+
+
Shares

कालीगण्डकी किनारमा गण्डकी र लुम्बिनी सरकारको बैठक, साझा घोषणापत्र जारी गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १३:२८

१६ भदौ, स्याङ्जा । गण्डकी र लुम्बिनी प्रदेश सरकारबीच कालीगण्डकी किनारमा सोमबार समन्वयात्मक बैठक बसेको छ ।

स्याङ्जा गल्याङ नगरपालिका-१ मालुंगा उत्तरबाहिनीमा दुई प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको उपस्थितिमा समन्वयात्मक बैठक बसेको हो ।

बैठकमा दुई प्रदेशबीचको सम्बन्ध, अनुभव आदान–प्रदान, स्रोत साधनको प्रयोग, कानुन कार्यान्वयनमा एकरूपता र कालीगण्डकी सदुपयोगका विषयमा समेत छलफल हुनेछ ।

बैठकले यसअघिको बैठकका निर्णयको समीक्षासमेत गर्नेछ । यसअघि गत वर्ष ३० माघमा दुई प्रदेशको बैठकले २१ बुँदे घोषणा पत्र जारी गरेको थियो ।

दुवै प्रदेशलाई जोड्ने योजनालाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नेबारे पनि छलफल हुने लुम्बिनी सरकारका प्रमुख सचिव बाबुराम अधिकारीले जानकारी दिए ।

बैठकमा कालीगण्डकी डाइभर्सनका विषयमा समेत छलफल हुनेछ । गण्डकीले अहिलेसम्म डाइभर्सनका विरोधमा आवाज उठाउँदै आइरहेको छ । दुई प्रदेशको समन्वय र सहमतिबिना कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न नसक्ने गण्डकीले अडान राख्दै आएको छ ।

कालीगण्डकी किनारका धार्मिक स्थलहरूलाई जोड्ने, कालीगण्डकीको दामोदरकुण्डदेखि देवघाटसम्मका क्षेत्रमा दुई प्रदेशलाई जोडेर समन्वय गर्ने विषयमा छलफल गरिने लुम्बिनीका प्रमुख सचिव अधिकारीले बताए । दुई प्रदेशका उत्पादन, स्रोत, साधन उपयोगमा साझा कार्यक्रम बनाउनेबारे पनि छलफल हुनेछ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अध्यक्षता गरेको बैठक सोमबार नै सकिनेछ । यसअघि गत वर्ष ३० माघमा पाल्पा रानीमहलमा दुई प्रदेशबीच भएको बैठकको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले र अध्यक्षता गरेका थिए ।

सोमबारको बैठकमा लुम्बिनीका भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकाल, उद्योग पर्यटन यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने र गण्डकीबाट प्रवक्ता तथा अर्थमन्त्री टकराज गुरुङ, पर्यटनमन्त्री मित्रलाल बस्याल र मन्त्रालयका सचिवहरू उपस्थित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?