News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व फुल कन्ट्याक्ट किकबक्सिङ संगठनले चार दिने बेल्ट ग्रेडिङ, रेफ्री तथा प्रशिक्षक सेमिनारको उद्घाटन गरेको छ ।
- डब्लुएफकेओ अन्तर्राष्ट्रिय अध्यक्ष ब्रायन डब्लु बेकको उपस्थितिले कार्यक्रम ऐतिहासिक बनेको छ ।
- सेमिनारले प्राविधिक सीप, अन्तर्राष्ट्रिय नियम अध्ययन र प्रशिक्षक क्षमतावृद्धिमा केन्द्रित प्रशिक्षण प्रदान गर्ने विश्वास गरिएको छ ।
१६ साउन, काठमाडौं । विश्व फुल कन्ट्याक्ट किकबक्सिङ संगठन (डब्लुएफकेओ) द्वारा आयोजना गरिएको बेल्ट ग्रेडिङ, रेफ्री तथा प्रशिक्षक सेमिनारको भव्य रूपमा औपचारिक उद्घाटन गरिएको छ ।
डब्लुएफकेओ अन्तर्राष्ट्रिय अध्यक्ष शब्रायन डब्लु बेकको विशेष उपस्थितिमा कार्यक्रमको उद्घाटन गरिएको छ । किकबक्सिङको अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्याउँदै आएका बेकको उपस्थितीले कार्यक्रमलाई ऐतिहासिक बनाएको र खेलकुद समुदायमा उत्साह थपेको को डब्लुएफकेओ नेपालले जनाएको छ ।
कार्यक्रममा उपस्थित भएका सांसद तथा पूर्व युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले खेलकुदको माध्यमबाट युवामा अनुशासन, आत्मविश्वास र नेतृत्व विकास हुने विश्वास व्यक्त गर्दै डब्लुएफकेओ जस्ता संस्थाहरूको योगदानप्रति धन्यवाद ज्ञापन गरे ।
यस अवसरमा डब्लुएफकेओ नेपालका महासचिव, चिफ रेफ्री तथा किक बक्सिङ एसियन गोल्ड मेडलिस्ट बिन्दा नेपालीले बेकको आगमनले उत्साहित भएको बताइन् । बिन्दाको नेतृत्व र प्रेरणाले कार्यक्रमलाई अझ प्रभावशाली बनाएको सहभागीहरूले अनुभव गरेका छन् ।
कार्यक्रममा डब्लुएफकेओ नेपालकम प्रशिक्षक, रेफ्री तथा विभिन्न डोजोबाट सहभागी खेलाडीहरूले प्रशिक्षणमा सक्रिय रूपमा भाग लिएका छन् । यस सेमिनारले नेपालको किकबक्सिङ खेलको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
डब्लुएफकेओ अध्यक्ष बेकले भने, ‘नेपालमा किकबक्सिङप्रतिको लगाव र समर्पण अद्भुत छ । यो सेमिनारले नेपालको किकबक्सिङ प्रतिभालाई विश्व मञ्चमा पुर्याउने लक्ष्य लिएको छ ।’
उक्त सेमिनारमार्फत प्राविधिक सीपको आदान–प्रदान, अन्तर्राष्ट्रिय मान्यताप्राप्त नियमहरूको अध्ययन, तथा प्रशिक्षकहरूको क्षमतावृद्धिमा केन्द्रित प्रशिक्षण प्रदान गरिने छ ।
शनिवारदेखि सुरु हुने चार दिने बेल्ट ग्रेडिङ, रेफ्री प्रशिक्षण तथा प्रशिक्षक तालिम सेमिनार किकबक्सिङ खेलको अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सीप र मूल्यांकन विधिमा केन्द्रित रहनेछ । कार्यक्रम समापनसम्म बेल्ट परीक्षण, रेफ्री तालिम र प्रशिक्षक स्तरको सेसनहरू सञ्चालन हुँदैछन् ।
कार्यक्रममा सहभागी खेलाडीहरूलाई बेल्ट प्रमोशन परीक्षण मार्फत प्राविधिक तथा शारीरिक क्षमताको मूल्यांकन गरिनेछ भने रेफ्रीहरूलाई प्रतिस्पर्धा सञ्चालन, निर्णय प्रक्रिया र खेल नियमसम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक तालिम प्रदान गरिनेछ । यस्तै प्रशिक्षकहरूलाई प्रशिक्षण रणनीति, शारीरिक तालीम विधि र अनुशासन व्यवस्थापन सम्बन्धी विशेष मार्गदर्शन दिइनेछ ।
नेपालमा यस किसिमको अन्तर्राष्ट्रियस्तरको सहभागितासहितको सेमिनारले किकबक्सिङ खेलको समग्र विकासमा नयाँ युगको सुरुवात गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4