+
+
Shares

दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छ : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते ७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख देवराज घिमिरेले संसद्‍मा सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्न आह्वान गरे।
  • संसद दिवसको अवसरमा उनले संसदलाई प्रभावकारी, उत्तरदायी र जनउत्तरदायी बनाउनेतर्फ नागरिक समाज र सचेत नागरिकको योगदानप्रति आभार व्यक्त गरे।
  • उहाँले लोकतन्त्रको मूल आत्मा जनताको सहभागितामा निहित भएको र संसद वादविवादको नभएर संवादको थलो बन्नुपर्ने बताए।

१६ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्‍मा सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान गरेका छन् ।

संसद् दिवस, २०८२ को अवसरमा भकामना व्यक्त गर्दै सभामुख घिमिरेले संसदलाई अझ प्रभावकारी, उत्तरदायी र जनउत्तरदायी बनाउनेतर्फ स्वतन्त्र प्रेस, नागरिक समाज र सचेत नागरिकको योगदानप्रति आभार प्रकट गरे ।

संसद दिवसको ऐतिहासिक अवसरमा संसदीय लोकतन्त्र प्राप्तिको आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले राजनीतिक योद्धाको योगदानको स्मरण पनि गर्नुभएको हो ।

नेपालमा पहिलो निर्वाचित प्रतिनिधिसभाको बैठक बसेको स्मरणमा प्रत्येक वर्ष असार १६ गते संसद दिवस मनाइन्छ । आज लोकतन्त्र, संविधानवाद, जनताको अधिकार तथा जनताप्रति जनप्रतिनिधिको उत्तरदायित्वको स्मरण गर्ने दिन पनि भएको सभामुख घिमिरेको भनाइ छ ।

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक प्रमुख संस्था भएको उल्लेख गर्दै उनले लोकतन्त्रको मूल आत्मा जनताको सहभागितामा निहित भएको बताए ।

सन्देशमा भनिएको छ, ‘शासन व्यवस्थामा नीति निर्माण, कानून निर्माण तथा कार्यान्वयनको प्रभावकारी निगरानी जस्ता महत्वपूर्ण कार्य संसदमार्फत सम्पन्न गरिन्छ, संसदले व्यवस्थापकीय कार्यविधिको माध्यमबाट जनताको अभिमतअनुरूप नीति र कानून सुनिश्चित गर्दछ ।’

उनले जनताको स्वीकृति बिना कर नलगाइने भन्ने लोकतान्त्रिक सिद्धान्तको सम्मान गर्दै संविधानले करसम्बन्धी सबै प्रस्तावहरू सभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गरे ।

उनले लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मर्म नै संवाद, सहकार्य र सहमति भएको जनाउँदै विविध राजनीतिक दलहरूबीच विचार, दृष्टिकोण र प्राथमिकताहरू फरक–फरक भए तापनि साझा राष्ट्रिय सरोकारका विषयमा दलीय सहमति आवश्यक र अपरिहार्य भएको बताए ।

संसद वादविवादको नभएर संवादको थलो बन्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?