+
+
Shares

फिल्म शोलेबारे ४५ रोचक तथ्य

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते ७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • 'शोले' चलचित्र ५० वर्षपछि पनि सांस्कृतिक प्रभाव कायम राख्दैछ।
  • यसले भारतको पहिलो ७० मिलिमिटर, स्टीरियोफोनिक साउन्ड चलचित्र थियो।
  • निर्माण र कलाकारहरूको मेहनतले यसलाई ब्लकबस्टर र सांस्कृतिक प्रतीक बनायो।

रमेश सिप्पीको ‘शोले’ (१९७५) ले हिन्दी सिनेमाको दिशा नै बदलिदियो । यसले संलग्न कलाकारहरूको जीवन परिवर्तन गर्‍यो । व्यावसायिक चलचित्रको सफलताको मानक बन्यो । यो चलचित्र दुई साथीहरू जय (अमिताभ बच्चन) र वीरु (धर्मेन्द्र) को कथा हो । उनीहरूले ठाकुर (संजीव कुमार) को तर्फबाट डाकु गब्बर सिंह (अमजद खान) लाई सजाय दिन्छन् ।

यसका पात्रहरूले बोल्ने संवादहरू आम व्यक्तिका मुखमा अहिले पनि झुण्डिरहेका छन् । कताकता यसका पात्रहरू हाम्रै सांस्कृतिक परम्पराको अङ्ग पनि बनेका छन् । अहिले चलचित्र रिलिज भएको ५० वर्ष भइसकेको छ । तर यसका यस्तै धेरै रोचक तथ्यहरू तपाईंलाई थाहा नभएको हुन सक्छ ।

१. सन् १९९९ मा बीबीसी इन्डिया र अन्य सर्वेक्षणहरूले ‘शोले’लाई मिलेनियमको चलचित्र घोषित गरेको थियो ।

२. सन् १९७५ देखि १९८० सम्म मुम्बईको मिनर्वा थिएटरमा ‘शोले’ लगातार पाँच वर्षसम्म निरन्तर प्रदर्शन भएको थियो ।

३. ‘शोले’ भारतको पहिलो ७० मिलिमिटर, स्टीरियोफोनिक साउन्ड चलचित्र थियो । तर मिनर्वा थिएटरमा फिल्मको प्रिमियर भने ३५ मिमी प्रिन्टले गरिएको थियो । किनकि ७० मिमी प्रिन्टहरू भन्सारमा अड्किएका थिए ।

४. चलचित्रका लेखक सलिम खान र जावेद अख्तरले साइनिङ रकमको रूपमा १० हजार भारु पाएका थिए, जुन १९७० को दशकमा ठूलो रकम थियो ।

५. अभिनेता संजीव कुमारले ‘ठाकुर’को नभई ‘गब्बर’ को भूमिका खेल्न इच्छा देखाएका थिए । त्यसैले निर्देशकलाई उक्त भूमिकामा आफू ठिक रहेको देखाउन उनले आफ्नो दाँत कालो पार्ने र कपाल मुण्डाउने सम्मको प्रस्ताव गरेका गरेका थिए ।

६. धर्मेन्द्र ठाकुरको भूमिका खेल्न चाहन्थे । तर निर्देशकले उनले त्यसो गरेमा हेमा मालिनी संजीव कुमारको हुन सक्छिन् भनेर सम्झाएका थिए । किनकि धर्मेन्द्र-हेमा प्रेमकथा भर्खर सुरु हुँदै थियो । तर संजीवले पहिले नै हेमालाई विवाहको प्रस्ताव गरिसकेका थिए ।

७. निर्माताहरूले सुरुमा जयको भूमिकाका लागि शत्रुघ्न सिन्हालाई विचार गरेका थिए ।

८. जयको भूमिकामा अमिताभ बच्चनलाई सलीम खानले सिफारिस गरेका थिए । यस कुरामा केही विरोध भए पनि पछि सबै सहमत भएका थिए ।

९. सुरुमा दिलीप कुमारलाई ठाकुरको भूमिका प्रस्ताव गरिएको थियो । तर उनले अस्वीकार गरे । पछि भने पछुतो लागेको उनले बताएका थिए ।

१०. डेनी डेन्जोङ्पालाई गब्बर सिंहको भूमिका प्रस्ताव गरिएको थियो । तर त्यसबेला उनी ‘धर्मात्मा’ को सुटिङमा व्यस्त थिए ।

११. राधा (जया बच्चन)ले बत्ति निभाउने र जय (अमिताभ बच्चन)ले हार्मोनिका बजाउने एक मिनेटको दृश्य खिच्न सिनेमेटोग्राफरलाई २० दिन लागेको थियो । किनकि यो कुरा सूर्यास्तको ‘म्याजिक आवर’मा खिचिएको थियो ।

१२. गब्बरले ठाकुरको परिवारलाई मार्ने दृश्य खिच्न टिमलाई तीन शेड्युलमा २३ दिन लागेको थियो ।

१३. गब्बर सिंह चलचित्रको केवल ९ दृश्यहरूमा देखिन्छन् ।

१४. सलीम खानका बुबाले उनलाई गब्बर नामक एक कुख्यात डाकुको कथा सुनाउने गर्थे । उनी प्रहरी थिए । त्यहीबाट फिल्मको पात्र गब्बर सिंहको नाम आएको हो ।

१५. फिल्मको पात्रको नाम ठाकुर बलदेव सिंह वास्तवमा सलीम खानका ससुराको नाम हो ।

१६. बैंगलोरको हरियाली क्षेत्रमा सुटिङ गर्दा धेरैले राजस्थान जस्ता क्षेत्रमा खिचिनुपर्ने भनेर असन्तुष्टि जनाएका थिए ।

१७. यो फिल्म सुरुमा ६ महिनाभित्रमा खिचिसक्ने योजना थियो । तर सुटिङ नै एक वर्षभन्दा बढी समय लगाएर गरिएको थियो । यसको कारण भनेको कलाकारहरूको तालिका नमिल्नु थियो ।

१८. गब्बर लुक्ने दृश्यहरू बैंगलोरको रामनगरमा शूट गरिएको थियो । पछि सो ठाउँको नाम नै निर्देशक रमेश सिप्पीको सम्मानमा ‘सिप्पी नगर’ नामाकंन गरिएको थियो ।

१९. फिल्मको क्लाइमेक्स दृश्यका लागि वास्तविक गोलीहरू प्रयोग गरिएको थियो । त्यसो गर्दा अमिताभ बच्चन बालबाल बचेका थिए । किनकि धर्मेन्द्रले गोली हान्द इन्चभरले मात्र चुकेको थियो ।

२०. यो फिल्म अघि डाकुहरूलाई धोतीकुर्तामा देखाइन्थे । तर यसमा भने गब्बर सिंहलाई एक आधुनिक डाकुको रूपमा देखाइएको छ । त्यसमाथि पनि उसले सैनिक पोशाक लगाउने गर्छ ।

२१. गब्बर पात्रको लुगा मुम्बईको चोर बजारबाट किनिएको थियो । त्यसलाई अमजद खानले दिनरात लगाएर पुरानो बनाएका थिए ।

२२. गब्बर सिंहको चरित्र यति प्रसिद्ध भयो कि ब्रिटानिया बिस्कुटले अमजद खानले बिस्कुट खाँदै गरेको विज्ञापन बनायो । कुनै पनि खलनायक चरित्रलाई लिएर कम्पनीको उत्पादनमा प्रचार गरिएको यो पहिलो भारतीय घटना थियो । तर विज्ञापन सफल भयो । र तत्कालै उत्पादनको विक्री दोब्बर भयो ।

२३. ग्लुकोज बिस्कुटदेखि ग्राइप वाटरसम्मको विक्री वितरणमा ‘शोले’ प्रयोग गरिएको छ ।

२४. ‘शोले’को स्क्रिप्ट सुरुमा प्रकाश मेहरालाई दिइएको थियो । तर त्यसबेला उनी ‘जंजीर’मा व्यस्त थिए । त्यसपछि मात्र स्क्रिप्ट रमेश सिप्पीको हातमा पुगेको थियो ।

२५. सुरुमा ठाकुरको भूमिकामा प्राणलाई विचार गरिएको थियो । उनले त्यसअघि सिप्पीका अन्य चलचित्रहरूमा काम गरिसकेका थिए । तर रमेश सिप्पी संजीव कुमारको प्रतिभामा आश्वस्त थिए।

२६. फिल्ममा एउटा पानी ट्यांकीको दृश्य छ । जहाँ चढेर वीरुले आत्महत्या गर्ने धम्की दिन्छन् । तर स्क्रिप्टमा त्यो लिखिएको थिएन । लेखक जावेदले बैंगलोर एयरपोर्ट जाँदै गर्दा गाडीमा बसेर त्यो सिन लेखेका थिए ।

२७. जयको सिक्का पल्टाउने सीप ‘गार्डेन अफ इभिल’बाट प्रेरित भएर लिइएको थियो ।

२८. ठाकुरको परिवारको हत्या गर्ने दृश्य ‘वान्स अपन अ टाइम इन त वेस्ट’ बाट प्रभावित थियो ।

२९. सुरुको स्क्रिप्टमा सूरमा भोपाली (जगदीप)को पात्र थिएन । त्यो जावेदले पछि मात्र थपेका थिए ।

३०. रेकर्ड गरिए पनि ‘के चाँद सा कोई चेहरा’ नामको गीत फिल्म समावेश गरिएको थिएन । यो गीत आनन्द बख्शीले लेखेका थिए भने मन्ना डे, किशोर कुमार र भूपेन्द्रले गाएका थिए ।

३१. ‘के चाँद सा कोई चेहरा’मा गीतकार बख्शीले पनि गाएका थिए । तर फिल्ममा यो गीत नराखेका कारण उनले निर्माण टोलीसँग लामो समय गुनासो गरिरहे । किनकि उनले सोचेका थिए कि सो गीतबाट उनले  गायकको रूपमा करियर बनाउन सक्थे ।

३२. अभिनेता सचिन पिलगांवकरलाई पारिश्रमिक स्वरूप एउटा फ्रिज दिइएको थियो ।

३३. धर्मेन्द्रले रोमान्टिक दृश्यहरूमा बारम्बार लाइट बिग्रियोस् भनेर लाइट ब्वाइहरूलाई पैसा दिन्थे । यसको कारण हेमा मालिनीलाई बारम्बार अँगालो हाल्नु थियो ।

३४. फिल्मको ओरिजिनल इन्डिङमा ठाकुरले आफ्नो खुट्टा प्रयोग गरेर गब्बरको हत्या गरेका थिए । किनभने उनको दुवै हातहरू गब्बरले काटिदिएको हुन्छ ।

३५. तर सेन्सर बोर्डले उक्त दृश्य धेरै हिंसात्मक भएको भन्दै अन्त्य परिवर्तन गर्न लगाएको थियो । त्यसले गर्दा यसको क्लाइमेक्स फेरि खिचिएको थियो ।

३६. ‘मेहबूबा’ गीतमा देखाइएको दृश्यहरू स्क्रिप्टमा थिएन । तर निर्देशक ‍सिप्पीले लन्डनमा डेमिस रुसोसको ‘से यू लभ मी’ सुनेपछि यसको रचना गरेका थिए ।

३७. चलचित्र छायांकन हुँदै गर्दाको समयमा नै सम्पादन पनि सुरु गरिएको थियो ।

३८. यस फिल्म सुरुमा ३ लाख फिट निगेटिभमा खिचिएको थियो । तर पछि घटाएर २० हजार फिटमा झारिएको थियो ।

३९. जावेदले सुरुमा फिल्मको नाम ‘अंगारे’ राखेका थिए । पछि मात्र ‘शोले’ राखिएको थियो । जुन सलीम खानको विचार थियो ।

४०. ‘मेहबूबा’ गीत आशा भोसलेले गाउन नमानेपछि आर.डी. बर्मनले आफैँ गाएका थिए । भोसलेलाई बुढी जिप्सी महिलाको आवाजमा गाउन लगाइएको थियो ।

४१. सुरुको चलचित्रको बजेट १ करोड थियो । तर अन्तिम खर्च ३ करोड पुगेको थियो ।

४२. जावेदलाई सुरुमा सबैले यो फिल्म फ्लप हुने बताएका थिए । तर त्यस्तो भन्ने सबै गलत प्रमाणित भए ।

४३. बक्स अफिसको प्रारम्भिक रिपोर्टहरूले ‘शोले’ फ्लप हुने देखिएको थियो । तर निर्माण टोलीले फिल्मले १ करोड कमाउने छ भनेर विज्ञापन गरेका थिए ।

४४. यो चलचित्र १०० भन्दा बढी सिनेमाघरहरूमा २५ हप्तासम्म लगातार प्रदर्शन भएको थियो ।

४५. दर्शकमाझ ब्लकबस्टर साबित भएको ‘शोले’ले मात्र एक फिल्म फेयर अवार्ड (बेस्ट एडिटिङ) जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?