+
+
Shares

सामाजिक सञ्जाल बन्द : खोसियो अल्टरनेटिभ प्ल्याटफर्मको रोजीरोटी

सामाजिक सञ्जाल बन्दको प्रत्यक्ष असर ‘अल्टरनेटिभ मिडिया’लाई परेको छ । यसैबाट जीविकोपार्जन गर्ने मिडियाको रोजीरोटी खोसिएको छ ।

दिनेश गौतम दिनेश गौतम
२०८२ भदौ २० गते २१:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सम्पदा लिम्बूले सामाजिक सञ्जाल बन्द भएपछि रोजीरोटीमा अन्योल भएको बताइन् र सरकारले विकल्प नदिएको प्रश्न उठाइन्।
  • सामाजिक सञ्जाल बन्दले सूचना प्रवाह र व्यवसायमा असर परेको र विकल्प नहुँदा जनतामा समस्या भएको भिक्टर पौडेलले बताए।
  • अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले १० हजारभन्दा बढीले रोजगारी गुमाउने र कार्यालय बन्द हुने अवस्था आएको उल्लेख गरे।

२० भदौ, काठमाडौं । सम्पदा लिम्बूले पडकास्ट चलाउन थालेको ६ वर्ष भयो । उनको आयस्रोतको आधार नै युट्युब थियो । तर सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि उनी अन्योल र चिन्तित छिन् ।

‘यही पेसाबाट बाँचिरहेको छु । रोजीरोटीको सवाल छ । के गर्ने अन्योलमा छु । सामाजिक सञ्जालको नियमन आवश्यक छ तर विकल्प चाहिँ सरकारले किन नदिएको ?,’ सम्पदा प्रश्न गर्छिन् ।

सम्पदा लिम्बू ।

दर्ता गर्न आएन भने अन्धकारमै बस्ने हो ?

रेडियो-टेलिभिजन छोडेर नयाँ मिडियामा मोडिएकी सम्पदा यतिबेला अनिश्चयको घेरामा छिन् । ‘अर्को जागिर छैन । कति बेरोजागर हुन्छन् । जीवन नै यसैमा समर्पित गर्नेलाई ठूलो असर पर्‍यो । फेसबुक युट्युब दर्ता गर्न आएनन् भने के हुन्छ ? दर्ता गर्न आउला भन्ने आशाले बन्द गरेको होला । दर्ता गर्न आएन भने अन्धकारमै बस्ने हो  ?,’ यतिबेला उनको मनमा प्रश्नैप्रश्न खेलिरहेको छ ।

सरकारले हतारो गरेको निचोड उनको छ । ‘आगामी दिन हेरौं, के हुन्छ । तर सरकारले हतारो गर्दा हामीलाई धेरै गाह्रो भयो,’ उनले भनिन् । उनले सामाजिक विषयवस्तुमा पडकास्ट चलाउँदै आएकी छिन् ।

भिक्टर पौडेल ।

नियन्त्रण होइन नियमन गर्नुपर्छ

रुटिन अफ नेपाल बन्द (आरओएनबी) का संस्थापक भिक्टर पौडेल २०११ देखि फेसबुक पेजबाट सूचना प्रवाह गरिरहेका छन् । युवा पुस्ताका लागि भरपर्दो सूचना र सकारात्मक सन्देश प्रवाहको स्रोत आरओएनबी बनेको छ ।

तर, सामाजिक सञ्जाल बन्दले आरओएनबीलाई पनि असर परेको छ । ‘नियमन गर्नु राम्रो हो तर नियन्त्रण गर्नु भएन । विकल्प के हो त ? मेटा र सरकारको टसल होला तर यसले जनतालाई त असर पर्‍यो नि,’ पौडेलले भने, ‘बन्द गरेको भन्दा पनि प्ल्याफर्मको विकल्प भएन । अब हामीले के चलाउने ? टिकटक र भाइबर बाहेक अर्को विकल्प छैन । फेसबुकको अल्टरनेटिभ नभएकाले गाह्रो भइरहेको छ ।’

यद्यपि, उनले आरओएनबीलाई टिकटक र भाइबरमा विस्तार गरेका छन् । तर विदेशमा रहेका नेपालीले समेत पौडेललाई सोधिरहेका छन्, ‘बुवाआमासँग केबाट कुरा गर्ने ?’

पौडेल भन्छन्, ‘परिवारलाई कसरी सम्पर्क गर्ने भनेर म्यासेज आइरहेको छ । भाइबर चल्छ भनेका छौँ तर नेपालमा बस्ने बाबाआमाले भर्खर फेसबुक र म्यासेन्जर चलाउन सिक्नुभएको थियो । बिजनेसमा त असर पर्‍यो नै नर्मल मानिसलाई पनि असर परेको छ ।’ एकअर्कासँग सम्पर्क नै टुटेको उनी बताउँछन् ।

सन्तोष देउजा ।

सरकारको अपरिपक्व निर्णय

सन्तोष देउजाले पनि ठूला अवसर छोडेर फेसबुक र युट्युब च्यानल चलाएको ७ वर्ष भयो । सरकारको निर्णयप्रति उनी पनि सन्तुष्ट छैनन् । ‘मूलधार छोडेर भविष्य खोजेर आएको हुँ । घाम, पानी, हिलो, धुलो नभनी संघर्ष गरेर च्यानललाई यहाँसम्म ल्याएको हो । अहिले आएर बन्द भयो । सामाजिक सञ्जालमा अवसर देखेर अरू छोडेर आएको हो तर सरकारले लात हान्ने काम गर्‍यो । बन्द गर्ने निर्णय सच्याउनुपर्छ,’ उनले भने ।

सामाजिक सञ्जाल बन्द गर्न खोज्नु सरकारको अपरिपक्व निर्णय भएको उनको टिप्प्णी छ । ‘सामाजिक सञ्जाल बिजनेस बनेको कुरालाई रोक्न खोज्नु राम्रो भएन । युट्युब बन्द गर्ने भनिएको छ, तर संसद्‌को लाइभ नै युट्युबबाट हुन्छ । अब कहाँ हेर्ने ? जनताको सूचनाको हक के हुन्छ । बन्द गर्नुअघि सरकारको तयारी पुगेन । निर्णय खारेज गर्नुपर्छ,’ उनले भने । देउजाले समसामयिक विषयमा नयाँ मिडियाबाट पत्रकारिता गरिरहेका छन् ।

केशव जोशी ।

नयाँ चेतना र प्रविधिलाई रोक्नु हुँदैन

मूलधारको पत्रकारित छोडेर नयाँ मिडियामा फड्को मारेका हुन् केशव जोशी । उनी संसद्‌देखि राजनीतिक विषयमा रिपोर्टिङ गर्छन् । उनको प्रसारणको माध्यम युट्युब र फेसबुक हो । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरे पनि जोशीले भिडियो बनाउन छोडेका छैनन् । तर कतिबेला पूरै रोकिने हो भन्ने संसय छ जोशीलाई ।

‘बोल्दाबोल्दै जान्छ कि जस्तो लाग्छ । भिडियो सामग्री तयार परेको छ । अपलोड गर्दागर्दै रोकिन्छ भन्ने भय छ । भविश्य नै भएन,’ जोशी भन्छन्, ‘ग्लोबल भिलेजमा छौँ । तर नयाँ चेतना र प्रविधिलाई रोक्न सकिदैन ।’

कांग्रेस महामन्त्री गगन थापाले कीर्तिपुरको डाँडामा बसेर तीन/चार लाख कमाउने भनेर गरेको भाषणलाई सरकारको निर्णयले व्यंग्य गरेको तर्क उनको छ । ‘सरकारको निर्णयले युवा पलायन हुने भए । सामाजिक अपराध बढ्ने भयो,’ उनले भने ।

आफू फेरि मूलधारको मिडियामा फर्किने अवस्था पनि नरहेको जोशीले बताए । त्यसैले सामाजिक सञ्जाललाई व्यवस्थित गरेर चलाउन दिनुपर्ने मत उनको छ । अहिले सामाजिक सञ्जाल बन्द गर्नुलाई जोशी राणा शासनको संज्ञा दिन्छन् ।

‘त्रिचन्द्र कलेज खोल्दै गर्दा राणाहरूले आफ्नो खुट्टामा बञ्चरो हान्ने काम गर्‍यौं भनेका थिए । तर कलेज खोलेका थिए । गणतन्त्रमा त सामाजिक सञ्जाल नै बन्द गरियो,’ उनले भने ।

सुशान्त प्रधान ।

सरकारले नियन्त्रण गर्न खोज्यो

सन् २०१४ देखि नयाँ मिडियामा भिडियो सामग्री उत्पादन गर्दै आएका छन् सुशान्त प्रधान । सामाजिक सञ्जालसम्बन्धी होस् वा प्रेससँग सम्बन्धित विधेयक । यी विषयमा प्रधानले पहिल्यैदेखि नै आवाज उठाउँदै आएका छन् ।

सामाजिक सञ्जाललाई नियमनभन्दा पनि नियन्त्रण गर्न खोजेको मत उनको छ । ‘हाम्रो काममा प्रभाव त पर्ने नै भयो तर यो सूचनाको हकमा पनि प्रतिबन्ध लगाउन खोजिएको हो,’ उनले भने, ‘लिपुलेकको कुरा आएको छ । भ्रष्टाचारको कुरा आएको छ । चुनाव पनि आउँदै छ । कन्टेन्ट हटाउनका लागि नियन्त्रण गर्न खोजिएको हो ।’

लोकतन्त्रमा सामाजिक सञ्जाललाई दर्ता गराउन नसक्नु सरकारको कमजोरी देख्छन् प्रधान । ‘दर्ता गर्न नसक्नु सरकारकै कमजोरी हो,’ उनले भने ।

जीवन भण्डारी ।

१०औँ हजार प्रभावित, कार्यालय बन्द गर्ने तयारी

माथि उल्लेखित त प्रतिनिधि पात्र मात्र हुन् । नयाँ मिडियामा काम गर्नेको संख्या बढिरहेको छ । तर यति नै संख्यामा छन् भन्ने यकिन तथ्यांक छैन । अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीका अनुसार ७ देखि १० हजार जना प्रत्यक्ष रूपमा जोडिएर काम गरिरहेका छन् ।

‘तथ्यांकको लागि रिसर्च गर्न प्रेस काउन्सिललाई भनेको हो तर काम भएको छैन । रिसर्च हुने हो भने नयाँ मिडिया सूचीकरणमा पनि आउँथे । कति कमाउने रहेछन्, कति लगानी गरेको रहेछ थहा हुने थियो,’ भण्डारीले भने ।

उनका अनुसार अनलाइन टिभी पत्रकार संघमा मात्र १ हजार सदस्य छन् । ‘मूलधारबाट समेत अनलाइन टिभीमा आउने क्रम बढिरहेको थियो । तर अब बन्दले असर पर्ने भयो,’ उनले भने ।

अनलाइन टिभीमा काम गर्नेले १ लाखदेखि ४० लाखसम्म कमाएको उदाहरण प्रशस्त रहेको उनी बताउँछन् । ‘१०औँ हजारले रोजगारी पाएका थिए । ४–५ जनाको परिवार चलेको थियो । अब आर्थिक संकट निम्तिने भयो । मानसिक समस्या पनि हुन्छ,’ उनले भने ।

अनलाइन टिभी सञ्चालकहरूले क्यामेरा बिक्रीमा भनेर समेत लेख्न थालेको बताउँछन् भण्डारी । ‘क्यामेरा बिक्रीमा भनेर साथीहरूले लेखिरहेका छन् । कार्यालय बन्द गर्ने तयारीमा छन् । सयौं कार्यालय बन्द हुँदा भोलि अन्तर्राष्ट्रिय समाचार बन्छ,’ भण्डारीले भने, ‘करोडौं आम्दानी नेपालीको गोजीमा आएको थियो, सरकारले खोस्यो ।’

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?