News Summary
Generated by OK AI. Editorially reviewed.- प्रथम एसियाली मिक्स बक्सिङ प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा सुरु हुनेछ ।
- प्रतियोगितामा ६ राष्ट्रका १५० खेलाडी सहभागी हुनेछन् ।
- प्रतियोगितामा सिनियर, सब जुनियर र जुनियर गरी विभिन्न ३० स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
१० जेठ, काठमाडौं । नेपाल मिक्स बक्सिङ संघ, उमा नेपाल र बूढानीलकण्ठ कुङफुको संयुक्त आयोजनामा प्रथम एसियाली मिक्स बक्सिङ प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, थाइल्यान्ड, बंगलादेश र श्रीलंका गरी ६ राष्ट्रका १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक मिक्स बक्सिङ संघका अध्यक्ष सुकमान लामाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । इराक, इरान र अफ्गानिस्तानका प्रतिनिधि पनि प्रतियोगिताका लागि नेपाल आउने छन् ।
बूढानीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा सिनियर, सब जुनियर र जुनियर गरी विभिन्न ३० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । कुनैपनि मार्सल आर्ट्सको राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी प्रतियोगितामा सहभागी हुन पाउने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । सहभागीको खाना र बसोवासको व्यवस्थापन आयोजकले गर्ने छ ।
दुईदिने प्रतियोगिताका खेलहरु बूढानीलकण्ठ नगरपालिका वडा ३ स्थित बूढानीलकण्ठ ब्याङ्क्वेटमा खेलाइने छ ।
प्रतिक्रिया 4