
१६ भदौ, धादिङ । धादिङको गजुरी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ को बजेटका विषयमा विवाद भएको छ ।
गत १० असारमा गाउँसभामार्फत ल्याइएको बजेटभन्दा बेग्लै शीर्षक र योजनाहरू थपेर गाउँपालिकाको बजेट किताब छापिएको भन्दै गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले विरोध जनाएकी हुन् ।
‘१० असारमा सम्पन्न १६औं गाउँसभाबाट ६७ करोड २२ लाख ९२ हजार बजेट सार्वजनिक गरिएको भए पनि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा आफूखुसी खर्च गर्नेगरी बजेटको आकार बढाइयो,’ उपाध्यक्ष बिसुरालले विज्ञप्ति जारी गर्दै भनेकी छिन्, ‘३ करोड ७ लाख रुपैयाँ थप गरी गाउँपालिकाको बजेट किताब प्रकाशन गरिएको छ ।’
गाउँसभामा प्रस्तुत गरिएको तथ्याङ्क एवं लिखितलाई कोही व्यक्ति विशेषले परिवर्तन गर्न नपाउने भन्दै उनले सभामा प्रस्तुत गरिएकोभन्दा बढी बजेट राखेर अनुमतिविना नै आफ्नो हस्ताक्षर प्रयोग गरी पुस्तक छापेको उनको दाबी छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गाउँसभामा पेस गरिएको बजेटभन्दा बाहेक तोडमोड गरी बजेट किताब प्रकाशन गर्नेहरूलाई कानुनी दायरामा ल्याई तत्काल गाउँसभाको आह्वान गरी पुनः बजेट सार्वजनिक गर्न उनले माग गरेकी छिन् ।
उपाध्यक्ष बिसुरालले गाउँपालिकामा पछिल्लो समय उपाध्यक्षको हैसियतले संवैधानिक प्रावधानअनुरूप गर्न पाउने विभिन्न विषयगत काम-कारबाहीमा पनि बारम्बार हस्तक्षेप भइरहेको आरोप लगाएकी छिन् ।
गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले भने उपाध्यक्ष बिसुरालले लगाएको आरोप मनोगत र पार्टीप्रेरित भएको बताएका छन् । एक भिडियो व्यक्तव्य जारी गरी अध्यक्ष श्रेष्ठले बजेट किताब प्रकाशन विषयमा आफूलाई जानकारी नै नभएको र उपाध्यक्षसँग छलफल नै नभएको भन्ने आरोपमा कुनै सत्यता नरहेको बताएका हुन् ।
सबै वडाअध्यक्षसँग छलफल गर्नुका साथै उपाध्यक्षलाई जानकारी दिएरै ६७ करोडबाट बजेट ७० करोड बनाएको स्वीकार गर्दै अध्यक्ष श्रेष्ठले संघ र प्रदेशबाट आउने बजेट असारको अन्तिममा आउने र अघिल्लो वर्षहरूमा जस्तै यसवर्ष पनि अल्या गरेर बजेट थप गरी किताब प्रकाशित गरिएको बताए ।
बजेट आफ्नो व्यक्तिगत प्रयोजनको लागि नभई गजुरी गाउँपालिकाभित्रै खर्च गर्नेगरी बढाइएको र बढेर आउँदा पनि उपाध्यक्षले विरोध गर्नुको कुनै औचित्य नभएको उनले बताए । उपाध्यक्षलाई गाउँपालिकाबाट पर्याप्त सेवा-सुविधा दिइरहे पनि पटकपटक अध्यक्षको विरोध गरिरहेको आरोपसमेत लगाए ।
गजुरी गाउँपालिकामा अध्यक्ष नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् भने उपाध्यक्ष नेपाली कांग्रेसकी हुन् । यो पालिकामा कांग्रेस र माओवादीको गठबन्धन भएको थियो ।
गजुरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीचको विवाद पहिलो भने होइन । गत फागुनमा जनयुद्ध दिवसका दिन बिदा दिएको र बिदा नदिएको विषयमा अध्यक्ष र उपाध्यक्ष दुवैले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी विवाद निम्त्याएका थिए ।
त्यस्तै गत १९ साउनमा अध्यक्ष श्रेष्ठले विदेश गएका बेला आफू निकटका वडाध्यक्षलाई कार्यवाहक अध्यक्ष दिएपछि विवाद चर्किएको थियो ।
प्रतिक्रिया 4