+

खेलकुदमा प्रदेशको बजेट : बागमतीमा एक अर्ब माथि, अन्यले कति छुट्याए ?

२०८२ असार  २ गते १८:११ २०८२ असार २ गते १८:११

सात प्रदेशमध्ये बागमती प्रदेशले युवा खेलकुदलाई नै भनेर धेरै बजेट विनियोजन गरेको छ । बागमतीको बजेट एक अर्ब माथि छ । केही प्रदेशले अन्य अन्य क्षेत्रमै खेलकुदलाई मिसाएर बजेट बनाएका छन् ।

खेलकुदमा प्रदेशको बजेट : बागमतीमा एक अर्ब माथि, अन्यले कति छुट्याए ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रदेशहरूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खेलकुदमा बजेट विनियोजन गरेका छन्।
  • बागमती प्रदेशले सबैभन्दा बढी १ अर्ब १६ करोड तोकेको छ।
  • कोशी र मधेश प्रदेशले खेलकुद र समाज कल्याणमा क्रमशः २ अर्ब ५५ लाख र १ अर्ब ६८ करोड ७३ लाख बजेट छुट्याएका छन्।

२ असार, काठमाडौं । नेपाल सरकारले बजेट सार्वजनिक गरेको दुई हप्तापछि प्रदेशले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन् ।

कर्णाली प्रदेशबाहेक अन्य ६ प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आइतबार आ-आफ्नो प्रदेशको बजेट सार्वजनिक गरेका हुन् । कर्णाली प्रदेशको भने आन्तरिक कारण अझै बजेट सार्वजनिक भइसकेको छैन ।

केन्द्र सरकारले जस्तै प्रदेशहरुले पनि युवा तथा खेलकुदमा बजेट विनियोजन गरेका छन् । आफ्नो प्रदेशमा हुने खेलकुद प्रतियोगिता, पूर्वाधार निर्माण, प्रदेशका खेलाडीलाई सम्मान देखि प्रदेश अनुकुल हुने विभिन्न खेल क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।

कूनै प्रदेशले आफ्नो क्षेत्र विशेष खेललाई समेत प्राथमिकता राखेको छ । सात प्रदेशमध्ये बागमती प्रदेशले युवा खेलकुदलाई नै भनेर धेरै बजेट विनियोजन गरेको छ । बागमतीको बजेट एक अर्ब माथि छ । केही प्रदेशले अन्य अन्य क्षेत्रमै खेलकुदलाई मिसाएर बजेट बनाएका छन् ।

यस्तै मधेश प्रदेशले आफ्नै प्रदेशमा हुने ११औं राष्ट्रिय खेलकुदको तयारीका लागि पनि बजेट छुट्याएको छ । अन्य प्रदेशले आफू अनुकल खेलकुदमा बजेट समावेश गरेका छन् ।

आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारहरूले खेलकुदका लागि विनियोजन गरेको बजेट यस्तो छ-

कोशी प्रदेश : शिक्षा, खेलकुद, संस्कृति, रोजगार र समावेशिताको लागि २ अर्ब ५ करोड ५५ लाख

कोशी प्रदेशले युवा तथा खेलकुद मात्र नराखी शिक्षा, खेलकुद, संस्कृति, रोजगार र समावेशीताको लागि भनेर २ अर्ब ५ करोड ५५ लाख बजेट विनियोजन गरेको छ । तर यसमा खेलकुदतर्फ कति बजेट भनेर तोकेको छैन ।

उक्त शीर्षकमा पनि खेलकुदको दुई बुँदा मात्र उल्लेख छ भने कति बजेट विनियोजन गरेको भन्ने उल्लेख छैन ।

प्रदेश सरकार, पूर्वाञ्चल विश्वविद्यालय र सुन्दरहरैँचा नगरपालिकासँगको साझेदारीमा कोशी प्रदेश खेलकुद ग्राम निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको जनाएको छ ।

यस्तै खेलकुद पूर्वाधारको विकास, दशौँ राष्ट्रिय खेलकुद, राष्ट्रपति रनिङ शिल्ड, कोशी प्रदेश दोस्रो खेलकुद महोत्सव लगायत खेलकुद गतिविधि सञ्चालन गर्न प्रदेश खेलकुद विकास बोर्डलाई पर्याप्त बजेट विनियोजन गरिएको बजेट भाषणमा उल्लेख छ । तर पर्याप्त बजेट भनेको कति भन्ने उल्लेख छैन ।

यसैगरी पर्यटन वन तथा वातावरण शीर्षमा अन्तर्राष्ट्रिय खेलकुदको आयोजना गरी खेल पर्यटनको प्रवर्द्धन गर्न ५० लाख बजेट विनियोजन गरिएको छ ।

मधेश प्रदेश : खेलकुद र समाज कल्याणलाई १ अर्ब ६८ करोड ७३ लाख

कोशीले जस्तै मधेशले पनि खेलकुदमा छुट्टै बजेट राखेको छैन । मधेशले खेलकुद र समाज कल्याण अन्तर्गत बजेट विनियोजन गरेको छ । खेलकुद र समाज कल्याणलाई मधेशले १ अर्ब ६८ करोड ७३ लाख बजेट छुट्याएको छ ।

जसमा खेलकुदतर्फ ११औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमा भव्यताको साथ आयोजना गर्न अहिले देखि नै पूर्वाधार निर्माणको कार्य तयारीलाई प्राथमिकता दिएको छ ।

‘खेली मधेश’ जिति मधेश’ नारालाई सार्थक बनाउन विभिन्न प्रतियोगिता प्रशिक्षण पुरस्कार तथा सम्मानमा विशेष जोड दिँदै मधेश खेलकुद दिवस र खेलकुद महोत्सव सञ्चालन गर्न यथेष्ट बजेट विनियोजन गरेको जनाएको छ ।

युवा वर्गहरुलाई खेलकुदप्रति आकर्षण गर्न माग अनुरुप खेलकुद सामाग्री वितरणको लागि बजेट विनियोजन गरेको उल्लेख छ ।

यस्तै मधेश प्रदेशको गौरवको आयोजनाको रुपमा श्री राम जानकी बहुउदेश्यीय रंगशाला, नारायणी रंगशाला, गोलबजार रंगशाला लगायत प्रादेशिक रंगशाला खेलग्राम खेलमैदान कभर्ड हल निर्माण कार्यलाई प्राथमिकता दिई बजेट विनियोजन गरिएको जनाएको छ ।

बागमती प्रदेश : युवा तथा खेलकुदलाई १ अर्ब १६ करोड

प्रदेशहरूमध्ये युवा तथा खेलकुदका लागि सबैभन्दा धेरै बजेट बागमती प्रदेशले छुट्याएको छ । बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा खेलकुदका लागि १ अर्ब १६ करोड विनियोजन गरेको छ ।

बागमती प्रदेशको कुल बजेट ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको रहेको छ । जसमा युवा तथा खेलकुदतर्फ एक प्रतिशत भन्दा बढी बजेट छुट्याइएको हो ।

युवा तथा खेलुकदमा अघिल्लो वर्षभन्दा ४२ करोडले बढी बजेट विनियोजन भएको हो ।

बागमती प्रदेशमा युवा तथा खेल गतिविधिहरूलाई प्रवर्द्धन गर्न आगामी आर्थिक वर्षमा खेलकुद नीति जारी गरी कार्यान्वयन गरिने र खेलकुद प्रतियोगिताहरूको वार्षिक क्यालेन्डर निर्माण गरी सो अनुसार खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ ।

स्वास्थ्य तथा अनुशासनको लागि खेलकुद भन्ने नाराको साथ खेलकुद पूर्वाधारको विकास र स्तरोन्नतीलाई प्राथमिकताका साथ अगाडि बढाइने र खेल प्रतिभाहरूको पहिचान गरि क्षमता विकास गर्दै लगिने उल्लेख गरिएको छ । अन्तर्राष्६रिय प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती प्रदेशका खेलाडीहरूको सम्मान एवम् प्रोत्साहनका कार्यक्रमहरूलाई निरन्तरा दिइएको छ ।

यस्तै संघीय सरकारसँगको सहकार्य तथा साझेदारीमा स्मार्ट स्पोर्ट्स सिटीको अवधारणा अनुसार ललितपुरको गोदावरीमा अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशाला निर्माण कार्य अघि बढाउन ९ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै आगामी आर्थिक वर्षमा मकवानपुरको गौरिटारमा निर्माणाधीन अन्तर्राष्ट्रिय खेलकुद रंगशाला र दोलखामा भिमेश्वर बहुउदेश्यीय रंगशाला निर्माण कार्य सम्पन्न गर्ने बजेटमा उल्लेख गरिएको छ ।

बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको सहलगानीमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि ९ करोड बजेट विनियोजन गरिएको छ ।

स्वास्थ्य, खेलकुद र पर्यटनलाई एक आपसमा जोड्न आगामी बर्थिक वर्षबाटै चितवन, मकवानपुर, ललितपुर र नुवाकोटमा विद्यालयस्तरमा खेलकुद र स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम अभियानको रुपमा सञ्चालन गरिने उल्लेख छ ।

यस्तै प्रदेशमा हुने प्रदेशस्तरिय तथा राष्ट्रियस्तरका खेलकुदका कार्यक्रमहरूलाई व्यवस्थित रुपमा सञ्चालन गरिने र फरक क्षमता भएका व्यक्तिहरूको लागि पारा खेलकुद प्रतियोगिता, तेस्रो बागमती प्रदेशस्तरिय खेलकुद प्रतियोगिता, दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, राष्ट्रपति रनिशङशिल्ड प्रतियोगिता जस्ता खेल प्रतियोगिताहरू सञ्चालन गर्न स्रोतकोअभाव नहुने गरी आवश्यकत व्यवसथ् मिलाइएको छ ।

खेल क्षेत्रको विकासका लागि सूचना केन्द्र तथा डिजिटल स्पोर्टस् लाइब्रेरी स्थापना गरी सञ्चालनमा ल्याइने पनि बजेट वक्तव्यमा उल्लेख छ। आइस हकी र पर्वतीय तथा साहसिक खेल प्रतियोगिताहरूलाई उच्च प्राथमिकताका साथ प्रोत्साहित गर्दै लगिने जनाइएको छ।

एक निर्वाचन क्षेत्र, एक बहुउद्देश्यीय खेलमैदान कार्यक्रम आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याइने पनि उल्लेख गरिएको छ ।

गण्डकी प्रदेश : युवा तथा खेलकुदलाई बजेट

गण्डकी प्रदेशले पनि युवा तथा खेलकुद अन्तर्गत शीर्षकअन्तर्गत नै बजेट समावेश गरेको छ । तर कति बजेट छुट्याएको भन्ने उल्लेख गरिएको छैन ।

गण्डकीले हाई अल्टिच्युड कार्यक्रमलाई प्राथमिकता दिएको छ । गण्डकी प्रदेशमा खेलकुद प्रवर्द्धन गर्न खेलकुद पूर्वाधार निर्माण, खेलाडी सम्मान र खेलकुद पर्यटन विकास गरिने बजेटमा उल्लेख छ ।

यस्तै उच्च उचाईका खेलका लागि ‘उचाइमा खेल खेलमा उचाइ’ कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि आवश्यक व्यवस्था मिलाएको जनाएको छ ।

युवामा सकारात्मक सोच सीप क्षमता र नेतृत्व विकानसमा जोड दिज्दिई सिर्जनिशल तथा उद्यमी युवा तयार गर्न युवा यद्यमी प्रोत्साहन कार्यक्रम सञ्चालन र युवा प्रतिभा सम्मान कार्यक्रमलाई निरन्तरता दिएको छ ।

खेलकुद क्षेत्रको विकास, विस्तार र सुदृढिकरणका लागि संघ सरकार र स्थानिय तहबीच सहकार्य साझेदारी गर्दै खेलाडीहरूको व्यावसायिकता विकास, प्रशिक्षण र प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने व्यस्था मिलाएको उल्लेख छ ।

प्रदेशका ख्यातिप्राप्त खेलाडीहरूको सम्मान कार्यक्रम सञ्चालनका लागि पनि गण्डकीले आवश्यक बजेटको प्रवन्ध मिलाएको जनाएको छ ।

लुम्बिनी प्रदेश : युवा तथा खेलकुदलाई ३७ करोड

लुम्बिनी प्रदेशले पनि युवा तथा खेलकुदका लागि छुट्टै बजेट व्यवस्था गरेको छ । जसमा युवा तथा खेलकुदका लागि ३७ करोड बजेट विनियोजन गरिएको छ ।

स्वास्थ्यका लागि खेलकुद कार्यक्रम मार्फत खेलकुदमा युवाको सहभागिता बढाइने बजेटमा उल्लेख छ । यस्तै नेपाल सरकार र स्थानिय तहको सहभागिता एवम सहलगानीमा खेलकुद पूर्वाधार निर्माण र स्तोन्नती गर्ने व्यवस्था मिलाइएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको गरिमा र प्रतिष्ठा बढाउने गरी प्रतिस्पर्धी खेलाडी तयार गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।

पदक प्राप्त गर्ने प्रतिभाशाली खेलाडीलाई थप प्रोत्साहन र हौसला प्रदान गर्न पनि आवश्यक रकम विनियोजन गरेको उल्लेख छ ।

यस्तै युवा स्काउट अध्ययन अनुसन्धान लगायत विषयमा पनि बजेट विनियोजन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश : युवा तथा खेलकुदलाई बजेट

सुदूरपश्चिम प्रदेश नेपाली क्रिकेटका लागि उर्वरभूमि जस्तै बनेको छ । पछिल्लो समय धेरै खेलाडी यही क्षत्रेका छन् । त्यसैले बजेटमा पनि क्रिकेट खेललाई प्राथमिकता दिइएको छ ।

क्रिकेट खेलको सम्भावना र अवसरलाई मध्यनजर गरी प्रत्येक जिल्लामा ‘एक जिल्ला एक क्रिकेट खेल मैदान निर्माण’ कार्यक्रम बजेटमा समावेश गरिएको छ । यसअन्तर्गत प्रत्येक जिल्लामा एक-एक वटा क्रिकेट खेल मैदान निर्माण कार्य गरिने बजेटमा उल्लेख छ । र यसका लागि १ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा उत्कृष्ट भई पदक प्राप्त गर्ने प्रदेशका खेलाडीहरूलाई विशेष सम्मानसहित प्रोत्साहनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

कैलालीको टीकापुरका निर्माणाधिन टीकापुर स्पोर्ट्स एकेडेमीका लागि १ करोड विनियोजन गरिएको छ ।

यस्तै प्रदेश भित्रका नवप्रवर्तन तथा युवा वैज्ञानिकक प्रोत्साहन कार्यक्रम सञ्चालनका लागि लोकराज ढकाल युवा सशक्तिकरण तथा लागु औषध दुर्व्यसन नियन्त्रण कार्यक्रम लागु गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

खेलकुद बजेट
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय