News Summary
Generated by OK AI. Editorially reviewed.- गर्भावस्थाको अन्तिम महिनामा महिलाको शरीरमा परिवर्तन र जटिलता देखिन्छ, जस्तै पेटको आकार बढ्नु ।
- सामान्य जाँच र परीक्षणहरू, जस्तै हेमोग्लोबिन र अल्ट्रासाउन्ड, बच्चाको स्थिति र स्वास्थ्य मूल्यांकन गर्न गरिन्छ।
- प्रसवका लक्षणहरू देखिएमा तुरुन्त अस्पताल जान र चिकित्सकको सल्लाह अनुसार तयारी गर्न आवश्यक छ।
गर्भावस्थाको नौ महिना हुनेवाली नयाँ आमाका लागि एक विशेष र संवेदनशील समय हुन्छ । विशेष हुनुको कारण हो, ९ महिनासम्मको सन्तानको पर्खाइ सकिन लाग्नु । गर्भवती महिला र उनको परिवारले बच्चाको पर्खाइमा उत्साह र केही डरको मिश्रित भावना अनुभव गर्छन् ।
व्यथा जति खेर पनि लाग्न सक्छ । सन्तान वा आफैंलाई केही होला भन्ने डरले महिलालाई पिरोल्न सक्छ । प्रसव पीडाको कल्पनाले पनि केही हदसम्म अत्याउँछ । यो समय डरलाई जितेर प्रसवको तयारीका लागि सतर्कता अपनाउनु आवश्यक हुन्छ ।
अन्तिम महिनामा के – के हुन्छ ?
गर्भावस्थाको अन्तिम महिनामा महिलाको शरीरमा धेरै परिवर्तनहरू देखिन्छन् । यी परिवर्तनहरूले प्रसवका लागि शरीर तयार हुँदैछ भन्ने संकेत गर्छन् ।
बच्चाको तौल बढ्नाले पेटको आकार निकै बढ्छ, जसले हिँडडुल गर्न, सुत्न र सास फेर्न असहज बनाउन सक्छ । तल्लोपेटको मांशपेसी तन्किदा तल्लो पेट दुख्ने, ठिक हुने क्रम चलिरहन्छ । जुन स्वभाविक हो ।
गर्भावस्थाको अन्तिम महिनामा बच्चा प्रसवका लागि तयार हुँदै तलतिर सर्छ । बच्चाको टाउको पाठेघरको तल्लो भागमा सर्दै जाँदा पिसाब थैलीमा दबाब पर्छ, जसले गर्दा पिसाब पिसाब छिटो-छिटो आउने र पिसाब पोल्ने हुनसक्छ ।
कहिलेकाहीँ बच्चाको टाउकोले रगत बग्ने नसाहरूलाई च्याप्न सक्छ, जसले खुट्टा सुन्निने, झम्झमाउने दुख्ने वा पोल्ने समस्या हुनसक्छ ।
बिहान खुट्टा सामान्य हुन्छ । तर दिनभरि सुन्निन्छ भने यो सामान्य गर्भावस्थाको लक्षण हो । तर बिहान उठेदेखि नै सुन्निन्छ भने रक्तचाप बढेको स्थिति हो, यो अवस्थामा चिकित्सकलाई भेट्नुपर्छ ।
कब्जियत र पेटमा ग्यास जम्मा हुने समस्या धेरै गर्भवती महिलाहरूले भोग्छन् । यो हर्मोनल परिवर्तन र पेटमा बढ्दो दबाबका कारण हुन्छ ।
जटिलता
स्वास्थ्य समस्या हुनु स्वभाविक हो । तर, केही जटिलताहरू देखिएमा तुरुन्त चिकित्सकलाई देखाइहाल्नुपर्छ । जस्तो कि, साल तल आएर बस्दा रक्तस्राव हुने जोखिम हुन्छ, जुन उच्च जोखिमको अवस्था हो ।
प्रि-एक्लेम्पसिया एक गम्भीर अवस्था हो, जसमा उच्च रक्तचाप, सुन्निनु, टाउको दुखाइ वा धमिलो देखिनेजस्ता लक्षणहरू देखिन्छन् ।
यदि पेट दुखाइ तीव्र वा लगातार भएमा तुरुन्त चिकित्सकीय सल्लाह लिनुपर्छ । बच्चाको चाल कम हुने वा पानी फुट्ने अवस्थामा तुरुन्त अस्पताल जानुपर्छ । यस्ता लक्षणहरूलाई बेवास्ता गर्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा खतरा हुन सक्छ ।
आमाको मानसिक र भावनात्मक अवस्था
गर्भावस्थाको अन्तिम महिनामा हर्मोनल परिवर्तन (विशेषगरी प्रोजेस्टेरोनको वृद्धि) ले भावनात्मक अस्थिरता ल्याउँछ । बच्चा जन्मने उत्साहसँगै जिम्मेवारीको डर, बच्चा हुर्काउने चिन्ता र व्यक्तिगत जीवनमा हुने परिवर्तनको तनावले गर्भवती महिलालाई प्रभावित गर्छ ।
यो समयमा खुसी र चिन्ताको मिश्रित भावना हुनु स्वाभाविक हो ।
कहिलेकाहीँ यो भावनात्मक अस्थिरताले गर्दा एन्जाइटी, डिप्रेसन वा मूड स्विङ्स निम्त्याउन सक्छ । रातमा पसिना आउने, चिडचिडाहट वा झनक्क रिस उठ्ने जस्ता लक्षणहरू हर्मोनल असन्तुलनका कारण हुन सक्छन् ।
यस्तो अवस्थाले प्रसवपछिको डिप्रेसन (पोस्टपार्टम डिप्रेसन) को जोखिम पनि बढाउन सक्छ । परिवारको साथ, सकारात्मक वातावरण र चिकित्सकसँगको नियमित कुराकानीले यी समस्यालाई कम गर्न सकिन्छ ।
बच्चामा विकास
– बच्चाको आवश्यक विकास भइसक्छ ।
– बच्चाको छाला गुलाबी र नरम हुन्छ ।
– बच्चाको टाउको तलपट्टि फर्किएको हुन्छ
– कुहिनो, घुँडा र काँधको वरपर बोसो जम्न थाल्छ ।
– बच्चा १९ इन्च लम्बाइ र साढे दुई किलोदेखि साढे ३ किलो आसपासमा बढ्छ ।
के-कस्ता परीक्षण गर्ने ?
यो महिनासम्म ३२ साता कटिसकेको हुन्छ । चिकित्सकले हेमोग्लोबिन, प्लेटलेट, युरिन टेस्ट र अल्ट्रासाउन्ड मार्फत बच्चाको स्थिति, तौल, पानीको स्तर र सालको अवस्था जाँच गर्छन् ।
रक्तचापको जाँचले प्रि-एक्लेम्पसियाको जोखिम पत्ता लगाउन सकिन्छ । पिसाब जाँचले प्रोटिन वा इन्फेक्सनको अवस्था थाहा हुन्छ ।
बच्चाको मुटुको धड्कन सुनेर उसको स्वास्थ्य अवस्था मूल्यांकन गरिन्छ ।
यो समयमा प्राकृतिक तरिकाले प्रसव गराउने सम्भाव्यता कति छ भनेर हेरिन्छ । बच्चा उल्टो, पानीको कमी, रक्तचाप र मधुमेह बढिरहेको अवस्था छ भने समयअगावै शल्यक्रिया हुनसक्छ ।
यदि सबै कुरा सामान्य छ भने मिति दिएको समय वा सो भन्दा ३-४ दिन पर कटाउनु हुँदैन ।
के खाने, के नखाने ?
बच्चा बढ्दै जाँदा आमा र बच्चा दुवैलाई पोषणको आवश्यकता बढ्छ । आइरन र क्याल्सियमको कमीले कमजोरी, थकान वा हड्डी दुख्ने समस्या हुन सक्छ । त्यसैले, चिकित्सकको सल्लाहमा आइरन र क्याल्सियम सप्लिमेन्ट लिनुपर्छ ।
दिनमा कम्तीमा ८-१० गिलास पानी पिउनु आवश्यक छ ।
खानेकुरामा फाइबरयुक्त खाना (जस्तै, हरियो सागसब्जी, फलफूल, ओट्स र गहुँको रोटी) ले कब्जियत कम गर्छ । यो बेलामा दही चिउरा खुवाउने प्रचलन पनि छ ।
त्यसैले, खानेकुरामा नियन्त्रण गरी दिनमा ६ देखि ७ पटक गरेर थोरै-थोरै खानेकुरा खानुपर्छ, जसले पाचन प्रणालीमा दबाब कम गर्छ ।
दही, दूध, दाल र माछाजस्ता प्रोटिन र क्याल्सियमयुक्त खानाले स्वास्थ्यलाई बलियो बनाउँछ । चिल्लो, मसालेदार, र प्रशोधित खानाले स्वास्थ्यमा असर गर्न सक्छ । धेरै चिया, कफी वा सोडा पिउनु हुँदैन, किनकि यसमा क्याफिन हुन्छ ।
काँचो वा कम पकाएको मासु खानु जोखिमपूर्ण हुन्छ, किनकि यसले इन्फेक्सनको जोखिम हुन्छ । अल्कोहल र धूम्रपान पूर्णरूपमा बन्द गर्नुपर्छ, किनकि यी बच्चाको स्वास्थ्यका लागि हानिकारक हुन्छन्।
शारीरिक गतिविधि र सावधानी
खाना खाएपछि १५-२० मिनेट हल्का हिँड्ने र योग पनि गर्न सके फाइदा मिल्छ । तर, लामो दूरीको यात्रा, खराब बाटोमा हिँड्ने वा भारी सामान उठाउने गर्नुहुँदैन ।
घरको ठूलो काम लुगा धुने, सफाइ गर्नेबाट बच्नुपर्छ । शारीरिक सम्पर्क राख्नु पनि जोखिमपूर्ण हुन सक्छ । बच्चाको चाल दिनमा कम्तीमा १० पटक महसुस गर्नुपर्छ । यदि बच्चा कम चल्छ भने खाना खाएपछि शान्त भएर गन्ने र कम चाल भएमा तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।
चिकित्सकले तोकेको समयमै अस्पताल जाने
डेलिभरीको समय तोकिए पनि, आपतकालीन अवस्थामा शुभ समय वा ज्योतिषको आधारमा ढिलाइ गर्ने गरेको पनि धेरै देखिन्छ । समय भन्दा ढिला गर्दा बच्चाको धड्कनमा समस्या, दिशा गर्ने वा अन्य जटिलताले आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्न सक्छ ।
त्यसैले, चिकित्सकको सल्लाहअनुसार तुरुन्त निर्णय लिनुपर्छ । सामान्य डेलिभरी सम्भव नभएमा अप्रेशनका लागि मानसिक रूपमा तयार रहनुपर्छ ।
व्यथा लागेको कसरी थाहा पाउने ?
प्रसव पीडा सामान्यतः ४० हप्ता पुगेपछि सुरु हुन्छ, तर यो दुई हप्ता अगाडिपछाडि हुन सक्छ । जहाँ सम्म प्रसवको कुरा छ, यो महिनासम्म शल्यक्रिया वा प्राकृतिक रुपमा प्रसव हुन्छ भन्ने कुरा पहिले नै परीक्षणबाट अनुमान भइसकेको हुन्छ । यद्यपि, व्यथा लागिहालेमा केही लक्षण सुरुवाती रुपमा देखिन्छ ।
– नियमित कडा खालको पेट दुख्ने र छोड्ने १५ मिनेटको अन्तरमा भइराख्नु
– दुखाइ ढाडबाट तिघ्रातिर फैलिनु
– दुखाइको तीव्रता र समयावधि बढ्दै जानु
– पानी फुट्ने वा रगत मिसिएको सिगानजस्तो पदार्थ निस्कने ।
यस्ता लक्षण देखिएमा व्यथा लागेको अनुमान गरी तुरुन्त अस्पताल जानुपर्छ । अस्पताल लैजाँदा बिरामीलाई शान्त राख्ने, सान्त्वना दिने र चिकित्सको निर्देशन पालना गर्नुपर्छ ।
प्रसवका लागि पूर्वतयारी
प्रसव जुनसुकै बेला हुनसक्छ । पहिल्यै पूर्वतयारी गरेमा आकस्मिक अवस्थामा छुट्टै दौडधुप गर्नुपर्दैन ।
पूर्वतयारीमा कुन अस्पतालमा प्रसव गराउने, अस्पतालमा लाग्ने बजेट खर्च, आमाका लागि अस्पतालमा लाग्ने स्तनपानमैत्री लुगा, प्रसवपछि रक्तस्राव हुनसक्ने हुँदा हस्पिटल प्याड, बच्चाका लागि टाउकादेखि खुट्टासम्म प्रयोग हुने कपडा, ओछ्याउने सफा तथा नरम ब्ल्यान्केटको व्यवस्था पहिले गर्नुपर्छ ।
यो महिना सुरु हुँदै बच्चाको लागि सुतीका लुगा धोएर राख्नुपर्छ । यसरी पहिला नै नयाँ कपडा धोएर राख्दा त्यसमा भएको रङ र ब्याक्टेरियाबाट असर गर्न पाउँदैन ।
सबैभन्दा छुटाउन नहुने भनेको डेलिभरीका लागि ब्लड ग्रुप जाँच र रक्तदाता तयारी पनि महत्त्वपूर्ण हुन्छ, किनकि आपतकाल अवस्थामा जति बेला पनि रगत आवश्यक पर्न सक्छ।
प्रतिक्रिया 4