+
+
Shares
पौरखी प्रवासी :

टुकीको धुवाँदेखि हाइड्रोजन ऊर्जाको सपनासम्म 

गोरखाको एक गाउँमा टुकीको धुवाँमा पढ्दै हुर्केका विष्णु बस्ताकोटी अहिले अमेरिकामा हरित हाइड्रोजन ऊर्जा अनुसन्धानको नेतृत्व गर्दै छन्। संघर्ष र अवसरका चाकाचुली खेल्दै उनी हार्वर्डदेखि नर्थ क्यारोलाइना विश्वविद्यालयसम्म पुगेका छन्। उनको अनुसन्धानले विश्व ऊर्जा संकटको समाधानतर्फ नयाँ सम्भावना देखाएको छ।

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०८२ असोज १४ गते १९:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. विष्णु बस्ताकोटीले गोरखाको गाउँबाट सुरु गरी हार्वर्ड विश्वविद्यालयमा अनुसन्धान गर्दै हाइड्रोजन ऊर्जामा काम गरिरहेका छन्।
  • उनी नर्थ क्यारोलाइना एग्रिकल्चर एन्ड टेक्निकल स्टेट युनिभर्सिटीमा सहप्राध्यापक र रसायनशास्त्र विभाग संयोजक छन्।
  • उनले नेपालका अनुसन्धान संस्था र युवालाई सहयोग गर्दै हाइड्रोजन ऊर्जामा अन्तर्राष्ट्रिय सहकार्य गरिरहेका छन्।

भूमण्डलीकरणको यो युगमा संसार साँघुरिएको छ र मानिसको यात्रा अब भौगोलिक सीमाभित्र कैद छैन। अवसरको खोजीमा होस् वा ज्ञान र सीपको यात्रामा, नेपालीहरू पनि यही विश्वव्यापी लहरको एउटा अभिन्न अंग बनेका छन्। पृथ्वीका विभिन्न भूभागमा पुगेर उनीहरूले आफ्नो श्रम, बुद्धि र साहस ले नयाँ समाजमा अटल परिचय स्थापित गरेका छन्। तर, जतिसुकै टाढा पुगे पनि, उनीहरूको नाभी अझै पनि मातृभूमिमै गाँसिएको छ- भाषा, संस्कृति र भावनाको अटुट धागोमार्फत्।

अनलाइनखबरले सुरु गरेको ‘पौरखी प्रवासी’ शृङ्खला त्यही गौरवमय यात्राको गाथा हो। यो केवल व्यक्तिगत संघर्ष र पसिनाको कथा मात्र होइन, बरू विश्व मञ्चमा नेपालको सामूहिक पहिचानलाई उचाइ दिने प्रयासको दस्तावेज हो। हरेक प्रवासी नेपाली आफ्नो गन्तव्यमा नेपालको ‘ग्लोबल एम्बेसडर’ बनेर उभिएका छन्। उनीहरूले विश्वलाई देखाइरहेका छन्, ‘नेपालीहरू मेहनती, सहिष्णु र प्रतिभावान हुन्छन्।’

प्रवासी नेपालीहरूको महत्व केवल आर्थिक पक्षमा मात्र सीमित छैन, यद्यपि रेमिटेन्सले नेपालको अर्थतन्त्रको मेरुदण्डलाई सजीव राखेको छ। विदेशको तातो घाममा पसिना बगाउने श्रमिकदेखि अन्तर्राष्ट्रिय मञ्चमा उदाएका विज्ञ, उद्यमी र कलाकारहरूसम्म, उनीहरू सबैले नेपाललाई विश्वको नक्सामा चिनाएका छन्। उनीहरूको ज्ञान, सीप र नेतृत्व क्षमतालाई नेपालको समृद्धिको यात्रासँग जोड्नु अनिवार्य छ ।

सामाजिक र सांस्कृतिक दृष्टिले, प्रवासीहरू नेपालकै बहुरंगी स्वरूपलाई नयाँ ठाउँमा पुनः फूलाइरहेका छन्। चाहे नयाँ पुस्तामा नेपालीपनको बीउ रोप्ने कुरा होस् वा परदेशमा दशैँ–तिहार र तीजको उल्लास भर्ने कुरा, यी सबै अभ्यासले नेपालीपनलाई भौगोलिक सीमाभन्दा बाहिर फैलिएको ‘विश्व-चेतना’ बनाइदिएको छ।

जब कोही आफ्नो जन्मभूमिबाट टाढा जान्छ, उसले आत्मपहिचानलाई पुनःपरिभाषित गर्नुपर्छ। नयाँ समाज र संस्कृतिमा घुलमिल हुँदै उसले आत्मान्वेषणको यात्रा गर्छ। यही प्रक्रियामा नेपालीहरू केवल आर्थिक योगदानकर्ता मात्र नभई विश्व-संस्कृतिको सक्रिय अंग बनेका छन्, जसले भूमण्डलीय संस्कृतिमा नेपाली रङ घोलिरहेका छन्।

‘पौरखी प्रवासी’ संसारभर छरिएका ती अब्बल नेपालीहरूको प्रतिनिधिमूलक जीवनगाथा हो। उनीहरूको कथा सुन्नु भनेको श्रम, सीप, आशा, साहस र गौरव मिसिएको हाम्रो समयको सांस्कृतिक इतिहास पढ्नु जस्तै हो।

आउनुहोस्, हामी संसारभर छरिएका ती ‘पौरखी प्रवासी’हरूको कथा सुनौं, जसले आफ्नो मेहनतले नेपालको शिर उँचो बनाएका छन्ः

गोरखाको आँपपिपलस्थित पाथीभरा गाउँ। निम्न मध्यमवर्गीय किसान परिवार। बिहानै उकालो बाटो छिचोल्दै विद्यालय जाने, फर्केर गाईवस्तु हेर्ने अनि टुकी बालेर किताब घोक्ने दैनिकी। बचेको समय खेती-किसानीमा सघाउनु जीविकामुखी कृषक परिवारका आम केटाकेटीको दैनिकी नै हुन्थ्यो।

उनले देखेका सुकिलामुकिला भनेकै भारततिर काम गरी चाडबाडमा फर्कने ‘कलकत्ते’ लाहुरे, नेपाल प्रहरी र सेनामा काम गरी बेलाबेला गाउँघर फर्की आउनेहरू र विद्यालयमा पढाउने गुरुहरू मात्रै थिए। यस्तो परिस्थितिमा भविष्यमा यही बन्छु भन्ने सुकिलो सपना देख्ने सुविधै थिएन।

यही सामान्य गाउँले जीवनबाट शुरु भएको थियो डा. विष्णु बस्ताकोटीको यात्रा। गाउँमा कतिपय आफ्नो उमेर समूहका साथीहरू ७-८ कक्षा पढेपछि बीचमै पढाइ छोडेर जागिर खान जाने चलन पनि थियो।

तीन सन्तानमध्येका कान्छा विष्णुका लागि पढाउनु नै परिवारकै ठूलो सपना थियो। निरक्षर भए पनि उनका बुवाआमाले ‘छोराछोरी पढाउनैपर्छ’ भन्ने विश्वासको धागो कहिल्यै छिन्न दिएनन्।

पढाइमा राम्रो गरेका दाजुको उदाहरणले उनलाई निरन्तर उत्प्रेरणा र चुनौती दुवै थपे। फलस्वरूप, उनले २०५२ सालमा जनता मावि आँपपिपलबाट प्रवेशिका प्रथम श्रेणीमा उत्तीर्ण गरे।

मानिसले भन्ने गरेको फलामे ढोका त उघ्रियो, अब कता लाग्ने ? उतिबेला पढ्नु भनेको जागिर खान सक्ने वा श्रम बजारमा बिक्ने बन्नु थियो। यो या त्यो विषय के पढ्ने भन्ने विषयले प्राथमकिता पाउँदैनथ्यो।

विष्णुको जानकारीमा सीमित विकल्प थिए- कृषि पढेर जेटीए, इन्जिनियरिङ पढेर ओभरसियर, वन पढेर रेञ्जर या विज्ञान अथवा शिक्षा संकाय पढेर शिक्षक हुने। त्यसमा पनि घर पायक र खर्चपर्चको जोहो सजिलो हुने विषय प्राथमिकतामा पर्नु स्वाभाविकै थियो।

प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उनी वन विज्ञान पढ्दै गरेका दाइ ऋषि बस्ताकोटी भेट्न पोखरा गए। दाइले पोखरा रामबजारस्थित एसओएस स्कूलमा हुँदै गरेको प्रवेश परीक्षा दिन पठाए। गाउँबाट पहिलो पटक शहर पसेका विष्णुले फर्म त भरे तर सबैजसो अंग्रेजी माध्यममा पढेका शहरिया विद्यार्थी देखेर उनीहरूसँग प्रतिस्पर्धा गरी आफूले नाम निकाल्न कसरी सकुँला र जस्तो लाग्यो।

जे होला होला भनेर उनी परीक्षामा सामेल भए। अन्तत: प्रवेश परीक्षाबाट छनोटमा परे। दुई वर्षको लागि पूर्ण छात्रवृत्ति पाए अनि बाटो विज्ञानतिर डोरियो।

विज्ञान संकायमा उच्च माध्यमिक तह उत्तीर्ण गरेपछि विष्णुले वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट स्नातक अनि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरबाट २०६१ सालमा रसायनशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरे।

त्यसपछिको पेशागत जीवनको बाटो भनेको शिक्षण नै थियो। जानेको पनि त्यही थियो, अघिल्ला ब्याचका चिनेजानेका साथीभाइले गरेको देखेको पनि त्यही थियो। उनी अब शिक्षणमा होमिए। केही वर्ष काठमाडौंमा निजी कलेजहरूमा पढाए। विद्यार्थीबाट रुचाइएको गुरु बने।

मोनबुकागाकुसोले खोलेको नयाँ क्षितिज

शिक्षण पेशामा तारिफ पाइरहेका थिए। तर उनलाई थप अध्ययन गर्ने भोकले सताइरह्यो। उपयुक्त अवसरको खोजी गर्दै रहँदा सन् २००८ मा उनका लागि जापान सरकारको मोनबुकागाकुसो छात्रवृत्ति सहित विद्यावारिधिका लागि सागा विश्वविद्यालयमा अवसरको ढोका खुल्यो। योसँगै विष्णुको बाटो शिक्षणबाट विस्तारै अनुसन्धानतिर मोडियो।

सागा विश्वविद्यालयमा उनले पोलिमर र नानो मेटेरियलको सेन्थेसिस र ऊर्जामा यसको प्रयोग जस्ता उच्च प्रविधियुक्त विषयमा शोध कार्य गरे। उनको विद्यावारिधि शोध-अनुसन्धानका नतिजा प्रतिष्ठित वैज्ञानिक जर्नलहरूमा प्रकाशित भए।

विद्यावारिधिपछि उनले जापानको अत्यन्त प्रतिष्ठित जेएसपीएस फेलोसिपसहित नेसनल इन्स्टिच्युट फर मेरेटियल साइन्समा तीन वर्षसम्म अनुसन्धान गर्ने मौका पाए। यसका अतिरिक्त उनले सिड्नी विश्वविद्यालय, अस्ट्रेलियामा रिसर्च एसोसिएट भएर थप एक वर्ष काम गरे।

विष्णुले संसारका अन्य कतिपय अनुसन्धान केन्द्रहरूमा समेत आमन्त्रित अनुसन्धानकर्ताको रूपमा अनुसन्धान गरेका छन्।

हाँडीखोलादेखि हार्वर्डसम्म

लिगलिग पाथीभराको हाँडीखोलामा साथीसंगीसँगै गाईबाख्रा चराउँदै हुर्केका विष्णुलाई कुन सपनाले कहाँ पुर्‍यायो सबै हेक्का त छैन तर, आफ्नो मूलमन्त्रले भने डोर्‍याइरह्यो।

खोंचमा हिंडिरहेको यात्री अलिकति कष्टको उकालो चढेपछि केही परसम्म देख्ने रहेछ। झन् झन् माथि उक्लेपछि फराकिलो क्षितिज देखिने रहेछ।

एउटा उकालो चढेपछि विष्णुले आफ्नो धरातलभन्दा फराकिलो क्षितिज देखे। त्यसले लोभ्याएपछि अर्को खुट्किलो चढेर नयाँ उचाइमा पुगे अनि निरन्तर हिंडिरहे।

सिड्नी विश्वविद्यालयमा काम गरिरहँदा उनले हार्वर्ड विश्वविद्यालयमा रिसर्च एसोसिएटको लागि दरखास्त हाले। लामो छनोट प्रक्रिया पछि प्रा. हुआन पेरेज मर्कादेरले उनलाई नियुक्तिको प्रस्ताव गरे।

हार्वर्ड विश्वविद्यालयमा अध्ययन अनुसन्धान गर्न पाउनुलाई असाध्यै प्रतिष्ठाको विषय मानिन्छ। प्रा. मर्कादेरले विष्णु छनोट भएको खबरसँगै बधाई दिए।

‘आफ्नो छोराले हार्वर्ड विश्वविद्यालयमा अनुसन्धानको अवसर पाएको थाहा पाउँदा तिम्रा बा-आमा कति खुसी होलान् है ? यो सरप्राइज तिम्रा बा-आमालाई कसरी दिन्छौ ?’ प्रोफेसरको यो प्रश्नले विष्णुलाई निकै भावुक बनायो।

हाँडीखोलाको पानी खेतमा लगाएर छोराछोरी हुर्काएका निरक्षर बा-आमालाई आफ्ना छोराछोरीले पढेर राम्रो गरेका छन् भन्ने त थियो नै। छोराको कामप्रति गर्व नहुने कुरै भएन तर यो प्राज्ञिक गरिमाको भेद उनका बा-आमाको लागि अनौठो आश्चर्य भने हुने कुरा थिएन।

उहाँहरूका लागि भरतपुर पढेको छोरो कीर्तिपुर-जापान-अमेरिका पुग्नु एकपछि अर्को सिंढी मात्र थियो। यो सफलता उनले उतिबेला क्यानडामा रहेका आफ्ना दाजुलाई सुनाए।

प्राध्यापकले बा-आमालाई सरप्राइज सुनाउन भनेको कुरा जब उनले दाजुसँग भने, आफ्नो पृष्ठभूमि र संघर्षको यात्रा, आफ्ना निरक्षर बा-आमाको सफेद सपना सम्झेर दाजुभाइ दुवै भावुक बनेको सम्झन्छन् विष्णुका दाइ डा. ऋषि।

हार्वर्ड विश्वविद्यालयमा गरेको अनुसन्धानले विष्णुको अनुसन्धानको बाटो र प्राज्ञिक दायरालाई झन् फराकिलो बनाइदियो।

अनुसन्धान, प्रकाशन सुपरवेक्षण

हाल विष्णु नर्थ क्यारोलाइना एग्रिकल्चर एन्ड टेक्निकल स्टेट युनिभर्सिटीमा सहप्राध्यापक छन्। विगत तीन वर्षदेखि उनी रसायनशास्त्र विभागको संयोजक समेत हुन्। त्यहाँ उनी करिब डेढ दर्जन जति अनुसन्धान ग्रान्टमा प्रमुख अनुसन्धाता या सह-अनुसन्धाताको रूपमा आफ्ना अनुसन्धानलाई अघि बढाइरहेका छन्।

विश्वविद्यालयको तथ्यांक अनुसार उनले नेसनल साइन्स फाउन्डेसन, यूएस डिपार्टमेन्ट अफ इनर्जी, नेसनल इन्स्टिच्युट अफ हेल्थ लगायत प्रतिष्ठित संस्थाहरूबाट अमेरिकी डलर १५ मिलियन बराबरको अनुसन्धान ग्रान्ट प्राप्त गरेका छन्।

उनका अनुसन्धानका विषयहरू जनसाधारणका भाषामा भन्दा वातावरणमा भएको कार्बनडाइअक्साइडलाई रासायनिक र इलेक्ट्रोनिक प्रक्रियाबाट उपयोगी रसायन र इन्धन बनाउने, पानीबाट हाइड्रोजन निकाली इन्धनको रूपमा प्रयोगमा ल्याउने काममा केन्द्रित छन्।

विश्वको ऊर्जा संकट र जलवायु परिवर्तनको चुनौतीलाई सामना गर्दै सुलभ र स्वच्छ ऊर्जा बनाउने काममा विष्णुको ध्यान केन्द्रित छ। ‘पानीबाट हाइड्रोजन निकाल्ने काम धेरै वर्ष अगाडि शुरु भएको भए पनि त्यसको लागि आवश्यक पर्ने नानो (अति सूक्ष्म) पदार्थ महँगो हुन्छ’ उनी भन्छन्, ‘हाइड्रोजन ऊर्जा ल्यावमा सम्भव भए पनि वास्तविक जीवनमा सबैको पहुँच हुने गरी प्रयोगमा ल्याउन प्रविधिमा अझ काम गर्न बाँकी छ।’

डा. विष्णुको अनुसन्धान समूह अहिले तुलनात्मक रूपमा सस्तो नानो क्याटलिस्टको विकास र प्रयोगमा केन्द्रित रहेर अनुसन्धानरत छ।

उनका यी र यस्तै अनुसन्धानको निष्कर्षबाट १०० भन्दा बढी प्राज्ञिक लेखहरू वैज्ञानिक जर्नलहरूमा प्रकाशित छन्। ती लेखहरू अन्य अनुसन्धानकर्ताहरूले सन्दर्भ सामग्रीको रूपमा पनि उद्धृत गरेका छन्।

आफ्नो विद्यार्थीको यो कथा पढेर विष्णु भावुक भए। ‘उनलाई म नेपालको हुँ र टुकी बालेर आएको र लोडसेडिङ भोगेको थिएँ भन्ने के थाहा ?’ उनले भने।

अनुसन्धानमूलक लेखहरू विज्ञहरूको मूल्यांकन सहित जर्नलहरूमा प्रकाशित हुनु र ती काम अन्य अनुसन्धानकर्ताहरूले साभार गर्नुलाई प्राज्ञिक जगतमा प्रतिष्ठाको रूपमा हेरिन्छ। गुगल स्कलारका अनुसार उनका अनुसन्धानमूलक लेखहरू करिब ३८०० पटक उद्धृत गरिएका छन्।

अनुसन्धान र प्रकाशनका अतिरिक्त उनी पढाउने र स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीहरूलाई सुपरीवेक्षण कार्यमा पनि सक्रिय छन्।

डा. विष्णुले आफूले प्राध्यापन गर्ने विश्वविद्यालयबाट इन्टरडिसिप्लिनरी रिसर्च अवार्ड-२०२५, उत्कृष्ट ग्र्याजुयट को-अर्डिनेटर अवार्ड-२०२५, उत्कृष्ट विद्यावारिधि अनुसन्धान सल्लाहकार सम्मान-२०२३, उत्कृष्ट युवा अनुसन्धाता पुरस्कार-२०२१ लगायत उल्लेख्य पुरस्कार र सम्मानहरू प्राप्त गरेका छन्।

स्वदेशमा सहकार्य

विष्णु अमेरिकी विश्वविद्यालयमा अनुसन्धान गर्छन्। उनले गर्ने अनुसन्धान मूलतः विकसित मुलुकमा प्राप्त हुने उच्च प्रविधिसँग सम्बन्धित छ। यद्यपि, अनुसन्धानको प्रतिफल विश्वसमुदायकै लागि काम लाग्ने उनी बताउँछन्।

आफ्नो ज्ञान र अनुसन्धानबाट नेपालका शैक्षिक तथा अनुसन्धान संस्था र नेपाली युवा अनुसन्धाताहरूलाई कसरी लाभ पुर्‍याउन सकिएला भन्नेमा उनको ध्याउन्न रहेको छ। ‘दूरदराजमा जन्मेर संघर्ष गर्दै यहाँसम्म आइपुग्दाका संघर्षका कथा, उपलब्धि र सिकाइ पछिल्लो पुस्तालाई प्रेरणा होस् भन्ने म चाहन्छु’, उनले भने।

यसका लागि यथासम्भव प्रयत्न पनि गरिरहेका छन्। उनले नेपाल केमिकल सोसाइटीसँग मिलेर काठमाडौंमा दुई वटा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गरेका छन्। त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र विभागसँगको सहकार्यमा उनले त्रिविका विद्यावारिधिरत शोधार्थीहरूलाई अनुसन्धानमा सह-निर्देशन समेत गर्दै आएका छन्।

अघिल्लो वर्ष साउनमा नेपाल विज्ञान पत्रकार मञ्चले डा. विष्णुलाई आफ्नो ‘मिट द साइन्टिस्ट’ कार्यक्रमको छैटौं शृंखलामा आमन्त्रित गरी नीति निर्माता, अनुसन्धानकर्मी, निजी क्षेत्रका साझेदार सहितको सहभागितामा हाइड्रोजन ऊर्जाको अनुसन्धान, यसका अवसर र चुनौती सम्बन्धी प्रस्तुतिका लागि निमन्त्रणा गरेको थियो। अहिले डा. विष्णु नेतृत्वको अनुसन्धान समूह र काठमाडौँ विश्वविद्यालयको हाइड्रोजन ऊर्जामा कार्यरत अनुसन्धान समूहबीच सहकार्य शुरु भएको छ।

‘भविष्यमा संस्थागत रूपमै नेपाली विश्वविद्यालय र अनुसन्धान संस्थाहरूसँग सहकार्य बढाउन सकियो भने हाम्रो ज्ञान, सीप र अनुसन्धानबाट मातृभूमिलाई लाभ हुनेथियो’, उनले भने।

हाँडीखोलाको पानी खाएर हुर्केका विष्णु हार्वर्डमा अनुसन्धान गर्न पुगे। टुकी बालेर धुवाँका बीच पाठ घोक्दै गाउँमा पढेका विष्णु अहिले हाइड्रोजन ऊर्जाको अनुसन्धान गर्छन्। अमेरिकी विद्यार्थीलाई अनुसन्धान गराउँछन्।

उनले शोध कार्य गराउने एक जना अमेरिकी विद्यार्थीले आफ्नो अनुसन्धानको उत्प्रेरणाका बारेमा लेखेका छन्, ‘म मेरा पिताजीसँग हाईस्कूलको पढाइ सकेर नेपाल घुम्न गएको थिएँ। त्यहाँ त घन्टौं लोडसेडिङ हुने रहेछ। त्यतिबेला मलाई दिमागमा क्लिक गर्‍यो- यसको वैकल्पिक समाधान त केही अवश्य हुन्छ। त्यो हाइड्रोजन ऊर्जा किन हुन सक्दैन ? यसले मलाई आफ्नो अनुसन्धानको क्षेत्र पत्ता लगाउन उत्प्रेरित गर्‍यो।’

आफ्नो विद्यार्थीको यो कथा पढेर विष्णु भावुक भए। ‘उनलाई म नेपालको हुँ र टुकी बालेर आएको र लोडसेडिङ भोगेको थिएँ भन्ने के थाहा ?’ उनले भने।

विष्णु थप्छन्, ‘एकपछि अर्को सपना, संघर्ष र अवसरहरूले मलाई आजको ठाउँमा पुर्‍याएको छ। म आज हाइड्रोजन ऊर्जालाई व्यावहारिक र सर्वसुलभ बनाउने तरिका खोज्दैछु। उज्यालो खोज्न हामी सबैले अझै धेरै काम गर्नुछ।’

लेखक
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?