News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन चेस एकेडेमीले आगामी शनिबार \'हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ आयोजना गर्नेछ।
- प्रतियोगितामा २ सय खेलाडीले १७ फरक विधामा प्रतिस्पर्धा गर्नेछन्।
- प्रतियोगिता स्व. राजेन्द्र केसीको स्मृतिमा आयोजना हुँदैछ।
३० असार, काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ आगामी शनिबार त्रिपुरेश्वरस्थित वोगनभिल्लामा हुने भएको छ।
प्रतियोगितामा २ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्, जसले यो नेपालकै सबैभन्दा ठूलो ब्लिट्ज चेस प्रतियोगिता बन्ने अपेक्षा गरिएको छ।
गत वर्ष अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे)को शतवार्षिकीको अवसरमा आयोजित पहिलो संस्करण ‘हिमालयन १००’ मा १ सय खेलाडी सहभागी भएका थिए। उक्त प्रतियोगिता गिनिज वर्ल्ड रेकर्ड्समा दर्ता समेत भएको थियो। त्यसैको दोस्रो संस्करण यसपटक ‘राजेन्द्र केसी स्मृति’ शीर्षकमा आयोजना गरिँदैछ।
हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बूका अनुसार एकदिने प्रतियोगिता १७ फरक विधामा सञ्चालन हुनेछ, जसमा नगद ६७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिनेछ।
प्रतियोगितामा खुला, यू-१५, महिला, भेट्रान, विभिन्न फिडे रेटिङ समूह, अनरेटेड, यू-१३, यू-११, यू-९, यू-७, बेस्ट एचसीए, गल्र्स र ब्वाइज क्याटेगोरी समावेश गरिएको छ।
खुलातर्फका विजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, यू-१५ समूहका शीर्ष ७ खेलाडी र अन्य सबै विधाका विजेताले पनि नगदसहित पुरस्कार प्राप्त गर्नेछन्।
स्व. राजेन्द्र केसी नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका केन्द्रीय सदस्य र भोटेबहाल युवा क्लबका पूर्वअध्यक्ष थिए। उनको स्मृतिमा आयोजित प्रतियोगिता बालबालिकाको बौद्धिक र अनुशासनात्मक विकासमा टेवा पुर्याउने विश्वास दिवंगत केसीकी धर्मपत्नी वन्दना खड्काले व्यक्त गरिन्।
२०७७ जेठ २५ गते ४४ वर्षको उमेरमा दिवंगत भएका केसी बालबालिकाप्रति अत्यन्त माया गर्ने व्यक्तित्व भएको भन्दै अध्यक्ष खम्बूले स्मृतिगाथा प्रतियोगिताले चेसको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्ने बताइन्।
यस प्रतियोगिता हिमालयन चेस एकेडेमीद्वारा आयोजित आठौं प्रतियोगिता हो। यसअघि एकेडेमीले एसईई कप, गिनिज वर्ल्ड रेकर्ड्स दर्ता भएको हिमालयन १००, तीज चेस टुर्नी, प्याट्रिओटिक पन च्याम्पियनसिप, डुओ, ब्लिट्ज कप र देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता आयोजना गरिसकेको छ।
चेसको विकास र प्रवर्द्धनका लागि समर्पित एकेडेमीले थापाथली र भक्तपुर शाखामार्फत ५ फरक स्तर (फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट, एड्भान्स) का कोर्सहरू सञ्चालन गर्दै १ सयभन्दा बढी खेलाडीलाई प्रशिक्षण दिँदै आएको छ। साथै, प्रत्येक बुधबार महिलाका लागि निःशुल्क तालिम, स्कुल र समुदायमा कार्यशाला तथा अनलाइन कक्षा पनि नियमित सञ्चालनमा छन्।
एकेडेमीले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर अतनु लहिरीलाई नेपाल ल्याएर विशेष प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरिसकेको छ।
प्रतिक्रिया 4