलामी समेत आइनपुग्ने आफ्ना छोराछोरीहरूलाई बिदा गर्दा एयरपोर्टमा रुँदै गरेका बुवाआमा र परिवारको आँसु कसले पुछ्ने?

‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भनेर खुब फलाक्नुहुन्छ तर बिचौलिया, तस्कर र भ्रष्टहरूसँग मात्र किन प्रेमभाव छ? भन्न त आफ्नो सम्पत्ति केही छैन, सबै दान गरिसकें, बाँकी जीवन देशकै लागि भन्नुहुन्छ। तर देश विदेशबाट तिरष्कृत र बहिष्कृत हुनुपरिरहेको छ?

प्रधानमन्त्री ओली आफूलाई युवाकरण गर्नको लागि युवाहरूसँग सेलिब्रेसन लगायतका कार्यक्रमहरू गर्न खुब रुचाउनुहुन्छ। लाखौं लाख जेनजी पुस्ता आफ्नो भविष्यको चिन्तामा छन्। उनीहरूलाई सुनौलो भविष्य देखाएर यो देशमै रहन सक्ने वातावरण बनाउनेतर्फ प्रधानमन्त्रीको ध्यान किन जाँदैन?

‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भनेर खुब फलाक्नुहुन्छ तर बिचौलिया, तस्कर र भ्रष्टहरूसँग मात्र किन प्रेमभाव छ? भन्न त आफ्नो सम्पत्ति केही छैन, सबै दान गरिसकें, बाँकी जीवन देशकै लागि भन्नुहुन्छ।

सुन्दा भावुक छ, देशप्रेमले ओतप्रोत छ तर व्यवहारमा किन दर्शाउनुहुन्न र आज देश विदेशबाट तिरष्कृत र बहिष्कृत हुनुपरिरहेको छ? यो आफैंमा आश्चर्यचकित हुनुपर्ने र ताज्जुबको विषय भएन र? अब भाषणमा होइन व्यवहारमा, भोलि होइन आजै अहिल्यै, अल्छी होइन सद्बुद्धि सहित नयाँ पुस्तालाई यो देशमै भविष्य देखाउन र यो राज्यप्रति विश्वस्त तुल्याउने वातावरण सृजना गर्नुस् !

एमाले अध्यक्ष केपी ओली चार पटक प्रधानमन्त्री हुनुभयो, दुई पटक दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री हुनुभयो। भावुक मन्तव्य दिने प्रधानमन्त्री जेन-जी पुस्ताले भविष्य देखेर भावी दिनमा पनि सम्झिने बन्नुस्, पाइलैपिच्छे धिक्कार्ने नबन्नुस्। जाबो एउटा शिक्षा विधेयक पारित गर्न सक्नुहुन्न। अध्यादेश पारित गर्न सक्नुहुन्न। एउटा गभर्नर नियुक्ति गर्न महाभारत भयो। यो कस्तो दुई तिहाइ हो ?

काबिल व्यक्तिलाई विधि मासेर सके काबुमा राख्ने नसके बहिष्करणमा पार्ने यो कस्तो सुशासन कायम गर्दै हुनुहुन्छ? बिचौलियाको सीमित घेरामा होइन जनताको चौघेरामा रहनुस्। सदाचारी बन्नुस अत्याचारी होइन। जेनजी पुस्ता जोगाउनुस्, जेनजीको ज्यान खाने गरी हुर्मत नलिनुस् !

वास्तवमा जेनजी पुस्ता लक्ष्मीप्रसाद देवकोटाको कविता जस्तै साग र सिस्नु खाएको बेस आनन्दी मनले भनेर आफ्नै बुबाआमा, परिवारसँग बसेर सुन्दर भविष्य बनाउन चाहन्छन्। यसको लागि आफ्नो पुस्ताको सपनाको भार उठाउने एउटा सपूत खोजिरहेछन् जेनजी पुस्ता।

र, सायद उनीहरूले यसबेला शिशिर योगीको गीत सम्झेका होलान् यो देशमा म एउटा मानिस खोजिरहेछु जसले सपना बुझोस्, भावना बुझोस् र त्यस अनुरूप काम गरोस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?