+
+
Shares
अफबिट :

क्लियोपेट्रा : रहस्यमयी सुन्दरी शासकको पतन कसरी भयो ?

क्लियोपेट्रा ई.पू. ६९ मा मिश्रका राजा प्टोलमी बाह्रौँ आउलेट्स र एक अज्ञात आमाबाट जन्मिएकी थिइन् । ३०५ ई.पू.देखि मिश्रमा शासन गरिरहेको प्राचीन प्टोलमी राजवंशकी सदस्य थिइन् उनी ।

सापेक्ष सापेक्ष
२०८२ जेठ ३१ गते १९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्लियोपेट्राले आफ्नो सौन्दर्य, बुद्धि र रणनीतिक क्षमताहरू प्रयोग गरी मिश्रको शासन गरेकी थिइन्।
  • उनले रोमन शासक जुलियस सिजर र मार्क एन्टनीसँग सम्बन्ध राखेकी थिइन् र अन्ततः आत्महत्या गरेकी थिइन्।
  • उनको जीवन र कार्यहरू आज पनि सांस्कृतिक र ऐतिहासिक रूपमा चर्चित र विवादास्पद छन्।

के उनी असाध्यै सुन्दरी थिइन् ? यो विषय विवादास्पद छ । के उनी मोहिनी थिइन् ? सम्भवतः थिइन् । के उनी अत्यन्तै चलाख राजनीतिज्ञ थिइन् ? के लैङ्गिकता र शक्ति दुवैलाई प्रयोग गरेर उनले आफ्नो लक्ष्य पूरा गरेकी थिइन् ? यी निः सन्देह कुरा हुन् ।

मानव इतिहासमा क्लियोपेट्रा सातौं जत्तिकै चर्चित, विवादास्पद र मोहित व्यक्ति थोरै छन् । आफ्नै राजवंशको अन्तिम सदस्य बन्ने नियति पाएकी मिश्रकी यी फारोह (शासक)ले रोमन साम्राज्यको विस्तारका लागि सबै हद पार गरेकी थिइन् । प्राचीन मिश्रको हितका लागि उनले प्रयोग गरेको आफ्नो सौन्दर्य, बुद्धि र रणनीतिक क्षमताहरू सधैं चर्चाको विषय हुने गर्छन् ।

तर इतिहासकी सबैभन्दा चर्चित महिलाहरूमध्येकी एक क्लियोपेट्राबारे इतिहासकार तथा पुरातत्त्वविद्हरूबीच एकमत छैन ।

‍को थिइन् उनी ?

क्लियोपेट्रा ई.पू. ६९ मा मिश्रका राजा प्टोलमी बाह्रौँ आउलेट्स र एक अज्ञात आमाबाट जन्मिएकी थिइन् । ३०५ ई.पू.देखि मिश्रमा शासन गरिरहेको प्राचीन प्टोलमी राजवंशकी सदस्य थिइन् उनी ।

यस राजवंशले केही मिश्रको धार्मिक परम्पराहरूलाई अपनाए ता पनि शासन भने मुख्यतः ग्रीक शहर अलेक्जान्द्रियाबाट चलाउने गर्थ्यो । त्यसैले क्लियोपेट्राको भाषा कोइन ग्रीक थियो । तर उनले मिश्र भाषा पनि सिकेकी थिइन् । त्यसो गर्ने उनी आफ्नो वंशमा एक्लो थिइन् । यससँगै मिश्रको अस्थिरता र रोमन राजनीतिलाई उनले नजिकबाट नियाल्दै हुर्केने मौका पाइन् ।

कसरी उनी मिश्रकी शासक भइन् ?

जब उनका पिता ५१ ई.पू.मा बिते, त्यतिबेला क्लियोपेट्रा १८ वर्षकी थिइन् । तर, उनले परिवारको आन्तरिक कलह पनि त्यतिबेलै सामना गर्नुपर्‍यो । किनकि अब कसले शासन गर्ने भन्ने विवादमा प्टोलमीका सन्तानहरू तानिएका थिए ।

त्यसैबीच आफ्ना भाइ प्टोलमी तेह्रौँसँगै मिलेर उनले शासन गर्ने मौका पाइन् । उनले मिश्र परम्परा अनुसार विवाह पनि गरिन् । तर उनको भाइले एकल शासनको चाह राख्दै गए । जसले गृहयुद्धको रूप नै लियो।

त्यसपछि केही समयका लागि क्लियोपेट्रा रोमन नियन्त्रणमा रहेको सिरिया तिर भागिन् । उनका पिताले आफ्नो शासनकालमा रोमसँग घनिष्ठ सम्बन्ध राखेका थिए, जुन छोराछोरीसम्मै पनि कायम थियो ।

सिरिया पुगेपछि भने त्यहीँबाटै क्लियोपेट्राले तत्कालीन रोमन सेनापति तथा राजनीतिज्ञ जुलियस सिजरसँग सम्पर्क बढाइन् । त्यो समयमा सिजरले समेत एकछत्र रोमन शासक बन्ने आकांक्षा पालिरहेका थिए ।

क्लियोपेट्रा र जुलियस सिजर

उनीहरूबीच उमेरमा करिब ३० वर्षको अन्तर थियो । दुवै पहिले नै विवाहित थिए । तर त्यति हुँदाहुँदै पनि उनीहरूको सम्बन्ध रोमान्टिक बन्नपुग्यो । अनि सिजरले क्लियोपेट्रालाई जुनसुकै हालतमा पनि साथ दिने वाचा दिए ।

यता ४७ ई.पू.मा सिजरका सेनाहरूबाट भाग्ने क्रममा क्लियोपेट्राका भाइ प्टोलमी तेह्रौँ नाइल नदीमा डुबेर मरे । त्यसपछि उनै सिजरको सहयोगमा क्लियोपेट्राले फेरि मिश्रको सत्ता हात पारिन् । र आफ्नै १२ वर्षीय भाइ प्टोलमी चौधौँसँग विवाह गरिन् । त्यसको केही समयमा उनले एउटा छोरा जन्माइन् । जसलाई सिजरको छोरा मान्ने गरिन्छ । त्यसको नाम पनि सिजेरियन राखिएको थियो ।

तर उनीहरूको सम्बन्ध भने ४४ ई.पू.को मार्च १५ मा सिजरको हत्या हुँदासम्म नै थियो । त्यसबेला क्लियोपेट्रा रोममै थिइन् । उनले सिजेरियनलाई उत्तराधिकारीको मान्यता दिलाउन चाहन्थिन् । तर उनी फेरि रोम छाडेर अलेक्जान्द्रियामा गइन् । किनकि आफ्नै भाइलाई विष खुवाएर मारेको भन्ने हल्ला फैलिएको थियो ।

मार्क एन्टनी र क्लियोपेट्रा

सिजर मारिएको समय नै थियो । क्लियोपेट्राको रोमन राजनीतिसँगको सम्बन्ध अझै समाप्त भइसकेको थिएन । त्यसबेला रोमन सैन्य नेता मार्क एन्टनीले क्लियोपेट्रालाई भेट्न बोलाए । एन्टोनी रोमन साम्राज्यका तीन जना शासकहरूमध्येको एक थिए । एन्टनीको बोलावटपछि क्लियोपेट्रा उनलाई भेट्न सन् ४१ ई.पू.मा आधुनिक टर्कीको टार्सस गइन् । त्यहाँ उनी अत्यन्त धनी र प्रभावशाली देखिने भेषमा गएकी थिइन् ।

त्यसले एन्टनीलाई तत्कालै गहिरो प्रभाव पार्‍यो । र, उनीहरूबीच रोमान्टिक सम्बन्ध सुरु भयो ।  त्यसपछि विवाह गरिसकेका एन्टनी केही समयमै क्लियोपेट्रा रहेको अलेक्जान्द्रिया सरे ।

क्लियोपेट्राको पतन

क्लियोपेट्राप्रति एन्टनी यति मोहित भए कि उनले आफ्नो राजनीतिक विवेक गुमाए । तर त्यो कुरा रोमन जनतालाई फिटिक्कै मन परेन । उनीहरूले मिश्रको हस्तक्षेपको रूपमा हेर्न थाले । र उनीहरूले एन्टनीविरुद्ध नै युद्ध गर्न थाले ।

युद्बमा एन्टनी कमजोर हुँदै गइरहेका थिए । ई.पू. ३१ को ‘ब्याटल अफ एक्टियम’ पछि त क्लियोपेट्राले पनि बुझिन् कि एन्टनीको सेनाले हार्ने निश्चित छ । त्यसैले उनले एन्टनीलाई भनिन्-म तिमीलाई मारिदिन्छु । यो सुनेपछि एन्टनी आफैंले छुरीको सहायतामा आत्महत्या गरे ।

उक्त घटनापछि क्लियोपेट्राले आफ्ना प्रेमीका पूर्वसहशासक अक्टाभियनसँग कुरा गर्ने प्रयास गरिन् । तर उल्टै अक्टाभियनले क्लियोपेट्रालाई बन्दी बनाएर विजय उत्सवका स्वरूप रोमका गल्लीहरूमा परेड गराउने योजना बनाइरहेका थिए । सो कुरा थाहा पाएपछि क्लियोपेट्राले आफ्नो लागि बनाइएको समाधिस्थलमा गई विष प्रयोग गरेर आत्महत्या गरिन्।

यससँगै उनको राजवंशको शासन समाप्त भयो । उनको मृत्युपछि मिश्र पनि रोमन साम्राज्यअन्तर्गत रहन गयो ।

क्लियोपेट्राका अज्ञात पाटा

क्लियोपेट्राले विषालु सर्प ‘एस्प’ को सहायता लिएर आत्महत्या गरिन् भन्ने लोककथन प्रचलित छ । तर यस कुराको ठोस प्रमाण छैन । यसका साथै क्लियोपेट्राको समाधिस्थल अहिलेसम्म फेला परेको छैन । क्लियोपेट्रा र एन्टनीको समाधिस्थल एकै थियो । नेसनल जियोग्राफिकका पत्रकार चिप ब्राउनले लेखेअनुसार प्राचीन अलेक्जान्द्रियाका अधिकांश संरचनाहरू करिब २० फिट पानीमुनि गाडिएको छ । सम्भवत: सो कुराले पनि खोजमा गाह्रो बनाएको हुन सक्छ ।

त्यस्तै क्लियोपेट्राको अनुहार वा जातीय पहिचानबारे पनि विवाद छ । उपलब्ध केही सिक्कामा उनी साधारण देखिन्छिन् भने केहीमा मार्क एन्टनी समान देखिन्छिन् । यसैबारे केही इतिहासकारहरू भने उनको समयमा ‘जात’को अवधारणा नै विकास नभएको तर्क गर्छन् ।

यसैगरी क्लियोपेट्राको समयमा लेखिएका अभिलेखहरू पनि दुर्लभ छन् । अलेक्जान्द्रियाको पुस्तकालय पटक-पटक ध्वस्त भइसकेको छ । जसले गर्दा उनीसम्बन्धी भएका अधिकांश दस्तावेजहरू नष्ट भएका छन् ।

रोमन लेखक प्लुटार्कले लेखेको मार्क एन्टनीको जीवनीलाई नै क्लियोपेट्राको शासनबारेको विस्तृत स्रोत मानिन्छ । उनले लेखेअनुसार क्लियोपेट्रा अत्यन्त बुद्धिमान्, अपूर्व सौन्दर्यकी धनी महिला थिइन् । तर प्लुटार्कले यो लेख क्लियोपेट्राको मृत्युको सयौँ वर्षपछि लेखेका थिए ।

आज पनि क्लियोपेट्रा

क्लियोपेट्राको जीवनबारे पूर्ण जानकारी नभए पनि उनी आज हामीसामु सांस्कृतिक रूपमा उत्तिकै सजीव छिन् । शेक्सपियरका नाटकदेखि नेटफ्लिक्सका डकुड्रामा सम्ममा क्लियोपेट्रा छाएकी छिन् । ती सबैमा उनी चलाख, शक्तिको भोगी, लोभी रानीको रूपमा चित्रित भएकी छिन् ।

सबै ऐतिहासिक दस्तावेजहरूका आधारमा उनी चतुर राजनीतिज्ञ रहेको सम्भवतः यथार्थ थियो । तर किन त्यो समयका शक्तिशाली पुरुषहरू उनीप्रति मोहित भए भन्ने कुरा आज पनि रहस्यकै गर्भमा छ । तर एउटा कुरा निश्चित छ – उनले जे जस्तो काम गरिन्, त्यसले आज पनि संसारलाई मोहित पारिरहेको छ ।

लेखक
सापेक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?