+
+
Shares
पुस्तक :

संघर्षको दस्तावेज र परिवर्तनको गीत ‘आमा, सपना र ताराहरू’

गोपाल नेपाल गोपाल नेपाल
२०८२ असार २८ गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पुस्तक \'आमा, सपना र ताराहरू\' मा बाल्यकालदेखि राजनीतिक जीवनसम्मको यात्रा जीवन्त रूपमा प्रस्तुत गरेका छन्।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित पुस्तक ‘आमा, सपना र ताराहरू’ पढिरहँदा मैले पूर्ण जीवनको भावनाहरू अनुभूत गरें, एउटा इतिहासलाई सम्झिएँ र लेखकका भावनाहरूमा डुबुल्की मारें।

यो पुस्तक एक आत्मकथा मात्रै होइन; जीवनको एक दस्तावेज हो, जुन मर्मस्पर्शी छ र पाठकलाई सोचमग्न बनाउँछ। अझै भनौं भित्रैदेखि हल्लाउँछ। ‘मेरो प्यारो ओखलढुङ्गा’ मार्फत युग कवि सिद्धिचरण श्रेष्ठले चिनाएको पूर्वी पहाडी जिल्ला ओखलढुङ्गाको माम्खामा जन्मिएर नेपाल सरकारको उपप्रधानमन्त्री एवं रक्षामन्त्रीको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका ईश्वर पोखरेलले बाल्यकालदेखिको संघर्ष, परिवर्तन र संकल्पको यात्रा यस पुस्तकमा जीवन्त ढंगले प्रस्तुत गरेका छन्।

एक राजनैतिक व्यक्ति आफ्‌नो जीवनकालभरि सामाजिक जीवन जिउँछ। समाजलाई मार्गदर्शन गर्ने, सामाजिक संगठनहरू निर्माण गर्ने, संगठन निर्माणको लागि विचारको विकास, विस्तार गर्ने भएकाले होला, राजनैतिक व्यक्तित्वको लेखमा समाजलाई मज्जाले पढ्न सकिन्छ। पुस्तक राजनीति र समाज परिवर्तनप्रति रुचि राख्नेहरूलाई मन पर्न सक्छ। तर राजनीतिबाट टाढा रहने वा परिवर्तन स्वीकार गर्न नसक्नेहरूलाई यो पुस्तक मन नपर्न पनि सक्छ। लेखन यति सरल तथा बगेको छ कि प्राय: जस्तो समय लगाएर पढ्ने मैले एउटै बसाइँमा पढिसकें।

पुस्तकका महत्वपूर्ण बुँदालाई यसरी चर्चा गर्न सकिन्छ :

ममतामयी आमा र बाल्यकालका अविस्मरणीय पानाहरू

पुस्तकको मूल भाव आमाप्रति रहेको गहिरो माया र श्रद्धामा आधारित छ। बाल्यकालका अविस्मरणीय पलहरू, माम्खाको स्मृति, ‘घुमिफिरी रुम्जाटार’को सामाजिक परिवेश, जनकपुरमा पढ्दाका बेला सुरु भएको राजनीतिक चेतनाको यात्रा— यी सबैले पाठकलाई कथा मात्र होइन, जीवनको यात्रामा डोर्‍याउँछ।

सानैमा बुबाको निधन, आमाको ममतामयी काख र संघर्ष, अनि कान्छो छोराको कर्तव्यबोध।

पढाइ, संघर्ष र परिवर्तनको मार्ग

ईश्वर पोखरेलको जीवनको अर्को महत्त्वपूर्ण अध्याय हो, कीर्तिपुर। त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत रहँदा प्राप्त वैदेशिक अवसरलाई त्यागेर देश र जनताको निम्ति भूमिगत राजनीतिक जीवन रोज्नु सजिलो निर्णय थिएन।

जनकपुरमा रहँदाको राजनीतिक संलग्नता, कीर्तिपुरको विद्यार्थी जीवन, भूमिगत यात्राका संघर्ष र बलिदानीका प्रसंगहरूले पुस्तकको मेरुदण्ड जस्तै भूमिका खेलेका छन्।

पुस्तकले पाठकलाई बाँध्ने कला

मैले यस पुस्तकमा महसुस गरेको सबैभन्दा विशेष पक्ष के हो भने— पाठकले पुस्तक पढ्दैन, कुनै कुनै पुस्तकले पाठकलाई बाँधेर राख्ने गर्छ। हरेक पात्र, दृश्य र अनुभूतिले पाठकको मानसपटलमा गहिरो चित्र रेखाङ्कन गर्दछ ।

पढ्दै जाँदा लाग्छ, म स्वयं लेखकसँगै माम्खाको जुकेपानी, देउराली र रुम्जाटारको फाँट डुलिरहेको छु, जनकपुर र कीर्तिपुरका कक्षा कोठाहरूमा छु, वा रगत नै उमाल्ने त्यो प्रगतिशील आन्दोलनमा उत्रिरहेको छु ।

व्यक्तिगत आत्मीयता र सम्बन्ध

यो पुस्तक मेरो लागि अझ बढी आत्मीय बन्यो किनभने माम्खा मेरो आमा जन्मिएको गाउँ, मेरो मावली हो। ईश्वर पोखरेलले संघर्ष र चेतनाको यात्रा थालेको जनकपुरका साथीहरूसँग मेरो छुट्टै व्यक्तिगत आत्मीयता छ। र, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर आज मेरो पनि गन्तव्य बनेको छ, जहाँबाट म स्नातकोत्तर तहमा एम.आई.टी विषयमा अध्ययनरत छु।

‘जनवादी गणतन्त्र चीन’को भूमिगत यात्राका क्रममा आमाको सम्झना भएको भावनात्मक पक्ष पुस्तकमा उल्लेख गरिएको छ। त्यसैगरी, यात्राको अन्तिम चरणमा चिनियाँ पक्षबाट सबै सामग्री जफत गर्दै गरिएको अपमानको प्रसंग पनि संक्षेपमा समेटिएको देखिन्छ।

यद्यपि लेखकले आफ्ना राजनैतिक गतिविधिको मुख्य क्षेत्र तराई–मधेश क्षेत्रमा रहँदा भारतसँगको सम्बन्ध र छिमेकी देशहरूबाट नेपालको सार्वभौमिकता तथा राष्ट्रियतामा परेको प्रभावबारे भने पुस्तकमा कतै उल्लेख गरिएको पाइँदैन।

अन्त्यमा ‘आमा, सपना र ताराहरू’ केवल आत्म कथा होइन; पीडाको कविता हो, संघर्षको दस्तावेज हो र परिवर्तनको गीत हो । यो पुस्तक पढ्नु भनेको मातृप्रेम, देशप्रेम र जिम्मेवारीको सम्मिलन अनुभव गर्नु हो ।

आज जब पठन संस्कृतिमा कमि देखिन्छ, यस्ता गहिरा र सजीव कृतिहरूले पाठकलाई फेरि पुस्तक प्रेममा फर्काउने सम्भावना राख्छन्। कुनै–कुनै किताब पढिंदैन, महसुस गरिन्छ। ‘आमा, सपना र ताराहरू’ त्यस्तै एउटा किताब हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?