
News Summary
Generated by OK AI. Editorially reviewed.- ओशोले 'विज्ञान भैरव तन्त्र' मा ध्यान र अनुभवमार्फत आत्मिक शान्ति र प्रेमको प्राप्तिको उपायहरू व्याख्या गरेका छन्।
- ग्रन्थले शिव र देवीबीचको प्रेम र तन्त्रको वैज्ञानिक दृष्टिकोणलाई उजागर गर्दछ, जसले चेतनाको पारि जान मद्दत गर्दछ।
- ओशोले तन्त्रलाई धर्मभन्दा माथि र सबै मानवका लागि खुला वैज्ञानिक विधि भनेर व्याख्या गरेका छन्।
ओशोद्वारा लिखित ‘विज्ञान भैरव तन्त्र’ पढ्दैछु । उनका प्रत्येक शब्द, शब्दका गहिराइहरू विस्तारै विस्तारै बुझ्ने कोसिसमा छु ।
विज्ञान भैरव तन्त्र एउटा प्राचीन तन्त्रग्रन्थ हो, जसमा भगवान शिवले आफ्नी सहचरी देवीलाई ११२ वटा ध्यानका उपायहरू दिनुभएको छ । यो ग्रन्थको सुरूवात देवीको जिज्ञासाबाट हुन्छ । देवीका प्रश्नहरू दार्शनिक प्रकृतिका भए पनि शिवले ती प्रश्नहरूको उत्तर दार्शनिक ढंगले होइन, तर अस्तित्वगत रूपमै दिनुभएको छ । शिवले कुनै सिद्धान्त, दर्शन वा धारणा प्रस्तुत गर्नुभएको छैन, बरु अनुभवमार्फत उत्तर पत्ता लगाउने उपायहरू दिनुभएको छ ।
ओशोको जीवनको सम्पूर्ण लक्ष्य ध्यानको विज्ञानलाई अतीतबाट पुनः प्राप्त गरेर आधुनिक मानवका लागि ताजा र सान्दर्भिक बनाउनुथियो । उनका ११२ ध्यान विधिहरू माथिको टिप्पणी ‘विज्ञान भैरव तन्त्र’ मा समेटिएको छ ।
ओशोले तन्त्रको अर्थ र यसको प्रयोगात्मक तथा आध्यात्मिक प्रकृतिबारे चर्चा गरेका छन् । उनले तन्त्रलाई ‘पथ’ वा ‘विधि’ भन्ने अर्थमा प्रयोग गरेका छन्, जहाँ प्रश्न ‘किन?’ नभएर ‘कसरी?’ हुन्छ । तन्त्र एक वैज्ञानिक दृष्टिकोण हो जसले सत्य अनुभूतिमा केन्द्रित हुन्छ । यो बौद्धिक होइन, अनुभवमा आधारित हुन्छ जसमा सम्पूर्ण अस्तित्व संलग्न हुन्छ भनेर व्याख्या गरेका छन ।
‘विज्ञान भैरव तन्त्र’ शिव र पार्वती बीचको गहिरो प्रेमको क्षणमा जन्मिएको मानिन्छ । यहाँ देवी ग्रहणशीलताको प्रतीक हुन्, जसरी शिष्य पनि पूर्ण ग्रहणशील हुनुपर्छ ।
यसैले ओशो “तन्त्र” प्रेमको संवाद हो—गुरु र शिष्यको होइन, दुई प्रेमीहरूको संवाद हो, यस्तो प्रेममा जब शिष्य गुरुसामु पुग्छ, ज्ञान सजिलै सारिन्छ भनेर व्याख्या गर्दछन ।
ओशोले दुई प्रकारका भाषाको भिन्नता पनि बताएका छन्— तर्कको भाषा र प्रेमको भाषा । तर्कको भाषा आक्रामक, आत्मकेन्द्रित र परिवर्तन गर्ने चाहनामा आधारित हुन्छ, जबकि प्रेमको भाषा ग्रहणशील र हृदयबाट उत्पन्न हुन्छ । तन्त्र प्रेमको भाषाबाट सञ्चालित हुन्छ, जसले आत्मिक एकताको माध्यमबाट गहिरा शिक्षाहरू प्रकट गर्छ ।
विज्ञान भैरव तन्त्र प्रेम, भाषा र तन्त्रको आध्यात्मिक दृष्टिकोण हो । यहाँ प्रेमको भाषा बौद्धिक भाषाभन्दा फरक हुन्छ भन्ने कुरा बताइएको छ । प्रेमको भाषामा अहंकारको ठाउँ हुँदैन, त्यो हृदयबाट हृदयमा सञ्चार गर्ने माध्यम हो । यो बहस होइन, संवाद हो जसमा प्रेम, करुणा र आत्मसमर्पण हुन्छ ।
शिव र देवीबीचको संवादलाई प्रेम संवादको रूपमा वर्णन गरिएको छ, जहाँ तर्क होइन, अनुभूति र सम्बन्ध महत्वपूर्ण छन् । शिवले देवीलाई विधिको माध्यमबाट टेलिग्राफिक सन्देश दिइरहेका छन्, तिनीहरू बीच कुनै विवाद छैन ।
तन्त्रको अर्को महत्वपूर्ण धारणा ‘अर्धनारीश्वर’ को हो – जसमा शिव आधा पुरुष र आधा स्त्रीको रूपमा चित्रित छन् । यसले पूर्णताको प्रतीक जनाउँछ । तन्त्र अनुसार, हरेक व्यक्ति भित्र पुरुष र स्त्री दुवै तत्व हुन्छन् र ती तत्वहरूलाई आत्माभित्र भेट्नु नै साँचो मिलन हो ।
तन्त्रले बौद्धिकता वा केवल चेतनासम्म सीमित नहुनू भन्न चाहन्छ । चेतनासँगै तल्लो तहसम्म पुगेर आफूलाई पूर्णरूपमा बुझ्नु नै तन्त्रको उद्देश्य हो ।
विज्ञान भन्नाले चेतनालाई जनाउँछ । ‘भैरव” भन्नाले त्यो अवस्था जनाउँछ जुन चेतनाको पारि छ । तन्त्र भन्नाले विधि जनाउँछ । त्यसैले विज्ञान भैरव तन्त्र भन्नाले चेतनाको पारि जानको लागि प्रयोग हुने विधि भन्ने बुझिन्छ । चेतनामा अवचेतन र सचेत दुवै अवस्था समावेश हुन्छन् । चेतनाको पारि जानु भनेको मनको पारि जानु हो । भैरवको अवस्था प्राप्त गर्नु भनेको मानिस विना मन केही जान्न सक्षम हुने अवस्था हो ।
“भैरव” एक विशेष तान्त्रिक शब्द हो । यो शब्द त्यस व्यक्तिका लागि प्रयोग हुन्छ जसले मनका द्वन्द्वहरू पार गरिसकेको हुन्छ । त्यसैले शिवलाई “भैरव” भनेर चिनिन्छ ।
ओशो भन्छन्- भैरवको अवस्था पूर्ण प्रेमको अवस्था हो । जब कोही यो अवस्थामा पुग्छ, ऊ प्रेमको शिखरमा पुग्छ । तन्त्र अनुसार, शिखरमा पुगेपछि कोही पनि फेरि तल झर्दैन; उसले सधैंको लागि शिवसँग जीवन बिताउँछ ।
कैलाश पर्वतलाई शिवको निवासस्थल भनिन्छ । कैलाश प्रेमको सर्वोच्च शिखरको प्रतीक हो, जुन शिवसँग सम्बन्धित छ । शिव प्रेमको सर्वोच्च शिखरको धनी हुन्, र त्यो नै उनको घर हो । ओशो भन्छन्, ‘तन्त्र त्यो प्रविधि हो जसले हामीलाई शिखरसम्म पुर्याउँछ । त्यो शिखर जुन सबै प्रकारका द्वन्द्वहरूको पारि छ– शरीरको पारि र आत्माको पनि पारि । त्यसको अर्थ संसार र मोक्षको पनि पारि ।’
जब प्रेम शिखरमा पुग्छ, प्रेमी हराउँछ । यो त्यसकारण हुन्छ कि वास्तविक रूपमा हामी सबै निराकार छौं । यद्यपि हामी शरीरको रूपमा बाँच्छौं, तर हामी शरीरभन्दा परको केही हौं । शरीर त केवल एक आवरण हो । प्रेमसँग त्यो आवरण भेदन गर्ने शक्ति हुन्छ र त्यस्तो अवस्थामा निराकार प्रकट हुन्छ र अनन्ततामा एक ढोका खुल्छ ।
जब मानिस निराकार (रूपविहीन) अनुभूतिमा पुग्दछ, तब उसले शरीरभन्दा परको सत्य अर्थात् आत्माको ज्ञान प्राप्त गर्दछ । तर यो अवस्था अस्थायी हुन्छ । ध्यानको गहिरो अवस्थामा कहिलेकाहीं व्यक्ति शिखरमा पुग्न सक्छ, तर त्यस शिखरमा स्थिर रहनु फरक कुरा हो । मनमा शंकाहरू उठिरहन्छन्, किनभने शंका गर्नु नै मनको स्वभाव हो । मन कुनै पनि उत्तरलाई प्रश्नवाचक चिह्नमा परिणत गर्न सक्छ ।
शिवको चुनौती भनेको प्रश्नको उत्तर दिनु होइन, शंकालु मनलाई विश्वासपूर्ण बनाउनु हो ।
ओशोले यस सन्दर्भमा बर्ट्रान्ड रसेललाई उल्लेख गरेका छन् । रसेलले बाल्यकालमा सोचेका थिए कि जब उनी परिपक्व हुनेछन्, तब सबै शंकाहरू समाधान हुनेछन् । तर ८० वर्षको उमेरमा पनि केही स्पष्ट भएन । उनले लेखेका थिए, ‘मेरो आफ्नै प्रश्नहरू उहीं उभिएका छन्, जस्तो बाल्यकालमा थिए ।’
तन्त्र अनुसार, आध्यात्मिक यात्राको मुख्य बाधा नै शंकालु मन हो । एउटा प्रश्नको उत्तरले अरू धेरै प्रश्नहरू जन्माउँछ । वास्तवमा, उत्तरहरूले आध्यात्मिक साधकको आवश्यकता पूरा गर्न सक्दैनन् । त्यसैले शिवले उत्तर होइन, मनलाई विलीन गराउने प्रविधिहरू (११२ विधिहरू) दिन्छन् । यी विधिहरू अत्यन्त पुराना भए पनि आज पनि उत्तिकै प्रभावकारी छन्, किनभने शताब्दीयौंदेखि मनको प्रकृति उस्तै रहँदै आएको छ ।
तन्त्र धर्मभन्दा माथि छ र यसले कुनै विशेष सम्प्रदाय वा धार्मिक सीमामा बाँधिंदैन भन्ने ओशोको धारणा हो । ओशोका अनुसार तन्त्र एक वैज्ञानिक विधि हो, र विज्ञान जस्तै तन्त्र पनि सम्पूर्ण मानव जातिको हितका लागि हो, न कि कुनै एक धर्म वा जातिको लागि मात्र ।
ओशो भन्छन्, जस्तो कि आइन्स्टाइनले सापेक्षताको सिद्धान्त प्रतिपादन गरे भनेर हामी त्यसलाई यहुदी विज्ञान भन्न सक्दैनौं, न त कुनै ईसाइले रेडियो वा टेलिभिजनको आविष्कार गरे भनेर तिनीहरूलाई ईसाइ उपकरण मात्र भन्न मिल्छ । त्यसैगरी, तन्त्रलाई हिन्दु धर्मसँग मात्र सम्बन्धित भन्न मिल्दैन । तन्त्रका उपायहरू आत्मिक रोगहरूका लागि उपचार हुन् । यी रोगहरूमा अज्ञानता, अवचेतन अवस्था र आन्तरिक द्वन्द्व पर्दछन् ।
यी उपायहरू प्रभावकारी बन्नका लागि प्रयोगकर्ताको सकारात्मक र सजग सहभागिता आवश्यक छ । शरीर तयार भएपछि मात्र औषधिले काम गर्छ । यस्तै तन्त्रका उपायहरूले पनि केवल सजग र ग्रहणशील मनमा मात्र प्रभाव पार्न सक्छन् ।
तन्त्रले कुनै विशेष नैतिकता वा धार्मिक योग्यता नचाहने भएकाले सबैका लागि खुला छ । तन्त्र अनुसार हाम्रो मन सूक्ष्म पदार्थ हो जसलाई परिवर्तन गर्न सकिन्छ । जब मन परिवर्तन हुन्छ, संसारको दृष्टिकोण पनि परिवर्तन हुन्छ । यदि मन नै हटाइयो भने, हामी बिचौला विना नै साँचो संसारसँग आमने-सामने हुन सक्छौं । यही तन्त्रको अन्तिम लक्ष्य हो—‘भैरव अवस्था’, जहाँ मन शून्य हुन्छ ।
विज्ञान भैरव तन्त्रले मानसिक वा बौद्धिक छलफल भन्दा पर, प्रत्यक्ष ध्यान र अनुभूतिको मार्गदर्शन दिन्छ । यसको उद्देश्य केवल ज्ञान होइन, आन्तरिक रूपान्तरण हो ।
ओशोका अनुसार, संसारका सबै साधकहरूले कुनै न कुनै विधिको माध्यमबाट अन्तिम सत्य प्राप्त गरेका छन् । यी सबै विधिहरू, जुन विभिन्न साधकहरूले प्रयोग गरेका छन्, ती सबै विज्ञान भैरव तन्त्रका ११२ विधिमा पाइन्छन् ।
पहिलो विधि अहिले विश्वभर बौद्ध विधिका रूपमा चिनिएको छ, किनभने बुद्धले यस विधिको प्रयोग गर्नुभएको थियो । बौद्ध भाषामा यसलाई ‘आनापानसति योग’ भनिन्छ ।
‘यो विधि श्वास-प्रश्वासमा आधारित छ । श्वास आत्मा र शरीर बीचको पुल हो, जसले हामीलाई सृष्टिसँग जोड्छ । यो केवल आत्मा र शरीरलाई मात्र होइन, हामीलाई सम्पूर्ण ब्रह्माण्डसँग पनि जोड्छ । श्वास मार्फत हामी समय र स्थानसँग पनि सम्बन्धित हुन्छौं । त्यसैले श्वास अत्यन्त महत्वपूर्ण कुरा हो । श्वासको विधिहरू अनुसरण गरेर मानिस जीवनको स्रोतमा पुग्न सक्छ ।
श्वास मार्फत हामी समय र अन्तरिक्षसँग पनि सम्बन्धित हुन्छौं । यसैले श्वासलाई आधार मानेर ध्यान गर्दा, मन वर्तमानमा स्थिर हुन थाल्छ र जब मन पूर्ण रूपमा वर्तमानमा स्थिर हुन्छ, तब सत्य प्रकट हुन्छ ।
ओशोको दर्शनको केन्द्रविन्दु ‘मानव निर्वाण’ हो । उनले नयाँ, रूपान्तरण भएको मानिस र त्यसै अनुसारको समाज निर्माण गर्न चाहन्थे । ओशो भन्छन्- वर्तमानमा पूर्ण रूपमा उपस्थित हुनु नै ‘निर्वाण’ हो ।
ओशो भन्थे– ‘ध्यान नै त्यो गर्भ हो जहाँबाट नयाँ धर्म र अन्ततः नयाँ मानिस जन्मिन्छ ।’
अत: ओशोको “विज्ञान भैरव तन्त्र”ले यो केवल एक ग्रन्थ मात्र नभएर अनुभवको विज्ञान भनेर परिभाषित गरिएको छ, जसको साधनाबाट साधक आफ्नो गहिराइमा प्रवेश गर्न सक्छ र अन्ततः मौन, शून्यता र प्रेममा लीन हुन पुग्छ ।
प्रतिक्रिया 4