News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले पेलेदेखि मेसी र रोनाल्डोभन्दा उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको बताएका छन्।
- ओलीले दशरथ रंगशालाको मर्मत सम्भार गर्ने र भक्तपुर सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक क्षमताको नयाँ रंगशाला निर्माण गर्न लागिएको बताएका छन्।
- नेपालमा विद्यालयस्तरमा बालबालिकाको समग्र विकासका लागि फिफा फुटबल फर स्कुल्स कार्यक्रम सुरु भएको छ र प्रधानमन्त्री ओलीले त्यसको उद्घाटन गरेका छन्।
१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा नेपालमा पनि उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सानोतिनो होइन विश्वकै हस्ती फुटबल खेलाडी पेलेदेखि लिओनल मेसी जस्ता उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको सुनाएका हुन् ।
फिफा फुटबल फर स्कुल्स कार्यक्रम उद्घाटन गर्न बिहीबार दशरथ रंगशालमा पुगेका प्रधानमन्त्री ओलीले पेले, मेसी, रोनाल्डो र एमबाप्पे भन्दा पनि राम्रो खेलाडी उत्पादन गर्ने बताएका हुन् ।
‘हामीले पेलेदेखि लिएर अहिलेका मेस्सी अथावा अरु खेलाडीहरुको दाँजोमा, रोनाल्डो वा एमबाप्पेसम्मको दाँजोमा पुग्न सक्ने र त्योभन्दा अगाडि बढ्न सक्ने सामर्थ्य राख्ने खेलाडीहरू नेपालले उत्पादन गर्ने लक्ष्य लिएको छ उद्देश्य लिएको छ’ ओलीले भने ।
फुटबल सम्राटको रुपमा परिचित पेले विश्व फुटबलकै सबैभन्दा महान खेलाडीको रुपमा लिइन्छ । वर्तमान समयका दुई ठूला स्टार हुन् मेसी र क्रिस्टियानो रोनाल्डो ।
मेसीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई फिफा विश्वकप र कवपा अमेरिकाको उपाधि जिताएका छन् । यस्तै क्रिस्टियानोले आफ्नो कप्तानीमा पोर्चुगललाई युरोकप र युइएफए नेसन्स कपको उपाधि जिताएका छन् ।
रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाएका छन् । रोनाल्डोले १३८ अन्तर्राष्ट्रिय गोल गर्दा मेसीले राष्ट्रिय टिमबाट ११२ गोल गरेका छन् ।
प्रधानमन्त्री ओलीले फुटबल नेपालकै चर्चित खेल भएको भन्दै अब फुटबलका लागि ५० हजार दर्शक ऐमताको नयाँ रंगशाला निर्माण गर्न लागेको समेत बताए । उनले दशरथ रंगशाला ऐतिहासिक रंगशाला भएको भन्दै यसको मर्मत सम्भार पनि गर्ने बताए ।
प्रधानमन्त्री ओलली देशैभर भौतिक पूर्वाधारको काम भइरहेको र अब रंगशाला र खेलमैदानको कुनै कमी नहुने बताए । ‘अब छिट्टै नै हामी भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक अट्ने रंगशाला निर्माण गर्न लागिरहेका छौं,’ उनले भने, ‘यो रंगशाला (दशरथ रंगशाला) भनेको १५ हजार क्षमताको हो ।’
१३ साउनमा प्रधानमन्त्री ओलीले सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापा र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ लगायतलाई भेटर ५० जगातीमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला निर्माणका जग्गा प्राप्तीको प्रकृया अघि बढाएको बताएका थिए ।
प्रधानमन्त्री ओलीले दशरथ रंगशालमा उपस्थित भएका विभिन्न विद्यालयका हजारौँ विद्यार्थीहरुलाई लक्षित गर्दै उनीहरु हुर्कँदा ५० हजार क्षमताको रंगशालमा तयार हुने दावी गरे । ‘तिमीहरू हुर्किँदासम्म, खेलाडी हुँदासम्म ५० हजार दर्शकले हेर्ने रंगशाला तयार भइसकेको हुनेछ । म खुशी व्यक्त गर्न चाहन्छु ।’
विद्यालयस्तरमा फुटबलमार्फत बालबालिकाको समग्र विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबारदेखि नेपालमा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रमको औपचारिक शुभारम्भ भएको छ । प्रधानमन्त्री ओलीले उक्त कार्यक्रममको उद्घाटन गरेका थिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्य र अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वयमा नेपालमा उक्त कार्यक्रम सञ्चालन भएको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युनेस्कोको सहकार्यमा सञ्चालित फिफा फुटबल फर स्कुल्स कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
 
                    










 २०८२ साउन  १५ गते २०:१६
                        २०८२ साउन  १५ गते २०:१६                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4