
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रा. डा. शिवराज अधिकारीले २०३० सम्म ५ लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको बताए।
- उनले योजना आयोगको नीति र साझेदारीले परिणाम सुनिश्चित गर्न महत्त्वपूर्ण रहेको बताए।
१६ असार, काठमाडौं । राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित व्यवसाय, स्थानीय आविष्कार र कम कार्बन उत्सर्जन मार्फत सन् २०३० सम्म ५ लाख हरित रोजगारी सिर्जना गर्ने राष्ट्रिय लक्ष्य रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को आयोजनामा सोमबार काठमाडौंमा आयोजित ‘उत्थानशीलका लागि परामर्श : जैविक अर्थतन्त्र र चक्रीय अर्थतन्त्रमा भुटान नेपाल संवाद कार्यशाला’ उद्घाटन गर्दै उपाध्यक्ष अधिकारीले योजना आयोगका नीति र साझेदारीले वास्तविक परिणाम सुनिश्चित गर्न धेरै महत्त्व राख्ने भएकाले यस कार्यमा आयोग कटिबद्ध रहेको जानकारी दिए ।
उनले नेपाल र सम्पूर्ण हिन्दुकुश हिमाली क्षेत्रका लागि समावेशी, दिगो र लचिलो भविष्य निर्माण गर्ने साझेदारीमा मिलेर लगानी गर्नुपर्ने बताउँदै हरित रोजगारी, जलवायु–स्मार्ट उद्यम गर्न र इकोसिस्टम निर्माण गर्न नेपाल कटिबद्ध रहेको बताए ।
उनले साझा अनुभव र आपसी शिक्षाले पहुँच लाभ साझेदारी र चक्रीय अर्थव्यवस्थामा सहकार्यका लागि नयाँ ढोका खोल्नेसमेत बताए ।
‘हामीले यो बुझ्नु आवश्यक छ कि उद्यमशीलता केवल एक आर्थिक गतिविधि मात्र होइन, यो समावेशी र जलवायु–लचिलो विकासको एक शक्तिशाली चालक पनि हो, नेपाल सरकारले राष्ट्रिय नीति र कार्यक्रमबाट यसबारे स्पष्ट पारेको छ,’ उपाध्यक्ष अधिकारीले भने ।
उपाध्यक्ष अधिकारीले आफूहरूसँग अहिले स्टार्टअप र इनोभेसन नीतिहरू रहेको बताउँदै यसबारे पछिल्ला वर्ष नेपालले महत्त्वपूर्ण आधार तयार पारेको जानकारी दिए ।
उनले उद्यमशीलतामा इकोसिस्टमसँगै मेन्टरसिप ल्याउनु आवश्यक रहेको भन्दै मेन्टरसिपलाई वैकल्पिक सेवाका रूपमा हेर्न नहुने तर यसलाई अर्थव्यवस्था र समुदायलाई रूपान्तरण गर्ने रणनीतिका रूपमा अँगाल्नुपर्ने विचार व्यक्त गरे ।
व्यवसायीले पहिलो पटक नेपालको उद्यमशीलता इकोसिस्टममा मेन्टरसिपलाई संस्था बनाउन साहसी कदम चालेको हुँदा यो एउटा कोशेढुंगा रहेको समेत बताए ।
कार्यशालामा भुटान चेम्बर अफ कमर्स, नेसनल बायोडाइभर्सिटी सेन्टर र नेपालका उद्यमीको सहभागिता थियो ।
प्रतिक्रिया 4