+
+
Shares

काभ्रेमा स्वीस परम्परा मिश्रित रिसोर्ट, पस्किन्छ पाँच तत्वमा आधारित मेनु

काभ्रेको मण्डनदेउपुरमा खुलेको ‘द लप्सी ट्री रिसोर्ट’ले नेपाली मौलिकता र स्वीस परम्परालाई मिलाएर पृथ्वी, जल, वायु, अग्नि र आकाश सहितको पाँच तत्वमा आधारित मेनु पस्किन्छ ।

कपिल कोइराला कपिल कोइराला
२०८२ साउन ९ गते १३:०१

काभ्रेपलाञ्चोक । खानाका पारखीहरुले अब काभ्रेको मण्डनदेउपुरमा बसेर स्वीस र नेपाली मिश्रित खानाको नयाँ अनुभव लिन पाउने भएका छन् ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका–२ मा रहेको ‘द लप्सी ट्री रिसोर्ट’ले नेपाली मौलिकता र स्वीस परम्पराको स्वादलाई पाँच तत्व (पृथ्वी, जल, वायु, अग्नि र आकाश) सँग आध्यात्मिक रूपमा जोडेर बनाइएका परिकार पस्किने गर्दछ ।

स्थानीय उत्पादन, मौसमी तरकारी र नेपालका विभिन्न क्षेत्रका सामग्री प्रयोग गरी तयार पारिएका यी परिकारहरू खेतबारीदेखि भान्सासम्म समुदायसँगको सहकार्यमा आधारित रहेको रिसोर्टका संस्थापक दीप्ति गौतमले जानकारी दिइन् । ‘यसको उद्देश्य केवल परिकारको स्वाद मात्र नभई नेपालको संस्कृति र ग्रामीण पर्यटनलाई समेत प्रवर्द्धन गर्नु हो,’ उनले भनिन् ।

गत शनिबार, स्वीस प्रोफेसर डा. वल्फग्याङ जर्ज र गेट कलेजका संस्थापक खेम आर लेकाईको उपस्थितिमा शेफ विष्णु थापा मगर र स्वीस शेफले संयुक्त रूपमा परिकार परीक्षण गरेका थिए ।

परीक्षण सफल भएको जानकारी दिँदै संस्थापक गौतमले अब आन्तरिक र बाह्य पर्यटकहरूले नेपाल–स्वीस स्वादको संयोजन अनुभव गर्न सक्ने बताइन् ।

के छ पाँच तत्वको कोर्षमा ?

१. पृथ्वी

यो कोर्षमा नेपालको हिमाली क्षेत्रको मार्सी चामल, याक चिज, बफ सुकुटी र ममको अचारको संयोजन छ । स्वीस शैलीको ‘अरान्चिनी’लाई नेपाली स्वादमा रुपान्तरण गरिएको छ । वैकल्पिक रूपमा चिकेन वा च्याउको छोइला प्रयोग गरेर ‘छोइला ब्रुशेट्टा’ पनि तयार गरिएको छ ।

२. जल

दोस्रो कोर्षमा गाजरको गाढा सुपमा नेपाली मम मिसाएर ‘मोमो क्यारोट सुप’ तयार गरिएको छ । हिमालयन मसला र स्वीस स्टाइलको मिसावट यसमा छ, जसले जल तत्वको बहाव र स्वादको तरलता झल्काउँछ ।

३. वायु

तेस्रो कोर्ष ‘वायु’ स्वाद परिवर्तन गर्ने उद्देश्यले राखिएको छ । यसमा ताजा आँप र दहीको संयोजन छ । यसको स्वादले जिब्रोमा ताजगी ल्याउने दाबी गरिएको छ ।

४. अग्नि

यो कोर्षमा फापरको चाउमिन, रेड वाइनमा पकाइएको बफ रुलाड र शाकाहारीका लागि ‘जोगी भात’ छन् । यी सबै परिकार आगोमा पकाइने हुँदा अग्निसँग जोडिएको छ ।

५. आकाश

अन्तिम एवम् पाँचौं कोर्षमा मुस्ताङको स्याउबाट बनाइएको ‘एप्पल पाई’ प्रस्तुत गरिएको छ, जुन नेपालमै उत्पादन भएको आइसक्रिम र सिजनल फलफूलसँग मिसाएर पस्किइन्छ । यसमार्फत् स्वादको समापन मिठाससँग गरिन्छ ।

रिसोर्टकी संस्थापक दीप्ति गौतम भन्छिन्, ‘यो केवल खानाको कोर्ष होइन, नेपाल र स्विजरल्याण्डबीचको आत्मीयता र सांस्कृतिक सहकार्यको प्रतीक हो ।’

उनका अनुसार यसबाट नेपालमा सामुदायिकमा आधारित ग्रामिण पर्यटनको सम्भावना अपार छ र त्यसलाई स्वादमार्फत प्रस्तुत गर्न खोजेको छ ।

यस अवधारणा अनुसार पर्यटकहरू मण्डनदेउपुरको होमस्टे बस्छन्, स्थानीय जीवनशैलीमा सहभागी हुन्छन् र सांस्कृतिक आदानप्रदान गर्छन् । यसले समुदायलाई प्रत्यक्ष लाभ मिल्ने दाबी छ ।

साथै पर्यटकहरू परम्परागत तरिकाले पाकेका परिकारहरू बनाउने प्रक्रिया हेर्ने, स्थानीय उत्पादनहरूको स्वाद लिँदै रमाउन सक्ने विश्वास छ ।

रिसोर्टकी संस्थापक दीप्ति गौतम भन्छिन्, ‘द लप्सी ट्री रिसोर्टको यो पाँच तत्वीय स्वाद यात्रा केवल नयाँ परिकारको अनुभव मात्र होइन, नेपालको दिगो पर्यटन, पाक परम्परा र सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै नयाँ उचाइमा पुर्‍याउने महत्वपूर्ण प्रयास पनि हो । नेपालकै गाउँघरको स्वादलाई विश्वस्तरीय प्रस्तुतीकरणमा रूपान्तरण गर्दै यस्तो प्रयासले नेपाललाई स्वादमार्फत विश्व नक्सामा चिनाउन सक्ने सम्भावना बोकेको छ ।’

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?